
ईश्वरलाई मूर्तिमा जागृत गराउन प्राणप्रतिष्ठा गरिए झैं पछिल्लो समय नेकपा (एमाले)को सत्तामा पुर्याउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्राणप्रतिष्ठा गर्न आन्तरिकदेखि बाह्य केन्द्रहरू शक्ति लगाइरहेका छन् । मिसन–८४ को अभियानमा अघि बढिरहेको एमालेमा एकाएक वर्षाको बाढी झैं भण्डारीको भेल चलेको छ । सत्ताको नेतृत्व गरेको एमालेमा आएको उथलपुथललाई कतिपयले आफ्नो सत्तारोहणमा उपयोग गर्न सक्ने ठानेर अझ बल लगाइरहेका छन् ।
नयाँ परिकल्पना र वैचारिकी सहित भण्डारीलाई एमालेको रथारोहण गराउन आन्तरिक पार्टी, अन्तर पार्टी र नेपथ्यबाट समेत प्रशस्त प्रयास चलिरहेका छन् । कतिसम्म भने कमरेड प्रचण्ड र माधवकुमार नेपालहरू पनि यही मौकामा वाम एकताको धुन बजाउँदै एमालेभित्र हलचल ल्याउन लागिपरेका छन् । नेपाली कांग्रेसका नेता शेखर कोइराला र कांग्रेस छाडेका अमरेशकुमार सिंहसम्मले पहिले प्रचण्डलाई र त्यसपछि भण्डारीलाई भेट्न दौडेको समेत देखियो । यी सबै प्रपञ्च नेपालको राजनीतिको मियो बन्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर सावित गर्ने षड्यन्त्र अनुसार नै भइरहेको छ भन्दा अतिशयोक्ति हुँदैन ।
पछिल्लो समय सत्तारोहणको प्रथम वार्षिकीकै अवसरमा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले थालेको कामका परिणामले आर्थिक सूचकांक सकारात्मक हुँदै गएका छन् । विकास निर्माणका काम तीव्र हुँदै गएको छ भने ‘समृद्ध नेपाल: सुखी नेपाली’को दीर्घकालीन लक्ष्य हासिल हुँदै गएको छ । प्रधानमन्त्री ओलीले देखेका सपना एकपछि अर्को सम्पन्न हुँदै जाँदा तथा ओली लोकप्रियताको ग्राफ उकालो लाग्दै गरेको बेला फेरि एमालेभित्र नयाँ बखेडा झिकाउने दुष्प्रयास भएको छ । र, यसमा पूर्वराष्ट्रपति भण्डारी प्रयोग भइरहेकी छन् ।
ओलीको विकल्परहित नेतृत्व
राजनीतिक विचार सूर्य झैं एकाबिहानै उदाउँदैन, नेतृत्व रातारात जन्मिँदैन । तर समाज विकासका नियमित चरणहरूमा त्यसको उच्चतम अभिव्यक्तिका रूपमा केही प्रतिभाशाली मानिस जन्मिन्छन् । कुनै पनि मानिस जन्मजात विचारक वा नेता बनेका हुँदैन । तर सर्वसाधारण जनताको बीचबाट जन्मिएको भए पनि केही मानिस आफ्नो विशिष्ट गुण, क्षमता र भूमिकाको उजागर गरेर अग्रपङ्क्तिमा उभिन्छन् । नयाँ नेतृत्वको रूपमा उदाउँछन् । कुनै पनि राज्य व्यवस्था वा राजनीतिक पार्टी जन्मजातै पूर्ण लोकतन्त्रवादी या समाजवादी बनिसकेको हुँदैन ।
सङ्घर्ष, अन्तरसङ्घर्षबाट जन्मिएर आन्दोलन, विद्रोह र क्रान्तिको बलिवेदीबाटै पैदा भएर वा ऐतिहासिक घटनाक्रम सँगसँगै विकास भएर मात्र त्यसको औचित्य, आवश्यकता र सम्भावनाको सिर्जना हुन्छ । समग्र विश्वलाई हेर्ने, जीवन र जगत सम्बन्धी नियमहरूको अध्ययन गर्ने, बुझ्ने, व्याख्या गर्ने, त्यसलाई लागू गर्ने विचार र नेतृत्व, राज्य व्यवस्था र राजनीतिक पार्टी फ्याट्ट उब्जिने शक्ति वा रातारात देशभित्र र संसारभर फैलिने जादु होइन । त्यसको आफ्नै समय सीमा, नीति, विधि र विकास प्रक्रिया हुन्छ । त्यसैको लामो बहस, विमर्शका शृंखला पार गरेर पैदा भएको एमालेको नेपाली माटो सुहाउँदो सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हो भने समकालीन नेतृत्वहरूमध्ये जबजको मार्गबाट समुन्नत नेपाल निर्माणको नेतृत्वकर्ता एमाले अध्यक्ष ओलीको विकल्प किमार्थ हुन सक्दैन र छैन पनि ।
नेपालको २००७ सालयता अग्रगामी दिशाको परिवर्तन २०४६ सालदेखि गतिवान र सघन बन्दै गएको छ । खासगरी २०५२ सालदेखि २०६२/६३ सालको राजनीतिक उथलपुथलपछि परिवर्तनले गुणात्मक फड्को मारेको छ । वस्तुगत धरातलमा उभिएर कुनै पनि वस्तु वा घटनाको ठोस विश्लेषण गर्ने, आन्तरिक र बाह्य, प्रमुख र सहायक कुरा छुट्याउने, त्यसभित्र लुकेको गुदी कुरा पहिल्याएर ठोस निष्कर्ष निकाल्ने कार्य अत्यन्त संवेदनशील र जटिल हुन्छ । त्यो कार्य पूरा गर्न कुनै पनि चिन्तक वा नेता सफल हुन्छ या असफल बन्छ । यो अन्य कुराले भन्दा पनि मूलत: दृष्टिकोणले नै निर्धारण गर्छ । दृष्टिकोण भनेको दुई आँखाले नदेख्ने तेस्रो दृष्टि हो । जसले दिमागभित्र इतिहास, वर्तमान र भविष्यको सजीव मार्गचित्र कोरिदिन्छ । बदलिंदो समय परिस्थिति अनुसार नयाँ बाटो देखाइदिन्छ ।
यतिबेला यो देशमा पूर्ण लोकतान्त्रिक राज्य प्रणाली, राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय, चुस्तदुरुस्त कार्य प्रणाली, उत्पादन अभिवृद्घि, दक्ष जनशक्ति, तीव्र विकास, स्थायी शान्ति र समृद्घि सुनिश्चित गर्दै समाजवादमा अघि बढ्नका लागि सबभन्दा उन्नत विचार र दूरदृष्टि भएको सबल नेतृत्वको खाँचो खड्किएको छ । नेपाल नै एक्काइसौं शताब्दीको पहिलो समाजवादी मुलुक बन्ने सुनौलो सम्भावना छ । तर समाजवादको बाटो सिधा, छोटो र सजिलो छैन । जतिसुकै प्रतिकूलता झेल्नु परे पनि समाजवादी यात्रा रोकिंदैन ।
समाजवाद भनेको परिवर्तनको प्रवाह हो । यो सुदूर टाढा छैन । अबको पहिलो राजनीतिक खुड्किलो हो, समाजवाद । यसैकारण युगले त्यसको नेतृत्व गर्ने नयाँ युगद्रष्टा खोजेको छ । जनताको दैनिक जीवनमा काँचुली नफेरी समृद्घ नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य पूरा गर्नकै लागि पनि एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तमा ओली नेतृत्व अझै केही समयका लागि अपरिहार्य नै छ ।
अबको कार्यदिशा
एमालेको भावी संरचना आसन्न विधान महाधिवेशनको एजेण्डा हो । यो प्राविधिक विषय हो, सैद्धान्तिक होइन । नेतृत्व कस्तो हुने ? भन्ने विषय पार्टीको गतिशीलता र आम पार्टी पंक्तिको प्रतिनिधिहरू सम्मिलित महाधिवेशनले निर्माण गर्ने कुरा हो । आगामी भदौमा हुने विधान महाधिवेशनमा उमेर हद लगायत विषयमा बहस हुने भएकाले त्यो मितिसम्म पर्खनु उपयुक्त हुन्छ । अहिले पक्ष वा विपक्षमा छलफल हुनुपर्ने बेला होइन । फेरि पनि आन्दोलनको आवश्यकता र नेतृत्वको गतिशीलताले भावी नेतृत्व निर्माण गर्ने मुख्य प्रश्न हो । अरू विषय प्राविधिक हुन् भन्ने लाग्छ ।
अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै ७४ मा लाग्दैछु तर पनि पार्टीको नेतृत्व उमेरभन्दा विचार, राजनीति र आन्दोलनले गर्ने अर्थमा भन्नुभएको हो । ७० वर्षे उमेर हलको व्यवस्था सैद्धान्तिक प्रश्न होइन । यतिबेला पार्टीमा बहस गर्न जरूरी हुँदैन । आन्दोलनको आवश्यकता के हो ? भन्ने कुराले अरू विषय तर्जुमा गर्ने हो । ७० वर्ष माथिकाले नेतृत्व गर्न सक्दैन, त्योभन्दा तलका उमेरले नेतृत्व गर्न सक्छन् भन्नु गलत हुन्छ । किनकि नेतृत्व विचार, राजनीति र आन्दोलनको आधारमा गरिने कुरा हो न कि उमेरका आधारमा नेतृत्व हुने हो । यद्यपि नेतृत्व निर्माणमा पुस्तान्तरण जरूरी हुन्छ तर पुस्तान्तरणका लागि पनि समयसापेक्षता अपरिहार्य कुरा हो ।
विचारले उसको व्यक्तित्व अनि समाज र राज्यको चरित्र निर्धारण गर्छ । बनाउँछ र चलाउँछ पनि । विचारले, उथलपुथल ल्याउँछ । अहिले एमालेमा न त नीतिको विषयमा विवाद छ न नेतृत्वको । अहिले केपी ओलीमुक्त एमाले भन्नु र एमालेमुक्त नेपालको राजनीति भन्नु एउटै हो । जुन असम्भवप्राय: छ । यही मेसोमा प्रधानमन्त्री ओलीलाई नियोजित रूपमा सराप्ने, देश बिगारेको दोषको ऐनामा केवल प्रधानमन्त्री ओलीको अनुहार टाँस्ने र करार गर्दै समाप्त गरिदिने भाष्य जबर्जस्त निर्माण गरिंदैछ । जुन एमालेजनका लागि मात्रै होइन, समृद्ध नेपालको पर्खाइमा रहेका आम नेपालीकै लागि दुर्भाग्यपूर्ण कुरा हो । जसको पछि हाम्रो एउटा बौद्धिक जमात लागेको छ ।
आँखामा निराशावादको पट्टी लगाएर अन्धकार दृश्यमा एमाले नेतृत्वको तस्वीर देख्दै सराप्ने तथाकथित त्यो तप्काले बजाएको बेमौसमी बाजामा महामहिम पूर्वराष्ट्रपतिले हल्लाएको हात संयोग मात्र हो । त्यसलाई एमालेजनले नृत्यकै रूपमा बुझ्नु र महामहिमले पनि नृत्य नै हो भन्न खोज्नु नेपाली वाम आन्दोलनको विरासत बोकेको नेकपा (एमाले)का लागि कुनै ढंगले उचित होइन र मान्न सकिंदैन । यो त नेपाललाई अस्थिर बनाइराख्ने, अनावश्यक चलखेल गर्ने घरेलु र बाह्य शक्तिहरूको कुत्सित प्रपञ्च सिवाय केही होइन । लामो घेराबन्दी र संघर्षपूर्ण गुफाबाट राष्ट्रियताको पहरेदार र जनताको भरोसायोग्य बनेर प्रकट भएको एमाले नेतृत्व अर्थात् अध्यक्ष केपी ओलीलाई विभिन्न कोणबाट खुइल्याउने, केपी ओली कमजोर नबनाएसम्म एमाले कमजोर बनाउन सकिंदैन भन्ने बुझाइलाई गरिएको मलजल हो ।
एमाले पार्टी र नेतृत्वमाथि चौतर्फी रूपमा हुँदै आएको प्रहारकै अर्को स्वरूपका रूपमा पछिल्लो ग्रान्ड डिजाइन हो भनेर बुझ्न गाह्रो छैन । विगत केही समययता खलबलिएको अर्थतन्त्र, असन्तुलित र कमजोर अवस्थामा पुर्याइएको छिमेकी सम्बन्धलाई सरकारले सन्तुलनमा ल्याउन र राष्ट्रिय हितको रक्षा एवम् स्वाभिमान अभिवृद्धिका लागि सरकारले गरेका महत्वपूर्ण कामबाट अत्तालिएको परिदृश्य हो ।
प्रचण्ड र माधव नेपालहरूले पार्टी कब्जा गर्न विभिन्न षडयन्त्र गरेको घटना एमालेजनमा अहिले पनि उत्तिकै ताजा छ । आज पनि सूर्य चिह्न र एमाले कब्जा गर्न नपाएको छट्पटी देखिन्छ । त्यस्तो अवस्थामा अध्यक्ष ओलीले एमालेलाई रेस्क्यु गरेको घाम जस्तै छर्लङ्ग छ । पार्टीमा अझै केही समय उहाँकै बलियो नेतृत्वमा अघि जाने आवश्यकता र परिस्थिति देखिन्छ । यो समयको माग पनि हो । एमालेमाथि चौतर्फी आक्रमण र घेराबन्दी अझै पनि जारी छ । एमालेलाई फेरि एक पटक बलियो लिडरसिप चाहिएको छ । भर्खरै सम्पन्न पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पनि यसअघि नै हटिसकेको दुई कार्यकाल जरूरी छैन र ७० वर्षे उमेर हद पनि आवश्यक छैन भनेर एकमानेमा निर्णय गरिसकेको छ । आशा छ, जारी केन्द्रीय कमिटीले पनि पार्टीको आन्तरिक जीवन र समृद्ध भविष्यका निम्ति समेत त्यो स्पिरिट अवश्य बोक्ने नै छ ।
पार्टीमाथि सर्वत्र आक्रमण भइरहेको बेला नेतृत्वको रक्षाकवचमा आम पार्टी पङ्क्ति लाग्नुपर्नेमा नेतृत्वलाई खुइल्याएर कोही बहादुर बन्न सक्दैन । विपक्षीले जबर्जस्त ल्याएको नेतृत्वको विकल्पको दिवा सपनाले बलियो एमाले बन्दैन, बरु पलपलमा कमजोर हुँदै जाने हो । अर्को पक्ष कमजोर बनाएर आफू बलियो हुने भनेको आम निर्वाचन मात्रै हो । पार्टीको आन्तरिक जीवनमा त्यो लागू हुँदैन । सामूहिक नेतृत्व प्रणाली अंगीकार गरेको एमालेमा आपसी बेमेल र वैमनस्यले कोही पनि सफल हुन सक्दैन । सफल हुनका लागि आपसी सल्लाह, सहमति र सहकार्य अपरिहार्य तत्व हो, जुन एमालेमा निरन्तर भइरहेको छ ।
तसर्थ, अनेक बहानामा सार्वजनिक खपतका लागि टीकाटिप्पणी गर्ने, सामाजिक सञ्जाल रंगाउने, नेतृत्वलाई कमजोर गर्ने कुरालाई बन्द गर्दै एकताबद्ध एमाले, दृढसंकल्पी सबैको एमाले नेतृत्वमा एकताबद्ध आवाज बुलन्द गर्न जारी केन्द्रीय कमिटीको बैठक सफल भएको छ ।
(अर्याल, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष तथा एमाले नेता हुन् ।)
प्रतिक्रिया 4