
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलको नाकाबन्दीका कारण गाजामा खाना र इन्धनको अभावले भोकमरी र संकट उत्पन्न भएको छ।
- कलाकार ताहा अबु घालीले खाना पकाउन आफ्ना पेन्टिङका काठका फ्रेम जलाउन विवस भएको बताएका छन्।
प्यालेस्टाइनमा इजरायलले सैनिक आक्रमण जारी राख्दा राजधानी गाजा अत्यन्तै संकटमा परेको छ । त्यहाँ अहिले भोकमरी चलेको छ । खानेकुराको चरम अभाव छ । जसबारे विभिन्न सञ्चारमाध्यमहरूले निरन्तर समाचार दिइरहेका छन् । हालै त्यहाँका कलाकार, पत्रकारहरूले सामाजिक सञ्जाल प्रयोग गरेर वास्तविकता छर्लङ्ग पार्न थालेका छन् ।
गाजामा जारी इजरायली नाकाबन्दीको कारण खाना र इन्धनको व्यापक अभावले निम्तिएको दर्दनाक अवस्था अहिले चर्चाको विषय बनेको छ । गाजामा रहने व्यक्तिका लागि अहिले जसरी हुन्छ प्राण धान्नु एक मात्र ध्येय बनेको छ ।
छाक टार्नकै लागि आफ्नै कलाकृति र स्रोतसाधन बेच्न विवस भइरहेको देखाइरहेका छन् । त्यहाँका एक चित्रकारले खाना पकाउनका लागि आफूले बनाएका चित्रकलाहरू बालेको घटनाले चर्चा पाएको छ ।
ताहा अबु घाली, अमूर्त तथा क्युबिजमबाट प्रभावित कलाकार हुन् । इजरायलको नाकाबन्दीका कारण बाँच्न उनले आफ्नै कलाकृति जलाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
केही दिनअघि उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत एउटा भिडिओ पोस्ट गरेका छन्, जहाँ उनले काठका फ्रेमबाट पेन्टिङहरू निकाल्दै गरेको देखिन्छ । आफ्ना पेन्टिङ सजाएर राखेका काठका फ्रेमलाई उनले खाना पकाउने दाउरा बनाएका छन् ।
यसरी कलाकृति बालेर आफ्ना बच्चाहरूका लागि खाना पकाउनु परेको उनले उल्लेख गरेका छन् ।
‘यो सङ्कटमा चित्रका काठहरू प्रयोग गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प छैन’ उनले भिडियोमा भनेका छन्, ‘किनभने यहाँ इन्धन छैन । बिजुली छैन । ग्याँस छैन । मट्टीतेल छैन।’
अबु घाली अल अक्सा विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थी हुन् । चित्र बनाउनेबाहेक उनी यही विषयका कुशल शिक्षक पनि हुन् । उनलाई युद्धले आफ्नै सिर्जना नष्ट गर्न विवस बनाएको छ ।
‘ … यी मेरा सबैभन्दा राम्रा चित्रहरूमध्येका केही हुन् । हामीसँग पिठो त के, पकाउने केही पनि छैन । अब सबै सकियो । बाँच्नका लागि चित्र जलाएँ । सङ्कटमा सौन्दर्य पनि इन्धन बन्छ,’ उनले भनेका छन् ।
त्यस्तै मोहम्मद आबु आयुन गाजामा आधारित फोटोपत्रकार हुन् । उनको काम न्यु योर्क टाइम्स, स्काइ न्युज, एबीसी लगायतका सञ्चारमाध्यममा प्रकाशन/प्रसारण भइसकेको छ ।
केही दिनअघि मात्रै उनले पनि आफ्नो क्यामेरा र पदकलाई विक्रीमा राखे । इन्स्टाको पोस्टमार्फत उनले आफ्नो सामग्री किन्न सार्वजनिक आह्वान गरेका थिए । कारण-भोकबाट आफू र आफ्नो परिवारलाई बचाउन सकियोस् ।
संसारलाई रणभूमि बनेको विक्षिप्त गाजाको वास्तविकता देखाउन उनले आफ्नो जीवन पनि दाउमा लगाएर काम गरेका थिए । तर आज उनै व्यक्ति भोकले छटपटाइरहेका छन् । आफ्नो जीविकोपार्जनका लागि प्रयोग हुने साधन नै उनले बेच्न लागिरहेका छन् ।
प्रतिक्रिया 4