
News Summary
Generated by OK AI. Editorially reviewed.- रुसले २० असारमा कीभमा ५५० ड्रोन र ११ मिसाइल प्रहार गरी भिषण आक्रमण गरेको छ।
- आक्रमणका कारण कम्तिमा २३ जना घाइते भएका छन् र विभिन्न संरचनामा क्षति पुगेको छ।
- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्धको निर्लज्जता भन्दै निन्दा गरेका छन्।
२० असार, काठमाडौं । रुसले युक्रेनको राजधानी कीभमा भिषण ड्रोन आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध रोक्ने प्रस्ताव नकारेको केही घण्टापछि मस्कोले कीभमा ड्रोन र मिसाइल बर्साएको हो ।
रुसले बिहीबार राति युक्रेनमाथि ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको छ, जुन हालसम्मकै भिषण आक्रमण हो । जसमध्ये ७२ वटा ड्रोनलाई रक्षा प्रणालीले समेत रोक्न नसक्दा विभिन्न स्थानमा खसेर विस्फोट भएको थियो ।
बिहीबार रातभर कीभमा ड्रोन र त्यसलाई आकाशमै परास्त गर्न अपनाइने रक्षा प्रणालीको विस्फोटका कारण आतंक सृजना भएको थियो ।
बिहीबार राति भएको भिषण आक्रमणका कारण शुक्रबार विहानसम्म युक्रेनी राजधानी कीभमा धुँवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रुसी आक्रमणका कारण कीभमा बिहीबार रातभर झन्डै ८ घण्टा आपतकालीन साइरन बजेको थियो । यसपटक रुसले युक्रेनी राजधानी कीभलाई निसाना बनाएको युक्रेनी सेनाका अधिकारहरुले बताए ।
आक्रमणको निन्दा गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्धको निर्लज्जताको संज्ञा दिएका छन् ।
टेलिग्राममा राष्ट्रपति जेलेन्स्कीले लेखेका छन् ‘पुटिन र ट्रम्पबीचको संवादपछि रुसले फेरि प्रमाणित भएको छ कि रुसले युद्ध अन्त्य होस् भन्ने चाहेको छैन ।’
साथै उनले अमेरिकासहित अन्तर्राष्ट्रिय साझेदारहरूलाई मस्कोमाथि थप दबाब बढाउन र कडा प्रतिबन्ध लगाउन आग्रह समेत गरेका छन् ।
आक्रमणमा कम्तिमा २३ जना घाइते भएका छन् । राजधानीका विद्यालय, भवन, कारहरूमा आगलागी भएको छ भने रेलमार्ग पूर्वाधारमा पनि क्षति पुगेको सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ फुटेजहरुमा देखिन्छ ।
आक्रमणमा पोल्याण्डका विदेश मन्त्री राडोस्लाव सिकोरस्कीले पोलिश दूतावास पनि क्षतिग्रस्त भएको जानकारी दिएका छन् ।
रुसीको आक्रमणले कीभका सबैजसो क्षेत्र प्रभावित भएको बीबीसीले जनाएको छ ।
रुस र युक्रेनको युद्ध रोक्नेबारे बिहीबार मात्रै अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन कुराकानी भएको थियो ।
उक्त कुराकानीमा पुटिन शान्तिको पक्षमा नरहेको र युद्ध रोक्ने प्रस्ताव नकारेको भन्दै ट्रम्पले ‘निराशाजनक संवाद’ भएको बताएका थिए ।
यसबीच युक्रेनी ड्रोन आक्रमणमा रुसीको दक्षिणी रोस्तोभ क्षेत्रमा एक महिलाको मृत्यु भएको रुसी अधिकारीहरुले बताएका छन् ।
सन् २०२२ को फेब्रुअरी यता रुसले लगातार युक्रेनमाथि आक्रमण गर्दै आएको छ । पछिल्लो तीन वर्षदेखि यी दुई देशबीच संघर्ष जारी छ ।
प्रतिक्रिया 4