+
+
Shares

लम्कीचुहा अस्पताल विवाद : मेयरको राजीनामा माग्दै नगरपालिकामा तालाबन्दी

अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग राख्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको लम्कीचुहा नगरपालिकामा प्रादेशिक अस्पताल सञ्चालन विवादका कारण स्थानीयले तालाबन्दी गरेका छन्।
  • प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पठाएका डाक्टर र कर्मचारीलाई मेयर सुशीला शाहीले हाजिर हुन नदिएकी छन्।
  • तालाबन्दीपछि सुरक्षा चुनौती बढेपछि प्रहरीले थप सुरक्षा व्यवस्था गरेको छ।

३० वैशाख, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । १५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न नसक्दा विवाद बढेपछि लम्की क्षेत्रमा तनाव भएको हो ।

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि पठाएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरसहितका कर्मचारीलाई हाजिर गर्न नदिएको भन्दै मेयर सुशीला शाहीविरुद्ध स्थानीय आन्दोलित भएका छन् ।

अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग राख्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले लम्कीचुहा नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् । सो क्रममा नेपाल प्रहरी र नगर प्रहरीसँग स्थानीयको भनाभन भएको छ ।

स्थानीयले वडा नम्बर ४ को कार्यालयमा समेत तालाबन्दी गरेका छन् । आन्दोलनरत पक्षका पारश देवकोटाले प्रादेशिक अस्पताल सञ्चालनका लागि आएका डाक्टर र कर्मचारीलाई मेयरले अवरोध गरेको विरोधमा नगरपालिकामा तालाबन्दी गरिएको बताए ।

उनकाअनुसार शीघ्र प्रादेशिक अस्पताल सञ्चालन गर्न दिनुपर्ने माग गर्दै नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहितका तीन जना कर्मचारी सोमबार पठाएको थियो । तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई अवरोध गरेकी थिइन् ।

कर्मचारीलाई हाजिर हुन नदिएपछि भएको विवाद थप चर्किएको छ । तत्कालीन समयमा नगरपालिकाकै सहमतिमा लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया प्रदेश सरकारले थालेको थियो ।

प्रादेशिक अस्पताल बनाउने सबै प्रक्रिया पूरा गरेर प्रदेशले बजेट समेत विनियोजन गरिसकेको छ तर नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न नमान्दा विवाद भइरहेको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मेयर सुशीला शाहीबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको दाबी गरिएको छ ।

अस्पतालको विषयलाई लिएर नगरपालिकामा तालाबन्दी गरिएपछि मेयर शाही समर्थक युवाहरू समेत भेला हुन थालेपछि सुरक्षा चुनौती बढेको विश्लेषण गरिएको छ । दुई समूहबीच हुनसक्ने सम्भावित मुडभेडलाई ध्यानमा राखेर लम्की क्षेत्रमा थप सुरक्षा तैनाथी बढाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्की र इप्रका बौनियाबाट प्रहरी परिचालन गरिएको छ भने इप्रका चिसापानीबाट पनि थप मद्दतका लागि प्रहरी मगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?