३ पुस, काठमाडौं । २०७४ सालमा चुनावी तालमेल गरेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । २०७७ फागुनमा सर्वोच्च अदालतको फैसलाले पुरानै नेकपालाई विघटन गर्दै एमाले र माओवादी पार्टी ब्युँतायो ।
त्यतिबेला माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी थारु, ज्वालाकुमारी साह, निरकुमारी कुँवर (निरु दर्लामी) लगायत एमालेतिरै बसे ।
एमालेको एघारौं महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम अनुसार थापा एक हजार ५१६ मत सहित उपाध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलपछि थापाले धेरै मत पाएका हुन् ।
उपमहासचिवमा सर्वाधिक मत सहित भट्ट विजयी भएका छन् । उनले एक हजार ४५२ मत प्राप्त गरे ।
थारु खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गौरीशंकर चौधरी थारुले एक हजार ९१६ मत सहित निर्वाचित भए । उनी यो क्लस्टरबाट दोस्रो बढी मत ल्याएर निर्वाचित भएका हुन् ।
माओवादी पृष्ठभूमिकै लिलबहादुर थापामगर आदिवासी जनजाति खुला कोटाबाट १३२० मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
भूगोल बागमती महिला सदस्यबाट उम्मेदवारी दिएकी निरु दर्लामीले २ हजार ५ मत प्राप्त गरिन् । तीन सदस्य निर्वाचित हुने यो क्लस्टरमा दर्लामीले सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् ।
यस्तै दलित महिला कोटाबाट माओवादी पृष्ठभूमिकै रुक्मिणी राना बराइली केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । बराइलीले १७०५ मत ल्याएर जित हात पारिन् ।
समावेशी मधेशी महिला तर्फबाट उम्मेदवारी दिएकी ज्वालाकुमारी साहले दुई हजार ४४ मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व सचिव टोपबहादुर रायमाझीलाई भने निलम्बित छन् ।
प्रतिक्रिया 4