+
+
Shares
प्रा. लोकराज बरालसँग कुराकानी :

‘अब एमालेमा विद्या भण्डारीको सम्भावना कम देख्छु’

एमालेभित्र केही न केही दरार देखियो, ग्रुपिजम देखियो । तर मैले विद्या भण्डारीको सम्भावना कम देख्छु अब ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १२:०२

४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ११औं महाधिवेशनबाट शानदार मतका साथ तेस्रो कार्यकालका लागि पार्टीको अध्यक्षमा निर्वाचित भएका छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिएको आरोप खेप्दै आएका उनी अध्यक्षमा ह्याट्रिक गर्दै पुन: नेतृत्वमा उदाएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितको जोडबलमा अध्यक्षको उम्मेदवारी दिएका ईश्वर पोखरेलले ५६४ मत पाउँदा ओलीले १६६३ मत पाएका छन् । ओलीलाई एमालेका बहुमत महाधिवेशन प्रतिनिधिहरूले लोकतान्त्रिक तरिकाबाट चयन गरी नेतृत्वमा वैधानिक रुपले अनुमोदन गरेका छन् । यसले उनको पार्टी सत्ताभित्रको पकडलाई पुन: पुष्टि गरेको छ ।

तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि शपथ ग्रहण समारोहमा उनी अन्तरिम सरकारप्रति आक्रोशित सुनिए । जेनजी आन्दोनल र सरकारप्रति आक्रामक ढंगले प्रस्तुत भएका ओलीले एमालेमाथि कसैले धावा बोले देश नै ठप्प पार्नेसम्मको चेतावनी दिए ।

एमालेको भर्खरै सम्पन्न महाधिवेशनको सन्दर्भमा राजनीतिक विश्लेषक प्रा. लोकराज बरालसँग अनलाइनखबरका लागि केशव सावदले गरेको कुराकानी ।

नेकपा एमालेको भर्खरै सम्पन्न ११ औं महाधिवेशनको राजनीतिक सन्देश के हो ?

मार्क्सवादी, लेनिनवादी भन्ने वाम पार्टी, डिक्टेटरसिपमा विश्वास गर्ने पार्टीले लोकतान्त्रिक अभ्यास गर्‍यो । प्यानल–प्यनाल बनाएर लड्यो, कम्पिटिसनमा गयो । त्यो एउटा सकारात्मक र लोकतान्त्रिक अभ्यासमा लागेको देखिन्छ । यसपालिको इलेक्सनको प्रक्रिया राम्रै छ ।

जहाँसम्म ओलीजीको कुरा छ, यसले नयाँ सन्देश केही दिँदैन । यो चुनाव खाली ओलीजीलाई निरन्तरता दिनका लागि एउटा मेकानिजम मात्रै हो । महाधिवशेनमा कुनै राष्ट्रिय एजेन्डामा छलफल नै भएन । देशका समस्यामा कुनै छलफल नै भएन । खाली भेला भए, यताउति गरे, चुनाव गर्ने भने, चुनाव भयो, चुनावमै तीन दिन लाग्यो । त्यसकारणले राष्ट्रिय स्तरमा यसको कुनै सन्देश छैन ।

अर्को कुरा केभने, पार्टीहरूमा नेतालाई अनुमोदन जहाँ पनि गर्छन् । त्यसमा ओलीजीको वर्चस्व कायम रह्यो । विद्या भण्डारीजीहरूको आकांक्षालाई पुरा गर्नलाई मद्दत मिलेन । विद्या भण्डारीको जुन ‘एम्बिसन’ थियो, त्यो पूरा हुन सकेन ।

राष्ट्रपति भएको मान्छेको फेरि पार्टीको राजनीतिमा आउने चाहनालाई ओलीजीले थन्क्याइदिनुभयो । यो पनि एउटा सन्देश हो । नचाहिने कुरामा धेरै महत्वाकांक्षा पनि राख्नु हुँदैन, एउटा संयम हुनुपर्छ भन्ने ‘लेसन’ (पाठ) पनि महाधिवेशनले  देखाइदिएको छ ।

भोलि चुनावमा एमालेको वर्चस्व कायम भयो भने एमालेले गरेछ भनौँला । अहिलेलाई भन्ने ठाउँमा म देख्दिनँ ।

अब अहिले ‘फर्दर टाइमिङ’ हेर्दाखेरि अर्को कुरा चाहिँ के सन्देश छ भने ओलीजीको हुंकार बढी छ । उहाँ अलिकति त्रसित भएको जस्तो देखिनुहुन्छ । हामीलाई ‘टार्गेट’  गरियो भने सारा बन्द गर्दिन्छौं । नेपाललाई थर्काइदिन्छौं, ह्याँ–त्याँ भनेर हिजो उहाँले ध्वाँश दिनुभएको छ । त्यो राम्रो होइन । त्यो एउटा लोकतान्त्रिक नेताको भनाइ ठीक होइन ।

उहाँ अलिकति आफू त्रसित पनि हुनुभएको जस्तो लाग्छ । मलाई कतै छोइ हाल्यो भने म यसो गर्छु भनेर धम्क्याएको देखिन्छ । अरू खास कुरा त केही पनि छैन ।

आलोचनाका बीच कार्यकर्ताले ओलीलाई नै रोजे । यसलाई कसरी हेर्ने ?

ओलीले बनाएर ल्याएका मान्छेले उहाँलाई रोजिहाल्छन् । भोलि देउवा (शेरबहादुर देउवा) उठे भने पनि यस्तो हुन्छ । हुन त उनले अब उठ्दैन भनेका छन् । कांग्रेसको विधानले पनि दिँदैन । हुन त विधानै परिवर्तन गराएर ओलीजी फेरि आएका हुन् । दुई पल्टभन्दा बढी हुनुहुँदैन भनेको थियो, उही पुटिनले गराएजस्तै, सी–जिनपिङले गराएजस्तै ओलीजीले पनि गराए ।

त्यत्रो डेमोक्रेसी भएको भनिएको देश अमेरिकामा त ट्रम्पले मौका पायो भने गर्न खोज्दै छन् । त्यसकारणले यो महत्वाकांक्षालाई अगाडि बढाउने हो, त्यसमा उहाँको पकड छ, उहाँले बनाएका मान्छेहरू छन्, तिनीहरूले गरे । त्यही हो ।

एमालेमा फेरि अध्यक्ष जितेर ओली झन् शक्तिशाली हुनु भएको हो ?

मलाई त त्यस्तो लाग्दैन । शक्तिशाली के भन्ने ? उनीहरूको आफ्नो क्याडर छ, त्यो क्याडर भित्रबाट छानिँदाखेरि त्यो भइहाल्छ । मुख्य कुरा चाहिँ भोलि चुनावमा एमालेको वर्चस्व कायम भयो भने एमालेले गरेछ भनौँला । अहिलेलाई भन्ने ठाउँमा म देख्दिनँ । त्यो त आफ्नो क्याडरहरू, आफूले बनाएका मान्छेहरूले भोट हाल्ने हुन् । त्यसैअनुसार भयो ।

महाधिवेशनको नतिजाले ओली इतरसमूह खास गरी विद्या भण्डारी पक्षको अवस्था केही अनुमान गर्न सकिन्छ ?

विद्या भण्डारीको गर्न सकिन्छ । ईश्वर पोखरेलले धेरै कम भोट ल्याउनु भयो । बरू सुरेन्द्र पाण्डेले दुई–अढाई सयको मात्रै फरकमा हार्नुभयो । पोखरेलजीले त कमै भोट ल्याउनु भयो । तर, एउटा पार्टीभित्र केही न केही एउटा दरार देखियो, ग्रुपिजम त देखियो नि । तर मैले विद्या भण्डारीको सम्भावना कम देख्छु अब ।

ओलीले हिजो शपथ ग्रहणमा एमालेलाई छोए देश ठप्प पार्ने सरकार ढाल्ने भन्नुभयो । यसलाई कसरी हेर्ने ?

मैले अघि नै भने नि, खबरदार मलाई छोइ हेर त भनेर धमास दिएको हो । आयोग बनेको छ, भोलि उसले कतिवटा कुरामा ओलीलाई, लेखक (पूर्वगृहमन्त्री रमेश लेखक) लाई बयानका लागि बोलाउँछ । सरकार उहाँहरूले नै चलाएको हो । सरकारको प्रधानमन्त्रीले मलाई केही थाहा छैन, म जवाफदेही छैन भन्न मिल्दैन ।

जवाफदेही हुनुुपर्छ । एमालेकै नेता सुरेन्द्र पाण्डेले भन्नुभएको थियो नि अस्ती नै, यत्रा काण्डहरू भए, म केही पनि जवाफदेही लिन्नँ भन्न मिल्छ ? आफू प्रधानमन्त्री भएको मान्छेले भन्नुभएको छ । त्यसकारणले उहाँले चाहिँ अलिकति त्रसित भएर त्यो धमास दिएको हो जस्तो लाग्छ मलाई ।

जेनजी आन्दोलनपछि पुराना पार्टीको भविष्यबारे प्रश्न उठेको थियो । ओलीविरुद्ध त झन् बढी थियो । महाधिवेशनपछि जनतामा जाने आधार सुधारिएको मान्न सकिन्छ कि सकिँदैन ?

जेनजी समूह कुनै अर्गनाइज्ड होइन । कुनै लिडरसिपले गरेको होइन । झ्वाट्ट आएको हो । संसारमै यस्तो छ । पार्टी भनेका संगठित छन् । धेरै लामो इतिहास छ । उनीहरूको योगदान पनि छ ।

कांग्रेसको, एमालेको सबैको योगदान छ । माओवादीको गणतन्त्र ल्याउनमा योगदान छ । नेतालाई पो मन नपराको हो त । पार्टीलाई त होइन नि । नेताप्रति मान्छेहरू आक्रोशित भएका हुन् । अब आफ्नो क्याडर भित्रबाट उहाँ लोकप्रिय हुनुभयो । जनताबाट भोलि कसरी अनुमोदन हुन्छ, त्यसको निर्णय भोलि चुनावबाट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?