
News Summary
Generated by OK AI. Editorially reviewed.- नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीमा घरघरमा नागको पूजा गरी धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वका साथ मनाइन्छ।
- सनातन धर्ममा नागलाई शक्तिशाली जीव मानिन्छ र भगवान् विष्णु र शिवसँग जोडिएको पौराणिक कथा छ।
- नाग पञ्चमीले सर्प संरक्षण, पर्यावरणीय सन्तुलन र जैविक विविधताको रक्षा गर्ने जनचेतना जगाउँछ।
अनन्तो वासुकी पद्म महापद्मश्च तक्षक: ।
कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ।।
हाम्रो सनातन परम्परा अनुसार आजकै दिन अर्थात् श्रावण शुक्ल पञ्चमीको दिन घर घरमा नागको पूजा गरी नागको चित्र टाँस्ने र तलाउ, नागस्थान, शिवालय, विष्णु मन्दिर, पोखरी वा नदीहरूमा नागको पूजा गर्ने प्रचलन छ । यो नाग पञ्चमीलाई धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्वका साथ हेर्ने गरिन्छ ।
धार्मिक महत्त्व
सनातन धर्ममा नागलाई शक्तिशाली र पवित्र जीव मानिन्छ । नाग देवता, विशेष गरी शेष नाग, वासुकी, तक्षक, कालिया, आदिबारे पौराणिक कथाहरू रहेको छ । भगवान् विष्णु शेषनागको शय्यामा सुत्नुहुन्छ भने, शिवजीको गलामा वासुकी नाग भन्छन् ।
भगवान् शिवजीको गलामा वासुकी नाग रहेका कारण अनि साउन महिना पनि पर्ने भएकाले आजको दिन विशेष छ । जनमेजय नामक राजाले सर्प यज्ञ आरम्भ गर्दा, तक्षक नागलाई बचाउन आस्तिक ऋषिले यज्ञ रोकेको पौराणिक कथा रहेको छ । आजको दिन नागको पूजा गर्दा सर्पदंशको भय हट्ने, कुलको कल्याण हुने र अक्षय पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्र अनुसार राहु र केतुको कारण बनेको सर्प योगको शान्ति पनि आजकै दिन नाग पूजा गर्नाले सर्प दोष हट्ने विश्वास रहेको छ ।
सांस्कृतिक महत्त्व
नेपाली परम्परा अनुसार नाग पञ्चमीका दिन घरको मूल ढोकामा गुरु पुरोहित वा आफैंले नागको चित्र टाँसिन्छ र सपरिवारको रक्षाका लागि, सर्प दंश र आपदाबाट रक्षा हुने विश्वासका साथ दूध, अक्षता, लावा, दूबो आदि चढाएर पूजा गर्ने गरिन्छ । नाग पूजा गर्नाले वर्षा हुने र बालीनाली राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । नागको प्रतीक घरको प्रवेशद्वारमा राख्दा घरको संरक्षणको हुने र विपद् टर्छ भन्ने परम्परागत विश्वास पनि छ ।
नागपाङ्गर (ग्रामीण क्षेत्रमा नागका थुप्रा)मा पूजा गर्ने चलन अझै जीवित छ । यसले हाम्रो मौलिक परम्पराको संरक्षणमा योगदान पुर्याएको देखिन्छ । नाग पूजनले हाम्रो सनातन संस्कार, संस्कृति र परम्पराको संरक्षण भएको छ भन्न सकिन्छ ।
पर्यावरणीय महत्त्व
नाग पञ्चमी जीवजन्तु, विशेष गरी सरीसृप र सर्पको संरक्षणप्रति जनचेतना जगाउने पर्व हो । सर्पले पर्यावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्दछन् । तिनीहरूले मुसा, भ्यागुता आदि खाएर जैविक नियन्त्रणमा मद्दत गर्छन् । धार्मिक दृष्टिले पवित्र मानेर सर्पलाई मार्न नहुने सन्देश दिनु जैविक विविधताको रक्षा हो ।
नाग पञ्चमी पर्वले प्रकृति र जीवजन्तुमा श्रद्धा जगाउने अनि प्रकृतिप्रतिको कृतज्ञता र संरक्षणको चेतना दिएको छ । वायुमण्डलमा भएका विषालु पदार्थलाई सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने कुरा वैज्ञानिक हो ।
नाग पञ्चमी केवल एक धार्मिक पर्व मात्र होइन, यसले धार्मिक श्रद्धा, सांस्कृतिक परम्परा र पर्यावरणीय चेतना तीनैलाई जोड्ने महत्त्वपूर्ण अवसर हो । सर्पजस्ता जीवप्रति आदर भाव राख्दै, प्रकृति र संस्कृतिको रक्षा गर्न यो पर्वले महत्त्वपूर्ण योगदान दिएको छ । अस्तु ।।
प्रतिक्रिया 4