
९ साउन, काठमाडौं । रुसद्वारा कब्जा गरिएको भूमि फिर्ता ल्याउन युक्रेनले प्रत्याक्रमण गरेका बेला इलोन मस्कले स्टारलिंक इन्टरनेट बन्द गर्न आदेश दिएको खुलासा भएको छ ।
सन् २०२२ सेप्टेम्बरको अन्यतिर रुसद्वारा कब्जा गरिएको भूमि फिर्ता ल्याउन युक्रेनी सेना लडिरहेका बेला अचानक स्टारलिंकको इन्टरनेट बन्द भएको समाचार संस्था रोयटर्सले गम्भीर खुलासा गरेको हो ।
युक्रेनी सेना स्टारलिंकमा निर्भर रहेको फाइदा उठाउँदै मस्कले अमेरिकाको क्यालिफोर्नियास्थित कार्यालयका सिनियर इन्जिनियरहरुलाई खेरसोन क्षेत्रमा इन्टरनेट बन्द गर्न आदेश दिएको आरोप छ ।
जबकी रुससँग युद्ध चर्किँदै गएपछि मस्कले नै युक्रेनमा स्टारलिंकको सेवा उपलब्ध गराउने घोषणा गरेका थिए । खेरसोन क्षेत्रमा स्टारलिंकको सेवा बन्द हुँदा त्यतिबेला युक्रेनी सेनाले थप क्षति व्यहोर्नुपरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।
तीन जना जानकार स्रोतलाई हवाला दिँदै रोयटर्सले तयार पारेको रिपोर्टमा ब्ल्याक सिया (कालो सागर) देखि उत्तरमा अवस्थित रुसले कब्जा गरेको खेरसोन फिर्ता ल्याउने युक्रेनी प्रयासका बेला मस्कले इन्टरनेट बन्द गर्न आदेश दिएका थिए ।
जसले युक्रेनी सेनाको सञ्चार उपकरण नचल्दा उक्त क्षेत्रमा पुन: नियन्त्रण स्थापित गर्ने प्रयासमा धक्का लागेको हुनसक्ने विश्लेषण गरिएको छ । खेरसोनलाई रणनीतिक रुपमा पनि महत्वपूर्ण मानिन्छ ।
पछिल्लो खुलासाले युद्धग्रस्त क्षेत्रमा प्रविधिको प्रयोग, मानवीय तथा सामरिक प्रभावबारे नयाँ बहस सिर्जना भएको छ । मस्कको आदेशपछि स्टारलिंकका इन्जिनियर माइकल निकोल्सले सहकर्मीहरुलाई भनेका थिए- ‘हामीले यो गर्नैपर्छ ।’
स्रोतका अनुसार मस्कको निर्देशन पछि खेरसोन क्षेत्रमा सेवा दिइरहेका स्टारलिंक स्याटेलाइटका कम्तीमा एक सय भन्दा बढी टर्मिनल (रिसिभर)हरु निष्क्रिय भएको थियो । स्टारलिंकको कभरेजको आन्तरिक नक्सामा ती टर्मिनलहरुका षड्कोण आकारका सेलहरु अँध्यारो (निष्क्रिय) भएको देखिन्थ्यो ।
स्टारलिंकको सेवा कटौतीले रुसले कब्जा गरेका युक्रेनी भूमि डोनेस्क प्रान्तका केही भागहरु समेत प्रभावित भएको उल्लेख छ । बिहीबार राति पनि झन्डै साढे २ घण्टा स्टारलिंकको सेवा अवरुद्ध भएपछि युक्रेनको ड्रोन फोर्सका कमान्डर रोबर्ट ब्रोभडीले स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकमा निर्भर हुँदाको जोखिम औंल्याउँदै एउटा कम्पनीमा निर्भर रहन नहुनेमा जोड दिएका छन् ।
एक युक्रेनी सैन्य अधिकारी भन्छन्, ‘स्टारलिंकको इन्टरनेट बन्द भएपछि हाम्रा ड्रोनहरू निष्क्रिय भए, मिसाइलहरुले लक्ष्य भेट्याएनन्, र खेरसोनको पूर्वमा रहेको बेरीस्लाव भन्ने स्थानमा रुसी सेनालाई घेराबन्दी गर्ने योजना असफल भयो ।’ यद्यपि, पछि युक्रेनी सेनाले खेरसोन शहर र वरपरका केही क्षेत्रहरू फिर्ता लिन सफल भयो ।
पछिल्लो खुलासाले स्टारलिंकका कर्मचारीहरु नै चकित भएका छन् । नाम नखुलाउने सर्तमा स्टारलिंकका एक कर्मचारीले भने, ‘यो आदेशले युद्धको परिणाम मस्कको हातमा पुगेको देखायो ।’
मस्कले यसअघि मार्च २०२३ मा सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) मा पोस्ट गर्दै यस्ता निर्णय कहिल्यै नगरेको दाबी गरेका थिए । तर यो रिपोर्ट त्यसको विपरीत छ । स्पेसएक्सका प्रवक्ताले समाचार संस्था रोयटर्सको रिपोर्टलाई ‘गलत’ भनेका छन् । तर, कुन बुँदा र तथ्य गलत भन्न सकेनन् ।
स्रोतहरुको दाबी अनुसार रुसले आणविक हतियार प्रयोग गर्न सक्ने खतरा औंल्याउँदै मस्कले यस्तो आदेश दिएका थिए । केही अमेरिकी अधिकारीहरूले पनि युक्रेनविरुद्ध रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेको बताइएको छ ।
अत्यावश्यक बेला खेरसोनमा स्टारलिंक इन्टरनेट बन्द गराइएको घटनाले मस्कको बढ्दो भू–राजनीतिक प्रभाव र सुरक्षा मामिलामा बढ्दो हस्तक्षेपलाई उजागर गरेको रोयटर्सले लेखेको छ ।
हाल विश्वभर स्टारलिंकका ७ हजार ९ सयभन्दा बढी स्याटेलाइटहरु अन्तरिक्षबाट इन्टरनेट सेवा दिइरहेका छन् । स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने अर्को कम्पनी नहुँदा स्याटेलाइट इन्टरनेटमा मस्क कम्पनीको प्रभुत्व बढेको हो ।
सन् २०२५ मा स्पेसएक्सको आम्दानीको ६० प्रतिशत हिस्सा स्टारलिंकबाट प्राप्त हुने अनुमान गरिएको छ । जुन भनेको ९ दशमलब ८ अर्ब अमेरिकी डलर हो ।
युक्रेनमा हाल स्टारलिंकका ५० हजार भन्दा बढी टर्मिनल ((रिसिभर डिभाइस) छन् । सुरुआतमा स्पेसएक्सले नै युक्रेनलाई इन्टरनेट रिसिभ गर्ने टर्मिनलहरु नि:शुल्क उपलब्ध गराएको थियो । पछि अन्य देशलाई पनि अनुदानमा स्टारलिंकका टर्मिनल युक्रेनलाई दिएका थिए ।
समाचार अनुसार युक्रेनले अझै पनि केही क्षेत्रमा स्टारलिंककै इन्टरनेट सेवा प्रयोग गरिरहेको छ । निजी प्रविधि कम्पनीहरूको एकाधिकारले सार्वभौम मुलुकको सैन्य रणनीतिमै असर पार्न सक्ने विश्लेषण विज्ञहरुले गरेका छन् ।
विज्ञहरुका अनुसार एक कम्पनीको एकाधिकारले वैश्विक सुरक्षा सन्तुलनमा समेत प्रभाव पार्न सक्ने अवस्था सिर्जना भएको छ । रिपोर्टमा भनिएको छ- अमेरिका र युरोपका सरकारी निकायहरू मस्कको यस्ता ‘निर्णय’हरूमा निर्भर रहनु कति जायज छ भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् ।
प्रतिक्रिया 4