+
+
Shares

पोर्चुगल हिँडेका रौतहटका जयप्रकाश ४ महिनादेखि युक्रेनको जेलमा

१७ लाख रुपैयाँ दलाललाई बुझाएर एक वर्षअघि पोर्चुगल जान भनेर उनी घरबाट हिँडेका थिए । युक्रेनमा अवैध रूपमा फेला परेपछि नियन्त्रणमा लिएर उनलाई हिरासतमा राखिएको हो ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ साउन ९ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटका जयप्रकाश साह तेली युक्रेनको जेलमा चार महिनादेखि हिरासतमा छन्।
  • उनलाई पोर्चुगल पठाउने दलाल हिरेन्द्रप्रसाद साह तेलीले १७ लाख रुपैयाँ लिएका थिए।
  • उनकी श्रीमती राजमती कुमारीले न्याय र उद्धारका लागि विभिन्न निकायमा निवेदन दिएकी छिन्।

९ साउन, काठमाडौं । रौतहटका जयप्रकाश साह तेली चार महिनादेखि युक्रेनको जेलमा छन् । भिजिट भिसामार्फत पोर्चुगल गएका तेलीलाई युक्रेनको सुरक्षा निकायले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

१७ लाख रुपैयाँ दलाललाई बुझाएर एक वर्षअघि पोर्चुगल जान भनेर उनी घरबाट हिँडेका थिए । युक्रेनमा अवैध रूपमा फेला परेपछि नियन्त्रणमा लिएर उनलाई हिरासतमा राखिएको हो ।

उनकी श्रीमती राजमती कुमारीले श्रीमान्‌को उद्धार माग गर्दै विभिन्न निकायमा हारगुहार गर्दै आएकी छन् । तर, उनको उद्धारको अझै पहल हुन सकेको छैन ।

१७ लाख रुपैयाँ दलाललाई बुझाएर श्रीमान्‌लाई पोर्चुगल पठाएकी उनकी श्रीमती राजमती अहिले श्रीमान्‌को जीवनरक्षा र उद्धारका लागि विभिन्न सरकारी निकाय भौँतारिइरहेकी छिन् ।

रौतहटकै हिरेन्द्रप्रसाद साह तेलीले जयप्रकाशलाई पोर्चुगल पुर्‍याइदिने सपना देखाएका थिए । ‘मेरा दुइटा छोरा पोर्चुगलमै बस्छन्, तिमीलाई त्यहीँ लग्छु,’ एजेन्टको यही विश्वासमा परेर जयप्रकाश वैदेशिक रोजगारीका लागि घर छाड्न तयार भएका थिए ।

सुरुमा ७ लाख र पोर्चुगल पुगेपछि बाँकी ७ लाख दिनुपर्ने सहमति भएको थियो । तर, राजमतीका अनुसार उनीहरूसँग त्यति पैसा थिएन । ‘जे–जति छ त्यति दिनू, बाँकी पैसा मेरो छोराले उतै कम्पनीबाट लिन्छ,’ एजेन्टको यस्तो आश्वासनपछि जयप्रकाश जान तयार भए ।

जयप्रकाशलाई पोर्चुगल पठाउने दलाल हिरेन्द्रप्रसाद साह तेली।

यात्रा पोर्चुगलको नभएर पीडादायी बन्न पुग्यो । जयप्रकाशलाई पहिले मल्दोभा पुर्‍याइयो । राजमती भन्छिन्, ‘मल्दोभाको एउटा घरमा २५ दिनभन्दा बढी राखियो । अनि त्यहीँबाट हामीलाई फोन गरेर पैसा नदिए पुलिसले समात्छ भनेर धम्की दिन थालियो ।’

श्रीमान्को सुरक्षाको डरले त्रसित परिवारले दलाललाई पटक–पटक गरी १७ लाख रुपैयाँ बुझाएको थियो । पैसा बुझाएको केही दिनमा उनी युक्रेनी सुुरक्षा निकायको नियन्त्रणमा पुगे ।

दलाल हिरेन्द्रप्रसाद साह तेलीले उल्टै धम्कीपूर्ण भाषामा भने, ‘तिमीहरू जे गर्छौ गर, मलाई कुनै टेन्सन छैन । फर्काउन अझै ४–५ लाख लाग्छ ।’

पैसा हात परेपछि दलालको व्यवहार बदलियो । पैसा बुझाएको भोलिपल्टै जयप्रकाशलाई युक्रेन पुर्‍याएर छाडियो र त्यसपछि एजेन्ट सम्पर्कविहीन भए ।

केही समयपछि राजमतीले एजेन्टलाई भेटेर अनुनय गरिन्, ‘अब मेरो बुढालाई नेपाल फर्काइदिनुस् ।’

तर, एजेन्टले उल्टै धम्कीपूर्ण भाषामा भने, ‘तिमीहरू जे गर्छौ गर, मलाई कुनै टेन्सन छैन । फर्काउन अझै ४–५ लाख लाग्छ ।’

राजमती आफूले दिएको १७ लाखबाटै खर्च कटाएर श्रीमान्‌लाई फर्काइदिन आग्रह गर्दा पनि एजेन्टले मानेनन् । एजेन्ट भनिएका हिरेन्द्र यतिबेला सम्पर्कमा छैनन् । फोन गर्दा न फोन उठाउँछन्, न कुनै प्रतिक्रिया दिन्छन् ।

४ महिनादेखि हिरासतमा, स्वास्थ्य बिग्रिँदै

युक्रेनमा अवैध प्रवेश गरेको भन्दै सुरक्षाकर्मीले पक्राउ गरेपछि जयप्रकाश ४ महिनादेखि हिरासतमा छन् । उनीसँगै महोत्तरीका सन्देश केसरी पनि सोही हिरासतमा रहेको राजमती बताउँछिन् । श्रीमान्सँग कहिलेकाहीँ कुरा भए पनि हिरासतमा कुनै प्रगति नभएको, केवल खाना खाएर बस्नुपरेको बताउने गरेका छन् ।

‘हिरासतमा कुटपिट त गर्दैनन्, म झुटो कुरा किन भनुँ ?,’ राजमती भन्छिन्, ‘तर, उहाँले आजकल छाती दुख्ने गरेको र निकै बिरामी परेको जस्तो महसुस भइरहेको बताउनुहुन्छ । टेन्सनले होला, उहाँको स्वास्थ्य कमजोर बन्दै गएको छ ।’

न्यायका लागि हारगुहार

श्रीमान् जेल परेपछि र दलालले धोका दिएपछि राजमती न्यायका लागि दौडधुप गरिरहेकी छिन् । उनले बाराको कलैयामा एजेन्ट हिरेन्द्रविरुद्ध ठगी मुद्दा दर्ता गरेकी थिइन् । तर, प्रहरीले ‘तपाईंको श्रीमान्‌ले विदेश पठाइसकेको छु भन्नुभएको छ, केको ठगी ?’ भन्दै खासै चासो नदिएको उनको गुनासो छ ।

त्यसपछि उनी काठमाडौं आएर वैदेशिक रोजगार विभागमा निवेदन दिइन्, जहाँबाट त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा चिठी पठाइएको छ । उनले रौतहटका पूर्वमन्त्री प्रभु साहलाई समेत भेटेर आफ्नो पीडा सुनाइन् । साहले कलैया प्रहरीलाई फोन गरेर पीडितलाई सहयोग गर्न निर्देशन दिएको राजमतीले बताइन् ।

‘मैले १७ लाख तिरिसकेँ, बरु त्यही पैसाबाट कटाएर हुन्छ कि जे गरेर हुन्छ, मेरो श्रीमान्‌लाई सकुशल नेपाल फर्काइदिनु पर्‍यो । सरकारले मेरो आवाज सुनोस्,’- राजमती

एकातिर बिरामी बच्चाको हेरचाह, अर्कातिर श्रीमान्को चिन्ता र न्यायका लागि गर्नुपरेको दौडधुपले राजमती शारीरिक र मानसिक रूपमा विक्षिप्त बनेकी छन् ।

‘मैले १७ लाख तिरिसकेँ, बरु त्यही पैसाबाट कटाएर हुन्छ कि जे गरेर हुन्छ, मेरो श्रीमान्लाई सकुशल नेपाल फर्काइदिनु पर्‍यो । सरकारले मेरो आवाज सुनोस्,’ उनी भन्छिन् ।

राजमतीले कन्सुलर सेवा विभागमा उद्धारका लागि निवेदन दिएकी थिइन् । तर, हालसम्म कुनै प्रगति हुन सकेको छैन । विभागले भने उद्धारका लागि पहल भइरहेको जनाएको छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?