News Summary
Generated by OK AI. Editorially reviewed.- कृष्णचन्द्रसिंह प्रधानको जन्म शताब्दी वर्षमा उनको कविता र समालोचना क्षेत्रमा योगदानलाई स्मरण गरिएको छ।
- प्रधानले मदन पुरस्कार पाएका थिए र साझा प्रकाशनका महाप्रबन्धक भएर नेपाली साहित्यको विकासमा भूमिका खेलेका थिए।
- उनले आफ्नो आत्मकथा र साहित्यिक यात्रामा पारिवारिक सम्बन्ध, द्वन्द्व र साहित्यिक गतिविधिको अनुभव खुलाएका छन्।
नेपाली साहित्यका गौरवमय व्यक्तित्व हुन् कृष्णचन्द्रसिंह प्रधान । वि.सं. १९८२ साउन ११ गते जन्मेका उनको यो जन्म शताब्दी वर्ष हो । उनको पहिलो रचना विसं २००२ सालमा बनारसबाट काशिबहादुर श्रेष्ठको सम्पादनमा प्रकाशित हुने उदय पत्रिकामा प्रकाशित भएको थियो ।
विसं २००८ सालमा ‘भन्ज्याङनिरै’ कविता सङ्ग्रह प्रकाशित गर्ने प्रधानले पछि कविता लेखनलाई निरन्तरता दिएनन् । उनको कलम समालोचना विधामा विस्तारित भयो । वि.सं. २०१५ सालमा ‘कवि व्यथित र काव्य साधना’ का लागि मदन पुरस्कार पाएपछि उनको समालोचना कर्म चुलिँदै गयो ।
उनको ‘नेपाली उपन्यास र उपन्यासकार’ (२०३७) एक मानक कृति हो जसका लागि उनले साझा पुरस्कार पाएका थिए । ‘नेपाली समालोचनाका लौह व्यक्तिको उपमा पाएका उनको निबन्ध लेखन पनि उत्तिकै गहन र प्रभाविलो रह्यो । उनको निबन्ध सङ्ग्रह ‘सालिक’ (२०२६), अनाम सत्य (२०४६), ‘पाइला आगतमा टेकेर'(२०४७), ‘बाग्मतीको हरक’ (२०५७), ‘समय सुनामी’ (२०६३) नेपाली निबन्ध जगतका उत्कृष्ट ग्रन्थहरू हुन् ।
पछिल्लो चरणमा उनले आफ्नो आत्मकथा दुई भागमा लेखेका थिए, ‘नफर्कने ती दिनहरू'(२०५९)तथा ‘जिन्दगीका टिपोटहरू’ (२०६३) । लामो समय साझा प्रकाशनका महाप्रबन्धक रहेका उनी साझा प्रकाशन जानुअघि पनि नेपाल प्रज्ञाप्रतिष्ठानमा सदस्य भए थिए । उनको निधन २०६७ साल असार १७ गते भएको थियो ।
उनको देहान्त हुनुभन्दा तीन वर्ष वर्षअघि उनकै निवासमा पुगेर लिइएको अन्तर्वार्ताको सम्पादित अंश तल प्रस्तुत गरिएको छ:
आज यो उमेरमा आइपुग्दाखेरि आफूले साहित्य सिर्जना गर्न थाल्दाका दिनलाई कसरी सम्झना गर्नुहुन्छ ?
त्यो बेलाको कुरा अहिले सम्झँदा आफैंलाई नै एक किसिमको आश्चर्यजस्तो, अनौठोजस्तै लाग्छ । किनभने साहित्यकार हुनका लागि मैले लेखेकै होइन । कवि हुनका लागि पनि लेखेको होइन । यौटा लेखक भएर लेखेको पनि थिइनँ । मैले कसरी लेख्न पुगें त्यसको कथा छ । मेरो पिताजीलाई तमाखु खानुपर्ने । यसलाई मैले धेरै ठाउँमा चर्चा गरेको छु।
जेठोदाइ त काठमाडौंमै बस्नुहुन्थ्यो । तराईमा पिताजीसँग भाइ र म बस्थ्यौं ।सानै थियो । ऊ बुबाले अह्राएको काम गर्न सक्दैनथ्यो । म चाहिँ अलि सक्ने भइसकेको थिएँ । त्यसो हुँदा बुबाको तमाखु भर्ने काम सधैं मेरो जिम्मामा पर्ने । केटाकेटीहरूलाई त बिहानको निद्रा त साह्रै मिठो हुन्छ । सुतिराखेको मान्छेलाई ब्यूँझाएर तमाखु भर्न लगाउने । मन नपरी नपरी तमाखु भरेर दिनुपर्ने । यो काम गर्दा मलाई धेरै साह्रै विरक्त लाग्थ्यो ।
त्यही सुरमा मैले ‘हाय तमाखु’ भनेर सबैभन्दा पहिला कविता लेखेको थिएँ। जुन छापिएको छैन । त्यो मैले साहित्यिक भएर लेखेको होइन । न मैले कविता लेख्ने भावनाबाट प्रेरित भएरै लेखेको हुँ । मैले त पीडाबाट प्रेरित भएर लेखेको हुँ । कहाँको झ्याउ काम आइलागेको भनेजस्तो लाग्थ्यो । अनि त्यो बडा दुःख लागेजस्तो, बडा चोट लागेजस्तो नि । त्यो बेला शायद म ११, १२ वर्षको हुँदो हो । वीरगञ्जको हाइ स्कुलमा ३ हो कि ४ कक्षामा पढ्थें । वीरगञ्जमा फेरि नेपाली पढाउँदैनथ्यो । त्यहाँ नेपालीको ठाउँमा हिन्दी भाषा राखेको थियो । अनि हिन्दी भाषाको पनि अहिलेको जस्तो पाठ्यपुस्तकमा जुन हुनुपर्ने हो नि त्यो होइन । रहिमका दोहाहरू, तुलसी दासका दोहाहरू, सुरदासका कविताहरू पढ्नुपर्ने । तर मलाई त्यसबाट धेरै फाइदा भो । ती बज्र भाषामा लेखिएका हुन्थे ।
त्यो माउ बज्र भाषामा लेखिएको कविता पढ्दाखेरि हिन्दी त्यसै पनि जानिंदो रहेछ । अब हामी ११, १२ वर्षका बच्चाले रहिमका दोहाहरू, सुरदासका र तुलसीदासका रचनाहरू पढ्थ्यौं । त्यत्तिले नभएर हरिऔंधको महाकाव्य पढ्नुपर्थ्यो । हरिऔंध भनेपछि देवकोटाको शाकुन्तल महाकाव्य । भाषा आउनेले भाव बुझ्दैन, भाव बुझ्नेले भाषै बुझ्दैन । त्यही टाइपको हरिऔंधको महाकाव्य हो । त्यस किसिमको पनि पढियो । सबैभन्दा प्राथमिक प्रेरणा भनौं कि के भनौं, अलिकति त्यसको पनि छाप केही परेको छ । त्यसपछि जब दाइ आउने गर्नुहुन्थ्यो, साथमा किताब, शारदाहरू पत्रिकाहरू लिएर आउनुहुन्थ्यो । त्यो हेर्न थालें।
दाइ भन्नाले ?
हृदयचन्द्र दाइ । बुझे पनि नबुझे पनि उहाँले ल्याउनुभएका सबै पढिन्थ्यो । शारदा पल्टाउँदा त्यहाँ हृदयचन्द्र भन्ने नाम छापिएको देखें । पहिले दाइ के लेख्नुहुन्थ्यो भने मेरो बगैंचाको फूल भनेर टाउकोमा लेख्ने । चाहे गद्य होस् या पद्य । मेरो बगैंचाको फूल भनेर राखेर अनि त्यसपछि कविता भए त्यसको शीर्षक, गद्य भए पनि त्यसको शीर्षक हुन्छ अनि हृदयचन्द्र लेख्ने ।
त्यहाँ मैले थुप्रै लेखकहरूको लेख देखें । थुप्रै नाम देखें । कसैले मलाई छोएन । हृदयचन्द्रले लेख्न सक्छ भने कृष्णचन्द्रले किन नलेख्नु भन्ने लाग्यो । यसले गर्दाखेरि म लेखनतिर लागेको । खास लेख्न लागेको त यो हो । तर यो सबैथोक हुनुअगाडि नै मैले यो तमाखुको बारेमा कविता भनेर लेखिसकेको थिएँ । आफन्तभित्रको जुन यौटा ईर्ष्या हुन्छ नि । स्वाभाविक रहेछ । मनोवैज्ञानिक । केही गरौं भन्ने ।
ईर्ष्या नभइकन पनि उहाँले लेख्न सक्नुहुन्छ मैले किन लेख्न नसक्ने ? उहाँले यस्तो गर्न सक्नुहुन्छ, मैले किन गर्न नहुने ? त्यसभित्र यस्तो खालको द्वेष पनि होला, ईर्ष्या पनि होला । देखासिकी गर्ने यौटा जोशजस्तो केही न केही त्यो मनोवैज्ञानिक कारण होला । मैले यसलाई इर्ष्याकै रूपमा लिएको छु । नराम्रो अर्थमा होइन । लेख्नु भनेको त राम्रै अर्थ हो । त्यसले राम्रै प्रयोजन दिएको हो । त्यसमा ईर्ष्यावस दाइको नाम आउन सक्दछ । मेरो पनि छापिन सक्दछ भन्ने प्रेरणा पनि त्यहाँबाट आयो ।
अनि लेखक भैसकेको दाइसँग लेखन क्रममा तपाईंको कस्तो सम्बन्ध रह्यो ?
मेरो सम्बन्ध यौटा दाजुभाइ बीचको सम्बन्धजस्तो किसिमको हुनुपर्ने हो, त्यो सुरु देखि नै त्यही किसिमको थियो । म १९९९ सालमा काठमाडौं आएँ । यद्यपि मेरो जन्म पनि यहीं हो । म बीचबीचमा काठमाडौं नआएको पनि होइन । तर नफर्किने गरिकन चाहिँ १९९९ सालमा आएँ । यहाँ आइसकेपछि दाइले लेखेको खेस्रा साफी गरिदिन्थें ।
मेरो अक्षर पनि राम्रो थियो । जस्तो ‘केही नेपाली नाटक’ वालकृष्ण समको नाटकबारे लेख्नुभएको छ नि उहाँले, त्यो सिंगै पुस्तक साफी गरेर प्रेस पठाउन योग्य मैले बनाएको हुँ। म उहाँको सबैजसो लेखहरू साफी गरिदिन्थें । अर्काले लेखेको लेख पढ्नु र साफी गर्नु यौटै कुरा हो । तर यसबाट के हुँदोरहेछ भने भाषा पनि सिकिंदो रहेछ । थाहा नपाउने गरिकन ।
अरूहरू पनि सिकिंदो रहेछ । सिक्ने मान्छेका निमित्त त्यो यौटा पाठ हुँदोरहेछ । मैले पनि त्यसबाट सिकें हुँला । अनि पछिपछि गएर के भो भने दाइको लेखनको प्रवृत्ति बेग्लै किसिमको । मेरो लेखनको प्रवृत्ति बेग्लै किसिमको । यौटा घरमा दाजुभाइ लेखक । वाउछोरा लेखक । भाइबहिनी लेखक। त्यस्तो भयो भने त्यहाँभित्र द्वन्द पनि हुँदोरहेछ ।
मैले धेरैको घरमा देखेको छु । मैले यो कुरा एक दुई ठाउँमा चर्चै गरेको छु । त्यो चर्चा मैले विजय र गोविन्दको बारेमा गरेको छु । यही सन्दर्भ ‘नफर्कने ती दिनहरू’ छ नि मेरो आत्मवृतान्त, मैले त्यहाँ उठाएको छु।
दाजु एकेडेमीमा गएपछि विजय पनि सहसदस्यका रूपमा त्यहाँ मनोनित भए । अनि त्यो भएपछि म दाजु भइकन पनि मलाई नराखिकन विजय पर्न गयो । अब त्यो राख्ने काम त विजयले भनेर राखेको होइन ।
साहित्यिक गतिविधिमा बढी सक्रिय भएर आइराखेको त विजय हो । गोविन्द भन्दा पनि । अब त्यो दृष्टिले विजय पर्न गयो, गोविन्द परेन । एकदिन नयाँ सडकको फुटपाथमा गोविन्दसँग भेट भो । कुरा गर्दै जुद्ध शम्शेरको सालिकतिर हामी आइरहेका थियौं । अहो ! फुटपाथमा उफ्रेको गोविन्द । ‘अब म लेख्दै लेख्दिन । अबदेखि मैले लेख्न छोडें’ भन्दै कुर्लेको थियो ।
के त भन्दाखेरि विजय सदस्य भयो, उ भएन भनेर । खास कुरा त्यत्ति मात्र हो । अरू क्यै पनि होइन । यौटा द्वन्द त्यस्तो हुँदोरहेछ । शायद म र दाइको बीचमा त्यो द्वन्द थिएन भन्न सक्दिन । त्यो डाइरेक्ट हुनुपर्छ भन्ने पनि छैन, इन्डाइरेक्ट पनि हुन सक्दछ । त्यो मैले यौटा के बुझें भने, अब भनौं न ‘कवि व्यथित र काव्य साधना’ लेखेर मैले मदन पुरस्कार पाएँ । मदन पुरस्कार स्थापना भएको दोश्रो सालको कुरा हो । ठ्याक्कै ५० वर्ष भो अहिले ।
त्यसबेलामा एउटा सिफारिस जस्तो पनि चाइने । सिफारिस भनेर जुन भाषामा सिफारिस गरिन्छ नि त्यो होइन, मदन पुरस्कार गुठीको भनाइअनुसार एउटा खाली यसरी आएको छ भन्ने कुरा मात्र भन्ने हो । अनि उहाँको ह्रस्वदीर्घको सवाइ होइन कि व्याकरणको यौटा वैज्ञानिक किताब छ नि, त्यो किताब प्रतियोगिताका लागि पठाउनुभयो ।
मेरो त गइ नै सक्यो, अनि दाइले सिफारिसका लागि मैकहाँ पठाउनुभयो फेरि । मलाई छक्क लाग्यो । मैले भन्ने कुरो पनि भएन । अब उहाँलाई थाहा छ । जुन पुस्तक प्रतियोगितामा गएको हो, त्यो दोश्रो संस्करण हो । दोश्रो संस्करण त लिंदै लिन्न । पठाउनै हुन्न । त्यसलाई स्वीकार गरिन्न । बुझेर लिए पनि त्यो प्रतियोगितामा जाँदैन । अब मैले यसो हुन्न भनौं भने दाइलाई के पर्ला भन्ने फेरि मनमा चिसो पर्यो ।
अर्को अर्थमा लिएपछि त नराम्रो हुन्छ । मैले सिफारिस दुइ हरफ लेखेर पठाइदिएँ । अनि त्यो किताब त्यहाँ गयो । एक त मेरो गइराख्या छ, फेरि यो दोश्रो संस्करण नहुनुपर्ने किताब चाहिँ किन पठाउनु त्यो । शायद त्यहाँभित्र पनि यस्तो केही द्वन्द हुन सक्छ ।
इन्डाइरेक्टली त्यो हुन सक्छ नि । यो कुनै अर्को कारणले होइन कि त्यस्तो हुँदो रहेछ भनेको मैले । धेरै दाजुभाइ दाजुभाइ लेखकहरूमाझमा, माधवलाल, केशवलाल नै छ । यस्तो कति छ । दमननाथ, तीर्थराज तुलाधरहरू नै छन् । तिनीहरूको बीचमा मैले त्यस्तो किसिमको मनोवैज्ञानिक द्वन्दहरू केही न केही देखिराखेको छु ।
तपाईंले पुरस्कार पाइसकेपछि उहाँको प्रतिकृया कस्तो रह्यो ?
अहँ त्यो मैले बुझिनँ । मैले सोध्ने कुरो पनि भएन । राम्रो होइन, त्यो हगि । त्यस किसिमको, केही खराब किसिमको, त्यस्तो अहँ मैले उहाँको व्यवहारमा देखिनँ ।
त्यस बेलामा पुरस्कार दिंदा ३०-४० जना मान्छे हुन्थे । त्यो जगदम्बा महारानीको ठूलो बैठकमा चकटी राखिएको हुन्थ्यो, हामी त्यो चकटीमा बस्थ्यौं । अनि उनका नजिकका मान्छेहरू, पुरस्कारसँग सम्बन्धित गुठीका मान्छेहरू, बढीमा ४० जना नत्र भने २५-३० जना मात्रै हुन्थ्यो । त्यसरी दिइन्थ्यो ।
महारानी आफैंले । अहिलेको जस्तो कार्यक्रम हुँदैनथ्यो । त्यो बेलामा मंसिरमा मैले पाएको । नत्र असोजमा पाउनुपर्ने । मेरो श्रीमती अलि धार्मिक प्रवृत्तिको पनि थिइन् । उसले गुह्वेश्वरीमा १०८ अण्डा चढाउने भनेर भाकल गरेकी रहिछ । ‘खें खाय’ भन्छ नेवारीमा । त्यसमा २०, ३० साथीहरू, लेखकहरू पनि त्यहाँ बोलाइन् । त्यहाँ मैले दाइलाई नै बोलाउन बिर्सेको । भन्नै बिर्सेको । हुन त दाइ आउनै सक्नुहुन्नथ्यो । बिरामी हुनुहुन्थ्यो । तैपनि मैले भन्न बिर्सेछु । मानसिक दृष्टिकोणले उहाँलाई केही न केही प्रभाव पर्नसक्ने मेरो त्यो गल्ती कहिल्यै बिर्सन्न । पछिपछि पनि सम्झिरहेको हुन्छु ।
साझा प्रकाशनका वर्षहरूलाई कसरी सम्झिनुहुन्छ ?
म त्यहाँ चाहेर गएकै थिइनँ । अफर आएको ६ महिनापछि ल हुन्छ भनेर जवाफ दिएर पुगेको हुँ । जसै म एकेडेमीबाट निस्किएँ, मलाई क्षेत्रप्रताप अधिकारीजीले साझामा आउन भन्नुभयो । २०३० सालमा प्रज्ञा गठन गर्ने नयाँ विधानहरू आयो । अनि त्यो अनुसार हामी आउने त कुरै भएन हगी ? २०३१ सालको वैशाखमै म फर्कें ।
मेरो क्षेत्रप्रताप अधिकारी जीसित पारिवारिक सम्बन्ध थियो । उहाँ घरमा आएर कराउनु भएछ । पहिलो पटक आउँदा मसँग भेट भएन । मेरो जहानलाई भनेर जानुभएछ । मैले जवाफ दिइनँ । त्यसपछि फेरि २, ३ पटक घरमै आउनुभयो । ठिक छ म सोचेर, विचार गरेर भनौंला भने मैले । मलाई मन लागेकै थिएन । कहाँ त्यो व्यावसायिक संस्थामा गइरहने भनेजस्तो लागेर इच्छा लागेन ।
उहाँले यसरी ढिपी गरेको र श्रीमतीले पनि ज्यादै कराएकीले यो यौटा लेखकहरूकै संस्था हो, किताबसँगै सम्बन्धित कुरा हो , गैरसाहित्यिक संस्था त होइन त्यो, के बिग्रिन्छ र, किन नजाने भनेर ज्यादै ढिपी गरेपछि गएँ ।
मलाई त्यस्तो कुनै केही छैन, मेरो यौटा अहम् भनौं कि के भनौं, त्यो के भनें म तपाईंकहाँ आउँदाखेरि कुनै किसिमबाट अपमानित त हुन्न ? मैले प्रश्न राखेको यति मात्रै हो । म अपमानित भएँ भने म सहन सक्तिन । बस्न सक्तिन भनेको हो । उहाँले हत्तेरी भन्दै हाँसेर कराउनुभयो, मै छु, मै अध्यक्ष हुँ, तपाईंको अपमान किन गर्ने भनेर उहाँले विश्वस्त बनाउनुभयो ।
त्यहाँ जीएम भएपछि कति तलब आउँछ, के सुविधा पाइन्छ, कुनै चिजमा मैले प्रश्न गरिन । खाली मेरो सम्मानमा आघात पर्यो भने म टिक्न सक्दिन, म बस्न सक्दिन मात्रै भनें। वास्तवमा त्यस्तो केही हुँदा पनि भएन । हामी मित्रवतै, उहाँ अध्यक्ष म महाप्रबन्धक । मसँग नसोधी उहाँले केही गर्नुभएन । उहाँसँग नसोधिकन म केही नगर्ने। यद्यपि विचार हामी दुवैको फरक । उहाँ राजावादी एकदमै, म चाहिने विल्कुल अलग विचारको परें । तर संस्थालाई हुर्काउन, बनाउनको निमित्त लाग्ने एउटा समझदारी हाम्रो बन्यो।
त्यो संस्थालाई कसरी आत्मनिर्भर बनाउने भन्नेमा लाग्यौं । म जाँदाखेरि त्यहाँ साझा प्रकाशनको आफ्नो घर थिएन । जग्गा समेत थिएन । बैंक व्यालेन्स थिएन । जगदम्बा महारानीको घरमा भाडामा राखिएको थियो।
साझा केन्द्रसँगै जग्गा लिएर त्यो जग्गा बापतको शेयरमा परिणत गरेर त्यसरी लिएको हो जग्गा । कराडौंको सम्पत्ति जोडियो । म भन्दा अगाडिको जिएम पन्तले भन्थ्यो- तपाईंजस्तो साहित्यकार, लेखक यस्तो संस्थामा के आउनुभएको ? न केही छ । न केही छ । उसको कुरा सुनेर, ‘म हाँसिरहें मात्र । मैले त्यो साझा प्रकाशनलाई त्यस किसिमसँग हुर्काएको हो नि । यदि त्यहाँको अध्यक्ष क्षेत्रप्रताप अधिकारी र मेरो बीच कुनै खटपट भइदिएको भए त त्यो हुनै सक्दैनथ्यो । त्यो समझदारी थियो हामी बीचमा । कहिल्यै हाम्रो वैचारिक मतभेदले गर्दा साझा संस्थालाई पर्ने हानी नोक्सानी भएन । यो कहिल्यै पनि प्रश्न भएर उठेन ।
एकेडेमीको विषयमा पनि छोटो भनौं न । दुईपल्ट एकेडेमी जानुभयो, तुलनात्मक रुपमा अघिल्लो कार्यकाल र पछिल्लो कार्यकाललाई कसरी लिनुहुन्छ ?
अब एकेडेमी त त्यही नै हो हगि । फरक के छ भने जसरी व्यवस्था बदलियो, त्यही अनुसार तुलनात्मक रूपमा एकेडेमीभित्र पनि केही भिन्नता आयो । पहिले यौटा कानुन अन्तरगत चल्दथ्यो, त्यो कानुन र विधि सामन्ती खालको हो । तापनि मानिसमा अनुशासन थियो । नियमबद्ध हुन चाहिँ उसलाई कर लाग्थ्यो । चाहेर, नचाहेर नियममा बाँधिन कर लाग्दथ्यो ।
वर्षौंदेखि निस्क्रिय रहेको एकेडेमीमा एकैचोटी यो परिवर्तन आउँदा जुन चहलपहल, गतिविधि भयो, सक्रियता देखिन आयो नि, त्यो काललाई मैले यौटा एकेडेमीको निर्माणात्मक कार्य समय भन्छु । किनभने केही योजनै थिएन, कुनै कामै भइराखेको थिएन । जब व्यथित उपकुलपति भई उनको नेतृत्वमा हामी गयौं अनि इन्साइक्लोपेडिया तयार गर्नेदेखि लिएर यी सारा किसिमको काम भयो ।
अब कविताकै क्षेत्रमा भनौं न, मैले पहिले युरोपियन कवि लेखकहरूको यौटा संग्रह अनुवाद गर्न लगाएर निकालें । त्यसपछि एशियाको भनेर एशियाको निकालें । अब त्यो एशियाको कविता संकलन गर्न कम गाह्रो पर्यो ? त्यसबेलाको एशिया, अफ्रिकन देशहरू हगि को कवि छन्, को होइनन्, को के हो ? पत्ता लगाउनै गाह्रो । अनि मैले त्यसको लागि दिल्ली राजदूतावासमा पत्राचार गरें । हाम्रो राजदूतावासलाई पत्र लेखेर राजदूतावास मार्फत् काम गरें । यहाँ त राजदूतावास थिएन सबै देशको । त्यहाँ सारालाई पत्र लेखाउन लगाएँ ।
म जहाँजहाँ गएँ, सबैभन्दा खत्तम चाहिँ बर्मा थियो, त्यहाँबा पनि वन्तमार्फत् २०औँ वटा अंग्रेजीमा लेखिएको मुस्किलले उसले पत्ता लाएर पठाइदिइरहे । यसरी यो कलेक्सन विभिन्न माध्यम प्रयोग गरेर संकलन गरेको । सबैभन्दा गाह्रो त हव्सीहरूको, कालाहरूका कविता । त्यो पनि तयार गरेर छोडेर आएँ, प्रकाशित गर्न भ्याइनँ । पछि मलाई लाग्छ त्यो माधवलालहरू जाँदाखेरि निकालिएको छ ।
साहित्य कोषको चाहिँ योजना देखि लिएर जुन किसिमको उलटपुलट आयो, त्यो गतिविधिको दृष्टिले, सकृयताको दृष्टिले निकै राम्रो रह्यो । साँचै नै अर्को एक कार्यकाल बस्न पाएको भए त्यो इन्साइक्लोपेडिया पनि निस्कन्थ्यो होला । नेपाली खण्ड । किनभने हामीलाई गाह्रो नेपाली खण्ड हो नि । अरु खण्ड त अनुवाद गरे पनि पुगिहाल्थ्यो नि ।
त्यो जाँचबुझ केन्द्रले मेचीदेखि महाकाली निकालेकोमा आधा भन्दा बढ्ता त हाम्रै एकेडेमीबाट लगेको छ त्यो नारायण प्रसादले । यसरी त्यो आएको थियो । त्यस किसिमको विधि थियो । अनि अलिकति के फाटो थियो भने नयाँ र पुराना बीचको सम्बन्ध । अलिकति चिसोपन थियो । जस्तो पुराना, बालकृष्ण सम, माधव घिमिरे, वांगदेल सबै थिए नि। अब हामी नयाँ गएको व्याच पनि भयो । अनि त्यो एउटा नयाँ जोश हुन्छ नि त्यो जोशले गर्दाखेरि पनि अलिकति टकराव पनि पर्ने गर्थ्यो, क्लास पनि हुन्थ्यो, नभएको होइन, वैचारिक दृष्टिले, अथवा अरु किसिमले क्लास पनि पर्थ्यो ।
यी सबै व्यवधान पर्दापर्दै पनि जति काम त्यसबेलामा गर्ने भनेर हामीले संकल्प गरेका थियौं, र जति निस्कियो, त्यो एकेडेमीको इतिहासमा त त्यो एउटा राम्रो कुरा थियो । ८० वटा किताबहरू हामीले छापेर निस्केका हौं । ४ वर्षभित्र । अब प्रजातन्त्र पछि २०४७ सालमा परियो फेरि हामीहरू । लेखकहरूका लागि आन्दोलन गरेका पनि हौं । कालोपट्टी बाँधेर हामी जेल गएका पनि हौं । त्यस बेलामा हामी स्वतन्त्र थियौं । प्रजातान्त्रिक थियौं । आ-आफ्नो ठाउँमा आ-आफ्नो किसिमका विचारहरू थिए । त्यो भित्र पनि केही क्लास हुने थियो नि, त्यस किसिमको केहीकेही हुन्थ्यो ।
अनि हामी त्यस बेलामा साह्रै थोरै संख्यामा शायद ५-६ जना सिवाय थिएनौं । त्यो संख्याको अनुपातमा पनि हामीले जति गर्नुपर्ने थियो, त्यो गर्न सकेनौं । फेरि पनि नगरेको होइन, समकालीन साहित्य भनेर मैले त्यसै बेला निकालेको हुँ । यौटा नयाँ किसिमले निकाल्न खोजेको हुँ, त्यसको साजसज्जादेखि लिएर म्याटेरियल सबै नयाँ स्तम्भदेखि लिएर , यौटा नयाँ तरिकाले निकाल्ने भनेर आफू बसुन्जेल निकालेरै आएको हुँ । त्यसपछि पनि धेरै निरन्तर भयो । यस किसिमका केही काम भयो पनि ।
प्रजातान्त्रिक वातावरणमा सबै स्वतन्त्र भए, कोही कसैको अण्डरमा नबस्ने । कोही कसैको कुरा स्वीकार नगर्ने खालको प्रवृत्ति पनि थियो । त्यो प्रवृत्तिले गर्दा बीचबीचमा अनेक बाधाहरू आउँथ्यो । सचिव र उपकुलपतिको झगडा कहाँसम्म पुगेको थियो तपाईंलाई थाहा छ त्यो ।
अहिलेसम्मको आफ्नो सम्पूर्ण लेखन यात्रालाई फर्केर हेर्दा कति सन्तुष्ट हुनुहुन्छ, गर्न बाँकी केही छ जस्तो लाग्छ ?
यो दुवै चिज छ । सन्तुष्टि यसकारणले छ कि, मजस्तो अनपढ मान्छे, औपचारिक शिक्षा ग्रहण गर्नबाट वञ्चित मान्छेले त्यसैमा समर्पित भएर जे जति गरियो, त्यसप्रति असन्तुष्ट छैन । दोश्रो कुरो आफूले जे जस्तो किसिमको चिताएको हो, त्यो जिन्दगीमा सबै पूरा नै हुन्छ भन्ने मान्छेले सोच्नु पनि हुँदोरहेनछ । त्यसरी सोच्न थाल्यो भने हामीमा नैराश्यता आउन सक्छ, निस्क्रियता आउन सक्छ । जे जस्तो स्थिति छ, त्यहीअनुसार आफूलाई एडजस्ट गर्नुपर्छ । समाजका लागि केही न केही गर्न सक्नुमा नै सन्तुष्टिको एक अध्याय हो । आर्थिक दृष्टिले पनि मेरो त्यस किसिमको बलियो कुनै आधार थिएन । भएभरको हाम्रो बाउले नै सिध्याएर गइसकेका थिए ।
जसरी म साझा प्रकाशनमा जानुको अर्थ मैले शून्यमा पाइला हालेको हुँ, त्यस्तै सामाजिक दृष्टिले घर गृहस्थीमा प्रवेश गर्दाखेरि त्यही शून्यमा मैले प्रवेश गरेको हुँ । यो कुनै पनि फरक छैन । त्यो शून्य भित्र मैले जति उपार्जन गरें, त्यसप्रति असन्तोष किन गर्नु ? मैले सबैबाट आदर पाएकै छु । स्नेह पाएकै छु । श्रध्दा पाएकै छु । सबैको माया ममता पाएकै छु । यो सबै भइकन पनि कतिपय यस्ता कुराहरू हुँदोरहेछ, व्यक्तिगत पनि, सामाजिक दृष्टिले पनि, जुन कि नभ्याएर हो कि, अथवा समयले नदिएर हो कि, गर्न सकिएको छैन ।
त्यो मलाई लाग्छ, म शायद बाँचिरहें भने अझ पनि केही भइहाल्छ कि भन्ने आत्मविश्वास पनि मेरो छ । हतोत्साहित भएर हातखुट्टा छोड्ने किसिमको मनचेतना कहिले पनि आएन मलाई
प्रतिक्रिया 4