
यस वर्षको वर्षाले मौसमविद्हरूलाई पनि अविश्वसनीय बनाउँदै लगेको कुरा मधेशमा भएको खडेरी र नमिलेका अनुमानले पुष्टि गरेका छन् । छाता नओढिकनै वर्षा जान लागेको र धानबालीको मुख्य पकेट क्षेत्रमा संकटकाल घोषणा गर्नुपरेको समयमा एमाले मुख्यालय रहेको च्यासललाई भने असिनापानी र हावाहुरीले अशान्त बनाइदिएको थियो ।
अहिले चैं हुरीलाई नेल–हत्कडीले बाँधिएको छ र च्यासलमा श्मशानको जस्तो शान्ति छाएको छ ।
यसै साता नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा सम्पन्न भयो । बैठकमा मौन बसेको भनेर चर्चामा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बीबीसीसँगको वार्तामा भने अनुसार बैठकले आफैं कुनै निर्णय गरेन बरु निर्णयहरू अध्यक्षका तर्फबाट हललाई सुन्न लगाइयो । बैठक अगाडिका दृश्यहरू नै असामान्य थिए ।
गत असार १४ मा आफूले एमालेको सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा फर्कन लागेको भन्दै विद्या भण्डारीले गरेको घोषणा पछि एमाले झण्डै भर्टिकल ध्रुवीकरणको चरणमा प्रवेश गर्दै थियो । त्यसलाई मत्थर पार्न पार्टी संस्थापन पक्षले गैरराजनीतिक र प्राविधिक पक्षमा निकै जोडबल गरेको देखियो ।
विद्या भण्डारी र ईश्वर पोखरेल पक्षले सार्वजनिक खपतका लागि भनेका बाहेक योजनाबद्ध रूपमा आफ्ना कार्यसूची सार्वजनिक गरेन र बैठकमा प्रस्तुत हुने संगठित प्रयास गरेको पनि देखिएन । विद्याको घोषणाले रन्थनिएको पार्टी संस्थापन पक्ष कुन हदसम्म जान सक्छ भन्ने अनुमान पनि यो पक्षले गर्न सकेको जस्तो देखिएन ।
यसपछि त जे परिणाम निस्कनु सम्भव थियो त्यस्तै भयो । बैठकको शुरुबाटै विद्या–ईश्वर पक्ष हतोत्साही भएको र संस्थापन पक्ष खुशी हुँदै गरेको दृश्य च्यासल वरपर देखियो । यो बैठकले एमालेलाई फेरि एकपटक अनावश्यक ध्रुवीकरणको घनचक्करमा फसाउन उत्प्रेरकको काम गर्नेछ । यसका प्रभावहरू अनुमान गर्नु हतार मात्र हुनेछ ।
विद्याको मानमर्दन
एमालेको संस्थापन पक्षका केही नेताहरूको पछिल्ला तीन साताका अभिव्यक्ति हेर्दा यस्तो लाग्छ कि आज देशले सामना गरिरहेको मुख्य चुनौती पूर्वराष्ट्रपति तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष कमरेड विद्या भण्डारी हुन् । आजको नेपाली समाजको प्रधान अन्तरविरोध पनि विद्या भण्डारीसँग छ त्यसैले उनलाई तत्काल ‘राजनीतिक मृत्युदण्ड’ दिनु आजको प्रधान कार्यभार हो, मार्क्सवादको सिर्जनात्मक प्रयोग पनि हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षले प्रयोग गरेको शासकीय भाषा र संविधानका धारा–उपधारा उल्लेख गरेर गरिएको निर्णयले पनि आजको नेपाली समाजको अधोगतिको मुख्य कारण विद्या भण्डारीको एमाले राजनीतिमा प्रवेश हो भनेर पार्टी भित्रका र बाह्य स्टेकहोल्डरहरूलाई जानकारी दिन खोजेको जस्तो देखिन्थ्यो ।
यस्तो अभियानबाट विद्या भण्डारी एमालेमा फर्कनु भनेको पार्टी विभाजन गर्ने विभिन्न शक्तिकेन्द्रको षड्यन्त्रमूलक योजनाको कार्यान्वयन हो, विद्या आउँदा पार्टी समाप्त हुन्छ भन्ने भाष्य स्थापित गर्न प्रयास गरेको बुझ्न सकिन्थ्यो । यसको पटाक्षेप बैठक सकिएको भोलिपल्ट बुटवल पुगेका उपाध्यक्ष कमरेड विष्णु पौडेलले पार्टी विभाजन गर्ने प्रयासलाई असफल बनाएको भन्दै दिएको अभिव्यक्तिबाट भएको थियो ।
२०५० माघको उपनिर्वाचनका समयमा विद्या भण्डारीको महिमागान र अहिले त्यही पंक्तिले गरिरहेको मानमर्दन बीच तुलना गर्दा राजनीतिको भयानक कुरुप चित्र देखापर्छ । हिजोसम्मका कमरेडहरू आजै, केवल राजनीतिक नेतृत्वलाई चुनौती दिने सम्भावना रहेकै कारणले कतिसम्म तल झरेर आफ्नै नेता या कमरेडको मानमर्दन गर्न सक्छन् भन्ने उदाहरणका रूपमा पनि यो घटना नेपालको र खासगरी नेकपा एमालेको इतिहासमा दर्ज भएर रहनेछ ।
दासढुंगा दुर्घटनाको समयदेखि २०५० माघको उपनिर्वाचनको समयसम्म काठमाडौंमै बसेको र बागबजारको एमाले केन्द्रीय कार्यालयको एउटा नियमित भिजिटरका रूपमा मलाई उतिबेला विद्या भण्डारीलाई कसरी निर्वाचनमा ल्याइयो र महिमामण्डित गरिएको थियो भन्ने जानकारी छ । विद्याले आफूलाई उम्मेदवार बनाइयोस् भनेकी थिइनन्, उनलाई डेराबाट तानेर उम्मेदवार बनाइएको थियो ।
उनलाई उम्मेदवार बनाएर गरिएको महिमागान र प्रचारका सामग्रीहरू अझै पनि त्यतिबेलाका पत्रपत्रिकामा साक्षी बनेर बसिरहेका होलान् । त्यतिबेलाको अखिलको नेतृत्वमा शंकर पोखरेल थिए । विष्णु रिमालले हाँकिरहेको मजदुर फाँट, अखिल र युवासंघ प्रचारको अग्रमोर्चामा थिए । अहिले आफ्नो राजनीतिक भविष्य अप्ठेरो पर्ने लागेपछि नेतृत्वपंक्तिका केही व्यक्ति र उनीहरूका नन्दीभृंगीबाट गरिएको विद्याको अपमान उदेकलाग्दो देखिन्छ ।
बीचमा विद्याले आर्जन गरेको शक्तिलाई एकातिर राखेर हेर्ने हो भने यस्तो लाग्छ उनलाई त्यतिबेला उपनिर्वाचनमा उम्मेदवार बनाएर सेतो साडीमा डुलाउँदै हिंड्नुको अर्थ केवल एमालेको तत्कालीन राजनीतिक लाभका लागि गरिएको उपयोग थियो । यस्तो पनि लाग्छ कि एमालेको लागि विद्याको उपयोग सकियो र उनको मानमर्दन र अपमान योजनाबद्ध रूपमै गरिएको हो जसरी योजनाबद्ध रूपमै उनलाई उतिबेला उम्मेदवार र पछि राष्ट्रपति बनाइएको थियो ।
अवश्य उनी सक्रिय राजनीतिमा आउनु ठिक कि बेठिक भन्ने विषयमा सार्वजनिक बहस आवश्यक थियो । यस्तो बहस एमाले पंक्तिमा झन् बढी हुनुपर्थ्यो, किनभने विद्याको राजनीतिमा आगमनको मुख्य प्रभाव एमालेको भावी राजनीतिमा पर्ने हो । तर, मूल विषयलाई विषयान्तर गरेर दुई वर्ष पहिले नै नवीकरण गरिएको सदस्यतालाई बदर गर्न गरिएको जोरजुलुमले विद्याको सदस्यताको विषयमाथिको छलफललाई अपमानपूर्ण बनाइदियो र उनको राजनीतिमा आगमन कति औचित्यपूर्ण हो भन्ने विषयलाई ओझेल पारिदियो ।
केन्द्रीय समितिको बैठकले उनलाई राजनीतिमा आउन नहुने निर्णय गरेसँगै झण्डै एक महिनादेखि चर्केको जस्तो देखिएको एमालेभित्रको समूहगत अन्तरविरोध केही समयका लागि कमजोर हुनेछ । विद्या भण्डारी पार्टी अध्यक्षको दाबी सहित राजनीतिमा आउँदा कमरेड केपी ओलीसँग महाधिवेशनमा टक्कर पर्ने र त्यस्तो अवस्थामा ओलीको राजनीतिक निरन्तरता समाप्त हुनसक्ने भयले स्वयं ओली र उनको दलभित्रको भृत्यतन्त्र सन्त्रस्त थियो ।
लामो समयदेखि अध्यक्ष ओली र उनका नानाभाँतीका समूहको पेलाइमा परेर हैरानी खेपेर मूर्झाएका एमाले कमरेडहरू मूर्छित मान्छे पानी छम्केर बौरिए झैं बौरिएका थिए भने सत्ता र शक्तिमा अवसर पाएकाहरू छट्पटीमा थिए । केन्द्रीय समितिको बैठकले तत्काल यस्तो अवस्थामा ब्रेक लगाएको छ ।
विद्यालाई पार्टी राजनीतिमा फर्किन जुन हतियार प्रयोग गरियो त्यो भने बलियो र तर्कसम्मत देखिंदैन । यस्तो विशुद्ध प्राविधिक समाधानले राजनीतिक चुनौतीको सामना गर्न सकिन्न भन्ने चैं ओली र विद्या दुवैलाई थाहा नहुने कुरै भएन ।
पार्टी जीवनमा प्रवेश गर्ने विद्याको निर्णय उनकै भाषामा आउने महाधिवेशनबाट आफू पार्टी अध्यक्ष हुने योजना सहितको हो । यसले सिधा सिधा अध्यक्ष ओलीको राजनीतिक भविष्यलाई चुनौती दिन्थ्यो । ओलीको राजनीतिक निरन्तरताका लागि एमालेले आफ्नो पार्टी सञ्चालनका आधारभूत मान्यता र २०४६ यता पार्टीले हुर्काएको मूल्यप्रणालीलाई स्थगित गरिदिएको छ । मूलत: पार्टीभित्र प्रतिस्पर्धाबाट श्रेष्ठता, सार्वजनिक भूमिकामा पनि अन्य राजनीतिक दल तथा शक्तिहरूसँगको प्रतिस्पर्धाबाट समाजमा श्रेष्ठता हासिल गर्ने जबजको मर्ममाथि यसले प्रहार गर्छ ।
कुनै खास व्यक्तिका लागि विधानका व्यवस्थाहरू परिवर्तन गर्दै जाने अनौठो बाटो अहिलेको एमालेले समातेको छ । एमालेको केन्द्रीय समितिका सदस्यहरूले यस्तो चलखेललाई सहजै स्वीकार गरेर पार्टीको मूलभूत चरित्र निरुपणलाई नै डोलायमान बनाइदिएका छन् । यसले एमालेको जीवनमा दूरगामी असर पर्नेछ नै सँगै नेपाली समाजको लोकतन्त्रीकरण र त्यसका संस्थागत व्यवस्थापनलाई थप कमजोर बनाउने देखिन्छ । एमालेमा नयाँ र क्षमतावान पंक्तिको प्रवेशलाई विकर्षित गर्नेछ ।
विद्याले नदेखेको बाह्य अवरोध
राजनीतिमा कहिलेकाहीं कल्पना नगरिएका कुरा पनि सहज रूपमा व्यक्त हुन्छन् । यतिबेला नेपाली कांग्रेस र लिवरल पक्षबाट विद्याको राजनीतिमा आगमनलाई रोक्न भएको सक्रियता पनि त्यस्तै हो । उनीहरू त स्वयं एमाले संस्थापन पक्षले भन्दा बढी तर्क र सैद्धान्तिक आवरण सहित विद्यालाई रोक्न सार्वजनिक बहस गरिरहेका छन् । कांग्रेस केन्द्रीय समिति हुँदै देउवाले बालुवाटारमा दिएको अभिव्यक्ति तथा कांग्रेस निकट केही बौद्धिकहरूको सार्वजनिक अभिव्यक्तिले उनीहरू विद्यालाई एमाले नेतृत्वमा आउनबाट रोक्न चाहन्छन् भन्ने स्पष्ट सन्देश दिन्छ ।
भन्न त उनीहरू लिवरल राजनीतिक सिद्धान्त र मूल्यका अनेक झिलिमिली रंग लगाएर आफ्ना कुरालाई अरूले पनि स्वीकार गर्ने बनाउने गरी टल्काउँछन् तर यसको आन्तरिक रहस्य भने त्योभन्दा फरक देखिन्छ ।
पहिलो हो, प्रधानमन्त्रीका रूपमा ओलीको अलोकप्रियताको फाइदा आगामी निर्वाचनमा कांग्रेसले लिनुपर्छ भन्ने मनसाय । पछिल्लो समय केपी ओली आमवृत्तमा अलोकप्रिय छन् भन्ने व्यापक बुझाइ छ । उनीप्रति मानिसहरूले देशभित्र र बाहिर पनि व्यक्त गर्दै गरेका धारणा र व्यवहारले यो कुरालाई पुष्टि गर्छ । यस्ता कुरा कांग्रेसको एउटा वृत्तसँग संवादमा बस्यो भने सजिलै सुन्न सकिन्छ ।
ओलीको नेतृत्वमा नै एमाले २०८४ को चुनावमा गयो भने त्यसको लाभ कांग्रेसले हात पार्न सक्छ भन्ने उनीहरूको बुझाइ छ । कांग्रेसको नेतृत्वबाट आउने निर्वाचनसम्ममा शेरबहादुर देउवा बाहिरिने भएकोले त्यहाँ अहिले जस्तो बद्नाम अनुहार प्रधानमन्त्रीको दावेदार भएर देखिने छैन । यतिबेला नेपाली समाजको ठूलो हिस्साले देउवा, ओली र प्रचण्डलाई अहिलेको नेपाली समाजको दु:ख र निराशाको कारण मान्ने गरेको छ (यस्तो धारणा कति सत्य हो भन्ने कुरामा फरक मत हुनसक्छन् र छन्) । यस्तो अवस्थामा देउवा बाहेकको कांग्रेसले ओली र प्रचण्डको अनुहारसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ भन्ने बुझाइ कांग्रेसमा छ ।
विद्या भण्डारी एमालेको नेतृत्वमा आउँदा पुस्तान्तर पनि हुने र महिला समेत भएको नाताले एमालेले त्यो अनुहारको लाभ हासिल गर्न सक्छ भन्ने पनि उनीहरूको विश्लेषण रहेको छ । यही कारण हो कि उनीहरू एमालेमा ओलीको निरन्तरता चाहन्छन् र पूर्वराष्ट्रपति राजनीतिमा आउनुहुन्न भन्ने तर्कको आवरणमा त्यस अनुकूलको जनमत निर्माणका लागि शक्ति खर्च गरिरहेका छन् ।
दोस्रो, विद्या भण्डारीको सक्रियतालाई चीनसँगको उनको निकटता र नेपालका कम्युनिष्ट पार्टीहरूको एकतामा खेल्न सक्ने सम्भावित भूमिकासँग जोडेर एउटा न्यारेटिभ तयार गरिएको छ । विद्या एमालेको नेतृत्वमा आउँदा कम्युनिष्ट गठबन्धन बन्न सक्ने, यसले निर्वाचनमा बहुमत हासिल गर्न या निर्वाचनपछिको सरकार बनाउन सक्ने सम्भावनालाई अहिले नै निस्तेज नपारे नेपालमा चीनतिर झुकेको सरकार बन्छ भन्ने न्यारेटिभ पनि बनाइँदैछ (विद्या नेतृत्वमा आउँदा कमसकेम एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी एमालेमा फर्कनसक्ने कुरा चैं निश्चित जस्तै छ र माओवादीसँग चुनावी साँठगाँठको सम्भावना पनि ओली नेतृत्वमा नहुँदा सहज देखिन्छ) ।
यस्तो सम्भावनालाई कमजोर बनाउन अहिले नै नेपालका मामिलामा भूराजनीतिक प्रतिद्वन्द्विता सुरु भएको छ । सबैलाई थाहा छ कि नेपालमा भारत, चीन र अमेरिकाको भूराजनीतिक स्वार्थ टक्कराउँछन् । उनीहरू तीनवटै पक्ष, खासगरी भारत र चीन नेपालमा आफू विरोधी सरकार नबनोस् भन्ने चाहन्छन् । यता सक्रिय राजनीतिमा प्रवेशको घोषणा गर्नु अगाडि चीन भ्रमण गरेकी र चिनियाँ नेता सी चिन फिङसँग राम्रो सम्बन्ध रहेको भनेर चिनिएकी विद्या भण्डारीलाई एमालेको नेतृत्वमा आउनबाट रोक्न यस्तो भूराजनीतिक चलखेल भएको अनुमान गर्न थालिएको छ ।
सम्भवत: यही कारणले ओलीलाई झण्डै दुई महिनापछि भारत बोलाइएको सूचना एमाले केन्द्रीय कमिटीको बैठकको उद्घाटन हुनुभन्दा केही समय पहिले मात्र ब्रेक गरिएको थियो ।
एमालेमा विद्या भण्डारीको आगमन रोक्न नेपालका पश्चिमा स्टेकहोल्डर र भारतीय संस्थापनका प्रतिनिधि पनि सक्रिय रहेका छन् । विद्याले भने जस्तो राजनीति हुँदै जाँदा पनि उनी कमसेकम एमालेको अर्को महाधिवेशन अगाडि नेतृत्वमा आउन सम्भव थिएन । तर कांग्रेस नेता शेखर कोइरालाले यसैबीचमा प्रचण्ड पछि विद्यालाई भेट्न गएको कुरालाई सरकार ढाल्न विद्याको सहयोग रहेको भन्ने अनर्थपूर्ण न्यारेटिभ समेत बनाइयो ।
संसद्मा पनि नरहेकी र पार्टीको औपचारिक पोर्टफोलियोमा कतै नरहेकी विद्याले न त एमाले संसदीय दललाई निर्देशन गर्न र नियन्त्रण गर्न सम्भव थियो न उनका निर्णयले सरकार बन्न र ढल्न सक्थ्यो । तर शेखरसँग मिलेर ओली सरकार ढाल्न विद्या सक्रिय भएको हुनसक्ने हल्ला मच्चाइयो । यसका पछि पनि भूराजनीतिका स्थानीय एजेन्ट र एजेन्सीहरूको सक्रियता थियो भन्ने अनुमान गरिएको छ ।
यस्तो सम्भावित चित्रबारे विद्यालाई पूर्वज्ञान नहुनु र त्यसको प्रतिकारको रणनीति बनाएको नदेखिनु उदेकलाग्दो छ । उनको टिमका सदस्यहरूमा यस्तो कूटनीतिक दाउपेचको ज्ञान कम रहेको पनि यसले देखाउँछ ।
पुरानो योजना नयाँ हलचल
विद्या भण्डारी आफ्नो कार्यकाल सकेर राष्ट्रपति भवनबाट निस्केर सिधै छोरी उषाकिरणको डेरामा बस्न गएकी थिइन्, राज्यले दिने घरभाडा लिएकी थिइनन् । पूर्वराष्ट्रपतिले एउटा सिंगो घर लिएर बस्नुको साटो छोरीको डेरामा बस्न किन गइन् भनेर कसैले प्रश्न उठाएन । सन्देश स्पष्ट थियो उनी एमालेको राजनीतिमा फर्कने मनसाय सहित तयारी गर्दैछिन् । यति कुरा त ओली र एमाले पंक्तिलाई उतिबेलै थाहा थियो । उनले आफू राजनीतिमा आउन चाहेको सन्देश पार्टी सदस्यता नवीकरण गरेर मात्र होइन ओलीलाई भेटेर पनि दिइरहेकी थिइन् । पछिल्लो पटकको बालुवाटार भेटघाट त्यसको उत्कर्ष थियो । ओलीले त अहिले पनि मलाई थाहा दिइएन भन्न छाडेका छैनन् । यसलाई सहज रूपमा लिएको भए धेरै पहिले नै यो विषय समाधान हुन्थ्यो र एमाले मुख्यालयमा हुरी बनेर पस्ने थिएन ।
उषाकिरणको यो स्टाटस
एमाले केन्द्रीय कमिटीको बैठकका निर्णयहरू पछि मदन भण्डारी फाउन्डेशनका अध्यक्ष तथा मदन–विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले फेसबुकमा एउटा स्टाटस राखिन् । त्यसमा भनिएको छ :
“तपाइँहरूमध्ये कति जना यो निर्णय (सदस्यता नवीकरण नगर्ने राजनीतिमा आउन नदिने) बाट छक्क पर्नुभएको देखेर म छक्क परें । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहिं अचम्मित छैन । म खुशी छु कि यो खुला रूपमा बाहिर आयो । …. विगत एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन् । र नैतिक समर्थन खोज्दैैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो । त्यसकारण यो प्रकरणलाई धन्यवाद !”
“नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन् । र नैतिक समर्थन खोज्दैैनन् पनि” एमालेको सत्तासीन भृत्यतन्त्रले गर्ने राजनीतिको यो यथार्थ २०३९ को गडबडीको समय, गोपाल शाक्यको निष्काशन र उनीमाथिको व्यवहारदेखि हामीले देख्दै आएको हो । यसलाई उषाले छिटै बुझिछन् । मदन भण्डारी र विद्यादेवी भण्डारीकी छोरी उषाको यो आत्मबोधले एमालेलाई कहिलेसम्म कुन हदसम्म नकारात्मक असर पार्छ (पिर्छ) भन्ने कुरा थाहा पाउन भने समय लाग्नेछ ।
विद्याका सम्भावना
विद्या भण्डारीका लागि ओलीले ढोका बन्द गर्न गरेको पहलले सार्थकता पायो र उनलाई पार्टी राजनीतिमा फर्किन दिइएन भने के हुन्छ भन्ने प्रश्न अहिले आम मानिसका मनमा छ । मेरो विचारमा, राजनीतिमा फर्कन अठोट गरेको भनेर बाहिर भने जस्तै उनी दृढ छन् भने त्यसका सीमित विकल्प मात्रै छन् ।
पहिलो, उनले पार्टीमा फेरि फर्कन र सक्रिय हुन अन्तिम समयसम्म बल गरिरहनेछिन्, पर्खिने छिन् । उनलाई राजनीति गर्न अर्को फ्रन्ट पनि छैन । मदन भण्डारी फाउन्डेशन मार्फत उनी सामाजिक काममा सक्रिय हुन सक्लिन्, राजनीतिक फोरमका रूपमा आफ्ना कुरा राख्न देशभर दौडाहामा जान पनि यो मञ्चबाट सम्भव होला तर फाउन्डेशनका माध्यमबाट पार्टी राजनीति हुँदैन । राजनीतिलाई सहयोगसम्म हुनसक्छ ।
उनका लागि सबैभन्दा सहज बाटो पार्टी बाहिर बसेर पनि एमालेभित्र समानान्तर गतिविधि र शक्ति सञ्चय गर्नु हो । यस्तो गतिविधि पनि संस्थापनको पेलानलाई चुनौती दिने मनोदशामा पुगेका नेता–कार्यकर्ताबाट मात्र सम्भव छ । शक्ति, स्रोत र सत्तामा नियन्त्रण गरेका ओलीले कार्यकर्तालाई नियन्त्रणमा राख्न प्रयोग गर्न सक्ने ठूलो हतियार नै निर्वाचनमा टिकट, अधिवेशनहरूमा समर्थन र एउटा पंक्तिका लागि राजनीतिक नियुक्ति हो ।
संघ, प्रदेश र स्थानीय तहमा टिकट र नियुक्तिका आकांक्षीहरू बग्रेल्ती छन् । अहिले नै पनि ओलीसँग प्रदेशदेखि संघसम्मका मन्त्री बदल्न सक्ने, नयाँलाई दिन र पुरानालाई खोस्न सक्ने पर्याप्त राजनीतिक टुल्स छन् । यसैलाई प्रयोग गरेर उनले आफ्नो विपक्षमा बोल्न र सक्रिय हुनबाट केहीलाई रोकिरहन सक्छन् । केन्द्रीय कमिटीको बैठकमा देखिएको दृश्यले नै यसका प्रभाव देखाउँछन् ।
तर एमालेको इतिहास हेर्दा के देखिन्छ भने यो कहिल्यै पनि समस्या मुक्त छैन । पार्टीभित्रको दमनले गुट रोकिएका पनि छैनन् । यसको सबैभन्दा बढी भुक्तमान सीपी मैनाली पछि ओली र विद्याले सँगसँगै व्यहोरेका हुन् । कम्तीमा २०५७ देखि २०७० सम्म त उनीहरूलाई पार्टीको प्रतिपक्षको भूमिका खेलेको अनुभव छ । माधव नेपाल भन्दा ओली उग्ररुपमा कठोर र दमनकारी होलान् तर दमनले मात्र त गुट बन्नबाट रोक्न सकिन्न ।
विद्या भण्डारीका लागि अहिले देखिएको सम्भावनाको बाटो यही हो, दलभित्र आफ्ना सहयोगीहरूको समूह बनाएर देशभर गतिविधि चलाउने, संगठित प्रतिरोध गर्ने र उपयुक्त समय पर्खिने ।
विद्याका लागि अर्को पार्टीमा जान या नयाँ पार्टी बनाउन भने सम्भव नै छैन । मेरो विचारमा विद्यासँग मदन भण्डारीले कुनै बेला महासचिवका रूपमा नेतृत्व गरेको र विचारधारात्मक रूपमा अहिले पनि उनको नेतृत्वमा रहेको दाबी गरिरहेको एमाले बाहेक अर्को पार्टी रोज्ने या खोल्ने बाटो नै छैन । गेटबाटै छिर्न नदिइएको अवस्थामा नयाँ पार्टी बनाउने दबाब उनलाई पार्टीभित्र र बाहिरबाट पनि आउन सक्छ । तर यो बाटो उनका लागि पनि र एमालेका लागि पनि आत्मघाती हुनेछ ।
तर एउटा कुरा निश्चित छ विद्याको अनौपचारिक नेतृत्वमा एमालेभित्र अहिले नै एउटा समूह भर्टिकल्ली निर्माण हुन थालेको छ । त्यसले आकार लिनेछ र आगामी महाधिवेशनमा त्यो स्पष्टसँग कित्ता अलग गरेर खडा हुनेछ । त्यस्तो अवस्थामा एमालेलाई आन्तरिक शक्ति सुदृढ गर्न, पार्टीलाई एकताबद्ध पार्न र आगामी निर्वाचनमा राम्रो परिणाम हासिल गर्न मुश्किल पर्नेछ । त्यसले विद्या समूहको मोलतोलको क्षमता बढाउने छ र पावर शेयरिङ अनिवार्य बन्नेछ । ढिलो होला तर विद्याको पार्टी प्रवेशको बाटो यही गेटबाट खुल्नेछ ।
कमरेड ओलीका विकल्प
कमरेड ओलीले आफू अध्यक्ष र प्रधानमन्त्रीका रूपमा टिकिरहन संसद् विघटन गरे, २०७७ पुस ७ मा केन्द्रीय समितिमा सयौं नयाँ सदस्य मनोनीत गरे, अन्तत: प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल लगायतलाई पार्टीको बलेंसीबाट बाहिर निकाले । यो सिलसिला भीम रावल हुँदै अहिले विद्या भण्डारीसम्म आइपुगेको छ ।
एमालेभित्रको यो विकासक्रम हेर्दा मलाई स्टालिन कालमा सोभियत कम्युनिष्ट पार्टीको दमन स्मरण गराउँछ । सन् १९२४ को अधिवेशनमा सहभागी लेनिनग्रादका १०० प्रतिनिधिमध्ये ९७ जना अर्काे अधिवेशनमा आउन सकेनन् किनभने उनीहरू या त मारिएका थिए या जेलमा पुगेका थिए ।
झापा आन्दोलन छिन्नभिन्न भएको अवस्थामा पार्टी गठन गर्दै यसलाई अगाडि बढाउन भूमिका खेलेका सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा, रत्न वान्तवा, ईश्वर पोखरेल, मणिकुमार राईहरू हुन् । रत्न वान्तवाको २०३५ चैतमा शाही सरकारले हत्या गर्यो । मणिकुमार राई २०३५ पछि गएर पार्टीबाट बाहिरिए । सीपी २०५४ मा बाहिरिए । पछि भिन्न भिन्न कारण र परिस्थितिमा पार्टी नेताहरू राधाकृष्ण मैनाली र मोहनचन्द्रहरू बाहिरिए । माधव, झलनाथ र वामदेव बाहिरिएपछि २०३१ यता लगातार पार्टी नेतृत्वमा रहनेहरूमा अमृत बोहरा र त्यसपछिका ईश्वर पोखरेल तथा मुकुन्द न्यौपाने मात्र एमालेमा छन् । अमृत बोहराको भूमिका सल्लाहकारको हो जसको सल्लाह कसैले सुन्नुपर्र्दैन ।
अहिले विद्या भण्डारीलाई बाहिर राख्न मात्र होइन ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पनि आगामी महाधिवेशनबाट पार्टी बाहिर पार्ने गरी विधानमै परिवर्तन गर्न लागिएकोे छ । मुकुन्द न्यौपाने त अहिले नै भूमिकाविहीन छन् । पदमा हुनु–नहुनुले उनलाई पनि र उनको भूमिकालाई पनि कुनै अर्थ राख्दैन । एमालेलाई अरू सबै नेता भन्दा विद्यालाई गरिएको मानमर्दन र पार्टीबाट गरिएको गलहत्याइँ महँगो पर्ने छ । माथि उद्धृत उषाकिरणको स्टाटसले त्यसको संकेत मात्र गरेको हो ।
अध्यक्ष ओलीसँग पार्टीमा विद्यालाई काम गर्न आमन्त्रित गरेर आफू र पार्टी तथा विद्या सबैको कल्याण गर्ने एउटा विकल्प भने अझै बाँकी छ । त्यो हो विद्यालाई पार्टीमा प्रवेश सहज बनाउने, महाधिवेशनमा प्रतिनिधि बन्नबाट रोक्न छलछाम नगर्ने र आफूसँग अध्यक्षमा निर्वाचन लड्न चुनौती दिने । यस्तो चुनौती स्वीकार गरिसकेपछि पराजित भए पनि विद्यालाई सम्मान नै मिल्नेछ । थप गुनासो गर्ने ठाउँ रहने छैन ।
पराजित भए भने पनि ओलीलाई सम्मान नै मिल्नेछ । कमसेकम पार्टीमा आफैंले अगाडि सारेको लोकतन्त्रीकरणको प्रक्रिया कायम राखेको जस पनि ओलीको भागमा पर्नेछ । धेरै सम्भावना छ कि ओलीको दाउपेच चिरेर विद्यालाई अध्यक्ष हुन मुश्किल छ । त्यस्तो अवस्थामा ओली फेरि अर्को कार्यकाल पार्टीको नेतृत्वमा निरन्तर रहन पाउनेछन् ।
एमालेमा २०४६ यता भएको वैचारिक रूपान्तरण र सैद्धान्तिकीकरण गरिएको सांगठनिक लोकतन्त्रीकरणको दृष्टिले उपयुक्त र एकमात्र बाटो पनि यही हो– प्रतिस्पर्धाबाट श्रेष्ठता । पछिल्लो समय जबजको भाष्यकारका रूपमा मदनको भूमिकालाई खुम्च्याउन समेत ढुक्कले लागिरहेको एमाले भृत्यतन्त्रले अब पार्टीको लोकतन्त्रीकरणको भार बोक्न सक्छ भन्ने विश्वास पनि गुमाउँदै गएको छ । अहिले विधानमा भइरहेको छेडखानीले यही कुरा संकेत गर्छ ।
पूर्ण जनवादी प्रक्रिया अवलम्बन गरेर आफूलाई श्रेष्ठ र योग्य सावित गर्ने सहज बाटो छाडेर उनीहरू आफूसँग भएको गरालो गौंडोमा तेर्स्याएर विद्याको बाटो छेक्ने छिर्के दाउपेचको बाटोमा लागेका छन् । त्यसले अन्तत: स्वयं ओली र सिंगो एमालेलाई नोक्सान पुग्नेछ । एमाले जीवनमा आउने यो हुण्डरीमा दोषको हिस्सा विद्याको भागमा पनि अवश्य पर्नेेछ तर अध्यक्षका रूपमा ठूलो अंश त ओलीले नै व्यहोर्ने छन् । अध्यक्ष भएको नाताले इतिहासको कठघरामा ओलीले एक्लै उभिएर यसको जवाफ दिनुपर्नेछ ।
प्रतिक्रिया 4