३ पुस, पोखरा । नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले महासचिवको दाबी गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र शंकर पोखरेललाई नै महासचिवमा दोहोर्याउने निर्णय गरे । र, गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाए ।
ओलीले पोखरेललाई नै दोहोर्याउने निर्णय गरेपछि महासचिवका अर्का आकांक्षी प्रदीप ज्ञवाली विरह पोख्दै महाधिवेशन स्थलबाट बाहिरिँदा गुरुङले भने उपाध्यक्षमै चित्त बुझाएर मनोनयन दर्ता गराएका थिए । ।
ओलीले आफूलाई महासचिव बनाउने ‘ग्रिन सिंग्नल’ दिएको भन्दै गुरुङले गृह प्रदेश गण्डकीको प्रतिनिधि छनोटमा ध्यान दिन आफ्ना समूहका नेताहरूलाई निर्देशन दिएका थिए । ओलीको रोजाइको पहिलो नम्बरमा पोखरेल, दोस्रोमा ज्ञवाली र तेस्रोमा गुरुङ पर्ने चर्चाका बीच पदाधिकारीको प्यानल तयार भएको थियो । तर, ओलीको निर्णयमा समर्थन जनाउँदै उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ सर्वाधिक मत ल्याउँदै विजयी भए ।
गुरुङ १ हजार ७३७ मत ल्याउँदै उपाध्यक्षमा विजयी हुँदा उनले समेत नेता मानेका विष्णु पौडेलले १ हजार ६७५ मत ल्याए ।
सर्वाधिक मत ल्याउँदै उपाध्यक्षमा गुरुङ विजयी हुँदा अध्यक्ष ओलीले भने १ हजार ६६३ मत पाएका छन् ।
ओली नेतृत्वको सरकारका प्रवक्तासमेत रहेका गुरुङ यस्ता पात्र थिए, जसलाई जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिपछि महाधिवेशनमा होमिएको एमालेमा दुवै प्यानलले साथ खोजेको थियो । नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको मुद्दा पेचिलो भइरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आड लिएर अध्यक्षसहित ओलीको विकल्प खोजेको ईश्वर पोखरेल प्यानलले गुरुङलाई महासचिव नै प्रस्ताव गरेको थियो ।
विगतमा विद्रोही नेताको परिचय बनाएका गुरुङले आकांक्षा राखेको महासचिव पद नै दिन तयार हुँदा पनि उनी ओली कित्तामै उभिएर ‘अर्को विकल्प छैन’ भनेका थिए । परिवर्तनको मागलाई आत्मसात गर्दै ओलीसँग विद्रोह गर्दै ईश्वर प्यानलबाट महासचिव उठ्न सक्ने चर्चाका बीच गुरुङले ओलीले दिएको उपाध्यक्ष पदमै चित्त बुझाएका थिए ।
एमाले भित्र शक्ति संघर्ष र कठिन अवस्थामा पनि ओलीलाई साथ दिएका तर ओलीलाई नै चुनौती दिन सक्ने, ओली नेतृत्वको संघीय सरकारले नै प्रदेशलाई कमजोर बनायो भनेर आलोचना गर्न सक्ने खरो नेताको परिचय गुरुङको विगत थियो । गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा मुख्यमन्त्रीहरूको पोखरामा भेला गरेर ओली सरकारलाई नै चुनौती दिएका गुरुङ संघीय सांसद हुँदै मन्त्री बनेपछि शैली र परिचय नै फेरिएको थियो ।
पछिल्लो पटक ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाउँदै सरकारकै प्रवक्ता बनाएपछि गुरुङ अभिव्यक्तिका कारण थुप्रै पटक आलोचितसमेत बनेका थिए ।
जेनजी आन्दोलनकै क्रममा भदौ २३ गते १९ जनाको ज्यान गइसकेपछि पत्रकारहरूसँग सरकारका प्रवक्ताका रूपमा गुरुङले दिएको अभिव्यक्ति र शैली निकै रुखो थियो । २४ गतेको आन्दोलन चर्किनुमा गुरुङको अभिव्यक्तिको शैलीले पनि मलजल गरेको एमालेकै नेताहरू समेत बताउँथे ।
गृहमन्त्रीले राजीनामा दिए पनि अरू मन्त्री र ‘कसैले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, किन दिने ?’ भन्दै रुखो शैलीमा प्रस्तुत भएका गुरुङ त्योबेला आलोचित भए पनि अहिले एमाले नेता/कार्यकर्ताले भने सबैभन्दा लोकप्रिय मत दिएका छन् ।
जेनजी आन्दोलनको तयारी हुँदै गर्दा भएको एमालेको विधान महाधिवेशनमा नेतृत्वमा दुई वर्षे कार्यकालमै अडिग रहन र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको सन्दर्भमा अडान लिन पनि गुरुङको साथ खोजेका थिए । ओली सरकार र उनी नेतृत्वकै पार्टीमा शक्ति बढाइरहेका गुरुङ नेतृत्वको निर्णयभन्दा बाहिर गएनन् । तर विद्यादेवीको समूहदेखि टाढा पनि नहुँदाको फाइदा महाधिवेशनमा मिलेको एमाले नेताहरूको भनाइ छ ।
ओलीका पक्षमा लिएको अडान, अर्को प्यानलसँगको समभावका कारण र अन्य पार्टीबाट एमालेमै रहेका धेरै नेताहरूको रोजाइका कारण पनि गुरुङले आफ्नो शक्ति बढाएका छन् । पार्टीको जबजको नीतिलाई फरक ढंगले पनि बुझाउन सक्ने, परेका बेला नेतृत्वलाई साथ पनि दिने र प्रश्नसमेत गर्नसक्ने नेताको रूपमा दरिँदै गुरुङ ओलीको अझै विश्वास पात्र बन्न पुगेका छन् ।
गुरुङ केन्द्रीय सदस्य, स्थायी कमिटी, सचिव, उपमहासचिव हुँदै स्वाभाविक रूपमा महासचिवको आकांक्षी थिए । उनले उपाध्यक्षमा बसेर ओलीलाई प्यानल निर्माणमा झनै सहजसमेत बनाइदिए ।
पार्टी छाड्ने र फुट्ने सिलसिलामा फरकमत राखे पनि सधैं ओलीकै कित्तामा उभिएर कठिन अवस्थामा पनि साथ दिएका गुरुङले ११औं महाधिवेशनमा पनि आफू सुरक्षित हुने ठाउँ खोजे । ओलीसँगै सत्ताच्युत गर्ने जेनजी आन्दोलन र त्यसपछि बनेको सरकार गलत थियो भन्ने भाष्य स्थापित गर्न गुरुङ पनि लागिपरिरहेकै छन् ।
पार्टी रुपान्तरणको खाँचो रहेको तर अहिले ओलीकै आवश्यकता रहेको बताउँदै उनले ओलीले नै छुट्याइदिएको पदमा चित्त बुझाए पनि प्रतिनिधिको लोकप्रिय मत लिएर उनले पार्टी जीवनको भविष्य हेरेको नेताहरूको विश्लेषण छ ।
पृथ्वीसुब्बा गुरुङले आफू महासचिव हुने नत्र पोखरेल नै दोहोरिने समेत निकटस्थहरुसँग बताउने गरेका थिए । आफूसँगै प्रतिस्पर्धी देखिएका उपमहासचिव ज्ञवालीलाई उछिनेर जान दिने पक्षमा गुरुङ थिएनन् । त्यसको समेत फाइदा उठाउँदै पोखरेल नै महासचिवमा दोहोरिए ।
गण्डकीमा पछिल्लो दशकमा ओली पक्षकै दोस्रो तहका नेताहरूको गुटको राजनीति मौलाएको छ । उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङहरूको एक समूह र महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली निकट खगराज अधिकारी समूहको प्रतिष्ठाको लडाइँ गण्डकीमा देखिँदै आएको थियो ।
यो महाधिवेशनमा गण्डकीका गुरुङ उपाध्यक्ष, सचिवमा खगराज, पद्मा अर्याल सबै ओली निकट नै हुन् र उनीहरू अब एक भएको सन्देश दिन खोजेका छन् । उनीहरू तीनै जनाले विजयी प्राप्त गरेर ओली कित्तामा बलियोसँग उभिए पनि प्रदेश र जिल्लामा भने एक भइहाल्ने स्थिति अझै देखिँदैन ।
गण्डकीको मुख्यमन्त्री हुँदादेखि सुरु भएको गुटको राजनीतिमा गुरुङले आफ्नो वर्चश्व बढाउँदै लगेका थिए । एमाले गण्डकीको चुनावमा ओलीसहित महासचिव पोखरेलहरूले इच्छाएका व्यक्तिहरूलाई समेत पाखा पार्दै गुरुङको प्यानलले लगभग क्लिनस्वीप नै गरेको थियो । यो महाधिवेशनले एमालेभित्र उनलाई अझ सर्वस्वीकार्य नेताको रूपमा स्थापित गरेको नेताहरूको भनाइ छ ।
ओलीले संसद् विघटन गर्दा र नेकपा विभाजन भएर एमाले–माओवादी अलग्गिएर आफू नेतृत्वको गण्डकी प्रदेश सरकारसमेत ढल्दा गुरुङ ओलीसँग सहमत थिएनन् । तर अनौपचारिक रूपमा असन्तुष्टि जनाए पनि खुला विरोध भने गरेनन् ।

संघीयतालाई बलियो बनाउने, प्रदेश सरकारहरूलाई जनतासँग जोडेर यो व्यवस्थालाई प्रभावकारी बनाउने सन्दर्भमा मुख्यमन्त्री हुँदा उनले उल्लेख्य प्रयास गरेका थिए । उनी फेरि प्रदेशमै झरेर मुख्यमन्त्री हुने चाह राखेका थिए ।
गुटगत प्रतिस्पर्धी खगराजले उछिन्दै प्रदेशको टिकट पाउँदा उनी लमजुङबाट माओवादी सचिव देव गुरुङलाई हराउँदै संघीय सांसद बने । प्रदेशको मुख्यमन्त्री हुँदा ओलीलाई नै चुनौती दिएकाले सम्बन्ध टाढिएको भन्ने धेरैको आकलन थियो । हुन पनि माओवादी नेतृत्वमा सरकार बन्दा २ पटकसम्म चर्चा भएर पनि गुरुङले अवसर पाएका थिएनन् ।
पछिल्लो पटक देशकै दुई ठूला दल मिलेर सरकार बन्दा ओलीले गुरुङलाई सञ्चार मन्त्री र सरकारकै प्रवक्ता बनाएका थिए ।
ओलीको निकट र विश्वास पात्र भएको पुष्टि गर्दै गुरुङले पनि ओलीकै शैलीमा अभिव्यक्ति दिने गरेका थिए । सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिँदा होस् वा विधेयकहरूमा छलफल हुँदा होस् उनको अभिव्यक्ति आलोचित बन्न पुगेको थियो र उनले रोस्टममै उभिएर माफीसमेत मागेका थिए ।
नेतृत्वसँग फरक मत राख्ने, ओलीलाई चुनौती दिने विद्रोही नेता सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र जेनजी आन्दोलनका क्रममा भने ओलीको अनुयायी जस्तो मात्रै देखिएको भन्दै पार्टीभित्र र बाहिरसमेत उनको आलोचना भएको थियो ।
पहिचान सहितको संघीयताको मुद्दाको अगुवाइ गर्दै २०६९ सालमा पार्टी नेतृत्वसँग फरकमत राख्दा गुरुङलाई तत्कालीन एमालेका उपाध्यक्ष अशोक राईसहित प्रभावशाली जनजाति नेताहरूले साथ दिएका थिए । तर त्यो फरकमत बढ्दै जाँदा अशोक राईहरूले अर्कै पार्टी गठन गर्न पुगे ।
जातीय मामिलामा साथ दिने पासाङ शेर्पालगायत धेरै नेताले त्यसबेला एमाले छाडे । पीएस गुरुङ भने पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भन्दै बसे र अहिले ओलीकै विश्वास पात्र हुँदै बसेका थिए । पहिचानको आन्दोलनको मुद्दा उत्कर्षमा पुग्दा अशोक राईहरूलाई निकालेर पार्टीमा ‘भाग खाएको’ आरोपसमेत उनलाई लागेको थियो । गुरुङले भने एमालेमै बसेर पहिचानको आन्दोलनलाई स्थापित गर्न सकिने बताउने गरेका थिए ।
अधिकार, शक्ति बाँडफाँट गरेर संघीयतालाई बलियो बनाउने सन्दर्भमा धेरै अध्ययन गरेका र राम्रोसँग विश्लेषण गर्नसक्ने नेताको परिचयसमेत उनले बनाएका छन् । तर संघीय मन्त्री भएपछि भने संघीयतालाई बलियो बनाउने सन्दर्भमा समन्वय नगरेको आरोप प्रदेश सरकारकै नेतृत्वले उनलाई लगाउने गरेका थिए । गुरुङले भने संघीयताका निम्ति फरक ढंगबाट अहिले पनि लडिरहेको तर शैलीमात्रै फेरिएको बताउने गरेका थिए ।
कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ भन्ने नेतामध्येकै एक नेता हुन्, उनी । केन्द्रमा एमाले–माओवादीको एकता नहुँदै २०७४ को स्थानीय तहको निर्वाचनमा लमजुङका स्थानीय तहमा उनीहरूकै जोडबलमा एकता गरेका थिए ।
२०१४ साल फागुन १ गते तत्कालीन गिलुङ गाविस–८, टक्सार (हाल क्होलासोंथार गाउँपालिका–९, टक्सार, लमजुङ) मा जन्मेका गुरुङले विज्ञानमा स्नातक गरेका छन् । २०३४ सालदेखि तत्कालीन मालेको सदस्यता लिएका उनी शिक्षणसँगै २०४० सालमा राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष बनेका थिए ।
२०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएका उनी सुरुदेखि नै हक्की स्वभावका थिए । शिक्षणकालमै पञ्चायतविरुद्धको आन्दोलन छेडेका गुरुङ पटक–पटक जेल परेका छन् ।
एमाले पार्टीभित्र हस्तक्षेप र आफ्नो हैसियत बढाउँदै लगेका गुरुङ निर्वाचन क्षेत्रमा भने कहिल्यै बलियो देखिएनन् । सातौं पटक संसदीय चुनाव लड्दा उनले ४ पटक त हारको सामना गरेका छन् । ३ पटक चुनाव जित्दा ३ पटक नै संघीय मन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न सफल भए ।
कांग्रेसको दबदबा रहेको लमजुङबाट उनी राष्ट्रिय राजनीतिको केन्द्रमा उकालो त चढिरहेका छन् तर पटक–पटक निर्वाचनमा हार खेपेको अनुभव पनि छ । पटक–पटक आदिवासी जनजाति आन्दोलनको नेतृत्वसमेत गर्दै पार्टी पदाधिकारीमा प्रवेश गरेका उनले यो समुदायको प्रतिनिधित्वसमेत गरिरहेका छन् ।
समयलाई चिन्न र ठिक ढंगले विश्लेषण गर्नसक्ने हक्की र विद्रोही नेताको परिचय बनाएका गुरुङ भदौ २३ र २४ को जेनजी आन्दोलन भने स्वीकार्ने पक्षमा छैनन् ।
जेनजी आन्दोलनले नै उत्पन्न गराइदिएको विशेष परिस्थितिले उनी केपीको सारथि त बनेका छन् तर उनको यो निर्णय र पदीय हैसियतले एमाले र देशलाई कतातिर लैजान्छ त्यो भने हेर्न बाँकी रहेको उनलाई जिताउने महाधिवेशन प्रतिनिधिहरूको पर्खाइ छ ।
प्रतिक्रिया 4