News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९७० को दशकको उत्तरार्द्धमा न्यूयोर्कका गल्लीहरूमा स्यामो नामक गुमनाम ग्राफिटी कलाकारले सामाजिक व्यंग्यात्मक सन्देशहरू भित्तामा लेख्न थाले।
- ज्याँ–मिसेल बास्किया र अल डियाजले स्यामो नामबाट ग्राफिटी कलालाई प्रयोग गरी सामाजिक, धार्मिक र राजनीतिक विषयमा टिप्पणी गरे।
- बास्कियाले १९८० को दशकमा पप आर्टका गुरु एण्डी वारहोलसँग सहकार्य गरी आधुनिक कला क्षेत्रमा आफ्नो पहिचान बनाएका थिए।
सन् १९७० को दशकको उत्तरार्द्धमा न्यूयोर्क शहरका गल्लीहरू गैरकानुनी मानिने ग्राफिटी अक्षर र चित्रहरूले भरिँदै थिए । त्यति नै बेला रहस्यमयी ढंगले ग्राफिटी चित्र अनि वाक्यांशहरूसँगै एउटा हस्ताक्षर पनि शहरका भित्ताभरि छ्याछ्यात्ती देखिन थाल्यो- स्यामो (SAMO©) । ती भित्ताहरूमा कोरिएका अनौठा चित्र र विशेषगरी विनोदी तर उल्झाहटले भरिएका वाक्यांशहरूले बिस्तारै मान्छेको ध्यान खिच्न थाल्यो।
मार्कर र स्प्रे पेन्टको प्रयोग गरेर प्रतिलिपि अधिकार चिन्हसँगै गुमनाम (त्यससमय) स्यामोले नाराजस्ता वाक्यहरू लेखेका थिए । जस्तै:- तथाकथित अवाँ–गार्द, कलाका सीमित पारिभाषित शब्दहरूको अन्त्यको रूपमा, मूर्खहरूलाई बचाउँछ, नयाँ कलाको रूपमा, सामाजिकिकरण गरिएको अवाँ–गार्दका लागि, मिडिया माइन्डवास, प्लास्टिकका फुड स्ट्यान्डहरूको विकल्पका रूपमा..आदिले समाजको सुक्ष्म अवलोकनसँगै कला जगतको क्रूर टिप्पणी र व्यंग्यात्मक निन्दा गरिरहेका थिए ।
पछि ‘द भिलेज भ्वाइस’ भन्ने पत्रिकाले चित्रकारको पहिचान गर्न ती ग्राफिटी चित्रहरूको फोटोसँगै १०० डलरको पुरस्कारसहितका वान्टेड पोस्टरहरू प्रकाशित गर्यो । ती चित्र र शब्दहरूको पछाडि अल डियाज र ज्याँ–मिसेल बास्किया नामका दुई किशोर थिए, जसले सामूहिक रूपमा आफूलाई ‘स्यामो’ भनेर चिनाउँथे र त्यो उपनामलाई आफ्ना आक्रोश व्यक्त गर्ने माध्यमको रूपमा प्रयोग गर्थे ।
सन् १९७८ सम्म डियाज र बास्किया पूर्णरूपमा ‘स्यामो’ नामको पर्दापछाडि गुमनाम रहे । त्यसपछि उनीहरूले आफ्नै कथालाई १०० डलरमा भिलेज भ्वाइसलाई बेचिदिएका थिए । उनीहरूको कथा पत्रकार फिलिप फाफ्लिकले लेखेको ‘स्यामो ग्राफिटी: बुस-वा अर सिआइए ?’ शीर्षकमा प्रकाशित भयो, जसमा फाफ्लिकले सामान्य ग्राफिटीभन्दा स्यामोका भनाइहरू किन बढी महत्त्वपूर्ण छन् भन्ने कुरालाई व्यंग्यात्मक रूपमा संक्षेपीकरण गरेका छन्– ‘ग्राफिटीले अचानक उपनाम र नम्बर भन्दा बढी कुरा भन्न थाल्यो ।’
बस्कियासँग डियाजको भेट हाईस्कुलमा भएको थियो । दुवैको संगीत र कलाप्रतिका रुचि साझा थियो । हाईस्कुलमा पढिरहँदा उनीहरू आफ्नो अधिकांश समय शहरका म्युजियमहरू घुमेर बिताउने गर्थे । एक रात दुवै गाँजाको नशामा लठ्ठु भएर गरिएको कुराकानीका क्रममा बास्कियाले कुनै विषयलाई ‘सेम वल्ड सिट’ मात्र रहेछ भनेर टिप्पणी गरे, जसलाई उनीहरूले छोट्याएर ‘सेम वल्ड’ र अन्ततः ‘स्यामो’ बनाए ।
जुन शब्दलाई ग्राफिटीमार्फत उनीहरूले आफ्ना असन्तुष्टि, मजाक, समाज, धर्म र राजनीतिप्रति टिप्पणी या जो–जसलाई जे मन लाग्यो त्यही व्यक्त गर्न सक्ने माध्यम बनाइ आफ्नो सिग्नेचरको रुपमा भित्ताभरि पोत्न थाले ।
सन् १९७८ सम्ममा, शहरका भित्ताहरूमा ‘स्यामो’ देखा पर्न थालिसकेको थियो । तर भिलेज भोइसमा उनीहरूको कथा प्रकाशित भएको केही समयपछि परिस्थितिहरू बदलिन थाले । बास्किया ग्लेन ओ’ब्रायनको टक-सो ‘टिभी पार्टी’ मा देखा परे र आफूलाई ‘स्यामो’ भनेर चिनाए तर डियाज भने त्यहाँ उपस्थित थिएनन् । उनीहरूबीच मनमुटाव सुरु भयो र लामो समयसम्म बातचित भएन ।
सन् १९८० मा आपसी विवाद भएपछि बास्किया र डियाजले स्यामोलाई मार्ने निर्णय गरे । डाउनटाउनका भित्ताभरि बास्कियाले कोरेको स्यामोको अन्तिम सन्देश देखिन थालेको थियो—‘स्यामो इज डेड’ । त्यस अध्यायको अन्त्यपछि बास्कियाले सडक कलाबाट मुलधाराको कला जगतमा फाल हाने ।
यता डियाज म्युजिक बनाइरहेका थिए भने समाकालीन कला जगतमा बास्किया एण्डी वारहोल र किथ हेरिङजस्ता कलाकारहरूसँगको संगतमा आफूलाई फरक आवाजको रूपमा उभ्याइरहेका थिए । करियर अघि बढ्न थालेपछि क्यानभासमा चित्र बनाउन सुरु गरे । जहाँ उनले सडक कलाको आफ्ना काँचा भावाना र ऊर्जालाई ललित कलाका सिद्धान्तहरूसँग घोलिदिए । उनले ‘स्यामो’ नामको हस्ताक्षर पनि गर्न छोडे र आफ्नै नाम लेख्न सुरु गरे: ज्याँ–मिसेल बास्किया ।
सन् १९६० मा ब्रुकलिनमा जन्मिएका ज्या–मिसेल बास्किया समकालीन आधुनिक कला क्षेत्रका सबैभन्दा महत्त्वपूर्ण र प्रभावशाली कलाकारहरूमध्ये एक हुन् । उनकी आमा मानसिक रोगबाट पीडित थिइन् भने उनका बुबा शारीरिक दण्डमा विश्वास राख्थे, जसले उनको बाल्यकाल एकदम कठिन बनाएको थियो । आफ्ना बाआमाको सम्बन्धविच्छेद भएपछि उनले लागूऔषध सेवन गर्न थाले । उनी १७ वर्षको उमेरमा घर छोडेर म्यानहटनका गल्लीमा बस्न थाले, बेन्चहरूमा सुतेर आफ्ना रातहरू बिताए । त्यहाँ उनी एउटा ब्यान्डमा आबद्ध भए । उनी सानातिना काम गर्थे । पोस्टकार्ड, टिसर्ट र सलाईको बट्टामा चित्रहरू बनाएर एक डलरमा बेच्दै आफ्नो खर्च जुटाउने गर्थे । उनी क्लबहरूका पार्टीमा संलग्न हुन्थे र पङ्क-आर्ट स्थलहरूमा नियमित रूपमा जान्थे, जहाँ उनले डिजेको रूपमा पनि काम गरेका थिए ।
सानो छँदा बास्किया एउटा कार दुर्घटनामा परेका थिए, जसकारण उनले केही समय अस्पतालमा बिताउनु परेको थियो । अस्पतालमा हुँदा समय बिताउन र मनोरञ्जनका लागि उनकी आमाले उनलाई ‘ग्रेज एनाटोमी’ भन्ने किताब उपहार दिएकी थिइन् । जुन किताबले गर्दा उनमा मानवको शरीरको चिरफार र पुनर्संरचनाप्रति ठूलो रुचि जाग्यो । पछि उनका चित्रहरूमा पनि त्यसको प्रभाव देखियो ।
ज्याज संगीत र कविताप्रतिको आफ्नो प्रेमका कारण, बास्किया न्युयोर्क शहरमा फस्टाउँदै गरेको सांस्कृतिक पुनर्जागरणमा सहभागी हुन्थे । वास्तवमा, कविताप्रतिको प्रेमले गर्दा नै उनले आफ्ना कलाकृतिमा शब्दहरू मिसाउन थालेका थिए ।
सन् १९८० को दशकमा, बास्कियाले डिएगो कोर्टेज (जसलाई उनले ‘मड क्लब’मा भेटेका थिए) को सल्लाहमा चित्रकला र रेखाचित्र बनाउन सुरु गरे । यसले गर्दा चाँडै नै उनले कलाक्षेत्रमा ख्याति कमाए । सन् १९८२ मा भएको उनको पहिलो प्रदर्शनीमा उनका सम्पूर्ण चित्रहरू विक्री भएका थिए ।
बास्कियाले कला जगतका धेरै चर्चित व्यक्तित्वहरूसँग सम्बन्ध बनाएका थिए । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध पप आर्टका गुरु मानिने एण्डी वारहोलसँग थियो । यी दुई कलाकारहरूले एकअर्काको कामको प्रशंसा गर्थे । र चाँडै नै उनीहरूबीच सृजनात्मक सहकार्यसँगै गहिरो मित्रता पनि गाँसियो । एकअर्काको कलात्मक शैलीको समिश्रणमा उनीहरूले विशिष्ट सौन्दर्यले भरिएका संयुक्त कलाकृतिहरू निर्माण गरे ।
अर्को महत्त्वपूर्ण सम्बन्ध उनको किथ ह्यारिङसँगको थियो, जो बास्कियाले जस्तै सडकबाट नै आफ्नो कला यात्रा सुरु गरेका थिए । उनीहरूबीच एउटा साझा बुझाइ थियो– दुवै कलालाई सामाजिक टिप्पणीको माध्यमका रूपमा प्रयोग गर्थे । ह्यारिङका गाढा रेखाहरू र जीवन्त रङ्गहरू प्रयोगले बास्कियालाई निकै प्रभाव पार्ने गर्थ्यो ।
सन् १९८० को दशकमा मिनिमलिज्म र कन्सेप्चुअल आर्टको प्रतिक्रियाको रूपमा नियो–एक्सप्रेसनिज्मको उदय भयो । बास्कियाका कामहरू पनि नियो–एक्सप्रेसनिज्म अन्तर्गत पर्ने गर्छन् । बास्कियाका चित्रहरूले उनका व्यक्तिगत अनुभव, ऐतिहासिक कथाहरू र अफ्रो–क्यारिबियन संस्कृतिको झल्को दिन्छन् ।
उनका ग्राफिटी र पप आर्टमा एकदम काँचा भावाना र निडर अभिव्यक्तिको मिश्रणसहितका एनाटोमी, शब्द, प्रतीक र जनावरहरू समावेश हुन्छन्, जसले एब्ट्राक्ट–एक्सप्रेसनिज्म, नियो–एक्सप्रेसनिज्म र प्रिमिटिभिजमस्ता शैलीहरूको निर्माण गर्छ । उनी चित्रहरूमा आफ्नै प्रतीकात्मक भाषा बुन्छन्, जसले सम्पन्नताको विरोधमा उभिएको गरिबी, विभाजनको प्रतिरोधमा एकीकरण, बाह्य भावानाको विरुद्ध भित्री भावानाजस्ता विषयहरूको अन्वेषण गर्छन् ।
उनी समाकालीन कला जगतमा लोकप्रिय हुँदै थिए । तर उनको ख्याति चुनौतीरहित भने थिए । प्रायः श्वेत कलाकारहरूले भरिएको कला जगतमा, एक अश्वेत युवा कलाकारका रूपमा बास्कियाले बारम्बार जातीय भेदभावको सामना गर्नुपर्यो । उनलाई एक ‘आदिम’ कलाकारको रूपमा चित्रण गरिन्थ्यो । उनले यी कुराहरूलाई पनि आफ्ना कलाकै माध्यमद्वारा प्रतिकार गरे । उनले जातीय विभेद, असमानता, प्रहरी क्रूरता र उपनिवेशवाद जस्ता विषयहरूको गहिराइमा पुगी त्यसलाई आफ्ना चित्रहरूमाफत् उजागर गरेका छन् ।
आफू अश्वेत हुनुको अनुभव बोकेर उनका चित्रहरूमा पोखिएका काला रङहरूले शक्ति संरचना र जातीय भेदभावका प्रणालीहरूप्रति आलोचना गर्छन् । उनका चित्रहरू एकदम अस्तव्यस्त धर्का र अजीव स्वरुपले भरिएका छन् तर ती चित्रका भाव भने एकदम शक्तिशाली र मार्मिक छन् । उनका चित्रहरूले उनलाई आफ्नो समयका एक महत्वपूर्ण सामाजिक तथा राजनीतिक टिप्पणीकारका रूपमा पनि स्थापित गरेको छ ।
बास्कियाका चित्रहरू (जो जातीय र पहिचानका मुद्दा बोक्छन्) लाई अमेरिकी कलाको विकासमा एउटा मुख्य मोडका रूपमा लिइन्छ । उनको प्रभाव चित्रकलामा मात्र सीमित थिएन । उनले कलालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याइदिएका थिए । र सडक कला तथा उच्च कलाबीचको रेखालाई नै धमिलो बनाइदिएका थिए । कला क्षेत्रको मात्र नभई, आज उनी संगीत र फेसन क्षेत्रका नयाँ पुस्ताका कलाकारहरूको प्रेरणाको स्रोतको रूपमा स्थापित छन् । उनको जीवन र चित्रहरूले कला र सांस्कृतिक इतिहासको एउटा रूपान्तरणकारी कालखण्डको ऊर्जा, महत्वाकांक्षा र उथलपुथललाई समेटेको छ ।
६ वर्षको उमेरमै बास्किया आफ्नो मनपर्ने म्युजियम ब्रुकलिन म्युजियमको जुनियर सदस्य बनेका थिए । सन् २०१८ मा, उक्त म्युजियमले ‘वान बास्किया’ नामक उनका चित्रहरूको प्रदर्शनी आयोजना गर्यो । उक्त प्रदशर्नीमा उनको एउटा ‘अनटाइटल्ड’ चित्रलाई जापानी आर्ट कलेक्टर युसाकु मेजावाले ११०.५ मिलियन डलरमा किनेका थिए, जुन त्यस समयमा कुनै पनि अमेरिकी कलाकारका लागि तिरिएको अहिलेसम्मकै सबैभन्दा बढी रकम थियो ।
२७ वर्षको उमेरसम्म आइपुग्दा, बास्कियाका चित्रहरू करिब ५० हजार डलरसम्ममा विक्री हुन थालिसकेका थिए । तर सन् १९८८ मा २७ वर्षकै उमेरमा हेरोइनको ओभरडोजका कारण बास्कियाको मृत्यु भयो । उनले आफ्नो छोटो जीवन पछाडि छोडेको कलात्मक विरासत भने निकै महत्वपूर्ण छ । पप संस्कृतिमा ‘ज्याँ–मिसेल बास्किया’ एउटा क्रान्तिको पर्यायवाची नाम बनेर उभिएको छ । उनी भन्थे– ‘म आफ्नो काम गरिरहेका बेला कलाको बारेमा सोच्दिनँ, बरू जीवनको बारेमा सोच्ने प्रयास गर्छु।’
प्रतिक्रिया 4