+
+
Shares

नगरकोटियन साँझ, यदाकदा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पौष १० गते राष्ट्रिय सभागृहमा \'यदाकदा: सांगितिक काव्य सन्ध्या\' आयोजना हुँदैछ, जहाँ नगरकोटी कविता र संगीतसँग प्रस्तुत हुनेछन्।

कसैकसैलाई नगरकोटी ‘लक्जरी लुक’ लाग्न सक्छ । तर त्यो रंगिबिरंगी कपडाको संयोजन होइन, भद्र अवज्ञा हो । नगरकोटी सजिएर कवि बनेका होइनन्, कवि भएर सजावटमुक्त भएका हुन् । त्यसैले उनको लुक ‘स्टायलिस’ छ, तर स्टाइल देखाउन होइन, स्टाइलको सत्ता भत्काउन ।

नगरकोटी कुनै चम्किलो सजावट होइन, त्यो त शान्त आत्मविश्वासको पोशाक हो । ठ्याक्कै नगरकोटिएन क्लासिक कविताजस्तै दुर्लभ शब्द, अर्थ प्रशस्त । नगरकोटियन ‘स्टायलिस स्टाइल’ हुलिया उनको लेखनजस्तै अनौठो तर चुम्बकीय छ ।

काव्यिक मञ्चतिर चिहाउँदाखेरि लाग्छ, नगरकोटी कुनै कवि होइनन्, कविताले नै मानव पहिरन लगाएको हो । उनका लागि कवितावाचन केवल शब्दोच्चारण होइन, त्यो सुन्दर पर्फर्मेन्स हो, जहाँ मौनता पनि बोल्छ, विरामचिह्न पनि हल्लिन्छ र पाठक–दर्शकको चेतना हल्का काँप्छ ।

पुस १० गते राजधानीको राष्ट्रिय सभागृहमा हुन लागेको ‘यदाकदा: सांगितिक काव्य सन्ध्या’ मा कविता, संगीत र साँझ एक–अर्कासँग छायाजसरी भेटिनेछन् । त्यहाँ नगरकोटी कविता मात्रै पढ्ने छैनन्, आफैं कविता भएर उभिनेछन् ।

नगरकोटीका कविता हरफमा एकोहोरो हिँड्दैनन् । उनका कवितामा कथा हुन्छ, तर कथावाचन हुँदैन । भाव हुन्छ, तर भावुकता प्रदर्शन हुँदैन । दर्शन हुन्छ, तर उपदेश हुँदैन। खासमा नगरकोटी शब्दलाई अनुशासन होइन, स्वतन्त्रता दिने कवि हुन् ।

नगरकोटी मञ्चमा उभिँदा कविता सुरु हुँदैन, समय अलिक ‘स्लो’ हुन्छ । शब्दहरू लाइनमा आउँदैनन् । ती त भीडमा जस्तै ठेलमठेल गर्दै आउँछन्। कुनै शब्द अगाडि पुग्छ, कुनै शब्द हराउँछ । कुनै शब्द फेरि भेटिन्छ, जिन्दगीजस्तै ।

आजको जीवन रुटिनमा यति व्यस्त छ कि अस्तित्व नै अस्तव्यस्त बनेको छ । ‘यदाकदा’ यही अस्तव्यस्ततामा एकछिनको टेक्ने ढुंगो हो, अस्तव्यस्त जीवनलाई हल्का टेको हो। यदाकदा भनेको बीच–बीचमा नहुनु हो । बीच–बीचमा मौन हुनु हो । बीच–बीचमा आफैँबाट छुट्टी लिनु हो ।

राष्ट्रिय सभागृहको विशाल प्रेक्षालयमा पहिलो पटक देशको नामचीन कविलाई प्रस्तुत गर्न लागेको कम्युनिकेट टेक्नोलोजी प्रा.लि.का मिडिया प्रमुख राजन गोदारका शब्दमा जीवनको धपेडीबीच एकछिन थकान मेट्ने कविता र संगीतको आत्मिक विश्राम हो, ‘यदाकदा’। कविता र संगीतमार्फत मौनतालाई सुन्ने, सन्ध्याकालीन सिरेटोलाई सुमसुम्याउने र अँध्यारो अनुभूतिलाई साझेदारी गर्ने अवसर हो ।

उनकै शब्दमा यदाकदा, जिन्दगीको रुटिनदेखी विरक्त लागेर कल्पना गरिएको सो हो । स:शुल्क, टिकट बेचेर कविता सुनाउँछु भन्नु हाम्रो समाजमा ठूलै धृष्टता हो । कविता सुनाउन मुश्किल छ, टिकट बेचेर त झनै मुश्किल । थाहा हुँदाहुँदै पनि यो साहस, दुस्साहस जे होस् गरियो । हेरौं, आफ्नै भाषा, साहित्य, सृजना, सर्जकसँग हाम्रो प्रेम कस्तो छ।

उसो त नगरकोटीका शब्दहरूलाई संगीतमा बाँध्नु सजिलो काम होइन । तर यही चुनौतीलाई प्रयोगशील युवा संगीतकार अनुप तिमिल्सिनाले स्वीकारेका छन् । अनुप केवल धुन बजाउँदैनन्, मौनतालाई ताल दिन्छन् । उनको संगीत कवितामाथि चढ्दैन, बरु कविताभित्र पस्छ । शब्दलाई ढाक्दैन, शब्दको साससँगै बग्छ। यस सांगितिक काव्य सन्ध्यामा संगीत कुनै पृष्ठभूमि होइन-सहसंवाद हो ।

साँझ भनेको पनि कविता नै हो । यत्ति हो, उसले आफूलाई कविता भन्दैन । साँझ दिनको थकानले आँखा बन्द गर्न खोजेको समय हो । त्यही बेला कविता बोल्न खोज्छ, संगीत सुन्न थाल्छ र मौन- दुवैको बीचमा कुर्सी तानेर बस्छ । त्यही गोप्य सम्झौतापछि एउटा जुगलबन्दी हुन्छ, ‘यदाकदा’।

‘यदाकदा’को रिहर्सल विगत २१ दिनदेखि शिल्पी थिएटरमा चलिरहेको छ । नयाँ कविता, ‘बोहेमियन खानाबदोश’ भने नगरकोटीले शिल्पीको सनातन मञ्चमा होइन, आर्यघाटमा रिहर्सल गरे । ‘हामीले घाटमा यलम्बर बाजासँग बोहेमियन खानाबदोश गुनगुनायौँ, जीवन र मृत्युको बीचमा बसेर’, नगरकोटी भन्छन्, ‘कहिलेकाहीँ कविता सुन्ने मात्र होइन, मनले गुनगुनाउने पनि हुन्छ।’

‘यदाकदा’ साँझमा नगरकोटी कविता भएर उभिनेछन्, अनुप तिमिल्सिना धुन भएर बग्नेछन् र हामी आफैँसँग भेट्नेछौँ।

समय हो पौष १० गते बिहीबार साँझ ५:००–७:३० ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?