३ साउन, विराटनगर । नेकपा एमालेका नेता विनोद ढकाल पछिल्लो समय पार्टी भित्रको इतर समूहका प्रमुख वक्तामध्ये पर्छन् । अध्यक्ष केपी शर्मा ओलीविरूद्ध बोल्न अन्य केन्द्रीय नेताहरू हच्किचाइरहँदा विराटनगरबाट ढकालले भने निरन्तर प्रश्न उठाइरहे ।
कुनै समय अध्यक्ष ओलीका विश्वासपात्र मानिने ढकाल विगत तीन वर्षयता उनीविरुद्ध खरो रूपमा उत्रिएका छन् ।
२०८० असोजमा भएको कोशी प्रदेश अधिवेशनमा संस्थापन पक्षले घनश्याम खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने चाहना राखेको थियो । तर केन्द्रीय नेताहरू मौन बस्दा ढकालले विराटनगरबाट विद्रोह गरे । उनी अध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिए । ढकालसँग पराजित भए ।
तर, त्यो हारले उनको विद्रोह रोकिएन । उनी निरन्तर इतर पक्षको संगठन विस्तारमा लागिरहे । यसको प्रभाव २०८१ फागुनको मोरङ जिल्ला अधिवेशनमा देखियो । उनले तयार गरेको टिमले संस्थापन पक्षको बलियो समूहलाई पराजित गर्दै जिल्ला नेतृत्व हात पार्यो । लगत्तै भएको विराटनगर महानगर अधिवेशनमा पनि ढकाल प्यानल नै विजयी भयो ।
केन्द्रमा नेताहरू ओलीविरुद्ध बोल्न नसक्दा ढकालले जिल्लाबाटै नेतृत्वलाई खुला चुनौती दिइरहे । विद्या भण्डारीलाई पार्टीमा फर्कन नदिने निर्णयविरुद्ध बोल्ने सीमित नेताहरूको अग्रपंक्तिमा ढकाल नै थिए ।
प्रदेश, जिल्ला र नगरमा आफ्नो समूह विस्तार गरेर इतर पक्षको छवि बनाएका ढकाल ११औं केन्द्रीय महाधिवेशनमा सचिव पदका उम्मेदवार बने । तर प्रदेशको विद्रोहमा सफल भएका उनी केन्द्रीय राजनीतिमा भने असफल भए ।
सचिव पदमा ६६४ मत मात्र ल्याएका उनी पुछारबाट पाँचौं स्थानमा छन् । यसअघि १०औं महाधिवेशनमा भने उनी ओली पक्षबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
२०४१ सालमा भोजपुरको शारदा मावि प्याउलीबाट एसएलसी दिएका ढकालले २०४२ सालदेखि विराटनगरलाई कर्मथलो बनाएर राजनीति सुरु गरे । २०४२ देखि २०४५ सम्म अखिलको विराटनगर नगर कमिटी अध्यक्ष बनेका उनी २०४७ मा अखिल मोरङको अध्यक्ष भएर दुई कार्यकाल नेतृत्व सम्हाले । उनी अखिलको केन्द्रीय उपाध्यक्षसम्म बने ।
पार्टी राजनीतिमा प्रवेश गरेपछि २०६६ सालमा एमाले मोरङको अध्यक्ष निर्वाचित भए । २०६९ को जिल्ला अधिवेशनमा महेश रेग्मीसँग पराजित भए पनि २०७३ मा उनी पुनः जिल्ला अध्यक्षमा निर्वाचित भएर फर्किए ।
पार्टी राजनीतिमा बलियो पकड जमाए पनि संसदीय राजनीतिमा भने ढकाल सधैं असफल भएका छन् । तीन पटक जनअनुमोदित हुन खोजेका उनी तीनै पटक पराजित भएका थिए ।
२०६५ सालको संविधानसभा उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (तत्कालीन ७) बाट कांग्रेस नेता डा. शेखर कोइरालासँग उनी पराजित भए । कोइराला १२ हजार ७१ मतसहित विजयी हुँदा चौथो स्थानमा रहेका ढकालले ६ हजार ३५ मत मात्र पाए ।
२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका उनी कांग्रेसका भीम पराजुलीसँग पराजित भए । २३ हजार ३१ मतसहित पराजुली विजयी हुँदा ढकालले १७ हजार ३२१ मत ल्याए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रका अमनलाल मोदीसँग पराजित हुँदै उनले हारको ‘ह्याट्रिक’ पूरा गरेका थिए ।
प्रतिक्रिया 4