अमेरिकाको वाशिंटनमा गुगलमाथि प्रतिस्पर्धा विरोधी कार्यका विरुद्धमा चलिरहेको मुद्दाको सुनुवाइका क्रममा एउटा रोचक मोड तब आयो जब ओपन एआईको च्याट जिपिटीका प्रमुख प्रडक्ट अधिकारीले गुगलको वेब ब्राउजर क्रोम खरिद गर्ने इच्छा प्रकट गरे ।
च्याट जिपिटीका चिफ प्रडक्ट अफिसर निक टरलीले यदि प्रतिस्पर्धा बहाल गर्नका लागि गुगलले आफ्नो लोकप्रिय ब्राउजर क्रोम बेच्नुपरेमा त्यो खरीद गर्न ओपन एआई तयार रहेको बताए ।
टरलीको उक्त अभिव्यक्ति त्यस समय आएको छ जब अमेरिकी न्याय मन्त्रालयले गुगलको अनलाइन सर्चमा रहेको एकाधिकार समाप्त पार्नका लागि ठुलो कदम उठाउन माग गरिरहेको छ ।
तर, गुगलले भने क्रोम बिक्री गर्ने कुनै प्रस्ताव गरेको छैन ।
गत वर्ष एक न्यायाधीशले गुगलमा अनलाइन सर्च तथा त्यससँग सम्बन्धित विज्ञापनमा एकाधिकार रहेको ठहर गरेका थिए । गुगल भने उक्त फैसलाको विरुद्ध अपिल गर्ने योजनामा छ ।
अदालती सुनुवाइ पछाडिको ठुलो तस्वीर
उक्त सुनुवाइले जेनेरेटिभ एआईको दौडको झलक पनि देखाउँछ, जहाँ ठुला प्रविधि कम्पनीहरू तथा स्टार्टअपले तीव्र ढंगले आफ्ना एआई एपलाई उत्कृष्ट बनाएर धेरैभन्दा धेरै प्रयोगकर्ता आकर्षित गर्न चाहन्छन् ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार गुगलको सर्च एकाधिकारले उसलाई एआईको क्षेत्रमा पनि अनुचित लाभ दिनसक्छ । उता गुगलले भने मेटा तथा माइक्रोसफ्ट जस्ता कम्पनीहरुको कारण जेनेरेटिभ एआईको क्षेत्रमा प्रतिस्पर्धा कायम रहेको दाबी गरेको छ ।
ओपन एआई र गुगलको सम्भावित साझेदारी
च्याट जिपिटीका प्रमुख प्रडक्ट अफिसर टरलीले ओपन एआईले गुगलसँग च्याट जिपिटीमा गुगल सर्च एपिआईको प्रयोग गर्ने अनुमति मागेको पनि खुलासा गरेका छन् । तर , गुगलले त्यो प्रस्ताव अस्वीकार गरेको थियो ।
ओपन एआईको आफ्नो विद्यमान सर्च प्रदायकसँग समस्या उत्पन्न भएको बेला उसले गुगलसँग त्यस्तो अनुमति माग गरेको थियो ।
गुगल एपिआईको प्रयोगबाट आफ्नो प्रडक्ट अझै उत्कृष्ट बन्ने ओपन एआईको विश्वास थियो । तर, ओपन एआईले आफ्नो एपिआई प्रयोगको अनुमति दिँदा धेरै प्रतिस्पर्धीहरुलाई सामेल गर्नुपर्ने कारण देखाउँदै गुगलले अगष्टमा ओपन एआईको प्रस्ताव अस्वीकार गरेको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4