+
+
Shares
व्यक्ति र व्यक्तिचित्र :

उपन्यासकार जेन अस्टिन : जसको नाम शेक्सपियरकै समकक्षमा आउँछ

अस्टिनको अढाइ सयौं जन्मोत्सवको अवसर पारेर भिन्टेज प्रकाशन संस्थाले उनका छ ओटै उपन्यासको नयाँ सेट नै प्रकाशन गरेको छ ।

जयदेव गौतम जयदेव गौतम
२०८२ साउन ८ गते ७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ अस्टिनको २५०औं जन्मजयन्ती वर्ष भएकाले विश्वभर अङ्ग्रेजी साहित्यप्रेमीहरूले जेन अस्टिनलाई विशेष रूपमा सम्झिरहेका छन्।
  • अस्टिनले छ वटा उपन्यास लेखेकी थिइन्, जसमा 'प्राइड एण्ड प्रेजुडिस' सबैभन्दा लोकप्रिय र विश्वसाहित्यमा अमर मानिन्छ।
  • उनको जीवन र लेखनले महिला स्वाभिमान, सामाजिक वर्गीयता र विवाहबारे गहिरो सामाजिक अवलोकन प्रस्तुत गरेको छ।

विश्व साहित्यमा रुचि राख्ने, अझ त्यसमा पनि अङ्ग्रेजी साहित्य पढ्ने, हरू यो वर्ष अङ्ग्रेज उपन्यासकार जेन अस्टिनलाई अलि बढी नै सम्झना गरिरहेका छन्, र दोहोर्‍याइ–तेहर्‍याई उनलाई फेरि पढिरहेका छन् । यसको विशेष कारण छ । त्यो के हो भने, चालू वर्ष अर्थात् सन् २०२५ अस्टिनको २५०औं जन्मजयन्ती वर्ष हो ।

केवल एकचालीस वर्ष पनि पूरा नबाँचेकी यी उपन्यासकार नौलो जागरण र औद्यौगिकीकरणको मार्गमा तीव्र वेगले अगाडि बढ्दै गइरहेको यूरोपेली मुलुक बेलायतमा ह्यामसर काउन्टीको एक शान्त एवं सुन्दर गाउँ स्टीभेन्टनमा १६ डिसेम्बर १७७५ मा जन्मेकी थिइन् ।

थोरै वर्ष बाँचेको, औपचारिक क्षेत्रमा धेरै नपढेको र जीवनमा धेरै नलेखेको भए पनि अस्टिनलाई विश्व साहित्यमै विशिष्ट स्थान प्राप्त छ । त्यस्ता विद्वानहरू पनि कम्ती छैनन् जो भन्ने गर्दछन्, ‘जेन अस्टिन अङ्ग्रेजी साहित्यकी ‘महिला शेक्सपियर’ हुन् ।’

अझ कतिपय उनलाई ‘अङ्ग्रेजी गद्य लेखनकी शेक्सपियर’पनि भन्दछन् । अझ धेरैजना चाहिँ उनलाई विलियम शेक्सपियर र उपन्यासकार चाल्र्स डिकेन्सको समकक्षमा राखिनुपर्ने अकाट्य तथ्य भएको पनि औंल्याउँछन् ।

अस्टिनका बारेमा अमेरिकी शब्द–शिल्पी एवं उपन्यासकार मार्क ट्वेनको एउटा भनाइ निकै चर्चित छ । ट्वेनले भनेका थिए, ‘म अक्सर जेन अस्टिनको आलोचना गर्न चाहन्छु, तर जतिबेला पाठक भएर म उनलाई पढ्न थाल्छु, हरेक पटक उत्तिकै प्रभावित हुन पुग्छु, र, अरू सब कुरा बिर्सन्छु, जसले गर्दा उनलाई आलोचना गर्ने कुरै कता हराउँछ कता । हरेक पटक उनको ‘प्राइड एण्ड प्रेजुडिस’ पढ्दा मलाई लागिरहन्छ, अस्टिनको खोपडीभित्र त्यस्तो के छ, जसले गर्दा उनी यति अव्वल लेख्न सक्छिन् !’

यद्यपि, यस्तो उचाइमा पुग्न सक्ने गरी नामूद हुन भने अस्टिनले केवल छ ओटा उपन्यास लेखेकी छन् । ती उपन्यास हुन् क्रमशः ‘सेन्स एन्ड सेन्सीबिलिटी’, ‘प्राइड एन्ड प्रेजुडिस’, ‘म्यान्सफिल्ड पार्क’, ‘एम्मा’, ‘नथ्र्याङ्गर एबी’, र, ‘पर्सुएसन’ । यी कृतिका अतिरिक्त उनका दुई ओटा अधूरा उपन्यास ‘दी वाट्सन्स’ र ‘स्यान्डीटन’ पनि छन् ।

मूलतः उपन्यासकार नै भए पनि अढाइ सय वर्ष पहिले जन्मेकी अस्टिनले केही नाटक, निबन्ध, कविता, गीत र प्रशस्त चिठीहरू लेखेकी छन् । योसँगै उनले बाल–साहित्य र किशोर–साहित्यका रूपमा पठनीय ठहरिएका थुप्रै कथा–कुथुङ्ग्री पनि सिर्जना गरेकी छन् भने केही जीवनी र ‘द हिस्ट्री अफ इङ्ग्ल्याण्ड’ शीर्षकमा एउटा इतिहास–किताब पनि लेखेकी छन् ।

जेनियट र जेन अस्टिन महोत्सव

मैले जेन अस्टिनबारे आफू त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अङ्ग्रेजी शिक्षण विभाग अन्तर्गत एम.ए.को विद्यार्थी छँदा पढ्न पाएको थिएँ । शायद त्यो बेला पहिलो वर्षमा अध्ययनरत छँदा अस्टिनको ‘एम्मा’ भन्ने उपन्यास पढ्नु पथ्र्यो । धेरै ओटा उपन्यास पढ्नुपर्ने हुँदा केवल त्यही उपन्यास र अस्टिनबारे धेरथोर पढिएको थियो, तर गहिराइमा डुब्न परेको थिएन ।

तर पछिल्लो समय, अर्थात् अङ्ग्रेजी पात्रो ग्रीगोरी क्यालेण्डरको नयाँ वर्ष, अर्थात् २०२५ शुरू भएदेखि विश्वस्तरीय प्रमुख सञ्चार–माध्यमहरू यो वर्ष भनेको अस्टिनको अढाइ सयौं जन्मोत्सव वर्ष भएको समाचार छाप्दै आइरहेका छन् । यो जन्मोत्सव र अस्टिनका लेखिएका नलेखिएका विविध पक्षबारे निरन्तर सामग्री छापिरहेकै छन् ।

जेन अस्टिनका समर्थक, प्रशंसक र प्रेमीहरूलाई ‘जेनियट’ भनिन्छ । अस्टिन जन्मेको दुई सय पचासौं जन्मजयन्ती वर्षमा जेनियटहरू यो वर्षभर विभिन्न देश र क्षेत्रमा ‘जेन अस्टिन महोत्सव’ आयोजना गर्दै छन् ।

इङ्ग्ल्याण्डको समरसेट काउन्टी क्षेत्रमा पर्ने एउटा सुन्दर स्थान छ– ब्याद । यसकै ‘फोर्टी गे स्ट्रीट’ क्षेत्रमा स्थित एक विशाल भवनमा स्थापित एवं सञ्चालित छ, ‘जेन अस्टिन सेन्टर’ । धेरै वर्षसम्म जेन अस्टिन यही शहरमा बसेकी थिइन् र यहीँ बसेर उनले आफ्ना दुई ओटा उपन्यास ‘नथ्र्याङ्गर एबी’ र ‘पर्सुएसन’ लेखेकी थिइन् ।

यही जेन अस्टिन सेन्टरले सन् २००१ देखि अस्टिनको जन्मदिन अर्थात् डिसेम्बर १६ तारिखमा अस्टिनका सम्बन्धमा संसारकै सबैभन्दा ठूलो प्रदर्शनी ‘जेन अस्टिन महोत्सव’ आयोजना गर्दै आइरहेको छ ।

त्यो महोत्सवमा राखिएका विभिन्न सामग्री र सजाइएका सबै स्थान भ्रमण गर्न करीब एक घण्टा समय लाग्छ । त्यहाँ अस्टिनको समयमा व्याप्त कुलीन अङ्ग्रेजी रहनसहन झल्किने फर्निचर र परिधान समेत अनेक सामान छन्, एउटा ठूलो सभाकक्ष छ जसलाई ‘रीजेन्सी टी रूम’ नाम दिइएको छ र त्यहाँ अवलोकन गर्नेहरूका लागि चिया र प्यास्ट्रीज आदि प्रशस्त खानेकुरा हुन्छन् ।

(समयको त्यो काल बेलामा इङ्ग्ल्याण्डका राजा जर्ज तृतीय मानसिक रूपले पूर्ण अस्वस्थ भएका थिए । त्यसकारण उनका छोरा, तत्कालीन प्रिन्स अफ वेल्स (युवराज) तथा पछिका राजा जर्ज चतुर्थ, ले सन् १८११ देखि १८२० सम्म (अर्थात्, नौ वर्ष) नायबी–शासन चलाएका थिए । (र, पछि पिता जर्ज बिते पश्चात् उनै युवराज रीजेन्ट ‘राजा जर्ज चौथा’ भएका थिए) । त्यही समयलाई बेलायती इतिहासकारहरू नायबी काल अर्थात् ‘रीजेन्सी एरा’ भन्दछन् । जेन अस्टिनका उपन्यासहरू यही समयमा लेखिएका र छापिएका थिए ।)

अझ रोचक त के हुन्छ भने आयोजकमध्येकै वा अन्य स्वयंसेवकमध्येका कतिपय मानिस अस्टिनका छ ओटै उपन्यासका विभिन्न पात्रका रूपमा र उही नायबी युग बेलाको परिधानमा सजिएर प्रस्तुत भइरहेका हुन्छन्– कोही ‘एम्मा’ बनेका हुन्छन् त कोही ‘मिस्टर डार्सी’, कोही ‘एलिजाबेथ बेनेट’ त कोही ‘एन एलियट’, अथवा, ‘फ्रेडरिक वेन्टवर्थ’, वा ‘मिस्टर कोलिन्स’ या ‘क्याथरीन मोरल्याण्ड’ आदिआदि ।

अस्टिनको अढाइ सयौं जन्मोत्सवको अवसर पारेर भिन्टेज प्रकाशन संस्थाले उनका छ ओटै उपन्यासको नयाँ सेट नै प्रकाशन गरेको छ । र, यस नवीनतम संस्करणमा विभिन्न छजना चल्तीका समकालीन उपन्यासकारले नौलो परिचयात्मक भूमिका लेखेका छन् ।

संयुक्त राज्य अमेरिकामा पनि जेन अस्टिनका प्रशंसक प्रशस्त छन् । त्यसैले गर्दा यहाँ पनि ‘द जेन अस्टिन सोसाइटी अफ नर्थ अमेरिका’ (जास्ना) नामक संस्था छ । खासगरी अमेरिका र क्यानाडामा आधारित भए पनि विश्वका एक दर्जनभन्दा धेरै देशका नागरिक यस गैरनाफामुखी संस्थामा आबद्ध छन् ।

हाल पाँच हजारभन्दा केही बढी सदस्य सङ्ख्या भएको यस संस्थाले जेन अस्टिनका रचना र उनीमाथि लेखिएका वा लेखिने रचना पढ्ने, पढाउने र त्यसमाथि संवाद–अन्तव्रिmया गर्ने गराउने अनि अस्टिनको क्षमताबारे अझ प्रचारप्रसार गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

अरू धेरै देशमा समेत उनलाई माया र सम्मान गर्ने मानिसहरूले ‘जेन अस्टिन क्लब’ र ‘जेन अस्टिन समाज’ आदि स्थापना गरेका छन् । यी संस्थाहरूले वर्षेनी अस्टिनको जन्मोत्सवका बेला विभिन्न कार्यक्रम र महोत्सव आयोजना गरिरहन्छन् ।

मृत्युसँग आँखा जुधाउने महिला लेखक

जेन अस्टिनबारे गहन अध्ययन–अनुसन्धान गरिरहेकी लेखक रेबेका रोम्नीका अनुसार, अस्टिनले सन् १८१३ मा पहलो पटक प्रकाशित आफ्नो कालजयी उपन्यास ‘प्राइड एण्ड प्रेजुडिस’ शीर्षक आफूभन्दा पहिलेकी सफल उपन्यासकार फ्रान्सिस बर्नीको दोस्रो उपन्यास ‘सिसिलिया’ बाट लिएकी थिइन् ।

पहिलो उपन्यासका रूपमा ‘एभेलिना’ लेखेकी बर्नीको त्यो दोस्रो उपन्यास (सन् १७८२ मा प्रकाशित) अहिलेसम्म एकाउन्न संस्करण छापिइसकेको छ र त्यही उपन्यासको अन्तिम परिच्छेदमा यी दुई शब्द, प्राइड एण्ड प्रेजुडिस, दुई पटक नै प्रयोग भएका छन् ।

(साथै के पनि स्मरणीय छ भने, बर्नीलाई अर्की प्रख्यात अङ्ग्रेज उपन्यासकार भर्जिनिया उल्फले ‘अङ्ग्रेजी आख्यानकी आमा’ (मदर अफ इङ्लिश फिक्शन) भनेकी छन्) ।
बर्नीबाट मात्र होइन, उपन्यासकार अस्टिन आफ्ना समकालीन एवं पूर्ववर्ती अरू महिला साहित्यकारबाट पनि निकै प्रभावित र प्रेरित भएकी थिइन, जसमा मूलतः एन रेडक्लिफ, शार्लोट लेनोक्स, हान्ना मूर, शार्लोट स्मिथ, एलिजाबेथ इन्चबाल्ड, हेस्टर थ्रेल पियोजी र मारिया एजवर्थ थिए ।

लेखक रेबेका रोम्नीले आफ्नो नयाँ किताब ‘जेन अस्टिन्स बुकसेल्फ’ मा यी र यस्ता धेरै तथ्यगत कुराहरूका साथै अन्य चर्चित उपन्यासकारहरूलाई अभिप्रेरित गर्ने महिला लेखकहरूबारे लेखेकी छन् ।

रेबेका र उनको किताबबारे अर्की लेखक शार्लोट गोर्डनले ‘ द वाशिङ्टन पोस्ट’ (फेब्रुअरी ८, २०२५) मा समीक्षा लेखेकी छन् । गोर्डनका शब्दमा, ‘ऊ बेलाका ती महिला लेखकहरूले लोकप्रियता, स्वतन्त्रता र सम्पत्ति हासिल गर्ने क्रममा मृत्युसँग आँखा जुधाएर कुरा गरेका छन्, आफ्ना पीडक एवं हिंस्रक लोग्नेहरूलाई परास्त गरेका छन्, शत्रुहरू र अफवाह औ पूर्वाग्रह र कामुक नजरहरू र पितृसत्तात्मक कानूनी सत्तालाई पराजित गरेका छन् ।’

‘अझ यो सबै पनि त्यो युगमा जुन समयमा ‘विज्ञहरू’भन्ने गर्थे– उपन्यास पढ्ने महिलाहरू नैतिक रूपले पतित भएकाहरू हुन्छन् (भलै उपन्यास लेख्नु मात्र भने अलग कुरा हो) । यस्ता कुराहरूले गर्दा अनेक महिलाहरू लेख्न छाडेर हराए पनि । तर आफू अनैतिक कहलिन नपरोस् भनेर अरू कतिपय महिलाले भने आफ्नो नाम लुकाएर छद्म नाममा अथवा पुरुष नाम राखेर भए पनि लेख्ने काम भने जारी राखे ।”

अठारौं र उन्नाइसौं शताब्दीमा विवाह ब्रिटिश महिलाका लागि गुरु गम्भीर विषय हुने गथ्र्यो । आफ्ना उपन्यासमा ती महिलाहरूले आफूले भोगिरहेको समय, परिस्थिति र जीवनकै यथार्थ चित्रण गरिरहेका हुन्थे ।

त्यस समयमा विवाहित महिलाहरूलाई कुनै कानूनी, राजनीतिक वा आर्थिक अधिकार नै हुँदैन्थ्यो । कुनै सम्पत्तिको अधिकार पनि थिएन भने उनीहरूलाई अदालतमा जाने वा उपस्थित हुने अधिकार समेत थिएन।

उनीहरूका लोग्नेहरूले उनीहरूलाई मन लागेको बेला कुटपीट गर्न वा कतै कुनै शिविर (आश्रम) मा पुर्‍याई थुनेर राख्न पनि सक्दथे । कतिसम्म भने आफ्ना बालबच्चामाथि पनि उनीहरूको कुनै अधिकार हुँदैन्थ्यो ।

श्रीमतीमाथि लोग्नेको यस्तोविधि नियञ्त्रण कायम रहने समयमा त्यस किसिमको पुरुषसँग विवाह गर्नु भनेको सम्बन्धित महिलाको जीवन र मृत्युको दोसाँधको कुरा हुन पुग्छ ।
लेखक रोम्नीका शब्दमा, ‘त्यस समयमा महिलाले लेखेका सामाजिक–वैवाहिक–पारिवारिक उपन्यासहरूको इतिहास भनेको खासमा तत्कालीन समयमा विद्यमान वैवाहिक कानूनविरुद्ध महिला प्रतिरोधको साहित्यिक इतिहास हो ।’

महिला लेखक शार्लोट स्मिथको जीवनकथा

एकजना महिला लेखक शार्लोट स्मिथको कथा निकै दारुण छ । केवल पन्ध्र वर्षकी हुँदा उनको विवाह एकजना पीडक एवं हिंस्रक लोग्नेसँग भयो तर कालान्तरमा उनी प्रख्यात उपन्यासकार बन्न सफल भइन् । त्यसो त उनलाई कविता मन पथ्र्यो र उनले लेखेका कविता त्यो समयका श्रेष्ठ कविताहरूकै श्रेणीमा पर्थे । तर उनलाई लोग्नेको नृशंसता एवं बर्बरताबाट आफू र आफ्ना केटाकेटीहरूलाई जोगाउन पैसा कमाउनु पर्ने थियो ।

त्यसकारण उनले एकपछि अर्को उपन्यास लेख्न थालिन् र त्यही क्रममा उनी आश्चर्यजनक ढङ्गले केही नौलो एवं साहसी कार्य थालनी गर्न पुगिन् । उनले आफ्ना किताबहरूको भूमिकामा आफ्नो लोग्नेले आफूहरूविरुद्ध गर्ने हिंस्रक व्यवहारलाई सटीक ढङ्गले उजागर गर्नुका साथै वैवाहिक कानूनमा रहेका अन्यायपूर्ण धारा र उपधाराहरूका विरुद्ध पनि लेख्न थालिन् ।

उनले ती भूमिकाहरू मार्फत आफ्ना पाठकहरूलाई कम उमेरमा विवाह नगर्न, र कुनै जुवाडे वा लम्पट पुरुषसित विवाह नगर्न पनि सचेत गराउन थालिन् । यसरी उपन्यासलाई अन्य प्रतिरोधको औजार बनाउने महिलाहरूमा स्मिथ एकजना मात्र थिइनन्, अन्य महिला लेखकहरूले पनि खतरनाक पुरुषसँग सम्पर्क नगर्न भन्दै आफ्ना पाठकहरूलाई सचेत गराएका छन् ।

लेखक रोम्नीका शब्दमा, ‘ती लेखकहरूले एउटा उपन्यासबाट अर्को उपन्यास गर्दै एक अर्कालाई सन्देश पनि पठाउँदै भन्दै गरे– कानूनले तिम्रो सुरक्षा गर्दैन, आफ्नो रक्षा गर्नका लागि तिमी आफैँले केही गर, आफैँ पाइला अगाडि सार ।’

आफ्नै दिदीबाट चिठीहरू नष्ट

जेन अस्टिनको मृत्यु १८ जुलाई सन् १८१७ मा इङ्ग्ल्याण्डको ह्यामसर काउन्टीको विन्चेस्टर नगरमा भएको थियो । त्यस यता दुई सय आठ वर्ष बितिसकेका छन् । अहिले उनका कुनै पनि नोटबुक या डायरी र टिपोटहरू उपलब्ध छैनन् । केही चिठ्ठी भने सुरक्षित छन् ।

यद्यपि, उनको मृत्युपछि उनकी दिदी क्यासान्द्राले बहिनी जेनले आफूलाई लेखेका चिठीहरू या त नष्ट गरिन्, होइन भने पूरै सेन्सर गरेर राखिन् । अझ त्यस पश्चात् पनि उनीहरूका भाइ फ्रान्सिसको मृत्युपछि त भाइकी छोरीले फुपूले आफ्ना पितालाई लेखेका सबै पत्रहरू नष्ट गरी दिएकी थिइन् ।

उपलब्ध तथ्याङ्क अनुसार, जेनले आफ्नो जीवनकालमा करीब तीन हजार चिठी लेखेकी थिइन् तर तीमध्ये करीब एक सय साठी ओटा मात्र उपलब्ध छन् ।जेन अस्टिनको जीवनका विविध उतारचढाव र विचार एवं व्यवहारबारे जान्ने आधार मूलतः उनका यिनै चिठीहरू हुन् ।

कतिपय समालोचकका अनुसार भने, बहिनी जेनले बेलाबखतमा कुनै छिमेकी या कुनै पाविारिक सदस्य अथवा आफ्नै कुनै असन्तुष्टि या कुण्ठा या रोग आदि विषयमा लेखेका कुराहरू परिवारकै दोश्रो या तेश्रो पुस्ताका सदस्यहरूले पढ्न नपाऊन् र कसै गरी पनि जेनप्रति कसैमा कुनै पनि किसिमको नकारात्मक धारणा जन्मन नपावोस् भनेर दिदी क्यासान्द्राले छानीछानी ती सयौं चिठी जलाएकी थिइन् ।

अस्टिन परिवारको दोश्रो सन्तान (र जेनका माहिला दाइ) जर्ज सानैदेखि बोल्न र सुन्न नसक्ने अनि नसाजन्य अन्य रोगसमेत भएकोले पूर्णतः विकलाङ्ग भएकाले मातापिताले उनलाई घरबाट टाढा धनी आफन्तकहाँ राख्न पठाएका थिए भने अर्की एकजना पारिवारिक महिला सदस्य असामाजिक व्यवहारमा फसेर बदनाम भएकी थिइन् । शायद जेनका चिठीहरूमा यसबारे लेखिएको थियो होला, र त्यसकारण पनि दिदी क्यासान्द्राले ती चिठी नष्ट गर्नु श्रेयस्कर ठानेकी होलिन् ।

जेन अस्टिन–अध्येताहरूका अनुसार, उनका जे जति चिठीहरू उपलब्ध छन्, तिनमा उनको विशिष्ट ‘अस्टिनियन चरित्र’अनुभूत हुँदैन, र तिनमा जेनको त्यो विशुद्ध जीवनीमा भएका केही पनि झलक देखा पर्दैनन्, जुन उनको मृत्युको लगत्तैपछि उनका भाइ हेनरीले लेखेका थिए ।

हेनरीले लेखेको र अस्टिनको पहिलो जीवनी ‘बायोग्राफिकल नोटिस’शीर्षकमा सन् १८१८ मा जेन अस्टिनकै मरणोपरान्त प्रकाशित उपन्यास ‘नथ्र्याङ्गर एबी’ मा समावेश गरिएको थियो । यससँगै जेनका दुई ओटा चिठीका केही अंश पनि दिइएका थिए ।

अथवा, न उनका भदा जेम्स एडवार्ड अस्टिन–लीले उनको मृत्यु भएको पचास वर्षपछि लेखेको संस्मरण–ग्रन्थमा उल्लेख भएका कुनै विशेषता मिल्छन् । अस्टिन–लीको संस्मरण मूलतः पारिवारिक सदस्यहरूका मौखिक सम्झनाहरू लिपिबद्ध भएको किताब हो र यसमा उनी ‘प्रिय फुपू जेन'(डियर आन्ट जेन) भनेर सम्बोधित छिन् ।

अस्टिन आफ्नो जीवनकालमा कहिल्यै पनि बेस्ट–सेलर लेखक भइनन् । अझ उनको मृत्यु भएको तीन वर्ष जतिपछि त उनका उपन्यासहरू पनि लगभग छापिनै छाडिसकेका थिए।

बेलायतमै सर वाल्टर स्कट, शार्लोट ब्रोन्टे आदि समेत अनेक साहित्यकार उनका आलोचक थिए र उनलाई बेलायती समाजको केवल एक तप्काका लागि मात्र लेख्ने लेखक भन्ने गर्दथे ।

तर तत्कालीन बेलायती महारानी भिक्टोरिया समेत अनेक विशिष्ट व्यक्तित्व भने अस्टिनका ठूला प्रशंसक थिए । अनि यो प्रशंसाको विस्तार र उपन्यासकार अस्टिनको पुनर्जन्म अस्टिन–लीले लेखेको संस्मरण सन् १८६९ मा छापिएपछि भयो ।

यसकै एक दृष्टान्त थियो, दोश्रो विश्वयुद्धका बेला न्यूमोनिया रोगले ग्रस्त भई त्यसको उपचार गराइरहँदा बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले अस्टिनको उपन्यास ‘प्राइड एन्ड प्रेजुडिस’सम्पूर्ण नै सस्वर पाठ गरेका थिए !

यसरी उनका प्रकाशित रचनाका अतिरिक्त थप केही उपलब्ध नभए पनि जेन अस्टिनको चर्चा कम भएको छैन, बरु झन् बढेको छ ।

जेन अस्टिन, अर्थात्, ‘प्रोज शेक्सपियर’

अस्टिनको विशेषता नै मान्नु पर्दछ, अङ्ग्रेजी साहित्यका अनेक महारथी आलोचक–समालोचकहरू उनको नाम लगातार शेक्सपियरसित जोडेर चर्चा गर्ने गर्दछन् । समालोचक रिचर्ड व्हेट्लीको भनाइमा, ‘कथाका पात्रहरूको संवाद लेख्ने सन्दर्भमा अस्टिन त शेक्सपियरभन्दा माथि पनि र विस्तारित पनि देखिन्छिन् ।’

सन् १८४३ मा अर्का विद्वान लर्ड मेकालेको भनाइ थियो, ‘महान लेखक शेक्सपियरको लेखनको नजिक पुग्न खोजेको देखिनेमा अन्य तमाम लेखकभन्दा जेन अस्टिन –एक जना महिला, जसमाथि इङ्ग्ल्याण्डलाई गर्व छ– लाई त्यो स्थानमा राख्दा दुईपटक सोच्न पर्दैन ।’

त्यसैमाथि अर्का विद्वान जर्ज लिउजले भने, ‘लर्ड मेकालेको भनाइको तात्पर्य जेन अस्टिन गद्य लेखनकी शेक्सपियर (प्रोज शेक्सपियर) हुन् भन्ने हो ।’उनले अस्टिनलाई ‘अङ्ग्रेजी उपन्यासका पिता’ मानिने हेनरी फिल्डिङभन्दा पनि राम्रो लेखन–क्षमता र ‘कोमलता एवं समर्पण’ र ‘गज्जबको नाटकीयता सिर्जना गर्न सक्ने’ ‘शेक्सपियरेली विशेषता’ भएकी लेखक भएको दावी गरे ।

लोकप्रिय कवि अल्फ्रेड टेनिसन पनि अस्टिनका उच्च प्रशंसक थिए । उनले समेत अस्टिनलाई ‘पात्रहरूको चरित्र चित्रण र यथार्थ वर्णन’मा ‘शेक्सपियरकै हाराहारी’रहेको उल्लेख गरेका छन् ।

उनको अझ उच्च प्रशंसा त सन् १९११ मा गर्दै शेक्सपियर–विका रूपमा कहलिएका विद्वान ए.सी.ब्र्याडलीले लेखेका थिए, ‘अस्टिनले आफ्नो साँघुरो परिवेश नाघ्ने प्रयास कहिल्यै गरिनन् तर उनले लेखनमा अव्वलता भने निरन्तर हासिल गर्दै रहिन् । यसले गर्दा उनले अङ्ग्रेजी साहित्यमा त्यो स्थान हासिल गरेकी छन्, जुन स्थान आफ्नो समयमा शेक्सपियरले प्राप्त गरेका थिए ।’

एकजना अर्का उल्लेखनीय शेक्सपियर–विज्ञ रिचर्ड सिम्पसन र अन्य धेरैजना प्राज्ञहरू अस्टिनमा पात्रहरूको संवेदनशील एवं नाटकीय चित्रण गर्न सक्ने गहन क्षमता भएको र यही विशेषता शेक्सपियरसित उनलाई नजिक्याउने आधार रहेको मान्दछन् ।

उनीहरू भन्छन्– अस्टिनका पात्रहरूमा शेक्सपियरका पात्रहरूको प्रत्यक्ष प्रभाव वा समानता देख्न सकिने तथ्य औंल्याउँदै अस्टिन उपन्यास लेख्न बस्दा शेक्सपियरका नाटक, ती नाटकका पात्र र पात्रहरूले गरेका संवादहरूलाई आफ्नो मन–मस्तिष्कमा राख्ने गर्थिन् ।

जस्तो, अस्टिनको उपन्यास ‘पर्सुएसन’ मा शेक्सपियरको नाटक ‘टुवेल्थ नाइट’ र त्यसका पात्रको प्रभाव देखिन्छ । शेक्सपियरका दुई पात्र ओर्सिनो र भायोला अस्टिनको उपन्यासमा क्याप्टन हार्भिल र एन एलियट भएका छन् ।

अस्टिनको अर्को उपन्यास ‘म्यान्सफिल्ड पार्क’ मा शेक्सपियरका तीन नाटक ‘मर्चेन्ट अफ भेनिस’, ‘एज यू लाइक इट’ र ‘हेनरी एट्थ’ को संयुक्त प्रभाव छ भने ‘सेन्स एन्ड सेन्सीबिलिटी’ उपन्यासमा चाहिँ नाटक ‘ह्यामलेट’ र ‘किङ लियर’ को छाप पाउन सकिन्छ ।

यसैगरी अस्टिनको अर्को उपन्यास ‘एम्मा’ चाहिँ शेक्सपियरको ‘अ मिडसमर नाइट्स ड्रीम’ नाटकको पुनर्कल्पना भन्न सकिने कृति भएको लेखक जोसलीन ह्यारिस लगायतका लेखकहरूको मत छ ।

बेलाबखत यस्तो भनिएको छ, तथापि अस्टिनको विशेषता के हो भने आफूमाथि शेक्सपियरको प्रभाव परेको भए पनि उनले कतै कुनै ठाउँमा पनि शेक्सपियरले लेखेका वा नयाँ बनाएका बिम्ब, अलङ्कार र शब्द–शब्दावलीहरू केही प्रयोग गरेकी छैनन्, बरु जे लेखेकी छन्, सबै नितान्त आफ्नो लेखेकी छन्, मौलिक लेखेकी छन् ।

यसकारण जेन अस्टिनमा शेक्सपियरको प्रभाव खोज्नु पर्‍यो भने सतहमा त्यो देखिँदेन, बरु त्यसलाई उनको लेखन–संरचनामा खोज्नुपर्ने हुन्छ । अस्टिनले शेक्सपियरका केही कुराको पनि नक्कल गरेकी छैनन्, अँ, बरु शेक्सपियरलाई पढेर राम्ररी बुझेकी भने निश्चय पनि छन् ।

के भनिन्छ भने शेक्सपियरलाई पढेको भए पनि अस्टिन आफू लेख्न बसेको बेला सबैलाई भुलाइदिन्थिन्, त्यस्तो बेलामा उनलाई आफू र आफूले लेख्न लागेको कथानक एवं त्यसका परिवेश र पात्रहरू मात्र याद रहन्थ्यो ।

परिवार र बालापन

सन् १८७० मा विख्यात कवि लर्ड अल्फ्रेड टेनीसनले भने, ‘अस्टिनले जीवनको लघुतालाई पूर्णतामा बुझिन् । उनी एक महान कलाकार थिइन्, र त थोरै किताब लेखेको भए पनि उनी आफ्नो त्यही सानो साहित्यिक संसार समेत शेक्सपियरपछिको दोश्रो स्थानमा आसीन छन् ।’

जीवनमा पछि गएर यस किसिमको उच्चतम आदर एवं साहित्यिक सम्मान पाइएला भन्ने कुराबाट पूर्णतः अन्जान एक बालिकाको जन्म भयो, १६ डिसेम्बर सन् १७७५ मा ।
इङ्ग्ल्याण्डको ह्यामसर काउन्टीको सानो सुन्दर गाउँ स्टीभेन्टनमा रहेको एङ्ग्लीकन चर्चमा रेक्टर काम गर्ने जर्ज र उनकी पत्नी क्यासान्द्रा अस्टिनको परिवारमा छ छोरा र दुई छोरी सन्तानमा ती बालिका सातौं नम्बरमा जन्मेकी थिइन् ।

तिनताका स्टीभेन्टन गाउँमा करीब तीस परिवारको बसोबास थियो ।

ती बालिकाको न्वारन भयो र नाम राखियो, जेन अस्टिन । उनीभन्दा दुई वर्ष पहिले मात्र त्यो परिवारकी ठूली छोरीका रूपमा उनकी दिदी जन्मेकी थिइन्, जसको नाम आमासँगै मिल्ने क्यासान्द्रा नै राखिएको थियो ।

यी दुवै दिदीबहिनीले आजीवन विवाह गरेनन्, बरु सधैँ एक अर्काको विश्वसनीय सहयोगी र निकटतम सँगिनी भएर जीवन बिताए । बहिनी उपन्यासकार भए जसरी नै दिदी चाहिँ शौखीन चित्रकार थिइन् ।

(संयोग र समानता खोज्नेहरू इङ्ग्ल्याण्डका अस्टिन दिदीबहिनीको जीवनीसँग नेपाली साहित्यकार विष्णुकुमारी वाइवा ‘पारिजात’ र उनकी बहिनी सुकन्याको जीवनलाई जोडेर हेर्न सक्छन् । उनीहरू र यिनीहरूबीच फरक जम्मा कति मात्र छ भने अस्टिन दिदीबहिनी आजीवन अविवाहित बसे तर यता नेपालमा भने बहिनी सुकन्याले विवाह गरिन्) ।

आफ्नो मृत्युभन्दा केही पहिले लेखेको इच्छापत्रमा जेनले आफूसँग र आफ्ना नाममा भएको सबै श्री–सम्पत्ति एवं सबै प्रतिलिपि अधिकार दिदी क्यासान्द्राका नाममा गरी दिएकी थिइन् ।

रेक्टर भएर धार्मिक कार्य गर्नुका साथै पिता जर्ज अस्टिन खेतीपाती पनि गर्थे (व्यापार गर्ने सफल परिवारका सदस्य जर्ज धनी किसान पनि थिए), र तीन–चार जना किशोरलाई घरमै राखेर पढाउँथे पनि ।

यसरी खेतीपाती र ट्यूशनबाट उनलाई अतिरिक्त आमदानी हुन्थ्यो र ठूलो परिवार पाल्न केही सहयोग पुग्थ्यो । जेनका ठूल्दाइ जेम्स र काइँल्दाइ हेनरी टोमसले एम.ए. उत्तीर्ण गरेपछि ‘द लोइटरर’ नामक साहित्यिक पत्रिका सम्पादन गर्न थालेका थिए । तर त्यो काम धेरै लामो समय चलेन ।

जेम्स बरु कवि पनि थिए र एम.ए. उत्तीर्ण आफ्ना पिता जर्जले अवकाश पाएपछि स्टीभेन्टनको एङ्ग्लीकन चर्चका रेक्टर भएका थिए ।पछि हेनरी पनि पहिले सेनामा भर्ती भए, त्यस पश्चात् बैंकर भए र त्यसमा पनि असफल भएपछि एङ्ग्लीकन चर्चमा धर्मगुरु भए ।

उनी बहिनी जेनका साहित्यिक एजेन्ट पनि थिए । आफ्ना दाइहरूमध्ये जेन यिनै काइँल्दाइसित सबैभन्दा नजिक थिइन् ।

तिनै काइँल्दाइ हेनरीले जेनलाई उनले स्टीभेन्टन गाउँको सानो परिवेशमा हेर्न र सुन्न नपाइने फराकिलो सामाजिक जीवन बुझन् लण्डन लिएर जान्थे, अनि त्यहाँ रहेको आफ्नो विस्तृत सम्पर्क–सञ्जालका मानिसहरूसित भेट गराउँथे ।

बाह्र वर्षमै लेखक

प्रारम्भिक पढाइ घरमै भएपछि जेन आठ वर्षकी हुँदा दुवै दिदीबहिनीलाई पढ्न अक्सफोर्ड पठाइयो । त्यहाँबाट उनीहरू साउथ्याम्टन पुर्‍याइए । त्यही वर्ष सन् १७८३ मा उनीहरू दुवैलाई टाइफस रोग लाग्यो र घर फिर्ता पठाइयो । त्यो रोगले जेनलाई त झण्डै खाएको थियो ।

त्यसपछि फेरि घरमै पढाइ शुरू भयो । दुई वर्षपछि सन् १७८५ मा उनीहरू दुईलाई रेडिङ एबी गल्र्स बोर्डिङ स्कूलमा पठाइयो । तर एक वर्षपछि नै दिदीबहिनी फेरि घर फिर्नु पर्‍यो किनभने दुई छोरीको स्कूल–शुल्क तिर्न अस्टिन परिवार सक्षम थिएन, भएन ।

अनि पढाइ अन्ततः घरमै अगाढि बढ्यो, पिता र दुई दाइहरू जेम्स अनि हेनरीको मार्ग निर्देशनमा । जेनले आफ्ना पिता र पारिवारिक मित्र वारेन हेस्टिङ्ग्सका पुस्तकालयहरूबाट समेत किताब ल्याएर पढ्न थालेकी थिइन् ।

(यसरी स्व–अध्ययन गर्ने क्रममै अस्टिनले विलियम शेक्सपियर, जन मिल्टन, डेनियल डिफो, स्यामुएल रिचर्डसन, बेन जोन्सन, स्यामुलयल जोन्सन, फ्रान्सिस बर्नी, हान्नाह मूर, रोमाण्टिक युगीन कविहरू तथा अन्य नाटककार, निबन्धकार र उपन्यासकार आदि उपलब्ध सबै लेखकहरू पढेकी थिइन्) । उनीहरूको अझ व्यवहारिक अध्ययन त गाउँमै हुने नाटक हेरेर अनि पछि त ती नाटक खेलेर अगाडि बढेको थियो ।

उनीहरूका ठूल्दाइ जेम्स ती कतिपय नाटकका विभिन्न संवाद लेख्थे । ती नाटकहरू अक्सर हाँसो–ठट्टा र व्यङ्ग्य मिसिएका कमेडी हुने गर्थे । यसरी ती नाटकले नै जेनमा पछि गएर बौद्धिक ठट्टा गर्ने विशिष्ट क्षमता विकास गरेको बुझ्न सकिन्छ ।

बाह्र वर्षको उमेरमा टेक्दै गरेकी जेन अस्टिनलाई लाग्यो, अब त मैले पनि लेख्न सक्छु । उनले त्यही बेला तीन ओटा नाटक लेखिन् । एक वर्ष पहिले अर्थात् आफू एघार वर्षकै हुँदा उनले आफू र परिवारको खुशीका लागि कविता र कथाहरू लेख्न थालेकी थिइन् ।

त्यसरी लेख्दै जाँदा जेन अस्टिनले आफू बाह्रदेखि अठार वर्षको उमेर हुँदासम्ममा लामा–छोटा गरेर जम्मा उनन्तीस ओटा किताब लेखिसकेकी थिइन् ! त्यसका लागि उनले नब्बे हजारभन्दा धेरै शब्द लेखेकी थिइन् । अचेल उनका ती रचनालाई अस्टिनको किशोर लेखन ‘जुभेनिलिया’ भनिन्छ ।

ती सबै रचनालाई साफी गरेर उनले पहिलो, दोश्रो र तेश्रो भाग (भोल्यूम द फस्र्ट, भोल्यूम द सेकेन्ड र भोल्यूम द थर्ड) नाम पनि राखेकी थिइन् ।माथिका तीन भाग रचनामध्ये अस्टिनले चौध वर्षको उमेर हुँदा सन् १७९० मा लेखेको ‘लभ एन्ड फ्रेन्डशिप’ व्यङ्ग्यात्मक उपन्यास थियो र त्यसले तत्कालीन उपन्यासहरूमा व्यापक प्रभावी रहेको भावुकतावाद (सेन्टीमेन्टालिजम) को खिल्ली उडाएको थियो ।

अर्को वर्ष, अर्थात् आफू पन्ध वर्षको हुँदा अस्टिनले चौंतीस पृष्ठ लामो इतिहास–पुस्तक ‘द हिस्ट्री अफ इङ्ग्ल्याण्ड’ लेखिन् । यस किताबमा उनकी दिदी क्यासान्द्राले बनाएका तेह्र ओटा चित्र (वाटरकलर मिनिएचर्स) पनि समाविष्ट थिए । वास्तवमा यो किताब पनि तत्कालीन समयमा अधिकतम विधामा लेख्ने लेखक ओलिभर गोल्डस्मिथको ‘हिस्ट्री अफ इङ्ग्ल्याड’ (१७६४) को प्यारोडी थियो ।

सत्र वर्ष उमेर पुगेकी जेनले ‘क्याथरीन अर द बोवर’ उपन्यास लेख्न थालिन्, जुन खासमा पछि गएर उनको बहुचर्चित उपन्यास ‘नथ्र्याङ्गर एबी’ को जग बनेको थियो । तर त्यो उपन्यास अधूरै रह्यो, यद्यपि फेरि दुई वर्षपछि उनले ‘लेडी सुजान’ शीर्षकमा पत्र र डायरीको संयुक्त शैलीमा नयाँ उपन्यासिका (नोभेला) लेखिन्, तर त्यसलाई छाप्न भने कतै दिइनन् ।

र, एकै पटक त्यो ‘लेडी सुजान’ उनको मृत्यु भएको धेरै वर्षपछि सन् १८७१ मा छापिएको थियो ।

निर्बाध लेखनमा बाधा हुने सोचले विवाह अस्वीकार

त्यतिबेला जेन अस्टिन बीस वर्ष पुगेकी थिइन् । त्यसै ताका ‘टमस ल्याङलोइस लेफ्रय’ नामक एकजना अग्लो तन्नेरी आएर डिसेम्बर १७९५ देखि जनवरी १७९६ सम्म स्टीभेन्टन गाउँमा बस्यो ।

उसले भर्खर विश्वविद्यालय तहको अध्ययन सकेर वकालत (ब्यारिस्टर) को प्रशिक्षण लिन लण्डन जाने तर्खर गर्दै थियो ।लेफ्रय र अस्टिनबीच कुनै सामाजिक समारोहमा भेटघाट र परिचय भयो । पछि, अस्टिनले दिदी क्यासान्द्रालाई लेखेका चिठीहरू पढ्दा उनीहरूले सँगसँगै भएर धेरै समय बिताएका थिए । उनले लेखिन्, ‘लेफ्रय निकै भलाद्मी, आकर्षक र हँसिलो युवक छ ।”

पाँच दिनपछि दिदीलाई उनले अर्को चिठी लेखिन, ‘मैले मेरो आइरिश साथीबाट बिहेको प्रस्ताव आउने अपेक्षा गरेकी छु । … तर मैले उसको प्रस्ताव अस्वीकार गर्नेछु ।… एक दिन आउनेछ, जतिबेला म टम लेफ्रयसित अन्तिम पटक जिस्किने छु, आई फ्लर्ट माई लास्ट ।…

… जतिबेला तिमीले यो चिठी पाउने छौ, त्योबेलासम्म हामीबीचको सम्बन्ध समाप्त भइसकेको हुनेछ । यो एकान्तिक विचार लेखिरहँदा मेरा आँसु खसिरहेका छन् ।”

अस्टिन गम्भीर रूपले नै लेफ्रयप्रति आकर्षित भएकी थिइन् । त्यसपछि अरू कोही युवकले उनलाई त्यसरी आकर्षित गर्न सकेन । यही बीचमा लेफ्रयको परिवारले उनीहरूको सम्बन्धलाई तोड्ने निश्चय गर्‍यो र त्यही जनवरीको अन्त्यतिर लेफ्रयलाई लण्डन पठाइदियो ।

पछिपछि लेफ्रय ह्यामशर शहरमा आए पनि पविारले नै उसलाई अस्टिन र अस्टिनका निकट परिचितहरूबाट टाढै राख्यो । यसरी अस्टिन र लेफ्रयबीच त्यसपछि फेरि कहिल्यै भेट भएन, यद्यपि त्यो आइरिश युवकप्रतिको आकर्षण भने अस्टिनमा जीवनभर नै रह्यो ।

धेरैपछि, ह्यारिस बिग–विदर नामक अर्को एकजना युवकले अस्टिनसित विवाहको प्रस्ताव राखेको थियो । त्यसलाई पहिले त अस्टिनले स्वीकार पनि गरेकी थिइन् ।
तर, भोलिपल्टै उनले विवाहको त्यो प्रस्ताव पनि इन्कार गरेकी थिइन् । उनलाई सम्भावित पति, परिवार वा अरू कसैबाट आफ्नो स्वतन्त्र लेखनकार्यमा कुनै हस्तक्षेप स्वीकार्य थिएन ।

त्यो बेलाको बेलायती समाजमा महिलाले खासगरी आफ्नो आर्थिक सुरक्षाका लागि विवाह गर्ने गर्दथे । यसले गर्दा उनीहरू अक्सर पतिको पूर्ण अधीनस्थ हुनु पथ्र्यो ।
उनीहरू पतिलाई प्रेम गर्ने, पतिलाई मन लागेको बेला उसका शारीरिक इच्छा पूरा गर्ने, सन्तान जन्माउने, पतिलाई पूर्ण सम्मान गर्ने र उसैगरी पतिको पूर्ण आज्ञाकारी भएर जीवन बिताउनु पर्ने चलन थियो ।

अस्टिन के निष्कर्षमा पुगिन् भने, प्रेम र विवाहको सम्बन्धमा फस्नुभन्दा त बरु स्वतन्त्र बसेर लेख्नु नै धेरै असल हो । उनले सामाजिक बन्धन र आर्थिक उपार्जनको अपेक्षाबाट मुक्त भएर सिर्जनात्मक लेखनकार्यमा अगाडि बढ्ने निर्णय गरिन् र आजीवन अविवाहित बसिन् ।

यद्यपि धेरै पछि आएर सन् १९९५ मा टेरी क्यासल नाम गरेकी एक अमेरिकी लेखकले ‘लण्डन रिभ्यू अफ बुक्स’ पत्रिकामा एउटा लामो सनसनीखेज लेख छपाउँदै जेन अस्टिन समलैङ्गिक भएको नयाँ आरोप लगाइन् । लेखक क्यासलले उनको आफ्नै दिदी क्यासान्द्रासित त्यस्तो सम्बन्ध हुन सक्ने जिकिर गरेकी थिइन् ।

क्यासलले आफ्नो आरोपको पुष्ट्याइँका लागि जेनको मृत्युपछि क्यासान्द्राले बहिनी जेनले दिदी क्यासान्द्रालाई लेखेका धेरैजसो चिठी जलाएर नष्ट गरीदिएको कुरालाई आधारका रूपमा प्रस्तुत गरेकी थिइन् । तर उनको यो तर्क कतैबाट प्रमाणित भएको भने छैन ।

तमाम साहित्यकार र विश्वभर छरिएर रहेका अस्टिनका प्रशंसक जेनाइट्सहरू यो आरोप सुनेर आक्रोशित हुन्छन्, र यसलाई तथ्यहीन आरोप मात्र मान्दछन् । (पछि त उनै क्यासल आफैँले पनि आफ्नो त्यो आरोप सही नभएको भन्दै फेरि लेख छपाइन्) ।

नामै नदिइकन उपन्यास प्रकाशन

जेन अस्टिनले सानाठूला उपन्यास लेख्दै राख्दै गइन् (पछि तिनैमध्ये कतिपयलाई पटकपटक पुनर्लेखन गर्दै आफ्ना कालजयी उपन्यासको स्वरूप दिएकी हुन्) । यसै क्रममा सन् १८११ मा उनको पहिलो उल्लेखनीय उपन्यास छापियो, ‘सेन्स एण्ड सेन्सीबिलिटी’ ।

तर यो उपन्यासमा लेखकका रूपमा उनको नाम थिएन, बरु लेखकका रूपमा केवल ‘बाई ए लेडी’ मात्र लेखिएको थियो । पहिले सन् १७९६ वा त्यसअघि नै पनि अस्टिनले ‘एलिनोर एण्ड मरियन’ शीर्षकमा आफ्नो पहिलो पूर्ण उपन्यास लेख्न थालेकी थिइन्, पछि त्यसैलाई पुनर्लेखन गरेर ‘सेन्स एण्ड सेन्सीबिलिटी’ शीर्षकमा छापिएको थियो ।

सेन्सको अर्थ ‘बोध’ या ‘भाव’ र सेन्सीबिलिटीको अर्थ ‘संवेदनशीलता’ हुन्छ । अस्टिनको यस उपन्यासमा दुई मूल नारी पात्र छन्, एलिनोर र मरियन ड्याशवुड । उनीहरू दुईमध्ये एलिनोर ‘सेन्स’ हुन् जसले तर्क वा विचार, विवेक र आत्मनियञ्त्रणलाई प्रतिनिधित्व गर्छिन्, भने, मरियन चाहिँ ‘सेन्सीबिलिटी’ हुन् जसले भावनात्मक अभिव्यक्ति र जुनुनी या आवेशपूर्ण भावनाहरू प्रतिनिधित्व गर्छिन् ।

यो उपन्यासमा विलोबी, एलिजा विलियम्स, मिस ग्रे, कर्णेल ब्रान्डन आदि समेत अन्य पात्र पनि छन् ।जेन अस्टिनको उमेर त्यो बेला एक्काइस वर्ष पुगेको थियो जतिबेला सन् १७९६ मा उनले ‘फर्स्ट इम्प्रेशन’ नामक उपन्यास लेखिन् । पढेर घरमा सुनाउँदा सबैलाई निकै मन पर्‍यो, तर त्यो बेला छापिएन ।

पछि यसैलाई केही पुनर्लेखन गरिन्, नयाँ शीर्षक पनि दिइन् र नयाँ उपन्यास सन् १८१३ मा छापियो, ‘प्राइड एण्ड प्रेजुडिस’ भनेर । यस पटक पनि उपन्यासमा उनको नाम थिएन, बरु लेखकको ठाउँमा ‘सेन्स एण्ड सेन्सीबिलिटी उपन्यासकी लेखक’ भनिएको थियो ।

‘प्राइड एण्ड प्रेजुडिस’ चाहिँ जेन अस्टिनको सबैभन्दा महत्वपूर्ण, सबैभन्दा उल्लेखनीय, सबैभन्दा लोकप्रिय, सबैभन्दा चर्चित र सबैभन्दा धेरै पटक टेलिभिजन या नाटक वा सिनेमाहरूका लागि प्रयोग भएको उपन्यास हुन पुग्यो । यस उपन्यासका दुई पात्र एलिजाबेथ बेनेट र फिज्विलियम डार्सी विश्व साहित्यमा अमर पात्र बनेका छन् ।

बेनेट र डार्सीका साथै यस उपन्यासका अन्य पात्रहरू बेनेटका चार बहिनी, चाल्र्स बिङ्ग्ले, मिस्टर कोलिन्स, लेडी क्याथरीन डे बोर्ग, क्यारोलीन बिङ्ग्ले, श्रीमान्–श्रीमती गार्डीनर आदि अनेक छन् ।

जुलाई सन् २०२५ सम्म आइपुग्दा अस्टिनको ‘प्राइड एण्ड प्रेजुडिस’ उपन्यासका दुई करोडभन्दा धेरै प्रति विक्री भइसकेका छन् । यो उपन्यास शुरू गर्दाको पहिलो पंक्ति नै विश्वविख्यात छ, जसमा उनले लेखेकी छन्, ‘यो त संसारभर स्थापित सत्य तथ्य हो, आफूसँग प्रशस्त धन–सम्पत्ति भएको एकल पुरुष निश्चय पनि श्रीमतीको खोजीमा हुन्छ ।’

अर्को वर्ष सन् १८१४ मा अस्टिनको तेस्रो ठूलो उपन्यास प्रकाशित हुन्छ, ‘म्यान्सफिल्ड पार्क’ । त्यसपछि सन् १८१५ मा ‘एम्मा’, र, सन् १८१७ मा दुई उपन्यास ‘नथ्र्याङ्गर एबी’ र ‘पर्सुएसन’ उपन्यास छापिए । तर यीमध्ये ‘नथ्र्याङ्गर एबी’ र ‘पर्सुएसन’ दुई उपन्यास भने १८ जुलाई सन् १८१७ उनको मृत्यु भएपछि छापिएका थिए ।

(सन् १८१६ को शुरुदेखि नै रोगले थला पर्दै गएकी जेनलाई पहिले क्यान्सरका लक्षण देखिएका थिए । केही समय बितेपछि उनलाई बातरोगले पनि समात्यो । अनि उनी ओछ्यानमा थला परिन् । र, अन्ततः निकै दुःखाइ र पीडा सहँदै विन्चेस्टर शहरमा उनको मृत्यु भयो । मृत्युभन्दा केही दिन पहिलेसम्म पनि उनी उपन्यास लेख्दै थिइन्) ।

‘म्यान्सफिल्ड पार्क’ की नायिका फ्यानी प्राइस प्रेम, एकान्त र प्रतिद्वन्द्विताको अनुभव सँगाल्दै अगाडि बढेकी हुन्छन् । गरीबी र अभावले गर्दा परिवारले आफ्नी छोरी दश वर्षे फ्यानीलाई आफ्नै एक सम्पन्न आफन्त बट्र्राम्स परिवारसित बस्न पठाइन्छ । यस उपन्यासमा अस्टिनले सामाजिक वर्गीयता, नैतिकता र निजी मूल्यहरूबारे वर्णन गरेकी छन् ।

यसैगरी अस्टिनले आफ्नो ‘एम्मा’ उपन्यासमा प्रेमको आधारभूमिका रूपमा रहेका विवाह र सामाजिक तह वा स्तर एवं मर्यादाबारे चर्चा गरेकी छन् । यस उपन्यासमा मूलतः तीन काल्पनिक गाउँ क्रमशः हार्टफिल्ड, र्‍याण्डल्स र डनवेल एबीमा बसोबास गर्ने सीमित सङ्ख्याका परिवारहरूको कथा बुनिएको छ ।

‘एम्मा’ की नायिक एम्मा उडहाउससँगै हेनरी उडहाउस, मिस टेलर, मिस्टर वेट्सन, मिस्टर नाइट्ली, जेन फेयरफ्याक्स, इजाबेला, हेरियट स्मिथ, फिलिप एल्टन, रोबर्ट मार्टिन, फ्र्याङ्क चर्चिल, मिस र मिसेज बेट्स, आदि पात्र छन् ।

अर्को उपन्यास ‘नथ्र्याङ्गर एबी’ की मूल पात्र हुन् सत्र वर्षीय क्याथरीन मोरल्याण्ड, र उनीसँगै आउने अन्य पात्रहरूमा हेनरी टिलने, जेम्स मोरल्याण्ड, जोन थोर्प, इजाबेल थोर्प आदि छन् ।

नायिका क्याथरीनमार्फत अस्टिनले महिलाहरू कसरी सामाजिक र आर्थिक रूपले असमानतामा जीवन बिताउन विवश छन् भन्ने देखाएकी छन् ।अस्टिनको उपन्यास ‘नथ्र्याङ्गर एबी’ की नायिका क्याथरीन निश्छल, अबोध एवं सामान्य युवती हुन् र उनले बढ्दो उमेरसँगै जीवन र समाजलाई हेर्ने–बुझ्ने प्रयास गरिरहेकी हुन्छिन् ।

तसर्थ यो उपन्यास बढ्दो उमेरको कथा भन्ने (कमिङ अफ एज) उपन्यास हो । यस उपन्यासमा रहस्य, रोमाञ्च, भय, कल्पना, अलौकिकता, प्रेम र समाजको अयथार्थ चित्रण भएका उपन्यास (गोथिक नोभेल) हरूप्रति तीखो व्यङ्ग्य छ । नायिका क्याथरीनलाई गोथिक उपन्यास पढ्ने र काल्पनिकीमा रमाउने पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

अस्टिनको अन्तिम पूर्ण उपन्यास ‘पर्सुएसन’ एक रोमाण्टिक उपन्यास हो र यसको मूल कथानक प्रेममा दोश्रो अवसरको प्राप्ति हो ।यस उपन्यासमा सात केन्द्रीय पात्र छन्– एन एलियट, क्याप्टन फ्रेडरिक वेन्टवर्थ, सर वाल्टर एलियट, एलिजाबेथ एलियट, लेडी रसेल, म्यारी एलियट मस्ग्रोभ र विलियम एलियट।

दुईबीच सुमधुर प्रेम–सम्बन्ध भए पनि वेन्टवर्थसित पर्याप्त धन–सम्पत्ति नभएको र उसले पत्नी अनि परिवारलाई सम्मानित ढङ्गले सामाजिक जीवन उपलब्ध गराउन सक्दैन भन्दै ऊसँग प्रेम–सम्बन्ध तोड्न र विवाह नगर्न नायिका एनलाई सहमत गराइन्छ ।

तर आठ वर्षपछि उही युवक क्याप्टन वेन्टवर्थ बनेर नेपोलियनिक युद्ध लडेर विजेताका रूपमा पुरस्कार–रकम समेत हासिल गरी फर्कन्छ । त्यसपछि भने नायिका एन एलियट र नायक क्याप्टन फ्रेडरिक वेन्टवर्थबीच फेरि प्रेम हुन्छ र विवाह पनि हुन्छ । किन पनि भने अब वेन्टवर्थसँग राम्रै धन–सम्पत्ति थियो र उसको सामाजिक हैसियत पनि उकासिइसकेको थियो ।

यहाँनिर उल्लेखनीय के छ भने, अस्टिनका प्रथम दुई उपन्यास जस्तै ‘म्यान्सफिल्ड पार्क’ र ‘एम्मा’ पनि लेखकका रूपमा उनको नाम नराखीकनै प्रकाशित भएका थिए । उनका अन्तिम दुई उपन्यास ‘नथ्र्याङ्गर एबी’ र ‘पर्सुएसन’ उनको मृत्युपछि एक वर्ष एकैसाथ छापिएका थिए । तर यस पटक चाहिँ लेखकका रूपमा उनको नाम पनि थियो ।

तथापि सर्वाधिक रोचक तथ्य चाहिँ यो छ– अस्टिनका उपन्यासहरू उनको शेषपछि कहिल्यै पनि छापाबाहिर (आउट अफ प्रिन्ट) रहेनन् । मरणोपरान्त उनको नामसहित उनका सबै उपन्यासहरू निरन्तर छापिन थाले, व्यापक स्तरमा पढन थालिए र उनी झन्झन् लोकप्रिय हुँदै गइन्, अझ जनप्रिय र प्रशंसित हुँदै गइरहेकी छन् ।
अस्टिनलाई किन सम्झिने

केवल छ ओटा उपन्यास लेखेर विश्व–साहित्यमा अजर–अमर हुन पुगेकी जेन अस्टिन अझ अङ्ग्रेजी साहित्यमा त सर्वकालीन शीर्ष तीन लेखकमध्येकी एक मानिन्छिन् । पहिलो नम्बरमा नाटककार शेक्सपियर, तेश्रो नम्बरमा ‘ओलीभर ट्वीस्ट’, ‘डेभिड कपरफिल्ड’, ‘ग्रेट एक्सप्याक्टेशन्स’, ‘अ टेल अफ टू सिटीज’ आदि समेत अनेक कालजयी/क्लासिक कृतिहरूका लेखक उपन्यासकार चाल्र्स डिकेन्स र दोश्रो नम्बरमा यिनै जेन अस्टिन रहेको मानिन्छ ।

आश्चर्य महसुस हुन्छ जतिबेला यस्तो पढिन्छ, अङ्ग्रेजी साहित्यका विद्वान लेखक एवं विचारकहरूले जेन अस्टिनलाई ज्योफ्री चौसर, जन डन, विलियम ब्ल्याक, जर्ज एलियट, जन मिल्टन, जर्ज ओर्वेल, ह्यारोल्ड पिन्टर, एस.टी.कलरीज, ब्रोन्टे दिदीबहिनी एमिली र शार्लोट, जेम्स ज्वायस, भर्जिनिया उल्फ, विलियम बट्लर यीट्स, ओस्कार वाइल्ड, टी.एस.एलियट, मार्क ट्वेन, अर्नेस्ट हेमिङग्वे, विलियम फक्नर, जे.आर.आर.टोल्किन, अगाथा क्रिस्टी, जोजफ कोनराड, जोन स्टेनबेक, जे.के.रोलिङ आदि–इत्यादि तमाम बहुचर्चित लेखक–साहित्यकारभन्दा उपल्लो दर्जामा राखेका छन् ।

अमेरिकाको येल युनिभर्सिटीमा पढाउने प्रोफेसर हेराल्ड ब्लूमलाई ‘अङ्ग्रेजी भाषा बोल्ने विश्वका सबैभन्दा लोकप्रिय साहित्यिक समालोचक’मानिन्छ । पचासभन्दा धेरै पुस्तक लेखेका उनै ब्लूमले सन् १९९४ मा ‘द वेस्टर्न क्यानन : द बुक्स एण्ड स्कूल अफ द एजेज’शीर्षक पुस्तकमा छब्बीसजना शीर्षस्थ लेखकको सूची राखेका छन् । त्यस सूचीमा उनले जेन अस्टिनलाई एघारौं नम्बरमा सूचीकृत गरेका छन् ।

जेन अस्टिनलाई विशेषगरी बौद्धिक ठट्टा (विट), तीक्ष्ण सामाजिक अवलोकन र उन्नाइसौं शताब्दीका शुरू वर्षहरूमा इङ्ग्ल्याडका महिलाहरूको समग्र जीवनमाथि अन्तरदृष्टि राख्ने गरेको भनेर सम्झना गरिन्छ।

अस्टिनलाई एकजना सामाजिक अवलोकनकर्ता, उच्च नैतिकतावादी व्यक्तित्व, बौद्धिक ठट्टा गर्न जान्ने र सक्ने व्यक्तित्व, अनि एकजना लोकप्रिय एवं वैश्विक लेखकका रूपमा प्रतिष्ठा प्राप्त छ ।

उनको लेखन–विशेषता के पनि हो भने उनले रहस्य–रोमाञ्च, फगत कल्पना, असम्भव कथानकको सनसनीखेज प्रस्तुति, अकल्पनीय रोनाधोना, भावनात्मकता आदि विषयवस्तुमै रङगमङ्गिएको अङ्गेजी उपन्यासलाई सामाजिकता, वैचारिकता र यथार्थवाद दिइन् ।

योसँगै उनले गहन ठट्टा र अर्थपूर्ण हास्यलाई आफ्नो लेखनमा भित्र्याएर साहित्यलाई नयाँ मोड दिइन् । उपन्यासमा हास्य, ठट्टा र व्यङ्ग्य मिसाएर लेख्ने उनी प्रथम महिला लेखक भनेर सम्मानित छन् । यही लेखनमा उनले महिला पात्रलाई सम्मानजनक ढङ्गले चित्रण गर्दै महिला अस्मिता र स्वाभिमानको झण्डा पनि उचालेकी छन् ।

यसर्थ पनि, उनका उपन्यास केवल लोकमा चलेका प्रेमकथाहरूको चामत्कारिक प्रस्तुति होइनन्, बरु तिनमा त सामाजिक एवं लैङ्गिक विभेदप्रति धारिलो व्यङ्ग्य छ । अनि छ, गहन बौद्धिक अवलोकन र विश्वभरका मानिसले गर्ने किसिमका व्यवहारिक अनुभवहरूको शब्द विन्यास ।

उनका उपन्यास दुई सय वर्षभन्दा पहिले लेखिएका भए पनि खासगरी उनका महिला पात्र अथवा नायिकाहरू धन–सम्पत्तिभन्दा पनि प्रेमलाई महत्व दिएर विवाह गर्थे र खुशीसाथ जीवन बिताउँथे भन्ने सन्देश विशेष मननीय मानिन्छ ।

अस्टिनका नायिकाहरू, आख्यान या उपन्यासमै भए पनि, पैसा राख्ने थैली हेर्दैन थिए, बरु सम्भावित पतिको मन, मुटु र हृदय हेरेर–छामेर मात्र जीवनसाथीको चयन गर्थे । यसकारण पनि अस्टिनका रोमाण्टिक उपन्यास अहिलेसम्म पनि विशेष छन् ।

अस्टिनले आफ्ना सबै प्रमुख उपन्यास आफू बाइस वर्षको उमेर पुग्दानपुग्दै लेखिसकेकी थिइन् तर ती कुनै पनि उपन्यास उनी पैंतीस वर्ष नपुग्दासम्म छापिएका थिएनन् ।
उनी जीवित छँदै छापिएका उनका चार र मरणोपरान्तका दुई उपन्यासले उनलाई खासै नाम, दाम वा सम्मान केही दिएनन् । तर उनी स्वर्गवासी भएको करीब पन्ध्र वर्षपछि सन् १८३३ भने उनका सबै उपन्यास सामूहिक रूपमा (एक सेटका रूपमा) छापिए ।

त्यस वर्ष ‘रिचर्ड बेन्टले’ज स्ट्यान्डर्ड नोभेल्स सिरीज’ अन्तर्गत अस्टिनका सबै उपन्यास छापिएका थिए । र, त्यसपछि त उनका उपन्यास गज्जबसँग पढिन र रुचाइन थालिए भने उनकै बारेमा व्यापक चर्चा अनि समालोचना हुन थाल्यो ।

उनका रचनाहरूमाथि ठूलो सङ्ख्यामा आलोचनात्मक समालोचनात्मक निबन्धहरू लेखिएका छन् र ती सबै रचना अनेकअनेक साहित्यिक सङ्कलनहरूमा समावेश गरिएका छन् । यसैगरी उनका सबैजसो उपन्यासमा सिनेमा र टेलिश्रृङ्खलाहरू बनिसकेका छन्, अझै बन्दै पनि गइरहेका छन् ।

जनगणतन्त्र चीनमा सन् १९६६–१९७६ सम्म चलेको चीनियाँ सांस्कृतिक क्रान्तिको समयमा अस्टिनलाई ‘ब्रिटिश बुर्जुआ साम्राज्यवादी’ भन्दै उनका सम्पूर्ण रचनामाथि प्रतिबन्ध लगाइयो । तर माओत्से तुङको मृत्युसँगै त्यो सांस्कृतिक क्रान्ति पनि सकियो र त्यसको केही वर्षपछि अस्टिनमाथिको सबै प्रतिबन्ध हटाइयो ।

चीनमा उनका कृति हजारौंको सङ्ख्यामा विक्री भए । पाठकहरूले निकै चासो र प्रेमपूर्वक उनलाई पढ्न थाले । यो दृष्टान्तबाट एउटा सत्य फेरि स्थापित भयो– सामान्यतया मानिसहरू राजनीतिक उद्देश्यका लागि होइन बरु आनन्द र सन्तुष्टि हासिल गर्नका लागि किताब पढ्न गर्दछन् ।

उनकै मातृभूमि इङ्ग्ल्याण्डमा त्यहाँको हुलाक संस्थाले उनको उपन्यास ‘प्राइड एण्ड प्रेजुडिस’ पहिलो पटक प्रकाशित भएको दुई सय वर्ष पुगेको अवसरमा अस्टिनका किताबहरूलाई बेलायती हुलाक टिकटमा छापेको थियो ।

यसैगरी सन् २०१७ देखि बैंक अफ इङ्ग्ल्याण्डले त्यहाँको मुद्रा दश पाउण्डको नोटमा अस्टिनको चित्र राखेको छ । त्यसअघिसम्म त्यो नोटमा चाल्र्स डार्विनको तस्वीर थियो । यसैगरी लण्डनको वेस्टमिनिस्टर एबी क्षेत्रमा स्थापित ‘पोएट्स कर्नर’ मा राखिएका सयौं उत्कृष्ट कवि, नाटककार, चित्रकार र लेखकहरूसँगै जेन अस्टिनलाई पनि ससम्मान स्थान दिइएको छ ।

उनको मृत्यु भएको दुई सय वर्ष पुगेको अवसरमा उनीप्रति सम्मान दर्शाउँदै लण्डनबाट टाढा ह्यामसर काउन्टी अन्तर्गत ब्यासिङ्ग्स्टोक भन्ने ठाउँमा जुलाई २०१७ मा अस्टिनको शालिक ठड्याइएको छ ।

अस्टिनले दुई सय वर्षपहिले लेखेको भए पनि उनले उठाएका विषय या उनका कथानक जीवन, प्रेम, सम्बन्ध, परिवार, विवाह, महिला स्वाभिमान, नैतिकता, पारिवारिक एवं सामाजिक स्तर अनि मर्यादा, सही र नैतिक तवरले अर्थोपार्जन गर्दै खुशहाल जीवन बिताउने सन्देश, काल्पनिकतामा नभएर यथार्थ जीवनमा कसरी समुचित र स्वस्थ किसिमले बाँच्ने आदि जस्ता सर्वकालिक विषयवस्तु भएकाले पनि उनी सधैँ सबैका लागि पठनीय बनेकी हुन् ।

संसार–प्रसिद्ध ‘फोब्र्स’ पत्रिकाको सन् २०२४ जुलाई २० को एक अङ्कमा पत्रकार एवं लेखक टोनी फिजेराल्ड लेख्छिन्, ‘अस्टिनले दुई सय वर्षभन्दा पहिले लेखेको भए पनि उनका ती सबै उपन्यास आज पनि उस्तै समीचीन, उस्तै रोचक, उस्तै मनोरञ्जक र उस्तै मर्मस्पर्शी छन् । जसले जतिबेला उठाएर उनको एउटै मात्र किताब पढे पनि ऊ स्वतः यही निष्कर्षमा पुग्नेछ ।”

उनै जेन अस्टिन भन्ने गर्थिन्, ‘हामी जे भन्छौं वा जे सोच्दछौं, त्यसले हामीलाई परिभाषित गर्दैन, हाम्रो बारेमा पनि खासै भन्दैन, बरु हामीले जे गर्छौं, त्यसले चाहिँ हामीलाई राम्रै गरी परिभाषित गर्दछ ।’

किताबहरू फेरिँदैनन् । लेखकहरू निरन्तर फेरिन्छन् । एकपटक लेखिसकेपछि बरु लेखकको मृत्यु हुन्छ, तर त्यही लेखकले लेखेको किताब युग–युगान्तरसम्म रही रहन्छ । जेन अस्टिनले लेखेका किताब पनि त्यस्तै हुन् । अस्टिनको नश्वर देह उहिल्यै समाप्त भइसकेको हो तर उनले लेखेर छाडेर गएका किताब सदाबहार छन्, शाश्वत आकर्षणका केन्द्र भएका छन्, र भइरहने पनि छन् ।

समयले देखाएको उनको २५०औं जन्मजयन्तीका अवसरमा, उद्भट प्रतिभाकी धनी र ‘अङ्ग्रेजी भाषाकै प्रथम महान महिला लेखक’, ती गज्जब उपन्यासकार –टोटली ब्रिलियन्ट नोभलिस्ट– जेन अस्टिनलाई सगरमाथाको काखबाट न्यानो एवं प्रेमिल सम्झना ।

(सन् २०२५ जुलाई २२, मङ्गलबार) ।

लेखक
जयदेव गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?