+
+
Shares

तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी…

राजा योगनरेन्द्रका मात्रै ३३ जना श्रीमती सती गएको इतिहास रहेछ । एउटा पुरुषले ३३ जना श्रीमती राख्ने तर महिला श्रीमानको मृत्युपर्यन्तसमेत आफू भएर बाँच्न नपाइने ।

ललित केसी ललित केसी
२०८२ साउन १० गते ८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन महिनामा लामो समयपछि झरी परेको छ र जलवायु संकट बढिरहेको सत्य हो भने पनि मानिसको मनोविज्ञानमा फरक देखिन्छ।
  • तुलसीपुरमा विभिन्न चोक र बाटाका नामहरू प्रायः केही व्यक्तिका नामबाट राखिएका छन्, जसले सांस्कृतिक पहिचानको प्रतिनिधित्व नगर्न सक्छ।
  • सामाजिक सञ्जालमा महिला अधिकारका लागि लडिरहेका गायिकामाथि गरिएका असंवेदनशील टिप्पणीहरूले पितृसत्तात्मक चेतनाको अवशेष देखाउँछन्।

साउनको महिना पनि धेरै दिनपछि झरी परिरहेको छ । केही दिनअघि घरबेटी अन्टीले भन्दै हुनुन्थ्यो, ‘साउनमा यस्तो टाटी परेको त कहिल्यै था पाइनँ ए ।’ मानवीय गतिविधिका कारण जलवायु संकट बढिरहेको सत्य हो । तर, अन्टीले भनेको कुरा यही वातावणिय यथार्थ हो या हरेक सालको जाडो गर्मी, पोहोर भन्दा अहिले धेरै लाग्ने मान्छेको मनोविज्ञान त्यो चाहिँ मैले भेउ पाइनँ ।

म छाता ओढेर पशुपति पथबाट निस्किएर उत्तरतिर लागेँ । यो टोलमा हालसालै राखिएका यी खुद्रे बाटाहरूको नाम सबै यस्तै छन्-महेन्द्र पथ, अरनिको पथ, त्रिभुवन पथ, गौतमबुद्ध पथ, पृथ्वीनारायण पथ, महादेव पार्वती पथ, पशुपति पथ । उत्तरमा हात्तिखौवा चोक पुगेर पश्चिमतिर एक किलोमिटर जति हिडेपछि म पुगें वीरेन्द्र चोक । ठाउँ तुल्सीपुर हो ।

ती खुद्रे बाटाजस्तै चोकका नाम पनि उस्तै-वीरेन्द्र चोक, बीपी चोक, मदन आश्रित चोक । कुनै ठाउँको नाम राख्दा त्यहाँको मौलिकता झल्किने पक्ष नहेरी किन कोही नायकहरूको नामबाट मात्रै नामाकरण गरिन्छन् ?

इतिहासमा व्यक्ति बिर्सनुपर्छ भन्ने कदापि होइन । तर, देशैभरी दर्जनका दर्जन ठाउँका नाम तिनै केही थान व्यक्तिका नामबाट मात्रै राखिनु कति उपयुक्त छ ? नाम भनेको पहिचान हो ।

त्यसै पनि पहिचानको प्रतिनिधित्व व्यक्तिले भन्दा ज्यादा संस्कृतिले गर्छ होला नि ? मलाई लाग्छ नामाकरण गरिनुपूर्व त्यस्तो साँस्कृतिक नाम खोजिनु राम्रै हुन्छ ।

उसो त हामी नायक स्थापित गर्न राम्रै मेहनत गर्छौं । यी चोकहरूमा पनि हिजोअस्ति कुनै व्यक्तिका पक्षमा भन्दै हस्ताक्षर अभियान चलेका थिए । सायद भीड नवनायक जन्माउने ध्याउन्नमा छ ।

***

यो नाम खोज्दै हिँड्नु मेरो ध्येय होइन । मलाई कतै एकान्तमा बसेर चिया, कफी केही पिउँदै फगत झरी मनाउनु छ । वीरेन्द्र चोकबाट थोरै पश्चिमको एक घरको दोस्रो तलामा छ ‘क्लाउड रेस्टुरेन्ट’ । क्लाउड (बादल), नाम पनि मौसम अनुसारकै ।

कोलियाबाट भित्र छिरें । छेउमा ब्यूटी पार्लर छ । चुरा, मेहन्दी साउनमा नारिहरूको सजिसजाउ चलेकै छ । उबेला गाउँमा हातमा तिउरी लगाएकव झल्को दिलायो ।अहिले त गाउँमा पनि मेहन्दीले तिउरी लाउने चलन पुरै विस्थापित गर्‍यो सायद । गाउँमा विस्थापित भएकाहरूमा यो साउनमा सम्झिने अर्को कुरा हो, घरको छाना ।

कुनैबेला घरमा खरको छाना हुन्थ्यो । वर्षात् शान्त सुनिन्थ्यो त्यो समय । खरको छानालाई टिनले प्रतिस्थापन गर्‍यो । अहिले पानी ड्याङ्डुङ गर्दै कोलाहल मच्चाउदै पर्छ । मानौ पानीलाई घरसँग कुनै रिस छ । स्वभाविक पनि हो समयसँगै विस्थापित हुनु जरुरी पनि थियो । खरको छानासँगै विस्थापित भए आगलागीको जोखिम, अढाई वर्षमा छानो फेर्नुपर्ने बाध्यता र सँगै विस्थापित भयो ती घरमा हिउँदमा न्यानो र गर्मीमा सितलता संगाल्ने शक्ति पनि ।

***

एक सर्को कर्के नजर पार्लरतिरै फालेर खुट्टा सिढीँतिर उचाले । माथि पुग्दा महेश काफ्ले गुन्जिरहेका रहेछन्।

‘असारे मैना सिमसिमे पानी परिरहेकै छनि ।
तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी…’

रेस्टुरेन्टका यी कोठा, कतैबाट हुक्काको धुवाँ आइरहेको छ, कतैबाट प्रेमिल जोडीका साउती । म उत्तर-पश्चिमको एउटा कोठामा गएर बसें । बसेर मेनु हेर्दै घोत्लिनु थिएन । स्टाफले मेनु टक्र्याउन नपाउँदै भन्दिएँ-एक कप कफी ।

झरी रोकिएको छैन । बाहिर सम्मुखमा बिजुलीको पोल तारका गुजुल्टा बोकेर उभिएको छ । त्यो तारले पानीका थोपा झुण्ड्याउँछ आफूमा, आफैंमा बगाउँछ सलल र छोडिदिन्छ फेरि । यो प्रक्रिया चलिरहन्छ । मलाई त्यो तार मान्छेको मस्तिष्क जस्तो लाग्दैछ । मान्छेको दिमागले पनि एउटा कुरा झुण्ड्याउँछ आफूमा, केही क्षण बगाउँछ र खसाली दिन्छ विस्मृतिको सागरमा । फेरि झुण्डिन आइपुग्छ अर्को प्रसंग ।

तारको मुनि एउटा सानो रुखलाई झरीले जलपान गराइरहेकै छ । यो रुखले आफूलाई चाहिनेजति पानी संगालेर राख्नेछ र अतिरिक्त पानी पातका छिद्रबाट निकालेर वाष्पीकरणको प्रक्रियाद्वारा आकाशतिरै पठाइदिने छ । विश्व आयको ५२ प्रतिशत हिस्सा १० प्रतिशत सम्भ्रान्तहरूले कँज्याए जसरी मान्छेको जस्तो स्वार्थ पाल्न यी रुखहरूलाई कहाँ छुट छ र ।

टेबलमा कफी राख्दै वेटर सोध्छन्, ‘अरु केही ?’ गोजीमा भएको बाघछापे एउटा हरियो नोटले उनले अपेक्षा गरेअनुरुपको उत्तर नदिई फर्कायो । मुख तित्याएर आँखा बाहिरतिर टोपलिरहें । रोडमा हिँड्ने अधिकांश स्त्रीले हरिया चुरा, रातो मेहन्दी पोतेकै छन् ।

भनिन्छ साउन नारीहरूको हो । साउनमा पुजिने देवता-शिव । व्रत बस्ने-श्रीमानको दीर्घायुका लागि । व्रत त्याग्ने-श्रीमानको गोडा धोएको जलपान गरेर । यो पितृसत्ताले महिलामुखी संस्कृति भन्दै पुरुष पुजिने गजबको बहाना बनाएको छ ।

पितृसत्ताले निर्माण गरेको स्त्रीद्वेषी चेतविरुद्ध आजभोलि गायकाद्वय एलिना चौहान र समिक्षा अधिकारी सामाजिक संजालमा लडिरहेका रैछन् । ती सार्वजनिक कमेन्टहरू हेर्दा लाग्छ समाजले सतीप्रथाको अवशेष बोकिरहेकै छ ।

इतिहासमा एउटा निकृष्ट कु-प्रथा थियो सती । सती पठाइनुको मुख्य उद्देश्य भनेकै एक जना पुरुषको भएकी महिला अर्कोकी हुनुहुँदैन । अर्थात् महिला पुरुषको निजी सम्पत्ति ठानिनु थियो । अझ भनौँ महिलाको यौन स्वतन्त्रतामाथि लगाम लगाउनु थियो । यो कु-प्रथा दरबारहरूमा बढी थियो भनिन्छ । तिनै दरबारमा पुरुषको रासलीलाको के कुरा गर्नु । इतिहासका अनेक प्रसंग हेर्दा ती दरबारहरू महिला उपभोग गर्ने हब जस्ता लाग्छन् ।

राजा योगनरेन्द्रका मात्रै ३३ जना श्रीमती सती गएको इतिहास रहेछ । एउटा पुरुषले ३३ जना श्रीमती राख्ने तर महिला श्रीमानको मृत्युपर्यन्तसमेत आफू भएर बाँच्न नपाइने । अझ जिउँदै चितामा जल्नुपर्ने । मानव इतिहासमा महिलाका लागि यो भन्दा अर्को क्रुरता के हुन सक्ला ।

हो अहिले सति प्रथा छैन। तर सतियुगिन समयचेत समाजमा बाँचिरहेकै छ । र त त्यो कु-दृष्टिको तारो महिला मात्रै हुन्छन् ! ती गायिकामाथि गरिएका असंवेदनशील कमेन्ट हेर्दा त्यस्तो लाग्छ ।

पितृसत्तात्मक व्यवस्थाको मारमा महिला त छँदैछन् ! त्यसले निर्माण गरेको अर्थप्रणालीले निम्नमध्यम वर्गीय पुरुष पनि अछुतो छैनन् । पुरुषको मातहत महिला होइन महिला पुरुषबीच सह-अस्तित्वको सम्बन्ध हुने गरी सामाजिक संरचना नै परिवर्तन नगर्ने हो भने सहानुभूति मात्रैले यसको निदान गर्ने वाला छैन ।

***

आँखाको लेन्समा अनेकथरी दृश्य कैद भइरहन्छन् । सडकमा भोला खाएर प्लास्टिक भुइँमा फाल्नेलाई छेउमै डस्टबिन भको पत्तो छैन । एउटा चरा सामुन्ने तारमा बसेर घरिघरी फुरफुर नाचिरहन्छ । मानौं त्यसले मलाई नै देखाउन नाचिरहेको छ । यता राप्ती राजमार्गमा म्याराथन गरेर आएका सवारी साधन भने ठ्याक्कै चिनिने । अलि बढ्तै हिलाम्मे भएका ।

दिमागमा तैरिएका सबै प्रसंग यता घोप्ट्याइहाल्न नमिल्ला । कप रित्तियो । म बाटो लागेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?