+
+
Shares

ओलीलाई निरन्तर साथ दिँदा खगराजसामु अर्को अवसर

खगराज बने कास्कीबाट पदाधिकारी चुनिने पहिलो एमाले नेता

ओली र उनकै कित्तामा उभिएका महासचिव शंकर पोखरेलको साथले खगराजले एकपछि अर्को अवसर पाएका छन् । राजनीतिक सिँढी उक्लिँदै पार्टी सचिवसम्मको यात्रा तय गरेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ पुष ३ गते २०:३२

३ पुस, पोखरा । ५ दशकभन्दा लामो समयदेखि राजनीति गरिरहेका खगराज अधिकारीका लागि ओलीको पक्षबाट निरन्तर समूह चलाउँदा फलिफाप नै हुन पुगेको छ । कास्कीबाट गण्डकी प्रदेशमा एमाले अध्यक्ष ओली र उनकै कित्तामा उभिएका महासचिव शंकर पोखरेलको साथले खगराजले एकपछि अर्को अवसर पाएका छन् भने राजनीतिक सिँढी उक्लिँदै पार्टी सचिवसम्मको यात्रा तय गरेका छन् ।

नेकपा एमालेमा माधवकुमार नेपाल र ओली समूहको गुटको राजनीति हुँदा कास्कीमा ओली पक्षमा खरो उत्रिँदै नेपाल समूहलाई पाखा पारेको आरोप खगराजमाथि थियो । देशभरिमै ओली गुट बलियो रहेको जिल्ला कास्की र प्रदेशहरूमा गण्डकीलाई स्थापित गर्न खगराजले योगदान पुर्‍याएका छन् ।

ओलीका हर कदममा साथ दिँदै आइरहेका खगराज यस्ता पात्र हुन्, २०४८ यता ६ पटक चुनाव लडेर ३ पटक जित निकाल्दा कुनै न कुनै पद हात पारेका छन् भने ओलीसँग नजिक हुँदा चुनाव नजितेरै पनि मन्त्री बन्न सफल भएका छन् ।

२०७० सालमा एमाले भित्र माधवकुमार–ओली गुटको प्रतिष्ठाको लडाइँ पेचिलो हुँदा सांसद नै नरहेका खगराजले स्वास्थ्य मन्त्री हुने अवसर पाए । २०७४ सालमा एमाले–माओवादी मिलेर बनेको नेकपाबाट कास्की–१ को संघीय चुनाव जितेका खगराज ओलीले २ पटक संसद् विघटन गर्दा उनकै पक्षमा उभिएनन् मात्र, विपक्षीहरुको कडा प्रतिवादसमेत गर्थे ।

एमाले–माओवादी मिलेर बनेको नेकपामा मन्त्री बन्ने कुनै गुञ्जायस नभएका खगराज नेकपा विभाजनको चरम उत्कर्षका बेला केपी शर्मा ओलीले गृहमन्त्री बनाइदिए । जेठ २७ गते गृहमन्त्री बनेका खगराज १३ दिनमै पदच्यूत भएका थिए ।

पछिल्लो पटक गण्डकीमा ओलीपछि महासचिव शंकर पोखरेलको आडमा गुट चलाएका खगराजले चितवनमा भएको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य हुँदै उनीभन्दा अगाडि राजनीति गरेका अग्रज नेता किरण गुरुङकै स्तर चुम्दै पहिलो पटक स्थायी कमिटी सदस्य बने ।

पछिल्ला दशकमा ओली कित्तामै उभिए पनि किरण यो महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुँदा खगराजले भने ओली–शंकरको साथ र हातले सचिवमा छलाङमा मारेका छन् ।

नवौं महाधिवेशनमै उपाध्यक्षका उम्मेदवार बनेका किरण पार्टी विभाजन हुँदा वामदेव गौतम नेतृत्वको मालेतिर लागेका थिए । महाकाली सन्धिका बेला पनि ओलीको विपक्षमा लागेका किरण प्राथमिक रोजाइमा नपर्दा गण्डकीबाट खगराज भने ओली–शंकर निकटताको फाइदा उठाउँदै सचिवसम्म बन्न पुगेका छन् ।

११औं महाधिवेशनमा एमाले उपाध्यक्ष बनेका पृथ्वीसुब्बा गुरुङ र खगराज एउटै कित्तामा देखिएको भए पनि गण्डकीमा भने २०७४ सालयता यी दुई नेता पक्षधरको गुटको लडाइँ छ । अहिलेकै महाधिवेशन प्रतिनिधि छनोटमा पनि पृथ्वीसुब्बा र खगराज समूहले सर्वसम्मतिका नाममा भागबण्डा नै गरेका थिए भने चुनाव भएका जिल्लामा पनि गुटगत हिसाबले प्रतिस्पर्धा भएको थियो ।

नेतृत्वमा ओली सर्वमान्य भए पनि त्यसपछिका नेतामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर समूहको प्रदेशदेखि जिल्लासम्मै गुटको राजनीति हुने गरेको थियो । पृथ्वीसुब्बा उपाध्यक्ष विष्णुतर्फ र खगराजले महासचिव शंकर समूहको राजनीति गर्ने गरेका थिए ।

देश संघीयतामा गएपछि २०७४ सालमा एमाले सचिव पृथ्वीसुब्बा गण्डकीका मुख्यमन्त्री बनेपछि नै खगराज समूहसँग गुटको राजनीति विकास भएको हो ।

दशौं महाधिवेशनमा उपमहासचिव बनेका पृथ्वीसुब्बा फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री हुनेगरी दोहोरिन चाहन्थे । तर गण्डकीको मुख्यमन्त्री हुँदा अधिकार बाँडफाँट र संघीयतालाई बलियो बनाउने सन्दर्भमा प्रधानमन्त्री ओलीमाथि नै चुनौती दिने पृथ्वीसुब्बाभन्दा खगराज नै रोजाइमा परे ।

संसद् विघटन गर्दा ओलीकै पक्षमा उभिएर चरम संकटका बेला १३ दिने गृहमन्त्री खाएका खगराज प्रदेश झरेर २ पटक मुख्यमन्त्री बन्ने अवसर पाए । तर केन्द्रीय सत्ता समीकरण बदलिइरहँदा उनी लामो समय सरकारको नेतृत्व गर्न नपाए पनि ओली–शंकरकै साथले राजनीतिक शक्ति भने बढाइरहेकै छन् ।

लमजुङबाट संघीय चुनाव जित्दै पछिल्लो पटक कांग्रेससहितको ओली नेतृत्वको सरकार बन्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका पृथ्वीसुब्बा पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सत्ताच्यूत हुन पुगे ।

जेनजी आन्दोलनले ओलीसँग सत्ताबाट हटेका पृथ्वीसुब्बा पनि ओली नेतृत्वकै कित्तामा उभिए । महासचिवको आकांक्षा राखे पनि ओलीले भाग दिएको उपाध्यक्षमा निर्वाचित भए । उपमहासचिवको आकांक्षा राखेका खगराज सचिवमा चुनिने अवसर पाएका छन् ।

गण्डकीमा खगराज समूहले महासचिवमा पहिलो रोजाइ शंकर नै मानेको थियो भने दोस्रोमा प्रदीप ज्ञवाली थिए । पृथ्वीसुब्बा र प्रदीप ज्ञवाली दुवैले महासचिव नपाउँदा खगराज समूहलाई शंकरकै पक्षमा मत हाल्न सहज भइदियो । गण्डकीबाट पृथ्वीसुब्बा समूहले उनलाई नै महासचिव बनाउन दबाब दिएको थियो तर शंकरलाई नै ओलीले दोहोर्‍याइदिँदा गण्डकीमा खगराज समूहले आफूलाई अझै सुरक्षित ठानेको छ ।

२०७४ सालको चुनावका सहयात्री माओवादीका दीपक कोइरालालाई हराउँदै खगराज कास्की–१ (१) बाट निर्वाचित भए र मुख्यमन्त्रीसमेत बन्ने अवसर पाए । संसद् विघटन गर्ने ओलीको पक्षमा उभिएका खगराजले गण्डकीमा पनि संविधानमाथि बलमिच्याइँ गर्दै मुख्यमन्त्री हुँदा सर्वोच्च अदालतले पदमुक्त गरिदियो ।

ओलीका हर कदममा साथ दिँदै आइरहेका खगराज यस्ता पात्र हुन्, २०४८ यता ६ पटक चुनाव लडेर ३ पटक जित निकाल्दा कुनै न कुनै पद हात पारेका छन् । ओलीसँग नजिक हुँदा चुनाव नजितेरै पनि मन्त्री बन्न सफल भएका छन् ।

एमाले बाहेककै समर्थनबाट कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री भए पनि केन्द्रीय समीकरणमा यिनै दुई दल मिलेपछि गण्डकीमा पनि संयुक्त सरकार छ । जेनजी आन्दोलनले संघीय सरकार ढलेको छ भने संसद्समेत विघटन छ । गण्डकीमा भने खगराज फेरि मुख्यमन्त्री बन्ने आसमा छन् ।

विभिन्न राजनीतिक घटना क्रममा ५ पटकसम्म जेल जीवन बिताएका उनी एमाले कास्की सचिव हुँदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए । त्यसपछि पार्टीको सचेतक, केन्द्रीय विभागमा अनुशासन निरीक्षण, वैकल्पिक पोलिटब्युरो सदस्यको साथै गण्डकी संयोजक भई काम गरिसकेका छन् ।

पोखरा–३१ बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका अधिकारी गाउँकै आनन्द ज्योति माध्यमिक विद्यालयका वामपन्थी विचारका शिक्षकबाट प्रभावित भएर राजनीति थालेका थिए । निमावि पढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति बनेर राजनीतिक जीवनको खुट्किलो चढ्न थालेका हुन् ।

राजनीतिमा लागेपछि अधिकारीले थुप्रै पटक ज्यानकै बाजी थापे, कुटाइ र जेलनेल भोगेका थिए । २०३६ सालयताका हरेक राजनीतिक आन्दोलनमा खगराजले कुनै न कुनै मोर्चाको नेतृत्वको गरेका छन् ।

अधिकारीले आफ्नो राजनीतिक जीवनको टर्निङ प्वाइन्ट भने पृथ्वीनारायण क्याम्पस, पोखरामा स्ववियु सभापति हुनुलाई मान्छन् । २०४० सालमा पहिलो पटक स्ववियु सभापति भएका अधिकारी दोस्रो पटक पनि सभापति भएका थिए । २०४२ सालको बमकाण्डमा प्रहरीले गिरफ्तार गरेर निर्मम यातना दिएको थियो ।

२०४६ को जनआन्दोलन सफल भएसँगै खगराज संसदीय चुनावमा होमिए । २०४८ मा कास्की–१ मा तारानाथ रानाभाटसँग पराजित भएका खगराजले २०५१ सालमा संसद्को यात्रा तय गरे ।

२०५६ र २०६४ मा हार बेहोरेका उनी २०७० मा सांसद मात्र चुनिएनन्, सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बने ।

नेकपा एमाले भित्र र बाहिरका आलोचकहरूले खगराजलाई ‘हुकुमी’ नेताका रूपमा चित्रण गर्छन् । लामो समयदेखि कास्कीसहित गण्डकीमा एमालेमा निर्णायक रहेका खगराज अधिकारीलाई पार्टीमा कार्यकर्ता र सरकारमा कर्मचारीलाई आफ्नो काबुमा राख्न खोज्ने नेताका रूपमा लिइन्थ्यो ।

एमाले भित्र फरक विचार राख्नेलाई भित्तामै पुर्‍याउने गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो । उनी बोली र शैलीका कारण पनि बेलाबेला विवाद र चर्चामा आइरहन्छन् ।

कास्की एमालेमा खगराजकै कारण पछाडि परेको गुनासो गर्ने नेताहरू अहिले पनि भेटिन्छन् । कास्कीबाट रविन्द्र अधिकारीहरूको उदय हुँदा उनीहरूलाई खगराजले रोक्ने प्रयास गरेको गुनासो नेताहरू गर्थे । खगराज समूहको ‘राजनीतिक सेप’ लाई पनि पन्छाउँदै रविन्द्र देशकै राजनीतिमा आशाको किरणसहित कास्कीबाट उदाएका थिए ।

पार्टीको केन्द्रीय पदाधिकारी बन्ने सम्भावना देखिए पनि रविन्द्रको हेलिकप्टर दु्र्घटनामा निधन भयो । अहिले खगराज केन्द्रीय सचिवमा निर्वाचित भएसँगै कास्कीबाट एमालेको पदाधिकारीमा चुनिने पहिलो नेता बन्न पुगेका छन् ।

कुनैबेला कम्युनिस्ट पार्टीमा पुष्पलाल श्रेष्ठहरूका निकट मानिने पोखरा–१६ का बलराम उपाध्याय केन्द्रका केही नेताहरूभित्रै गनिन्थे । २०४८ सालको निर्वाचनमा टिकटको चर्चामासमेत रहेका उपाध्यायको निधन भइसकेको छ ।

एमाले बहुपदीय सामूहिक प्रणालीमा गएपछि ओलीको कित्ताबाट धेरै अवसर पाउने र पार्टी नेतृत्वसम्म पुग्ने अवसर पाएका खगराजको राजनीतिक शक्ति भने अबको चुनावले देखाउने नेताहरू बताउँछन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?