३ पुस, काठमाडौं । काठमाडौंको सल्लाघारीमा हजारौँ कार्यकर्ता उतारेर उद्घाटन गरेको एमालेले भृकुटीमण्डपमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराएर एघारौँ महाधिवेशन समापन गर्यो । उद्घाटनसत्र जति नरम थियो समापनमा आइपुग्दा केही गरम देखियो ।
केपी ओली र ईश्वर पोखरेल समूह नेतृत्वको लागि प्रतिस्पर्धामा थिए । तर धेरैजसो ओली प्यानलका विजयी भए । त्यसैले अध्यक्षमा विजयी भएपछि ओली भृकुटीमण्डपमा गरम सुनिए । पुन विजय भएपछि ओलीको आवाज निकै बलियो भएको देखियो । उनी जेनजी आन्दोनल र सरकारप्रति पनि आक्रामक देखिए ।
सल्लाघारीमा संयमित भएका ओलीले लिखित भाषण गरेका थिए । तर शुक्रबार उनले लिखित भाषण गरेनन् । विजयको खुशीसँगै उनको मुहारमा आक्रोश देखियो । जेनजी आन्दोनल र सरकारप्रति उनी झन आक्रामक भए । एमाले नेतृत्वमाथि कसैले धावा बोले देश नै ठप्प पार्ने सम्मको चेतावनी दिए ।
‘एमालेमाथि भौतिक आक्रमण गर्ने, जाली मुद्दा लगाउन खोज्ने हल्ला छ । एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नुपर्छ । देशभए तयारी अवस्थामा बस्नु पर्छ । एमालेलाई होच्याउने, जाली मुद्दा लगाउने सुइँको पाएको छ,’ ओलीले भने ।
महाधिवेशनले प्रतिगामी तत्त्वलाई जवाफ दिएको निष्कर्ष एमालेको छ । ‘पुराना पार्टी सकियो भन्नेलाई महाधिवेशनले जवाफ दिएको छ । एमाले अजम्मरी पार्टी हो । कसैले चिताउँदैमा कमजोर हुँदैन, सकिँदैन । झन माथि उठ्छ,’ अध्यक्ष ओलीले महाधिवेशनको निचोड सुनाए ।

एमाले संसद् पुर्नस्थापनामा अडिग देखियो । ‘असंवैधानिक रूपमा मिचिएको संविधानलाई सहि बाटोमा फर्काउनु पर्छ । विघटन गरिएको संसद पुर्नस्थापानको माग लिएर एमाले उत्रियो,’ ओलीले भने । महाधिवेशनले षड्यन्त्रलाई ध्वस्त पारेको ओलीको निकर्ष छ ।
‘मेरो बारेमा अनेक शक्तिले जालझेल गर्ने काम गरिरहेका छन् । यो षड्यन्त्रलाई जवाफ दिनु भएको छ । प्रतिक्रियावादीलाई ध्वस्त पार्नु भएको छ,’ प्रतिनिधिलाई ओलीले भने । ‘सके निर्वाचनको तयारी गर नत्र बाटो लाग । जेनजी भन्ने केही युवालाई बोलायो नाटक गर्यो । जेनजीसँगको सम्झौता होइन भद्दा नाटक हो । यो सम्झौतालाई एमालेले अस्वीकार गर्छ । लागू हुन दिँदैनौं,’ ओलीले भने ।
भदौ २४ गते तत्कालीन ओली नेतृत्वको सरकारलाई धोका भएको एमालेको निष्कर्ष छ ।
‘२४ गते हामीलाई धोका भयो । अब टोल टोलमा सुरक्षा बनाएर सुरक्षा गर्नु पर्छ । राज्य संयन्त्रको विश्वास गर्दैनौं । धोका पाउन सक्छौं । आफ्नो सुरक्षा आफैं गर्नुपर्छ एक हप्ता भित्र सुरक्षा टिम बनाउन,’ कार्यकर्तालाई ओलीले निर्देशन दिए । सरकारले उपत्यका बाहिर जान रोक लगाएकोमा पनि एमालेले आपत्ति जनायो ।
यही विषयमा अर्को द्वन्द्वको संकेत एमालेले गर्यो । ‘बाहिर जान नदिने ? यो हद ? प्रहरीको मनोबल गिराउने काम भयो । । २४ गते किन आगजनी भयो ? २३ गते प्रहरिले सुरक्षा गर्न खोज्यो । त्यही विषयमा अर्को द्वन्द्व बनाउने खोजेको छ,’ ओलीले भने ।
लोकतान्त्रिक अभ्यासबाट आफू फेरि नेतृत्वमा आएको दाबी ओलीको छ । ‘लोकतान्त्रिक अभ्यास हो । चुनावमा गयो भने फुट्ने भयो भन्ने ? चुनवमा गएन भने डेमोक्रेसी खोइ भन्ने ? एमाले अझ मजबुत भएर जान्छ,’ ओलीले भने ।
जितपछि ओलीले पार्टी कसैसँग एकीकरण नहुने तर अरू मिसिन आए स्वागत गर्ने बताए । ‘पार्टी एकता अहिले सम्भव छैन । एमालेको नीति नेतृत्व मान्छ भने एमालेमा आउनुहोस् । माओवादी प्रचण्डलाई घाँडो भएको थियो । माधव नेपाललाई समाजवादी पार्टी घाँडो भएको थियो । एकता गरे,’ ओलीले टिप्पणी गरे ।
१९ पदाधिकारीसहित ३०२ जना केन्द्रीय सदस्य यो महाधिवेशनबाट निर्वाचित भएका छन् । सल्लाघारीमा उद्घाटन सत्र हुन्जेलसम्म सर्वसम्मत होला या निर्वाचनमा जाला भन्ने अन्यौलताबीच एमालेले विद्युतीय मेसिनबाट निर्वाचन गर्यो । प्यानल बनाएर ओली र पोखरेल भिडे । पोखरेल पक्षले राम्रै काउन्टर दिने आम–अनुमान थियो ।
तर महाधिवेशनले ईश्वर पोखरेल समूह किनाराकृत गर्यो । यद्यपि, गोकर्ण विष्ट र योगेश भट्टराईबाहेक सबै पदाधिकारीमा केपी ओली प्यानल नै विजयी भयो । पद्यमा अर्याल एमाले पदाधिकारी जित्ने एकमात्र महिला बनिन् ।

विष्णु रिमाल ओलीका प्रभावकारी व्यवस्थापक त बने, तर पार्टीभित्रको नेटवर्क विस्तारमा भने कमजोर रहेको महाधिवेशन परिणामले देखायो । उपमहासचिव पदमा रिमाल पराजित भए । अध्यक्षका प्रत्यासी पोखरेल केन्द्रीय सदस्यमा विजयी भए । तर उनी शपथका लागि आएनन् । पोखरेल प्यानलका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित भए ।
महाधिवेशनबाट पुराना नेता युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य र केशव बडालले पुस्तान्तरण र हस्तान्तरण भनेर बाहिरिए ।
एमालेले पुस्तान्तरण र हस्तान्तरणको पक्षमा उभिएको ज्ञवाली र शाक्यलाई सम्मान गर्यो । ‘कतिपय साथीलाई सक्रिय राजनीतिबाट छोड्नु भएको छ । युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य, केशव बडालले पुस्तान्तरण र हस्तान्तरणको अभ्यास गर्नुभएको छ । ज्ञवाली कमरेड हेडरबाट छोडेर भूमिगत हुनुभएको हो,’ ओलीले सम्मान गर्दै भने ।
माओवादी नेतालाई महाधिवेशनले अनुमोदन गर्यो । माओवादी लाइनमा रामबहादुर थापा र लेखराज भट्ट विजयी भए । थापा उपाध्यक्ष र भट्ट उपमहासचिवमा विजयी भए ।
२४ बुँदे प्रस्ताव पारित
महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गर्यो । शुक्रबार सकिएको महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको हो । जसमा धेरै विषय जेनजी आन्दोलनपछि देशको स्थितिबारे एमालेले आफ्नो नीति पारित गरेको छ ।
उक्त पारित प्रस्तावमा सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर नवयुवाहरुहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति महाधिवेशनले दुःख व्यक्त गर्यो ।
‘नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर जसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै थिएन । भदौ २३ गते कुनै न कुनै दुःखद घटना घटाएर भदौ २४ गते देशमा विध्वंश मच्चाउने सुनियोजित तयारी भइरहेको थियो भन्ने विभिन्न तथ्यहरूले पुष्टि गर्छन्,’ पारित प्रस्तावमा भनिएको छ ।

महाधिवेशन यस घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेको छ । प्रहरीका हतियार, गोलीगठ्ठा र लजिस्टिक लुट्ने, जेल तोडेर १४ हजार भन्दा बढी कैदीबन्दीहरू भगाउने र निर्दोष मान्छेहरूलाई घरभित्र जिउँदै जलाउने काम सुनियोजित षडयन्त्र भएको आरोप महाधिवेशनले लगाएको छ ।
‘यी आपराधिक कृत्यहरुको उद्देश्य एकै साथ मुलुकको लोकतान्त्रिक संरचना ध्वस्त पार्ने, अर्थतन्त्रको मेरुदण्ड भाँच्ने, समाजमा भय र त्रासको वातावरण बनाउँदै नागरिकहरुलाई निरिह तुल्याउने र क्रमशः असफल राष्ट्रतिर धकेल्ने थियो,’ पारित प्रस्तावमा भनिएको छ ।
गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रहरू सङ्लग्न घटनाको छानबिनका लागि दक्ष, विज्ञ र निष्पक्ष आयोग बनाउन माग गरेको छ ।
‘सरकारले पूर्वाग्रही, दूषित सोचयुक्त र दुराशय बोकेका व्यक्तिको नेतृत्वमा कथित छानबिन आयोग गठन गरेको छ । कुनै तथ्यले पुष्टि नगरे पनि तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिक नेताहरूलाई मुछ्ने पूर्व योजना बोकेको त्यस आयोगबाट सत्यतथ्य बाहिर आउँछ भन्ने विश्वास गर्न सकिँदैन । तसर्थ, यो महाधिवेशन उक्त आयोगलाई अमान्य घोषित गर्दछ र सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्छ भन्ने माग राख्दछ,’ प्रस्तावमा भनिएको छ ।

निर्वाचनको कार्यादेश प्राप्त गरेकोसरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत् रहेको ठहर एमालेको छ ।
‘प्रहरीबाट लुटिएका हतियार र गोलीगठ्ठा फिर्ता ल्याउन, भागेका कैदीहरूलाई फेरि जेलमा फर्काउन र समाजमा शान्ति सुरक्षाको वातावरण बनाउन ठोस काम गरिरहेको छैन । यस्तो अवस्थामा दलहरू कसरी निर्भयतापूर्वक जनता समक्ष जान र मतदाताहरू निर्धक्कसँग मतदान केन्द्रसम्म पुग्न सक्छन् ? सरकार निर्वाचनको आधार बनाउनेतिर होइन, उल्टो बाटो हिँडिरहेको छ,’ पारित प्रस्तावमा भनिएको छ ।
प्रतिक्रिया 4