+
+
Shares

सफ्टवारिका कलेजमा ‘टेक एक्स : एलिभेट २०२५’ सम्पन्न, आगन्तुक १० हजार

३२ असारदेखि ३ साउनसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यावसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १९:३१

५ साउन, काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले आयोजना गरेको ४ दिने प्रविधि महोत्सव ‘टेक एक्स : एलिभेट २०२५’ सम्पन्न भएको छ ।

३२ असारदेखि ३ साउनसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यावसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो ।

करिब १० हजारभन्दा बढी आगन्तुकको उपस्थिति, ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीको प्रदर्शनी र १५ भन्दा बढी ख्यातिप्राप्त कन्टेन्ट क्रिएटरसँगको संवादले यस महोत्सवलाई एक अविस्मरणीय प्रविधि उत्सवका रूपमा स्थापित गरेको कलेजले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरूद्वारा विकास गरिएका २० भन्दा बढी नवीन प्रविधिमूलक प्रोजेक्टहरू प्रदर्शन गरिएका थिए ।

करुणा (नलेज–बेस्ड असिस्टेन्ट फर रोबोटिक युटिलिटी एन्ड नेभिगेसन एक्ट्स), मिरा (मोडर्न एजुकेसनल एन्ड इन्गेजमेन्ट रोबोटिक एसिस्टेन्ट), स्टडिसेन्स (भर्चुअल रियालिटी–इनेबल्ड गेमिफाइड कोर्स काउन्सेलर), तोमात्रों (द एआई–पावर्ड एग्रोबोट फर प्रिसिजन टोमाटो हार्भेस्टिङ), फिसअवेर, फ्लिप आरएफआईडी, केम्ल्याब भीआर, एभिलट्विन डिटेक्टर एमएल, सुरक्षित एभी स्ट्रिमजस्ता इनोभेसनले दर्शकको ध्यान तानेका थिए ।

उद्यमशीलता र व्यावसायिक सोच विकासका लागि आयोजित आन्ट्रप्रेनरसिप मास्टरक्लास सत्रमा नारायण कोइराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता स्थापित उद्यमी तथा प्रशिक्षकले अनुभव बाँडे ।

त्यस्तै भीसी पिचिङ सेसनमा सहभागी २५ भन्दा बढी प्रेरणादायी स्टार्टअप आइडियामध्ये ७ भन्दा बढी लगानीकर्ताले चासो देखाए, जसले नवप्रवर्तनशील सोचलाई थप ऊर्जा दिएको आयोजकले जनाएको छ । कलेजले प्रतिभाशाली स्टार्टअपमाझ लगानी प्रवाह सुनिश्चित गर्न १ करोड रुपैयाँ लगानीको घोषणा समेत गर्‍यो ।

यस वर्षको कार्यक्रमको अर्को आकर्षण इन्स्पायर टक सत्रहरू थिए, जहाँ नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलजस्ता राष्ट्रिय व्यक्तित्वहरूले युवासँग इमान, मिहिनेत र अनुशासनको महत्त्वबारे प्रेरणादायी विचार राखे । ४ दिनका क्रममा विभिन्न प्रेरक व्यक्तित्वले जीवनदृष्टिकोण, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वबारे संवाद गरे ।

दुई दिनसम्म सञ्चालन भएको जब फेयरमा ३० भन्दा बढी कम्पनीको सहभागिता रह्यो, जहाँ सफ्टवारिका कलेजका हालका र पूर्व विद्यार्थी समेत गरी ५ सयभन्दा बढी सहभागीले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्श मार्फत भविष्य निर्माणका सम्भावना खोजी गरे ।

कार्यक्रमको विशेष आकर्षणमध्ये ‘आइरन क्ल्यास’ रोबोट युद्ध प्रतियोगितामा उल्लेखनीय रह्यो, जहाँ २ वर्षदेखि निरन्तर तयारीमा रहेका विद्यार्थी समूहले उच्च प्रविधि प्रयोग सहित प्रतिस्पर्धा गरे । प्रतियोगिताका विजेतालाई ३ लाख रुपैयाँ बराबर पुरस्कार प्रदान गरिएको थियो, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनायो ।

डिजिटल प्रभाव र सामाजिक सञ्जालको महत्त्व मध्यनजर गर्दै आयोजना गरिएको इन्फ्लुएन्सर मिटअपमा सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सिद्धार्थ घिमिरे (फुड), सजिना खनाल, ज्यास्मिन महर्जन, वर्षा बस्नेत, विनायक कुँइकेल सहित १५ भन्दा बढी चर्चित डिजिटल क्रिएटरको सहभागिता रह्यो । उनीहरूको उपस्थितिले युवामाझ डिजिटल सम्भावनाबारे नयाँ सोच र संवादको ढोका खोल्यो ।

मिडिया र शैक्षिक क्षेत्रको सशक्त सहभागिता पनि कार्यक्रममा देखियो । ५० भन्दा बढी सञ्चारमाध्यमले कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङ तथा प्रचार–प्रसार गरे भने विभिन्न ५० शैक्षिक संस्थाका प्रतिनिधिले विद्यार्थी प्रोजेक्ट अवलोकन गर्दै उनीहरूको प्रयासको प्रशंसा गरे ।

कार्यक्रम समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्स : एलिभेट २०२५’ लाई केवल प्रविधि प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको समागमका रूपमा व्याख्या गर्‍यो ।

नेपाली युवालाई विश्वस्तरीय प्रविधि सिप, सोच र आत्मविश्वास प्रदान गर्दै उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा सक्षम बनाउने उद्देश्यसाथ सफ्टवारिका कलेजले आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?