+
+
Shares

ओलीका रणनीतिकार फेरि महासचिव

पार्टीको संकट, संक्रमण र वैचारिक बहसको केन्द्रमा सधैँ उभिने पोखरेल एमालेभित्र राजनीतिक लाइन दिने नेताका रूपमा चिनिन्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष ३ गते १४:१५

३ पुस,  काठमाडौं । एमालेको ११ औं महाधिवेशनबाट शंकर पोखरेल महासचिवमा पुन: निर्वाचित भएका छन् । १० औं महाधिवेशनमा पनि महासचिव भएका पोखरेल यसपटक केपी शर्मा ओलीको समूहबाट पुन: उम्मेदवारी दिएका थिए ।

उनी एमालेको वैचारिक नेता, रणनीतिकार र अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा भरोसायोग्य राजनीतिक आर्किटेक्टका रूपमा स्थापित छन् । त्यही बलमा उनी ओलीसँग आफू पनि पुनर्निर्वाचित भएका छन् । पोख्रेलले १ हजार २२८ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

पार्टीको संकट, संक्रमण र वैचारिक बहसको केन्द्रमा सधैँ उभिने पोखरेल एमालेभित्र राजनीतिक लाइन दिने नेताका रूपमा चिनिन्छन् । पछिल्लो समयमा ओलीको राजनीतिक लाइन निर्धारण गर्ने प्रमुख पात्र पोखरेल मानिन्छन् । संकटका बेला ओलीलाई विस्थापन होइन, संस्थागत सुदृढीकरण आवश्यक छ भन्ने उनको अडान स्पष्ट छ । यही कारण उनी पार्टीभित्र सबैभन्दा भरोसायोग्य पात्र बनेका छन् ।

पछिल्लो समय कांग्रेस–एमाले मिलेर सरकार बनाउने अवधारणाको योजनाकार पनि पोखरेल नै थिए । जेनजी आन्दोलनपछि पैदा भएको राजनीतिक तरंगमा पनि उनले आन्दोलनको वैधानिकतामाथि प्रश्न उठाउँदै केपी ओलीकै राजनीतिक लाइन अँगाले ।

नेतृत्व पुस्तान्तरणको तीव्र दबाबबीच पनि ‘संकटमा नेतृत्व विस्थापन गरेर पार्टी बलियो हुँदैन’ भन्ने उनको अडान स्पष्ट रह्यो । उनको निष्कर्ष थियो- ओलीलाई बलियो बनाएर मात्र एमालेको शक्ति संस्थागत गर्न सकिन्छ । त्यो उनको निष्कर्षलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरिदिएका छन् ।

पोखरेलको पृष्ठभूमि

२०१९ फागुन १५ गते दाङको तुलसीपुर–१९, हाडिमेमा जन्मिएका शंकर पोखरेलको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । बुबा केशवराज शर्मा र आमा तिलकादेवीका कान्छा छोरा पोखरेलको जीवन प्रारम्भदेखि नै चुनौतीपूर्ण रह्यो ।

पञ्चायती दमनका कारण एसएलसी परीक्षा दिन नपाएका उनी बनारस पुगेर निजी परीक्षार्थीका रूपमा अध्ययन पूरा गरेका थिए । यही संघर्षले उनको राजनीतिक सोचमा प्रतिरोध, वैकल्पिक बाटो र राजनीतिक दृढताको बीउ रोप्यो ।

भारतमा अध्ययनरत रहँदा उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन स्थापना गरी नेतृत्व गरे । त्यही क्रममा जननेता मदन भण्डारीसँगको प्रत्यक्ष सम्पर्क उनको राजनीतिक जीवनको निर्णायक मोड बन्यो । मदन भण्डारीको वैचारिक मार्गदर्शनले पोखरेललाई जनताको बहुदलीय जनवाद (जबज) को व्याख्याकार बनायो । यही वैचारिक बलमा उनी एमालेभित्र स्थापित भएका हुन् ।

नेपाल फर्किएपछि उनी अनेरास्ववियुबाट राजनीतिक मोर्चामा सक्रिय रहेका थिए । त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति निर्वाचित भएपछि उनको राजनीतिक प्रभाव देशव्यापी बन्यो । विद्यार्थी अधिकार, शैक्षिक सुधार र लोकतान्त्रिक आन्दोलनमा उनको भूमिका रह्यो ।

२०४६ को जनआन्दोलनमा विद्यार्थी फाँटको अगुवाइ गर्दै उनी बहुदलीय प्रजातन्त्र स्थापनाको अग्रपंक्तिमा उभिएका थिए ।

२०५४ मा एमालेको केन्द्रीय सदस्य बनेपछि उनको यात्रा पार्टी राजनीतितर्फ मोडियो । केन्द्रीय सचिव, स्थायी समिति सदस्य हुँदै २०७८ मा महासचिव बनेका पोखरेल पार्टीको नीति, विचार र संगठन निर्माणको केन्द्रमा रहँदै आएका छन् । मिसन ग्रासरुट, सङ्कल्प यात्रा र जरा अभियानजस्ता कार्यक्रम उनले आफ्नो पहिलो कार्यकालमा गरेका संगठनात्मक प्रयोग हुन् ।

संसद र सरकारमा पोखरेल

३२ वर्षकै उमेरमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पोखरेल संसदमा स्पष्ट वक्ता र जनसरोकारका मुद्दाका अगुवा बने । ‘पजेरो सुविधा’ विरुद्ध उनले आवाज उठाएका थिए । त्यो बेला निर्वाचन प्रचारकै क्रममा दाङको विजौरीमा शंकर पोखरेलमाथि गोली प्रहार भयो, जसमा तीन जना युवाले ज्यान गुमाए । तर त्यो घटनाले उनको राजनीतिक अडान डगमगाएन ।

सूचना तथा सञ्चार मन्त्रीका समेत भएका उनी संघीयतापछिको पहिलो निर्वाचनमा दाङबाट प्रदेश सभा सदस्य निर्वाचित भएका भएर लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री बने ।

शून्य संरचनाबाट सुरु भएको प्रदेशलाई उनले ‘समृद्ध प्रदेश, खुसी जनता’ को अवधारणा ल्याएका थिए । प्रदेशको नामाकरण र राजधानी निर्धारणजस्ता संवेदनशील विषय सहमतिमै टुंग्याउनुलाई उनको राजनीतिक कौशलको रुपमा व्याख्या गर्नेहरू पनि छन् ।

प्रदेशमा सतप्रतिशत पूँजीगत खर्च, बेरुजु शून्य र सुशासनको अभ्यासले लुम्बिनी प्रदेशमा उनको नेतृत्वलाई सफल मानिन्छ ।

उनको जीवनशैली तडकभडकपूर्ण छैन । आर्थिक पारदर्शिता र अध्ययनशील स्वभाव पोखरेलको पहिचान हो । पोखरेल वैचारिक व्याख्याकार, संगठन शिल्पी, नीति–निर्माणका वास्तुकार र दीर्घकालीन सोच राख्ने नेता हुन् । एमालेको वर्तमान र भविष्य जोड्ने सेतुका रूपमा उनी उभिएका छन् । संकटग्रस्त राजनीतिमा स्थिर सोच, स्पष्ट लाइन र वैचारिक निरन्तरता दिने नेताका रूपमा शंकर पोखरेलको भूमिका अझ निर्णायक बन्दै गएको छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?