
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले प्राण त्याग्ने अवसर नदिएको स्मरण गरे।
- ओलीले पुष्पलाल र बीपी कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्दै एकता र मेलमिलापको कुरा गर्न अनुमति मागे।
७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् ।
आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस थियो ।
नेपालको राजनीतिलाई जहानियाँ राणा शासनबाट प्रजातन्त्रतर्फ लैजाने नेतृत्व गरेका बीपी र पुष्पलालप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण गरे ।
‘बीपी र पुष्पलालालाई स्मरण गरिरहँदा आज म मतभेद र मनभेदको हैन, एकता र मेलमिलापको कुरा गर्ने अनुमति चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
यहीँनेर प्रधानमन्त्री ओलीले पुष्पलालको प्राण त्यागको विषय स्मरण गरेका हुन् ।
‘मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त संघर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीकाअनुसार पुष्पलालले देखेको तानाशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चा मार्फत् २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो ।
नेपाली कांग्रेसले नेतृत्व गरेको राजनीतिक धार र कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राजनीतिक धारको एकताबाटै मुलुकमा परिवर्तन हुने र प्राप्त उपलब्धि संस्थागत हुने पुष्पलालको सोच पटक पटक नेपालको राजनीतिको प्रत्येक अप्ठ्यारो मोडमा प्रयोग भएको र सफलता समेत प्राप्त भएको बताए ।
२०१७ सालको ‘कु’ पछि पुष्पलालले माग गरे झैं हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनर्स्थापना २०६३ सालमा भएको बताए । जसले नेपालको राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाइ शाताब्दी लामो शाह वंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गर्यो ।
हन्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने आनिवानी अनुरूप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको पनि प्रधानमन्त्री ओलीले बताए ।
उनले अगाडि भनेका छन्, ‘आज काँग्रेस–एमालेको योजनामा, अन्य दलहरूको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यहीँ एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ ।’
प्रतिक्रिया 4