+
+
Shares

विश्वचर्चित मोनालिसाबारे १० रोचक तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लियोनार्दो दा भिन्चीको मोनालिसा चित्र १६औँ शताब्दीमा बनेको हो र फ्रान्सको लुभ्र संग्रहालयमा राखिएको छ।
  • मोनालिसाको वास्तविक नाम लिसा गेरार्डिनी हो र यो चित्र ग्राहकलाई कहिल्यै दिइएको थिएन।

लियोनार्दो दा भिन्चीको ‘मोनालिसा’ संसारकै सबैभन्दा चर्चित र बहुमूल्य कलाकृति मध्येमा पर्छ । यो एउटा मधुर मुस्कान दिने महिलाको चित्र हो । १६औँ शताब्दीको सुरुवातमा बनेको यो कलाकृतिले संसारभरका कलाप्रेमीहरूलाई वर्षौंदेखि मोहित बनाइरहेको छ ।

मोनालिसाको वास्तविक चित्र फ्रान्सको लुभ्र संग्रहालयमा रहेको छ । जहाँ हरेक वर्ष ६० लाखभन्दा बढी दर्शक यही चित्र हेर्न आइपुग्छन् ।

विशेषत: यो चित्रको विषय, रचना प्रक्रिया र सम्बन्धित विवादहरूले गर्दा मोनालिसालाई थप चर्चामा ल्याएको छ ।

मोनालिसाको बारेमा १० ‍तथ्य

१. मोनालिसा होइन, लिसा गेरार्डिनी

धेरैले चित्रमा देखिएकी महिला ‘मोनालिसा’ भनेर सोच्ने गर्छन् । तर उनको वास्तविक नाम लिसा गेरार्डिनी जोकोन्डो हो । मोना भनेको इटालियन भाषामा ‘मेरो श्रीमती’ भन्ने अर्थ दिन्छ । त्यसैले ‘मोनालिसा’ भनेको ‘माई लेडी लिसा’ हो । उनका श्रीमान् फ्रान्चेस्को डेल जोकोन्डोले आफ्नो दोस्रो छोराको जन्म र नयाँ घरको खुसियालीमा यो चित्र बनाएका थिए ।

२. ग्राहकसम्म कहिल्यै नपुगेको चित्र

दा भिन्चीले अर्डर आएपछि मोनालिसा बनाउन थालेका थिए । तर उनले यो चित्र ग्राहकलाई कहिल्यै पनि दिएनन् । कतिपय अनुमानअनुसार उनले यो चित्र पूरा नै गरेका होइनन् । तर ऐतिहासिक प्रमाणहरूका आधारमा उनले यो चित्रको मूल अंश सन् १५०६ मै पूरा गरिसकेका थिए ।

बाँकी रहेका स-साना कामहरू भने सन् १५१९ मा मृत्यु हुँदासम्म उनले गरिरहे । त्यसबेलासम्म चित्रमा केही भागहरू बाँकी रहेको थियो । जसलाई उनका सहायक सालाई (जियान ज्याकमो क्याप्रोटी) ले पूरा गरेका थिए ।

३. नेपोलियनको मोनालिसा प्रेम

दा भिन्चीको मृत्युपछि फ्रान्सेली राजा फ्रान्सिस प्रथमसामु मोनालिसाको चित्र पुग्यो । त्यहाँ यो चित्रलाई सधैं महलभित्र सुरक्षित राखिन्थ्यो । जहाँ केवल उच्चपदस्थ व्यक्तिहरूले मात्र हेर्न पाउँथे । त्यसै सिलसिलामा फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले यो चित्र देखे । उनी यस चित्रप्रति यति मोहित भए कि, उनले आफ्नै शयनकक्षमा चार वर्षसम्म चित्रलाई राखे । चित्रप्रतिको प्रेमकै कारण उनले लिसा गेरार्डिनीका वंशज टेरेसा ग्वाडाग्नीलाई समेत मन पराएका थिए ।

४. हराएका आँखीभौँ

मोनालिसाको अनुहारमा आँखीभौँ छैन । पहिले अधुरो चित्र भएकाले आँखीभौँ बनाउन छुटेको भन्ने विश्वास गरिन्थ्यो । तर २००७ मा गरिएको डिजिटल स्क्यानअनुसार सुरुमा आँखीभौँ थिए । तर कालान्तरमा मेटिँदै गए । अत्यधिक रेस्टोरेसन वा रङ उडेर आँखीभौँ हराएका हुन् ।

५. चित्रको मोडिएको फ्रेम

मोनालिसा अहिलेको जस्तो आधुनिक क्यानभासमा बनाइएको थिएन । काठमा बनाइएको थियो । प्राय: मौसमले काठलाई चाँडै असर गर्ने गर्छ । यहीँ कारण चित्रको माथिल्लो भाग मोडिएको छ । तर आजभोलि भने विशेष तरिकामार्फत तापक्रम व्यवस्थापन गरेर मोनालिसालाई राखिएको छ ।

६. चोरी र शोक

राखिएको लुभ्र म्युजियमबाट सन् १९११ मा मोनालिसा चोरी भयो । त्यसपछि म्युजियममा मान्छेहरू खाली पर्खाल मात्र भए पनि हेर्न आएका थिए । श्रद्धाञ्जली स्वरूप फूलहरू समेत छाडेका थिए । यो कुराले प्रख्यात अमूर्त चित्रकार पाब्लो पिकासो समेत दु:खी भएका थिए । भलै चोरीपछि चित्रको प्रसिद्धि झनै बढेको थियो । तर पछि इटालियन युवक भिन्चेन्जो परुज्जियाले चित्र चोरेको थाहा लाग्यो । दा भिन्ची इटालीमा जन्मेकाले आफ्नो देशमा चित्र लान उनले चित्र चोरेको बताएका थिए ।

७. मोनालिसाका लागि विशेष पत्र मन्जुषा

लुभ्र संग्रहालयमा मोनालिसाका लागि भनेर छुट्टै पत्र मन्जुषा राखिएको छ । त्यहाँ मान्छेहरूले मोनालिसालाई सम्झेर कविता, फूल र उपहारहरू सहितका चिठी पात्र खसाल्ने गर्छन् । जसलाई म्युजियमले विशेष अभिलेखमा सुरक्षित राख्ने गरेको छ ।

८. आक्रमण

मोनालिसा सुन्दरताका कारण मात्र होइन, आक्रमणका कारण पनि चर्चित छ । किनकि विभिन्न समयमा मान्छेहरूले यो चित्रमाथि आक्रमण पनि गरेका छन् । त्यस्तै मध्येको एक सन् १९५० मा भयो । त्यसबेला म्युजियममा आएका एक जनाले एसिड प्रहार गरेका थिए । जसले गर्दा चित्रको बाँया कुहिनोमा क्षति पनि पुगेको थियो । यस्ता थुप्रै आक्रमण छन् । यसैले आजकल बुलेटप्रूफ ग्लासभित्र यो चित्रलाई राखिएको छ । जुन जापानले उपहार स्वरूप दिएको थियो ।

९. खरिद/विक्री गर्न प्रतिबन्ध

मोनालिसा किन्न र बेच्न पूर्णप्रतिबन्ध लगाइएको छ । यसको कारण यो चित्र फ्रेन्च सरकारको सम्पत्ति हुनु हो । सन् १९६२ मा यसलाई १०० मिलियन डलरको बीमा गरिएको थियो । त्यसकै आधारमा अहिले यो चित्रको मूल्य अनुमान गर्ने गरिएको छ । यसको नक्कल गरिएका चित्रहरू भने विक्री गर्न पाइन्छ ।

१०. फेसन ट्रेन्ड सेटरको रूपमा मोनालिसा

लेखिका डायान हेल्सको पुस्तक ‘मोना लिसा : अ लाइफ डिस्कभर्ड’ का अनुसार मोनालिसाको चित्र पछि धेरै महिलाहरूले फेसन गर्न थालेका थिए । त्यसमा मोनालिसाको सुन्दरता नक्कल गर्न महिलाहरूले पहेँलो पाउडर लगाउन थालेका थिए । यससँगै उनको मुस्कान पनि नक्कल गर्न थालेका थिए । यसरी मोनालिसा फेसन ट्रेन्डको आइकन पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?