
News Summary
Generated by OK AI. Editorially reviewed.- च्याट जिपिटीमा हरेक दिन साढे २ अर्बभन्दा धेरै प्रश्न सोधिन्छन् र वार्षिक ९ खर्ब १२ अर्ब प्रश्नहरू सोधिने अनुमान छ।
- ओपन एआईले च्याट जिपिटी एजेन्ट नामक नयाँ फिचर ल्याएको छ जसले प्रयोगकर्ताको तर्फबाट कठीन कार्य आफैं गर्दछ।
- च्याट जिपिटीका मासिक सक्रिय प्रयोगकर्ता ३० करोड छन् र विश्वका १६० भन्दा बढी देशमा उपलब्ध छ।
आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ओपन एआईले विकास गरेको च्याटबट च्याट जिपिटी विश्वभर निकै तीव्र गतिमा लोकप्रिय बनिरहेको छ । मिडिया फर्म एक्सियोसले तयार पारेको एक नयाँ रिपोर्ट अनुसार विश्वमा च्याट जिपिटीमा हरेक दिन साडे २ अर्बभन्दा धेरै प्रश्न (प्रम्प्ट) सोधिन्छन् । त्यस्ता प्रम्प्टमध्ये ३० करोड भन्दा धेरै त केवल अमेरिकी प्रयोगकर्ताबाट मात्रै आउने गरेका छन् ।
यस आधारमा च्याट जिपिटीमा एक वर्षमा ९ खर्ब १२ अर्ब प्रश्नहरु सोधिने गरिएका छन् । यसले च्याट जिपिटी कसरी प्रयोगकर्ताहरुको दैनिक अनलाइन गतिविधिको अहम् हिस्सा बनिसकेको छ भन्ने देखाउँछ । हुनत प्रयोगकर्ताको संलग्नता (युजर्स इन्गेजमेन्ट) को हिसाबले च्याट जिपिटी अहिलेपनि गुगल सर्चभन्दा पछि छ ।
गुगलसँग तुलना
गुगलको मातृ कम्पनी अल्फाबेटका अनुसार गुगल सर्चमा हरेक वर्ष करिब ५ ट्रिलियन प्रश्नहरू सोधिन्छन् । यसको अर्थ गुगलमा हरेक दिन औषतमा १४ अर्ब पटक विभिन्न कुरा सर्च गरिन्छ । जुन च्याट जिपिटीको संख्याभन्दा अत्यधिक धेरै हो । यद्यपि गुगलले आफ्नो दैनिक तथा मासिक सर्च डेटाको बारेमा आधिकारिक रुपमा विवरण सार्वजनिक गर्ने गरेको छैन । तथापि गुगल सर्चसम्बन्धी उल्लिखित तथ्यांकलाई स्वतन्त्र शोधकर्ताहरुले समेत पुष्टि गरेको प्रविधि सम्बन्धी वेबसाइट टेक क्रन्चले जनाएको छ ।
च्याट जिपिटीको तीव्र बढोत्तरी
सन् २०२४ को डिसेम्बरमा च्याट जिपिटीका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३० करोड रहेको ओपन एआईले जनाएको थियो । त्यसबेला हरेक दिन एक अर्बवटा प्रश्न च्याट जिपिटीमा सोधिन्थ्यो ।
ओपन एआईले हालै च्याट जिपिटी एजेन्ट नामक एक नयाँ फिचर ल्याएको छ । यो एउटा एआई एसिस्टेन्ट जस्तै हो जसले प्रयोगकर्ताको तर्फबाट कठीन कार्यहरुलाई आफैं गरिदिन्छ । यसमा वेब ब्राउजिङ, पावर प्वाइन्ट प्रस्तुति तयार गर्ने, बाह्य एप्लिकेसनसँग जोड्ने, एपिआई एक्सेसको माध्यमबाट प्रत्यक्ष डेटा प्रोसेसिङ जस्ता काम पर्दछन् । यस एजेन्टले एक भर्चुअल कम्प्युटरको मद्दतले काम गर्दछ र कुनैपनि कार्यका लागि सबैभन्दा उपयुक्त टुललाई स्वचालित रुपमा छनोट गर्दछ ।
च्याट जिपिटीबारेका केही रोचक तथ्य
- च्याट जिपिटी सन् २०२२ को नोभेम्बर ३० मा सुरुवात भएको हो, यद्यपि यसको निर्माता कम्पनी ओपन एआईले उक्त एआई प्लाटफर्म विकासका लागि सन् २०१८ देखि नै भाषा मोडेलको विकास तथा प्रशिक्षणको काम गरको थियो ।
- च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईको स्थापना सन् २०१५ मा भएको थियो । त्यसको संस्थापक हालका सीईओ साम अल्टम्यानसँगै एलन मस्क समेत ६ जना थिए । तर, मस्कले ओपन एआईको बोर्डबाट सन् २०१८ मा राजीनामा दिएर अलग्गिए । माइक्रो सफ्टले सन् २०१९ मा ओपन एआईमा एक अर्ब डलर लगानी गरेको थियो र हालसम्म उसको लगानी ३ अर्ब डलर पुगिसकेको छ ।
- सन् २०२१ म जम्मा १४ अर्ब डलर मूल्यांकन रहेको ओपन एआई कम्पनीको मूल्य अहिले ३ खर्ब डलर पुगेको छ, जुन अमेरिकाका मूल्यवान कम्पनीहरुको सूचीमा पर्न सफल भएको छ । ओपन एआईले यो वर्ष सन् २०२५ मा १२ अर्ब ७० करोड आम्दानी गर्ने प्रक्षेपण छ ।
- च्याट जिपिटी सार्वजनिक भएको केवल ५ दिनमै यसका प्रयोगकर्ताको संख्या १० लाख नाघेको थियो ।
- विश्वमा च्याट जिपिटीका साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड छ र हरेक महिना ५ अर्ब २० करोड पटक च्याट जिपिटी प्रयोग हुन्छ ।
- च्याट जिपिटीका प्रयोगकर्तामध्ये करिब ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिला छन् ।
- च्याट जिपिटी विश्वका १६० भन्दा धेरै देशमा उपलब्ध भएपनि चीन, रुस, बेलारुस, इरान, अफगानिस्तान तथा भेनेजुयला लगायतका देशमा प्रतिबन्धित छ ।
- विश्वमा सबैभन्दा धेरै च्याट जिपिटी प्रयोगकर्ता भएको देश अमेरिका हो । कुल च्याट जिपिटी प्रयोगकर्तामध्ये अमेरिकी प्रयोगकर्ताको हिस्सा करिब १५ प्रतिशत छ भने दोस्रो धेरै प्रयोगकर्ता रहेको भारतको हिस्सा करिब ९ प्रतिशत छ ।
- गत फेब्रुअरीसम्म च्याट जिपिटी प्रयोगकर्ता अकाउन्टको कूल संख्या ४ खर्ब पुगेको छ। ज्बकि विश्वको जनसंख्या करीब ८ अर्ब २० करोड मात्रै छ।
- एकजना प्रयोगकर्ताले च्याट जिपिटीमा औषतमा १३ मिनेट ५८ सेकेन्ड समय बिताउने र औसतमा २.७७ वटा पेज हेर्ने गरेका छन् ।
प्रतिक्रिया 4