३ पुस, विराटनगर । नेकपा एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष उम्मेदवार बनेका गुरु बराल पराजित भएका छन् । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको स्थानमा १७ साउन २०८१ मा उपाध्यक्ष मनोनीत भएका बराल ११औं महाधिवेशनमा सोही पदका उम्मेदवार थिए । पार्टीभित्र बलियो गुट संस्थापन समूहबाट उम्मेदवार बनेका उनी पराजित भए । इतर पक्षका गोकर्ण विष्ट उपाध्यक्ष निर्वाचित भए ।
पाँचौं महाधिवेशनदेखि केन्द्रीय सदस्यमा उठिरहेका उनी पहिलो पटक पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवार बनेका थिए । दुवै जिम्मेवारीमा उनी पराजित भए ।
गुरु बरालको पराजयको श्रृङ्खला यो नौलो होइन । उनी पटक-पटक पराजित भएका छन् । कतिसम्मम भने गोलाप्रथा गर्दा पनि उनी अभागी देखिन्छन् । १२ माघ २०७८ मा भएको राष्ट्रिय सभा निर्वाचनमा बराबरी मत भएपछि गोला तान्दा झापाका गोपाल बस्नेत निर्वाचित हुँदा बराल पराजित भएका थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निकट उनलाई २०७९ सालको प्रदेश सभा निर्वाचनमा कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गरी प्रदेश सभा उम्मेदवार बनाउने गृहकार्य भयो । तर, जित्ने सम्भावना नभएपछि मोरङ क्षेत्र नम्बर ६ (१) बाट उम्मेदवार बन्न पछि हटे ।
आामचुनाव लगत्तै एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य हुँदा बरालको राष्ट्रपतिको उम्मेदवारका रूपमा पनि उनको नाम अघि आयो । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सहयात्रा तोडेर कांग्रेससँग सहकार्य गरेपछि एमालेबाट राष्ट्रपति निर्वाचित हुने सम्भावना समाप्त भयो । एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङ रामचन्द्र पौडेलसँग पराजित भए ।
एमालेमा बराल वैचारिक नेताको रूपमा परिचित छन् । तर लामो भाषण गर्ने भएका कारण कार्यकर्ता उनको सम्बोधन सुन्न रुचाउँदैनन् । २०३० सालदेखि राजनीतिमा रहेका ६८ वर्षीय बराल २०४६ सालको आन्दोलनमा एमालेको मोरङ सचिव थिए । २०५१ सालपछि २०७८ सालसम्म बरालले पाँच पटक राजकीय जिम्मेवारीका लागि चुनाव लडेका छन् ।
पहिलो पटक २०५१ सालको मध्यावधि निर्वाचि यता उनी निरन्तर पराजित छन् । १२ माघ २०७८ सालमा राष्ट्रिय सभा निर्वाचनमा बराबरी मत आएपछि गोला हुँदा झापाका गोपाल बस्नेतसँग पराजित भएका थिए ।
बराल २०५६ सालमा क्षेत्र नम्बर ६ बाट पराजित भए । २०६४ सालको पहिलो संविधा सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ८ बाट उनी माओवादी उम्मेदवार गोपी अछामीसँग पराजित भए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर-३ मा कांग्रेस उम्मेदवार दिलीप गच्छदारसँग पराजित भए । हारिरहने भएका कारण २०७४ सालको निर्वाचनमा उनले टिकट नै पाएनन् ।
एमाले नेता गिरेन्द्र कार्कीका अनुसार बराल पाँचौं महाधिवेशनदेखि केन्द्रीय समितिमा छन् । सातौं महाधिवेशनमा केन्द्रीय सदस्य पराजित भए पनि उनी पछि मनोनीत भएका थिए । आठौंमा केन्द्रीय सदस्य जितेर पोलिटब्यूरो सदस्य बने । ९औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेर स्थायी कमिटी सदस्य मनोनीत भए । उपाध्यक्ष मनोनीत हुनुअघि पनि उनी स्थायी कमिटी सदस्य नै थिए ।
जनअनुमोदित नभए पनि पार्टी राजनीतिमा बराल प्रभावशाली छन् । २०७९ सालको स्थानीय र प्रदेश सभा निर्वाचनमा मोरङमा टिकट बाँड्ने जिम्मेवारी उनलाई नै थियो । नेताहरूका अनुसार २०४६ देखि २०६४ सालसम्म पार्टी राजनीतिमा प्रभावशाली रहेका बराल त्यसपछि भने विस्तारै ओझेलमा परेका थिए । उपाध्यक्षमा मनोनीत भएपछि एक्कासि माथि आएका उनी पराजित भए ।
‘निर्वाचन दाई (गुरु बराल) लाई फाप्दैन जस्तो छ, हिजो राष्ट्रिय सभामा गोला प्रथामा हार्नुभयो, जित्ने निश्चित हुँदाहुँदै पार्टी उपाध्यक्षमा पनि पराजित हुनुभयो,’ उनीसँग निकट रहेका एमाले विराटनगरका एक नेताले भने, ‘संसदीय राजनीतिमा २०५१ साल यता उहाँको हारको श्रृङ्खला रोकिएको छैन, पार्टी पदाधिकारीमा पनि हार्नुभयो ।’
प्रतिक्रिया 4