+
+
Shares

नगरकोटियन साँझ : अनि ‘कविताहरू गुनगुनाइए’

सापेक्ष सापेक्ष
२०८२ पुष ११ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमार नगरकोटीले राष्ट्रिय सभागृहमा \'यदाकदा : एन इभिनिङ अफ म्युजिक पोएट्री\' कार्यक्रममा कविताहरू गुनगुनाउँदै संगीतसँग प्रस्तुत गरे।
  • कार्यक्रममा उनले राजनीतिक, जादुयी, स्वैरकाल्पिक र मायालु कविताहरू सुनाए र सिल्भिया प्लाथदेखि कार्ल मार्क्सकी श्रीमतीसम्मलाई समर्पण गरे।

बजारमा कुमार नगरकोटी किताबबाट छाइरहेका हुन्थे । स्मृति सङ्ग्रह ‘जोगियाना’ उनको पछिल्लो किताब हो । २०८० मा प्रकाशित त्यो किताबयता नगरकोटी किताबी रूपमा आएका छैनन् । केही समयअघि एक मिडिया अन्तर्वार्तामा नयाँ किताब कविताकै हुने भनेर उनले बताएका मात्र थिए ।

एउटा कारण त्यो पनि होला, बढी कविताप्रतिको उनको प्रेम नै हो । उनी एउटा बेजोड कार्यक्रममा सोलो सुनिए– यदाकदा : एन इभिनिङ अफ म्युजिक पोएट्री ।

क्रिसमस मनाउने थियो उनको कार्यक्रम। तर, उनले कविताहरू मनाइदिए । जाडो बहुतै थियो । नगरकोटीले मौसमलाई गर्मी पारिदिए । यस प्रकारको कार्यक्रम उनको पहिलो थियो । तर, पहिलो होइन भनेर चक्मा खुवाइदिए । अनि उनका कविताहरूलाई संगीतले लेपन लगाइदिएर अनुप तिमिल्सिनाले माहोल मधुर पारिरहेका थिए । यसरी राष्ट्रिय सभागृहमा नगरकोटीसँगै ‘यादगार साँझ सेलिब्रेट’ गर्न थुप्रै मान्छे पुगेका थिए । अनेकन् क्षेत्रबाट ।

ती सबैलाई स्वागत गर्न चिल्लो तालुबीच नगरकोटी खैरो रङको ओभरकोटमा सजिएका थिए । उनको परिचित पहिरनमा कुनै बदलाब थिएन । मञ्चलाई चौकुना पारेर स्ट्यान्ड टेबलमा खपेटाहरू राखिएका थिए । नगरकोटीको प्रतिनिध्व झैं लाग्ने ती खपेटाहरूबारे नगरकोटीले भने केही बोलेनन् ।

बरू उनले जमानामा संग गरेका जोगीहरूलाई सम्झँदै, तिनलाई समर्पण गर्दै ‘जोगियाना’ कविता सुनाएर कार्यक्रमलाई अघि बढाए । बीचबीचमा नगरकोटीले आफ्नो जीवनमा घटेका कतिपय प्रसंगहरू सुनाए । उनलाई नजिकबाट पढ्नेहरूका लागि ती कुनै नौलो भने पक्कै थिएनन् ।

बरू अनुपको संगीतमा झुमेर, पोडियमबाट तल झरेर ८० किलो बढी लाग्ने ज्यानलाई उनले मर्काए । पाकिस्तानी गायिका आबिदा परवीनले जसरी हावामा हातहरू उठाए । धन्न उभिएका थिए, नत्र आफ्ना तिघ्रामा थप्पडी पनि मार्न बेर थिएन।

कार्यक्रम अवधिभर उनले दर्जन बढी लामा-लामा कविताहरू वाचन गरे । माफ गर्नुहोस्, गुनगुनाए । कार्यक्रम उनकै थियो । अझ एकल । कविताको रस चखाउनुअघि नै उनले घोषणा गरिदिए– मलाई कविताहरू वाचन गरेको भन्न रूचि लाग्दैन । म कविताहरू गुनगुनाउँछु ।

यसो भन्दै उनले गुनगाइरहे

यादहरूको संविधान हुँ…
विपनाको अपूरो कविता भोलि पूरा गर्नेछु…
म मरेको रात तिम्रो यदाहरू मलामी जान्छन्…

कम्युनिस्ट मेनिफेस्टो
पढिरहेको छ…
ऊ तपाईंको पति हुन सक्छ । ऊ तपाईंको
पुत्र हुन सक्छ । ऊ तपाईंको
प्रेमी हुन सक्छ…

खैर, उनले गुनगुनाएका केही कविताहरू राजनीतिक थिए । केही जादुयी थिए । केही स्वैरकाल्पिक थिए । केही मायालु थिए । अनि उनले सिल्भिया प्लाथदेखि कार्ल मार्क्सका श्रीमतीसम्मलाई कविताहरू समर्पण गरे ।

र, यस प्रकारको नगरकोटियन साँझ २.० चाँडै ल्याउने उद्‍घोष गर्दै कार्यक्रम बिट मारिदिए ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?