News Summary
Generated by OK AI. Editorially reviewed.- ओशोको जन्मदिनमा एक शिष्यले गुरुको चेतना शरीरभन्दा माथि रहेको र उहाँको उपस्थिति जीवनका हरेक पाटोमा महसुस हुने बताउनुभयो।
- शिष्यले आफ्नो आध्यात्मिक यात्रामा आमाले भोगेको सामाजिक विरोध र साहसको महत्व उल्लेख गर्नुभयो।
- नेपालमा ओशो संन्यासीहरूको सङ्ख्या बढेको र गुरुको शिक्षाले जीवनमा रूपान्तरण ल्याएको अनुभव व्यक्त गर्नुभयो।
जन्म त केवल नयाँ अवसर हो, मृत्यु त केवल फर्कने यात्रा हो। चेतना कहिल्यै जन्मँदैन, कहिल्यै मर्दैन। – ओशो
मेरा लागि ओशो आज पनि यति नै जीवित, यति नै साक्षात् हुनुहुन्छ, जस्तो एक सजीव गुरुले शिष्यको जीवनमा काम गरिरहनुहुन्छ। धेरैले भनेको सुन्छु, ‘गुरु त शरीरमा चाहिन्छ, शिष्यलाई मार्गदर्शन गर्न।’ म यो कुरासँग सहमत हुनै सक्दिनँ किनकि मलाई लाग्छ, गुरु शरीरमा भए पनि नभए पनि साँचो गुरु चेतनामार्फत नै बोल्छ, चल्छ, काम गर्छ।
मैले त ओशोको उपस्थिति मेरा आँसुमा, हाँसोमा, मौनमा, ध्यानमा हरेक धड्कनमा महसुस गरेको छु। मलाई कहिल्यै लाग्दैन कि गुरु हुनुहुन्न— उहाँ त अझै बलियो भएर जन्मिनुभएको छ मभित्र, हामीभित्र, सबैभित्र। बस, देख्ने आँखा तयार हुनुपर्यो।
आज गुरुको जन्मदिन…
हामी ओशो संन्यासीको लागि अत्यन्तै महत्त्वपूर्ण दिन! मेरो लागि पनि यो दिन विशेष छ। जन्मदेखि नै ओशोको माहोलमा हुर्किएकी म, ओशोका शब्दहरूकै भित्र रुँदै–हाँस्दै ठूलो भएकी, ओशोको ऊर्जाले भरिएको घरमा जन्मनु सायद पुरानो जन्मको कुनै पुण्यकर्मकै फल हो होला।
वरिपरि संन्यासीहरू, घरको हावापानी नै संन्यासको सुगन्ध, मनोविज्ञान, धर्म, प्रेम, ध्यान—सबैको मूलभूत स्पर्श बचपनमै पाउने सौभाग्य मिल्यो!
त्यसैले होला, मेरो पहिलो बोलाइ ‘आमा–बुबा’ सँगै ओशोको नाम पनि लिन्थे रे। जानी नजानी ध्यान भनेपछि हुरुक्क हुन्थेँ रे भनेर मेरो आमाले सुनाउनु हुन्छ।
मेरो आध्यात्मिकता केवल मेरो मात्र होइन, आमा बुबाले हुर्काएको बीउ पनि हो। यो उज्यालोसम्म पुग्न बुबा आमाले कति रात अँध्यारो चिरेर हिँड्नुपर्यो।
बुबा पढाइका लागि विदेश जानुभयो, आमा धादिङको एक गाउँमा, ध्यानमा डुबिरहने, स्व-आविष्कारको बाटोमा कदम अघि बढिरहने। तर यही कुरा समाजलाई पचेन।
‘महिला भएर यस्तो मार्ग?’ यस्तै वाक्यहरूले थुप्रै गाली, आरोप, लाञ्छना र तिरस्कार सहनुपर्यो। कसैले शब्दले घोचे, कसैले दृष्टिले पोले, कसैले सिधै गाउँबाट निकाल्नसम्म खोजे।
तर आमा टुट्नुभएन। उहाँको आस्था टुटेन, प्रेम टुटेन, गुरुप्रति विश्वास त झन् चट्टानजस्तै अडिग बन्दै गयो।
समाजले नबुझ्दा पनि, नमान्दा पनि, अस्वीकार गर्दा पनि आमाले आफ्नो साधनाको बाटो कहिल्यै छोड्नुभएन, कहिल्यै डराएर भाग्नुभएन। आज म जुन चेतनाको उज्यालोमा उभिएकी छु, त्यो मेरो मात्र यात्राको फल होइन— आमाले झेलेका आँधीसहितको साहसी प्रेम मभित्र बगिरहेको शक्ति पनि हो।
आजसम्म गुरुले जे–जे दिनुभयो त्यो त शब्दले बयान गर्नै सकिँदैन। कयौँ ध्यानका अनुभवहरू, रूपान्तरण, जीवनमा सम्भव नलागेका चमत्कारहरू, अनेक देख्दै, भोग्दै, सिक्दै आएकी छु।
एक कलाकार, त्यो पनि एक महिला ओशोको माला लगाएर सार्वजनिक रूपमा उभिनु आज जस्तो सहज थिएन। ओशो सुन्नासाथै कति प्रश्न, कति आरोप, कति गलत बुझाइहरू— अन्तर्वार्ताहरूमा, कार्यक्रममा, मिडियामा— जहाँ पुगे पनि मेरो नामसँगै ‘ओशो’ जोडिन्थ्यो।
कहिलेकाहीँ चित्त बुझ्दैन थियो, तर धेरैजसो त्यही नै मेरो गर्व थियो। गुरुबारे बोल्न पाइँदा मनभित्र एउटा सुगन्ध फैलिन्थ्यो— एक अचम्मको आनन्द उठ्थ्यो, साहस जाग्थ्यो।
नेपालमा ओशो संन्यासी औंलाले गन्न सकिने बेला म तिनै बीच हुर्किएँ। आज संसारभर ओशो बुझ्ने, ध्यान गर्ने, संन्यास ग्रहण गर्नेहरूको सङ्ख्या बढ्दै गएको देख्दा मनभित्र बिर्सिन नसकिने हर्ष उम्लन्छ।

प्रायः म सोचिरहन्छु – बोधिसत्व स्वामी आनन्द अरुणज्यूलाई कस्तो लाग्थ्यो होला? जसले नेपालमा एक्लै बाटो समातेर हजारौँको अनुहारमा ओशोको ज्योतीले उज्यालो बनाइदिनुभयो। जसले दुई जना संन्यासी हुन ४–५ वर्ष कुर्नुपर्यो! आज त्यो बीउ विश्वस्तरीय वृक्षमा परिणत भइसकेको छ।
अनि मलाई गर्व लाग्छ कि म पनि बोधिसत्व स्वामी आनन्द अरुणले नेपाल भित्राउनु भएको त्यही वृक्षको एक हाँगा हुँ।
ओशो… जसले संसारलाई केवल दर्शन मात्र दिनुभएन, आत्मालाई हल्लाउने आँधी, मनको जेल फुटाल्ने चाबी र स्वत्व–बोधको अपरिमित आकाश दिनुभयो। स्वतन्त्रता, विद्रोह, प्रेम दिनुभयो, चेतनाको नयाँ क्षितिज खोलिदिनुभयो। जुन बाटोमा हिंड्दा मानिस डराउँथे, उहाँले त्यही बाटोलाई पवित्र पदयात्रा बनाइदिनुभयो।
जुन सत्य बोल्दा धेरैलाई जल्थ्यो, उहाँले त्यही सत्यलाई मुक्तिको दैलो बनाइदिनुभयो। जीवनभर यही सिकाउनुभयो, मानिसहरू निदाएका छन्… तिमीहरू जाग, जुन दिन भित्रको ज्योति देख्यौ, त्यही दिन तिमी फेरि जन्मिन्छौ।’
ओशोको ऊर्जामा जन्मेकी एउटा शिष्य, आज गुरुको जन्मदिनमा यात्रालाई फर्केर हेर्दा हृदय एकैचोटि भरिन्छ पनि, खाली पनि हुन्छ। भरिन्छ- कृतज्ञताले। र खाली हुन्छ—समर्पणले। मसँग उठिरहने भावना- ‘भगवान्, हजुरले मलाई शिष्य स्वीकार्नुभयो, म धन्य छु।’ यात्रा कठिन थियो, तर तपाईंले कहिल्यै हात छोड्नु भएन।
हजुरको जन्मदिनको यस पवित्र क्षणमा म भित्रबाट उठिरहेको एउटै प्रार्थना गर्छु, मेरो हात कहिल्यै नछोडिदिनुहोला। जीवनका उकालो–ओरालो, सुख–दुःख, जागरणका उज्याला क्षणहरूमा, अहंकारका अँध्यारो पलहरूमा म आफ्नै शक्तिले होइन, तपाईंको अदृश्य स्पर्शले बाँचिरहन पाऊँ।
भगवान्! आज यो जन्मदिनमा निवेदन गर्न चाहन्छु— जन्म–जन्मान्तर जहाँ–जहाँ म जन्मूँ, कसरी जन्मूँ, कसरी बाँचूँ, यसले फरक नपरोस्। तर म तपाईंको शिष्य भएरै जन्मिन पाऊँ, तपाईंको नाम लिएरै बाँच्न पाऊँ, तपाईंको ध्यानमा विलीन भएरै मर्न पाऊँ ।
प्रतिक्रिया 4