+
+
Shares

महेश बस्नेत : ओलीको रक्षाकवच बन्दा एमालेजनको धाप पाए

२०५४ को स्थानीय निर्वाचनमा २२–२३ वर्षको उमेरमै गुण्डु गाविस अध्यक्ष निर्वाचित भएका बस्नेतको राजनीतिक यात्रा ‘नाम हो, बदनाम हो, पर गुमनाम ना हो’ भने जस्तो छ ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८२ पुष ३ गते २०:३५
Listen News
0:00
0:30
🔊

३ पुस, काठमाडौं । महेश बस्नेत को हुन् र एमालेभित्र जुनसुकै हैसियतमा बसेका भए पनि अध्यक्ष केपी शर्मा ओलीका लागि उनको उपस्थितिले कस्तो अर्थ राख्छ भनेर बुझ्न १२ वर्षअघिको एउटा दृश्यमा जाऔं ।

२०६४ को संविधान सभा चुनावमा ओली स्वयंले चुनाव हारेका थिए । त्यस सभाले संविधान बनाउन नसकेपछि दोस्रो सभा चुनाव हुने भएको थियो, २०७० मा ।

त्यही निर्वाचनको स्थलगत रिपोर्टिङका क्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न दमकस्थित उनकै घरमा पुगेका थियौं ।

अन्तर्वार्ता शुरु हुनै लाग्दा चार जना युवाहरू घर भित्र प्रवेश गरे । ‘उहाँहरू खेलकुद क्षेत्रबाट हुनुहुन्छ, अहिल्यै काठमाडौं फर्कन लाग्नु भएको रहेछ, एक पटक हेल्लो भनेर फर्कन्छौं भनेकाले भित्र लिएर आएको,’ ओलीका सहयोगीले प्रष्टीकरण दिए ।

ती युवाहरूले ओलीसँगको संवादमा आफूहरू चारै जना काठमाडौं, शान्तिनगरमा बस्ने गरेको बताए । औपचारिक भलाकुसारी सकिदा–नसकिदै ओलीले प्रश्न गरे, ‘महेश बाबुको के छ ?’

ओलीले ‘महेश बाबु’ भनेर सम्बोधन गरेका व्यक्ति भक्तपुर–२ बाट उम्मेदवारी दिएका महेश बस्नेत हुन् भन्ने ठम्याउन उनीहरूलाई गाह्रो परेनछ ।  ‘महेश दाईको माहोल एकदम राम्रो छ, उहाँले जित्नुहुन्छ,’ चार मध्येका एक जनाले रिपोर्टिङ गरे ।

यो जवाफले ओली विश्वस्त भएनन् क्यारे ! ‘तपाइँहरू काठमाडौं बस्ने मान्छे, भक्तपुरको माहोल कसरी थाहा हुन्छ ?’

ओलीको यो प्रश्न सुनेपछि अकमकिदै अर्का एक जनाले जवाफ फर्काए, ‘हामी भक्तपुरै नबसे पनि दिनमा एक पटक महेश दाईको क्षेत्रमा जाने गरेका छौं नि ।’

ओलीलाई भेटेर काठमाडौं फर्किएका ती युवाहरूले के सोचे थाहा छैन । यो पंक्तिकारलाई लाग्यो, ‘ओहो, ओलीले महेश बस्नेतको यतिविधि ख्याल गर्दा रहेछन्  !’

नभन्दै ओलीको चिन्ता जायज ठहरियो । निर्वाचन परिणाम बस्नेतको पक्षमा आएन । उनी नेपाली कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भए ।

त्यसको ६–७ महिनापछि एमालेको नवौं महाधिवेशन आयोजना भयो, भृकुटीमण्डपमा । २०७१ असार १९ देखि साउन १ सम्म चलेको महाधिवेशनमा ओली प्यानलबाट केन्द्रीय कमिटी सदस्यमा उठेका उनी त्यहाँ पनि विजेता बन्न सकेनन् ।

तर आमनिर्वाचन र पार्टी चुनावमा भोगेको पराजयले उनको जीवनमा खास फरक  परेको देखिएन । केन्द्रीय सदस्य हारेको दुई महिना नबित्दै २०७१ भदौमा बस्नेत उद्योग मन्त्री नियुक्ति भए, सुशील कोइराला नेतृत्वको सरकारमा ।

४० वर्षमा क्याबिनेट मन्त्री बन्ने अवसर पाउँदा लगालग भोगेको दुई वटा हारको पीडा उनले भुले कि भुलेनन्, भन्न सकिदैन । तर यति भनिसकेपछि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट पदच्युत भएका ओलीको काँध थाप्न उनी किन निर्धक्क अघि सरेका रहेछन् भन्ने बुझ्न चाहिँ गाह्रो पर्दैन ।

सत्तामा नरहेका मध्ये जेनजी आन्दोलनपछि आलोचित हुनेको अग्रपंक्तिमा बस्नेत थिए भन्दा फरक नपर्ला । ओलीको बचाउ, अराजक र आक्रमक भाषण–स्टेटस्, नेशनल भोलेन्टियर फोर्स गठन लगायतका कारणले उनको धेरैले आलोचना गरे ।

बस्नेत जहाँ पुगे त्यहीँ विरोधको सामना गर्नुपर्‍यो । उनी स्वयंले भने ‘अराजक होइन, जुझारू’ भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गर्दै आएका छन् ।

२०५७ सालमा भक्तपुर जिल्ला कमिटी सदस्य बनेका उनी २०७५ सालमा केन्द्रीय कमिटी सदस्य मनोनित भए । २०७८ मा सम्पन्न दशौं महाधिवेशनपछि पोलिट्ब्युरो सदस्य बनेका उनी केन्द्रीय कमिटीमा सात वर्ष काम गर्दानगर्दै केन्द्रीय सचिव निर्वाचित भएका छन् ।

२०५४ को स्थानीय निर्वाचनमा २२–२३ वर्षको उमेरमै गुण्डु गाविस अध्यक्ष निर्वाचित भएका बस्नेतको राजनीतिक यात्रा ‘नाम हो, बदनाम हो, पर गुमनाम ना हो’ भने जस्तो छ ।

पार्टीको ४६ औं वरियतामा रहेका उनलाई ओलीले २१ स्थायी कमिटी सदस्य  र ६ जना पोलिट्ब्युरो सदस्यलाई छाडेर सचिवको उम्मेदवार बनाउँदा पार्टी भित्रै धेरै  असन्तुष्ट देखिए । जस्तो महेश बस्नेत ६ वर्षको हुँदा पार्टी सदस्यता लिएर संगठन विभाग हाँकेका काशीनाथ अधिकारीले ओलीले भनेको पदमा उम्मेदवारी दिएनन् । जनवादी केन्द्रीयता पालना गर्ने नाममा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग नगर्नेहरूको संख्या कति होला ?

विरोधका स्वरको वेवास्ता गरेर पछिल्लो पटक ओलीले बस्नेतलाई अगाडि बढाउँदा भने जेनजी आन्दोलनपछिकै ‘भूमिका’लाई महत्त्व देखिएको देखिन्छ । एमालेको मात्र होइन पुराना कुनै पनि ‘दलको सदस्य वा समर्थक बन्नु नै अपराध हो’ भने जस्तो भाष्य निर्माण भईरहेका बेला उनले ओलीलाई तामझामका साथ सार्वजनिक गरे । गुण्डुमा डेरा मात्र खोजेर राखेनन्, ‘कुटी’ नै बनाउने घोषणा गरे ।

kp-oli-and-mahesh basnet – Online Khabar

जेनजी आन्दोलनअघि पनि उनको शैलीको विरोध गर्नेहरू प्रशस्त थिए । सामाजिक सञ्जालमा मात्र होइन आफूलाई मुलधार भन्न रुचाउने सञ्चार माध्यमले नै उनलाई तपाइँलाई किन ‘गुण्डा’ भन्छन् ? भनेर सोध्ने गरेका छन् । सिद्धान्त वा बौद्धिकता विनाको जुझारूपन अराजक र गुण्डागर्दी हुन सक्ने कुरा उनले पनि अस्विकार गर्दैनन् । जुझारुपन नभएका बौद्धिक युवालाई उनी कायर र खुराफातीको संज्ञा दिन्छन् ।

त्यसो भए आफ्नै मुल्यांकनमा महेश बस्नेता कस्ता व्यक्ति हुन ? ‘बैद्धिक र जुझारूपन भएको युवा नेता ।’

जेनजी आन्दोलनपछि उनी जति चर्चामा छन्, त्यस्तै चर्चा १७–१८ वर्ष पहिला पनि थियो । त्यतिबेला र अहिलेको समानता के छ भने दुबै पटक उनको चर्चाको कारण बनेको छ–आक्रमक, अराजक र लडाकुशैली ।

दशक लामो सशस्त्र युद्ध गरेका नेकपा (माओवादी) र सरकार बीच २०६३ मा बृहत शान्ति सम्झौता भयो । माओवादी शान्ति प्रक्रियामा त आए तर योङ कम्युनिष्ट लिग (वाईसीएल)को नाममा अराजकता, आक्रमण, चन्दा असुली, मोसो दल्ने जस्ता गैरकानूनी गतिविधि रोकिएन । माओवादीको हर्कतबाट आम नागरिक मात्र होइन दलकै कार्यकर्ता समेत सुरक्षित थिएनन् ।

त्यस्तो बेलामा २०६४ को संविधान सभामा तेस्रो दलमा खुम्चिएको एमालेले युवा संघ मार्फत वाईसीएलको प्रतिवाद गर्ने भयो । त्यसका लागि युवा संघले युथ फोर्स गठन गर्ने तयारी गर्‍यो ।

फोर्सको नेतृत्व कसले गर्ने भन्ने छलफल हुँदा तीन जनाको नाम आए । ती नाम थिए, केशव विष्ट (इटहरी), हस्त पण्डित (सिन्धुपाल्चोक) र महेश बस्नेत (भक्तपुर) । पण्डितले फोर्सको नेतृत्व गर्न मानेनन् । काठमाडौंमा गतिविधि गर्न इटहरीका विष्टलाई सहज हुँदैन भन्ने निश्कर्ष निस्कियो ।

त्यसपछि युथ फोर्सको प्रमुख बने, महेश बस्नेत । त्यतिबेला उनी युवा संघको कोषाध्यक्ष थिए । फोर्सले युद्ध उन्मादबाट आएको वाईसिएलको कडा प्रतिवाद गर्‍यो । तर वाईसिएलबाट आतंकित नागरिक फेरि युथ फोर्ससँग डराउन थाले । चन्दा आतंक, फाइल बोकेर धम्क्याउने जस्ता गतिविधि भएको युथ फोर्सको गतिविधिलाई नजिकबाट नियालेका एक एमाले नेता बताउँछन् । ‘आतंक यति फैलियो कि एक वर्ष नपुग्दै फोर्स विघटनै गर्नुपर्‍यो,’ एक जना नेता सम्झिन्छन् ।

२०६६ सालमा त्यही विघटित फोर्सका प्रमुख बस्नेत युवा संघको अध्यक्ष बने । त्यहीताकादेखि पार्टीमा विचार र संगठन भन्दा बाहुबल हावी हुँदै गएको कतिपय एमाले नेताहरूको निश्कर्ष छ । नाम उल्लेख गर्न नचाहने एमालेका एक नेता भन्छन्, ‘पाखुरा, पैसा र पहुँचबाटै नेतृत्व छनोट हुने भएपछि निष्ठाको राजनीति गर्नेहरू रिङआउट नभएर के हुन्छ ?’

विश्लेषकहरू एकअर्का बीचको ऐंचोपैंचोले मात्र ओली र बस्नेतको सम्बन्ध टिकेकोे मान्न तयार छैनन् । ‘स्वाभाव र कार्यशैलीको समानताले पनि उहाँहरूको ट्युनिङ मिलीरहेको हो’, कुनै बेलामा ओलीसँगै जेलमा बसेका विश्लेषक पुरञ्जन आचार्य भन्छन् ।

समर्थकहरूले निडर,  स्पष्ट वक्ता र पार्टीको इमानदार सिपाही भनिरहँदा  विरोधीहरूले उदण्ड, कटु आलोचक मात्र होइन ‘गुण्डा’ समेत भन्न पछि पर्दैनन् । नेपाल प्रहरीका एक जना डिएसपीले त उनलाई फेसबुक स्टेटस्मा ‘राक्षस’ भनेरै लेखे । त्यति मात्र होइन यौन दुर्व्यवहारजस्तो जस्तो संगीन आरोप पनि लाग्यो उनी माथि । एक जना महिलाले उनी विरुद्ध दिएको बलात्कार सम्बन्धी मुद्दा तामेलीमा छ ।

२०७४ सालमा भक्तपुर–२ बाट पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेर सांसद् बनेका उनलाई २०७० र २०७९ मा भने त्यही भक्तपुरका जनताले रोजेको देखिएन ।

एघारौं महाविधेशन प्रतिनिधिले सचिवमा रोजेका बस्नेतको भविष्य उनले कस्तो बाटो रोज्छन् भन्नेमा निर्भर छ भन्दा अत्युक्ति नहोला ।

लेखक
सन्त गाहा मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?