+
+
Shares
कथा :

मैले मान्छे काटें, मलाई थुन्नुस !

‘म चाहिँ व्हाँ दुबईको ४५ डिग्रीको घाममा घर, स्वास्नी परिवार सम्झेर बेल्चा चलाउने, तँ चाहिँ दुनियाँ भरको रामरमिता हेर्दै हिँड्ने !

मोहन थापा मोहन थापा
२०८२ कात्तिक २२ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जूनेली र सानुमायाले शिवरात्रीको दिन बाटोमा जबरजस्ती करणीको शिकार भएको ४५ दिनपछि प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
  • मुलुकी ऐन अनुसार ३५ दिनभित्र उजुरी नदिएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाउन नसकेको छ।
  • जूनेलीले भद्रेको घरमा गएर हँसियाले प्रहार गरी भद्रेको मृत्यु भएपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

‘अब के गर्नी तो केटी ?’ सानुमाया ।

‘गार्हो भओ सानु मलाई त ! बिर्सन्छु, केही नभाको जस्तो गर्छु भनेको एकदमै गार्हो भओ’ पश्चिमतिरको डाँडामा अस्ताउन लागेको घाम हेर्दै जूनेली । दुईजना साथीहरू गाउँ माथिको जंगलबाट गाउँ झर्ने चौतारीमा बसेका छन् । दुईवटा घाँसको भारी चौतारीमा बिसाइएको देखिन्छ । पश्चिमतिरको डाडाँमा घाम अस्ताउन लागेको थियो ।

‘भोलि श्रीमान् आउँदैछन्, के गर्नी होला ..भनौं कि के गरौँ ! भनौं भने मलाई नै दोष देलान् जस्तो लाग्छ, नभनौँ भने मुटु फुट्ला जस्तो भैसको, मनभरि त्यो घटनाले अनेक कुरा खेल्छ, झलझली त्यो पापीको अनुहार याद आउँछ, मुटु जल्छ, मुठ्ठी आफैँ कसिन्छ, रिस घिनले चिटचिट पसिना आउँछ, यसरी त म कसरी बाँच्न सक्छु भन् त ?’ हँसियाले भुइँलाई क्वाक्दै जूनेली ।

‘यता हेर् त ! मेरो संगी ! तेरो कुनै गल्ती छैन, गल्ती गर्ने त त्यो पापी हो, मर्ने बाँच्ने कुरै नगर है ! तेरो मनमा त्यति साह्रो हावाहुरी चलेको छ भने भोलि भन् तेरो श्रीमानलाई उसले पक्कै पनि तेरो कुरा बुझ्नेछ, तर खोइ केटी ! छोरामान्छेहरू के भन्नु तलाई पनि था भाकै कुरा हो कर’ सानुमाया ।

दुवै जना गाउँतिर हेर्दै टोलाउँदै बसे । केही बोलेनन्।

‘यत्रो ४०/४५ दिन भैसको, मैले केही नभाको जसरी बिर्सिन प्रयास गरेकै हो, कतिपय कुरा नबोलेकै नभनेकै राम्रो भनेर बसेकै हो, अहँ ! सकिदैन रैछ केटी, मैले अब सक्दिनँ’ मजेत्रोले आँसु पुछ्दै जूनेली ‘मलाइ त आजकल छोरामान्छे देखैर नि घिन लाग्छ ।’

‘भोलि सबै भन्छु श्रीमान् आएपछि, जे होलाहोला, फेरि भनिन भने यत्रो कुरा लुकाकोमा मलाई पाप पनि लाग्छ’ एकछिनको मौनता पछि जूनेली, ‘कि पुलिसकोमा जाम केटी ! तलाई सार्है गार्हो भाको छ भने, जे गर्छ पुलिसले गर्छ, तलाई तेस्तो गर्ने मान्छे छाडा राँगो जस्तो घुमिराछ होला कर अझै पनि, अरूका चेलिबेटी, अरू छोरी मन्छेलाई नि बिगार्छ तेस्ले, अइले इन्ड्या गए नि कुनै दिन आउला नि !’ जूनेलीको कपाल सुमसुम्याउँदै सानुमाया ।

‘भोलि श्रीमानलाई भन्छु, पुलिसकोमा जाने कि के गर्ने त्यै अनुसार हुन्छ’ आँखाबाट गालातिर झरेको आँसु पु्छ्दै जूनेली । आँखा सुख्खा भैसकेका थिए । जूनेलीको अनुहार ढृड देखियो ।

‘लौ ! विचार गरेर निर्णय गर् है संगी ! जिन्दगी धेरै लामो छ, म त सधैं तेरो लागि उभिनेछु कर’ उठ्दै सानुमाया, ‘फेरि पुलिसले नि यत्रो ४०/४५ दिनसम्म उजुरी किन नगरकेो भन्ने होला, के भन्ने ?’

‘जे हो त्यै भन्ने, समाजले आइमाइलाई नै दोष दिने हो कर’ उठ्दै जूनेली।

दुवै जना घाँसको भारी बोकेर ओरालो लागे । घाम डुब्न लागिसकेको थियो ।

जूनेली र सानुमाया दुवै जना छिमेकी । जूनेली हरिकुमारको श्रीमती, सानुमाया गोपालको श्रीमती । घरनजिकै र उमेर मिल्ने हुनाले दुवै जना अहिले आएर एकदमै मिल्ने साथी । छुट्टाछुट्टै गाउँमा माइती भई हुर्केको भए पनि वर्षौदेखि चिनआएका जस्ता । जूनेलीको श्रीमान् दुबई, सानुमायाको श्रीमान मलेसिया । दुई वर्षपछि जूनेलीका श्रीमान घर आउँदै थिए ।

आखिर जूनेलीका श्रीमान् आइपुगे भोलिपल्ट गोधुली साँझमा । जूनेलीका श्रीमानले बाबालाई घडी, आमालाई सारी ल्याइदिएका रहेछन्। जूनेलीले आफ्नै श्रीमानलाई हेर्न सकिरहेकी थिइनन्, पछ्यौरीले मुख छोपेर भान्सामा कामै नभए पनि काममा ध्यान भएजस्तो गरिन् । भान्सापछि रातको चिन्ता थियो जूनेलीलाई । समयलाई रोक्न कसले पो सक्छ र ! भान्सा पछिको समय पनि आइहाल्यो । घरसँगै पिँढीमा काठले बारेर कोठा बनाइएको थियो ।

‘तिम्लाई लाउ यो रातो रङको सारी ल्याइदेको छु कर, तिम्लाई खुब राम्रो देखिन्छ’ झोलाबाट रातो रङको सारी निकाल्दै हरिकुमार। जूनेलीले सारी लिइन्, मन नै खुसीनभएपछि सारीले के खुसीदेओस । भाव विहिन जूनेलीले सारी लिएर आफ्नो बाकस खोलेर राखिन्।

हरिकुमार खाटमा पल्टियो, सँगै जूनेली पनि । दुई वर्षपछि भेट भएको हरिकुमारले जूनेलीलाई सुमसुम्याउन थाल्यो । एकछिन त जूनेली मौन बसिन्। बिस्तारै नमिठो लाग्यो आफ्नै श्रीमानको स्पर्श पनि ।

‘मेरो महिना वारी भाको छ’ अर्को तिर फर्किएर जूनेली । ‘ओहो ! आजै हुनुपर्ने’ हरिकुमार’ केइ छैन दुई महिनाको छुट्टी छ, तिम्लाई माया गर्ने दिन कति छ कति’

दुवै जना मौन पल्टिए ।

‘सुन्नुस न एउटा कुरा नभनी भाछैन’ धेरै बेरको मौनतापछि जूनेली । ‘भन’ आँखा चिम्लिएको हरिकुमार आँखा बन्दै गरेर भन्यो ।

‘म र सानुमाया शिवरात्रीमा रतनमारे राम हेर्न गाथेम्, फर्किने बेलामा त्यस्तै ८/९ बजेको थियो’ भन्दै रोकिइन्। जूनेलीको आँखाबाट आँसु बग्न थालिसकेको थियो । ‘अनि !’ हरिकुमार आँखा खोलेर जूनेलीलाई हेर्दै ।

‘अनि …’ भक्कानो छोडेर रोइन् जूनेली । ‘के भओ अनि भन न’ हरिकुमार उठेर जूनेलीलाइ हेर्दै ।

‘अनि बाटोमा त्यो तलको भद्रे र भिमे पनि रतनमारेबाट आइरका रैछन्, बाटोमा हाम्लाई जबरजस्ती गरे’ उठेर भित्तातिर फर्किएर जूनेली । ‘के जबरजस्ती ?’ झस्किदै हरिकुमार।

‘मलाई भद्रेले सानुमायालाई भिमेले बाटोबाट जबरजस्ती कोदोबारीमा तानेर लगे, खै के गरिर हो सानुमाया त उम्किएर भाग्न भ्याइछन् कर, अनि दुवै जनाले मलाई समाते, म भाग्न पाइनँ, भद्रेले मलाई जबरजस्ती गरो’ आँसु पुछ्दै जूनेली । हरिकुमारले अब भने टाउको समात्यो । के गरौँ के नगरौँ भयो ।

‘मलाई किन नभनेको त यत्रो समयसम्म’ खाटबाट उठेर भुइँ हेर्दै यता उता हिँड्दै हरिकुमार। ‘मलाई निकै गार्हो भयो, कस्लाई भन्ने कसरी भन्ने ? भनेपछि के होला ? यो कुरा सानुमाया र मलाई मात्र था थियो, फेरि सबैले हामी आइमाइलाई नै दोष दिने त होला, हजुर पनि छोरामान्छे त हो, दोष मलाई नै आउने होला भनेर भन्न सकिनँ, आज हजुर आउने भएपछि मैले भन्नैपर्छ, हजुरलाई नभने कस्लाई भन्ने ! लुकाएँ भने त पाप लाग्छ भनेर हजुरलाई भन्न सकेँ’ एकै सासमा भनिन् जूनलीले ।

‘त्यो मुर्दार भद्रे काँ छ, अइले गएर काट्छु तेस्लाई’ यताउता केही खोजे जस्तै गर्दै हरिकुमार । ‘घटना भको भोलिपल्टै इन्ड्या गयो रे, आछैन अझै’

‘अनि त्यो बेला बुहारी मान्छे किन राति-राति फर्केको त रामबाट, समयमै आउनुपर्थेन ? उज्यालैमा आको भए घटनै हुन्थेन’ हरिकुमार खाटमा बस्दै ।

‘आउदा आउदै अँध्यारो भओ’

रातको १०/११ बजिसकेको थियो । जूनेलीको कोठाको बत्ती अझै निभेको थिएन । दुई जोडी सुत्ने खाटमा बसेर अझै गफ गर्दै थिए । हरिकुमारको घर आउँदाको थकान हराएर निद्रा पनि हराइसकेको थियो ।

‘तिमीहरूको पनि गल्ती नै थ्यो जस्तो लाग्यो मलाई त पक्कै नि, पक्कै जिस्किँदै मस्किँदै आयौ हौला अनि जिस्किँदा यसले त स्वीकृति दियो भन्ने भओ होला त्यो भद्रेलाई’ हरिकुमार।

‘एउटै गाउँको भको हुनाले अब बोलीचाली त हुने नै भयो तर हाम्ले तेस्तो नचाहिने बोलीचाली केइ गरे थेनम् कर’ जूनेली ।

‘भओ अब सबै कुरा सुनेँ मैले, सुतम् अब, म तल सुत्छु तिमी त्यैँ सुत’ भन्दै हरिकुमारले खाटको तन्ना निकालेर तल भुइँमा बिछ्यायो। दुईटा सिरक र सिरानी मध्ये एउटा एउटा लिएर तल भुइँमा राखेर पल्टियो । जूनेलली बत्ती निभाएर खाटमा पल्टिइन् । खासमा उनको महिनावारी भएको थिएन । उनको श्रीमान समेतमा उनलाई पुरुषहरूको अहंताको गन्ध आएको थियो ।

‘अब मैले के गर्ने ?’ अँध्यारोमै जूनेलीको रुन्चे स्वर सुनियो ।

‘तिमी भन न बरु ! अब मैले के गर्ने…..’ हरिकुमारको त्यस्तै मधुरो स्वर सुनियो ।

त्यसपछि कोठाबाट अन्य आवाज आएन । निदाउन चार थान आँखाहरू बन्द गरिए तर निद्रा दुवैजनालाई लागेन । रात त्यसरी नै बित्यो ।

……………….

बिहान उठेर घर धन्दा गर्दा हरिकुमार निदाइरहेको थियो । घाम झुल्किएपछि जूनेलीले चिया लगिदिइन्। ‘उठ्नुस, घाम झुल्किसको, चिया ल्याइदिएकी छु’ जूनेली ।

‘त्यैँ राख्देउ’ आँखा नखोली हरिकुमार ।

जूनेलीले चिया खाटको डिलमा राखेर कोठाबाट बाहिर निस्किइन् । गोठमा गएर भैँसीलाई घाँस हाली कोठामा आउदा हरिकुमार बिस्तरामा थिएन । चिया खाटको डिलमै थियो। हेरिन्, चिया जस्ताको तस्तै थियो । चसक्क भयो ।

दिउँसो खाना खान पनि आएन । जूनेली पनि खान मन छैन भनेर खाना नखाइ घाँस काट्न हिँडिन्। आजै जूनेलीको सानुमायासँग भेट भएको थिएन । सानुमाया सासुसँग मिलमा धान कुट्न गएकी रहिछिन् ।

घाँस काट्न बनपालातिर पाइला स्व-स्फूर्त रूपमा चल्दै थियो तर केही पनि अनुभव गरिरहेकी थिइनन्, जूनेली । दिमाग पूरै शून्य भएको थियो । बनपाला पुगेपछि मात्र झसङ्ग भइन्। खरबारीमा थचक्क बसिन् । अगाडि खनियाको रुख थियो ।

रुखका हाँगाहरू थिए । जूनेलीसँग नाम्लो थियो । हाँगामा हेरि रहिन् अनि नाम्लोमा हेरिन् । आँखाबाट बरर आँसु झर्यो । भक्कानो छोडेर रोइन् । एकलासको बनपाला थियो, सुन्ने देख्ने कोही थिएन । हरिकुमारको याद आयो । प्रेम विवाह थियो, एक अर्काको माया लागेर एक भएको । हरिकुमार सम्झेर माया पो लाग्यो । बिहानदेखि काँ गको होलान् ? खाना पनि नखाएर हिँडेछन्, मेरो चिन्ताले विचरा भन्ने लाग्यो । अब भने चाँडोचाँडो घर जान मन लाग्यो ।

उठेर अलिक पर गई भुइँ घाँस काटिन्, भारी पुर्‍याएपछि घरतिर छिटो छिटो पाइला चलाइन् । साँझ भइसकेको थियो । हरिकुमार अझै घरमा आएका थिएनन्। सासु आमा भान्साको काम गर्दै थिइन्। ससुरा बा दूध दुहुन गोठमा गएका थिए ।

‘हरिकुमार काँ गयो ? तिमीहरूको झगडा त भको थिएन न नि नानी ?’ सासु आमा । ‘थिएन आमा ! खै काँ गाको होला ? मलाई नि था छैन’ नजर लुकाउँदै जूनेली ।

एकछिनमा ससुरा बा आए दूध लिएर । सासु आमाले दूध तताइन्। भान्सा तयार भइसकेको थियो । तीन जनाले खाए । भाँडा सबै धोएर आफ्नो कोठामा गइन् जूनेली ।

कोठामा गएर ढल्केकी मात्र थिइन्- ‘आमा ‘भन्दै बोलाएको हरिकुमारको आवाज सुनिन् । भान्सामा आमा छोरा कुरा गरेको मधुरो आवाज मात्र सुनिन् । के कुरा हो ! स्पष्ट सुनिएन ।

एकछिनमा जूनेलीको कोठाको ढोका खुल्यो । ढोकामा हरिकुमार थियो । रक्सीले लठ्ठ । पहिले यसरी कोठामा आउँदा जूनेलीले गाली गर्ने गर्थिन्। यसपाली त उनी केही बोल्न पनि सकिनन्।

‘म चाहिँ व्हाँ दुबईको ४५ डिग्रीको घाममा घर, स्वास्नी परिवार सम्झेर बेल्चा चलाउने, तँ चाहिँ दुनियाँ भरको रामरमिता हेर्दै हिँड्ने ! अरू केटा खेलाउदै हिँड्ने ! अझै मेरै घरमा बसिराखेको छस् तँ, साला मार्दि्न्छु तँलाई’ खाटमा एक लात्ती हानेर यताउता नाच्न थाल्यो हरिकुमार ।

जूनेली कोठाको कुनामा पछ्यौरीले मुख छोपी घोप्टो परिसकेकी थिइन्। धरधरी आँसु आइरहेको थियो । रोदनको आवाज भने आएको थिएन । ‘के भओ तिमरूलाई हँ ! किन कराको ?’ आमा कोठामा आउँदै ।

‘किन हल्ला गरेछस् केटा तँ ? जाँड खाएर आएर यै हरिगति देखाउन घर आकोस तँ ?’ हरिकुमारका बुबा पनि आए । ‘तपाइहरूलाई थाहै छैन ह्याँ के के भाछ ? यसलाई म आज मार्छु, खुकुरी काँ छ च्वाट्टै पार्छु’ भन्दै हरिकुमार भान्सातिर दौडियो, हरिकुमारको बाआमा पछिपछि ।

खोइ ! के भयो जूनेली जुरुक्क उठेर कोठाबाट बाहिर निस्किइन् । अँध्यारो भएता पनि बाटो थाहा थियो । मूल बाटोमा पुगिन् । घरबाट हरिकुमार कराइरहेको आवाज आइरहेको थियो । मूलबाटोमा पुगेपछि जूनेली अड्किइन । कहाँ जाने ? एकैछिनमा पाइला सानुमायाको घरतिर तेर्सियो । सानो ढिक रहेछ, ढिकबाट खसिन्, पछारिइन्, तल पुगिन् । कान्लाको काँडाले हातमा बेसरी कोतरेछ, चहर्‍यायो तर पनि उठेर घाउको मतलबै नगरी सानुमायाको घरमा पुगिन्।

सानुमायाको पनि जूनेलीको जस्तै कोठा थियो । पिँढीमा काठले बारेर बनाइएको कोठा । ढोकामा पुगेर थचक्क बसिन् । सुस्केरा लिइन् । चहर्‍याएको, कोतारिएको घाउमा फुकिन् । जाडो पो भएर आयो । पछ्यौरी त लडेकै ठाउँमा पो बिर्सेर आएकी रहिछिन् । उठेर ढोका बिस्तारै धकेलिन्, भित्रबाट बन्द थियो । ‘सानु..ओइ ! सानु’ बिस्तारै बोलाइन् । ढोका खुलेन ।

हातले बिस्तारै ढकढकाइन्।

‘को हो ?’ घरभित्रबाट सानुमायाको सासु पो हतार हतार ढोका खोलेर बाहिर आइन् । ‘ओहो ! बुहारी के भओ ? काँ हिनेको ? लौ हेर मजेत्रो पनि नओढेर हिँडेछौ’ पिँढीको बलेको बिजुली बत्तीको प्रकाशमा कोतारिएको घाउ सानुमायाको सासुले देखिनन्।

जूनेलीले अनुहार रोलारोला जस्तो गरी केही नबोली औँलाले सानुमायाको कोठातिर देखाइन्। ‘ओई नानी ! हेर् त ! जूनेली कस्तो भएर आइछिन्, ढोका खोल त ‘सासु आमा सानुमायाको ढोकामा पुगिन् ।

ढोका खुल्यो । सानुमाया निस्किइन्। ‘लौन नि ! के हालत बनाएर हिँडेको केटी ! भित्र आइजा, के भओ भन् त ?’ सानुमायाले जूनेलीलाई अँगालो हालेर भित्र लगिन्।

केही हराएजस्तो, शरीर मात्र भएको जस्तो जूनेली सानुमाया सुत्ने खाटको छेउमा बसिन् । ठूलै चोट परेको जस्तो देखिन्थ्यो तर जूनेली रोइरहेकी थिइनन्, टोलाइरहेकी थिइन्।

‘त्यै भयो सानु ! श्रीमानलाई आकै दिन सबैकुरा मैले भने त्यसपछि भोलिपल्ट बिहानै घरबाट हिँडेको मान्छे एक्कासी रक्सी खाएर आएर मलाई नै सबै दोष लगाए, खुकुरीले काट्छु भन्दै भान्सातिर गाको बेलामा म घरबाट हिँडे’ ‘अनि यो हातमा के भाको नि ? मजेत्रो खै ?’ सासु आमा । ‘ए..मूलबाटोबाट यता आउने बेलामा ढिकबाट खसेँ, मजेत्रो पनि त्यहीं छुटेछ मैले त ख्याल नै गरेछु’ जूनेली । ‘भाको के हो भन् त सानु तँ, मैले त केइ अर्थ पाइन ‘सासु आमा ।

सानुमायाले सबैसबै भनिन्। सासु-आमाको अनुहारको रङ्ग बदलिँदै गयो । ‘आम्मै तेस्तो पाप गरेछ त्यो मुर्दारले …पहिल्यै पुलसिकोमा जानुपर्ने …हेर हेर कठै बरा यसको हालत अहिले….आउ उता भान्सामा खान पनि खा छैन होला’ सासु आमा । ‘भयो, मैले खाना खाईसकेँ।’ ‘अब के गर्छौ त नानी ?’ सासु आमा । ‘अब भोली पुलिसकोमा जाने..यत्रो भै सकेपछि, भोलि बिहानै जाने हामी रतनमारे चौकी’ सानुमाया ।

जूनेली अझै टोलाइरहेकी थिइन् । केहि बोलिनन्। ‘लौ लौ ! तेरो ससुरालाई भन्यो भने के-के भन्ने हो ! म केइ भन्दिनँ अइले भोली बिहान तिमीहरू दुईजना जाऊ, अइलेलाई सुत’ भन्दै सासु आमा कोठाबाट निस्किइन्। ‘लौ त्यै गरम केटी, सुतम् अब अरू कुरा दिमागमा नखेला, अब जे गर्छ पुलिसले गर्छ’ भन्दै सानुमायाले बत्ती निभाइन्।

…………….

‘के थ्यो होला हजुर ?’ रतन मारे प्रहरी चौकीको गेटमा बसेको प्रहरी ।

जूनेली र सानुमायासँग उत्तर नै भएन । कसरी भन्नु । गेटमा उभिएको प्रहरी पनि पुरुष नै थियो । ‘यिनी मेरो सँगी हुन्, यिनी माथि नराम्रो काम भाछ रिपोर्ट लेखाउन आको ‘धेरै बेरपछि सानुमाया ।

‘के नराम्रो काम ?’ प्रहरी ।

फेरि नाजवाफ भए जूनेली र जून कुमारी । पछ्यौरीले मुख छोपी यताउता हेर्न थाले । ‘ए भाइ ! को हो ? भित्र पठाइदेऊ ‘चौकीको कम्पाउण्डमा कुर्सीमा घाम तापेर बसेको प्रहरी । ‘ल जानुस ! जे हो ! असई सापलाई भन्नुस’ गेटको प्रहरी ।

डर माने झैँ, लाज माने झैँ गरी दुवै जना असई सापको अगाडि पुगे । ‘बस्नुस’

संकोच मान्दै दुवैजना असई सापको अगाडि रहेको बेन्चमा बसे । ‘लौ भन्नुस नानी हो ! के भाको हो ?’

एक-अर्काको अनुहारमा हेर्दै दुवैजना केही बोल्न सकेनन् । ‘यिनीमाथि जबरजस्ती नराम्रो काम भयो’ केही बेरपछि सानुमायाले हिम्मत गरिन् । ‘के नराम्रो काम ?’ असईसाप।

फेरि मुखामुख गर्न थाले । दुवै जनाको अनुहार डर लाज संकोचले रातो भइसकेको थियो । ‘शिवरात्री रामबाट फर्किने बेलामा बाटोमा..’ सानुमाया बोल्दै थिइन् ‘एकछिन’ भन्दै असई सापले रोके । ‘पीडित उहाँ हो, उहाँले भन्नुस ‘डायरीमा टिप्दै असईसाप ।

जूनेलीको अनुहार भुइँतिर थियो ।

भुइँतिरै हेरेर सबै कुरा भनिन् । असईसापले सबै डायरीमा टिपे । ‘अँ ..एउटा कुरा जबरजस्ती करणी भन्छ नानी यसलाई…भकै हो कि ? प्रयास गरेको हो ?’ असईसाप।

भएको र प्रयास गरेको कानूनी परिभाषा जूनेली र सानुमायाले के बुझ्थिन् ! ‘भकै हो ‘भुइँमै हेरेर ढृड स्वरमा जूनेली बोलिन् ।

असई सापले टाउको हल्लाउँदै मोबाइल निकालेर अलि पर गई कसैसँग कुरा गरे । के कुरा गरे जूनेलीहरूले सुनेनन्। ‘त्यो केटा काँ छ अइले?’ असईसाप। ‘घटना गरेको भोलिपल्टै इन्ड्या गओरे’ सानुमाया। ‘अनि नानीको घरको कोइ आछैनन्? ‘ ‘श्रीमानले त झन कुटपिट गरेर लखेटे यसलाई’ सानुमाया नै बोलिन्।

फेरि आँसु बग्यो जूनेलीको । सानुमायाले ओढ्न दिएको पछ्यौरीले पुछिन् । ‘लौ अब ! जिल्ला जानपर्ने भओ नानी हो ! डिएसपी सापले उतै बोलाउनुभाछ ‘गेटको जवानतिर हेर्दै – ‘ए भाइ ! ल ! एकजनालाई तयार हुन भन त तुरुन्तै, जिल्ला जानुपर्ने भयो ‘भन्दै उठेर भित्र गई एकैछिनमा आए ।

अर्को एकजना प्रहरी पनि निस्किए ।

दुई जना प्रहरीसँगै जूनेली र सानुमाया पनि पछिपछि लागे। अँदाजी ४ घण्टाको पैदल यात्रापछि जिल्ला सदरमुकाम सन्धीखर्कको पुगे । जिल्ला प्रहरी कार्यालयको डिएसपीको अफिसमा पुगे । अफिसमा अन्य दुई जना मानिसहरू पनि थिए । ‘जयनेपाल सर ! त्यो दुई जना नानीहरूलाई लिएर आको छु’ असई। ‘भित्र बोलाऊ ‘कुर्सीमा बसेका डिएसपी।

संकोच मान्दै जूनेली र सानुमायाले चप्पल बाहिरै खोलेर भित्र पसे । ‘बस्नुस नानीहरू ‘डिएसपी सापले सोफा तिर इशारा गर्दै । दुवैजना सोफाको छेउमा बसे । ‘के भाको नानी हो ! भन त ! डिएसपी।

फेरि मुखामुख गरे जूनेली र सानुमाया । त्यहाँ भएका अन्य दुइ जना मानिसहरूको उपस्थितिले उनीहरूलाई झनै अप्थ्यारो भै रहेको थियो । ‘अगि नै भनेको हैन र ! ‘जूनेलीले बिस्तारै सानुमायालाई भनिन्। सानुमायाले चुप लाग्ने इशारा गरिन्। ‘हजुरहरूसँ म पछि कुरा गर्छु है त ! एकैछिन हजुर यो सानो काम सकी हाल्छु ‘जूनेली र सानुमायाको मनोभावना बुझेर डिएसपी सापले दुई जना मानिसहरूलाई भने।

‘हुन्छ हजुर भै हाल्छ नि ! ‘भन्दै दुइ जना मानिसहरू कोठाबाट बाहिर निस्किए । ‘अँ…के भाको भन्नुस त नानी हो ! ‘डिएसपी साप ।’मैले अगि नै सबै कुरा भनिसकेँ ह्वाँलाई ‘ जूनेली डिएसपी सापको अनुहारै नहेरी । ‘हैन हैन..त्यो चौकीमा भन्नुभयो यहाँ पनि भन्नुपर्छ नानी !’ डिएसपी साप।

लामो सास तानेर जूनेलीले फेरि सबै कुरा भनिन् । ‘कति पल्ट भन्ने त्यै एउटा कुरा’ बिस्तारै सानुमायालाई जूनेलीले भनिन्। सानुमायाले चर्याप्प जूनेलीको हात थिची चुप लाग्ने संकेत गरिन् । ‘कहिले भाको हो यो ?’ डिएसपी साप ।’शिवरात्रीको दिन’ सानुमाया ।

डिएसपी सापले टेबलमा राखेको टेबल क्यालेण्डर हेरे । ‘भनेपछि २०७२/११/ २७ गते रैछ ! आज २०७३ साल बैशाख १५ गते ४५ दिन भइसकेछ ! अनि नानी किन अहिलेसम्म उजुरी नगरेको त ?’ डिएसपी साप।

सानुमायाले जूनेलीतिर हेरिन् । जूनेलीले भुइँतिर । दुवैजना केही बोलेनन्। ‘असईसाप मुद्दाको सइसापलाई बोलाउनुस त !’ डिएसपी साप। ‘हस हजुर’ भन्दै असईसाप कोठाबाट निस्किए ।

एकैछिनमा ‘जय नेपाल सर!’ भन्दै मुद्दाको सई साप कोठामा भित्रिए ।

डिएसपी सापले पुनः सोही घटना सानुमाया र जूनेलीको अगाडि मुद्दा फाँटका सई सापलाई सुनाए । ‘ ४५ दिन भै सकेछ’ क्यालेण्डेर हेर्दै डिएसपी साप । ‘ओहो ! हजुर मुलुकी ऐनले त ३५ दिन मात्र भनेको छ हदम्याद, ४५ दिन भइसकेको छ भने त उजुरी लिन सकिँदैन’ सईसाप । ‘त्यै भएर मैले तपाइलाई बोलाएको, अब के गर्ने ? नानीहरूको कुरा अनुसार वारदात त भाकै छ, नत्र यी नानीहरू ह्वाँ गोखुङ्गाबाट ह्यांसम्म किन आउथे’ डिएसपी साप गम्भीर देखिए । ‘मुलुकी ऐनले त स्पष्ट भए गरेको मितिले ३५ दिनभित्र नालिस नदिए लाग्न सक्दैन भनेर भनेको छ, खै त के गर्ने होला’ सईसाप ।

‘यस्तो गर्नुस ! नानीहरूलाई सरकारी वकिल सापकोमा लगेर सल्लाह गर्नुस, त्यहाँबाट केही उपाय निस्किन्छ कि !’ डिएसपी साप जूनेलीहरू तिर फर्किइ ‘हेर्नुस नानीहरू यस्तो घटनामा कानुनले के भन्छ भने ३५ दिनभित्र नै उजुरी गर्नुपर्छ, तपाईको घटना भएको ४५ दिन भै सकेछ, हामीले त कानुनबमोजिम गर्ने हो, म तपाईंको पीडा बुझ्छु तर केही गर्न नसक्ने जस्तो पो देखियो, सई सापसँग तपाईहरू वकिल सापकोमा जानुस, सबै कुरा भन्नुस हेरौँ ! केही निस्किन्छ कि ! ‘

सईसाप निस्किए, पछिपछि जूनेली र सानुमाया । जिल्ला प्रहरी कार्यालयबाट नजिकै थियो सरकारी वकिल कार्यालय । बाटोमा एक जना महिला प्रहरी पनि दौडिँदै आई उनीहरूलाई भेट्टाइन्। ‘नमस्कार हजुर ! यी नानीहरूलाई लिएर आको छु’ सरकारी वकिल कार्यालयको अफिसमा कुर्सीमा बसिरहेका मानिसलाई नमस्कार गर्दै सईसाप । ‘उहाँ हाम्रो सरकारी वकिल साप’ जूनेलीहरू तिर फर्किएर सईसाप ।

दुवैजनाले नमस्कार गरे । ‘हजुर ! मश्किल पर्यो जबरजस्ती करणी भएछ तर ४५ दिन भै सकेछ, के गर्ने होला, घटना भकै जस्तो छ, न्याय कसरी दिलाउने होला, उपाय निकाल्न पर्‍यो हजुर ”लौ ! नानी के भको हो ? सबै भन्नुस त ! पहिला कुरा सुनम्’ वकिल साप ।

जूनेली र सानुमाया फेरि मुखामुख गरे। आज एकै दिनमा एउटै कुरा यो सँगै ३ पटक भएको थियो । सानुमायाले जूनेलीलाई बोल्ने इशारा गरिन्। जूनेलीले फेरि सोही घटना त्यसै गरि भुइँमै हेरी सबै भनिन् । वकिल सापले क्यालेण्डेर हेरे, औँला भाँचे, मुलुकी ऐन २०२० पल्टाए, जुरुक्क उठे, झ्यालमा गई बाहिर हेर्दै धेरै बेर सोचे, पुनः कुर्सीमा आई बसे।

‘हेर्नुस नानी ! अब कानुनले ३५ दिन भन्छ, तपाईंको घटना भएको ४५ दिन भइसकेछ, तत्काललाई केही गर्न सकिने देखिएन, म म भन्दा ठूला सरहरूलाई पनि सोध्छु, म खबर गर्छु हजुरहरूलाई केही हुन्छ कि, अहिलेलाई जानुस तपाईहरू ।’ सईसाप तिर फर्किँदै, ‘यस्तो गर्नुस न ! जाहेरी चाहिँ लि राख्नुस न, हेरम, केही उपाय निस्किन्छ कि, घटना त भाकै रैछ ।’ ”हुन्छ हजुर’ भन्दै सईसापले जाने इशारा गरे । दुवैजना ढोकासम्म पुग्दा जूनेली फरक्क फर्किएर बर्रर आँसु झार्दै भनिन्, ‘मलाई त श्रीमानले पनि स्वीकार्दैन अब, म के गर्ने, कानुन पनि लाग्दैन भन्नुहुन्छ ! ‘

सरकारी वकिल केहि बोलेनन्।

सानुमायाले जूनेलीलाई समातेर बाहिर निकालिन।

स.इ.सापले दुवैजनालाई पुनः प्रहरी कार्यालयमा लगेर कम्प्युटरमा बसेका एकजना जवानको जिम्मा लगाए । ‘ल भाइ ! ज.क.को जाहेरी एउटा तयार पार त !’ सईसाप। ‘हुन्छ हजुर’ भन्दै प्रहरी जवान जूनेली तिर फर्किँदै सोधे, ‘लौ भन्नुस त ! के भाको हो ?’

यो चौथौ पटक थियो । सानुमाया र जूनेली लगभग थाकिसकेका थिए । तै पनि सबै कुरा पुनः भने, चौथो पटक ।

कागज प्रिन्ट भयो । सहीछाप गर्न लगाइयो, जूनेलीले सहीछाप गरिन् । ‘लौ ! अब जानुस् अहिलेलाई, के हुन्छ हामी खबर गर्छौँ, सईसापले त्यै भन्नुभाछ’

दुवैजना अकमक्क परे। के भयो त ? यहाँसम्म आएर ? एक-अर्काकोआँखाहरूले सोधिरहेका थिए ।दुवैजना निरुत्तर ।

सानुमायाले हात समातेर बाहिर ल्याइन्, जूनेलीलाई । कानून बमोजिम ३५ दिने उजुरी दिने हदम्याद नाघिसकेको थियो । अब केही हुन्न भन्ने कुरा जूनेली र सानुमायाले बुझे ।

जिल्ला प्रहरी कार्यालयबाट निस्किई टुँडिखेल हुँदै शान्ति बगैंचा‍तर्फ झर्ने बेलामा दुवैजना शून्य थिए । जूनेलीलाई अब कहाँ जाने ? के गर्ने ? मनमा खेलिरहेको थियो भने सानुमायाको मनमा अब जूनेली कहाँ जान्छे ? मेरो घरमा लैजान पनि सक्दैन ? एक्लै छोड्न पनि मिलेन भन्ने कुराले खाइरहेको थियो । साँझको ५ बजिसकेको थियो । हिँड्दा हिँड्दै गोखुङ्गा जाने जीप पार्क आयो ।

‘तँ के गर्छेस त सङ्गी ?’ सानुमाया । ‘मैले सोचिसकेको छु सानु, तैले मेरो चिन्ता लिनु पर्दैन, म अब गोखुङ्गा जादिन, रतनमारेसम्म एउटै जीपमा जाम, त्यसपछि म ओर्लिएर माइती जान्छु, बाबा आमाले जे गर्छन् गर्छन्, मारे नि मार्छन् काटे नि काट्छन् जे गर्छन् स्वीकार्छु’ जूनेली ।

दुवैजना गोखुङ्गा जाने अन्तिम जीपमा चढे । अन्य यात्रुहरू पनि थिए । जूनेली र सानुमाया दुवैजना बाटोमा केही बोलेनन्। एक घण्टामा रतनमारे बजार आइपुग्यो । ६ बजिसकेको थियो । त्यहाँबाट हिँडेर अँदाजी १ घण्टामा जूनेलीको माइतीघर नयाँ गाउँ पुगिन्थ्यो । जूनेली रतनमारेमा ओर्लिइन्। ‘जा है त ! केटी’ यति मात्रै भन्न सकिन् सानुमायाले ।

उत्तरमा मुसुक्क फिका हाँसो मात्र हाँसिन् जूनेली । जीप गुड्यो, सानुमाया जीपमा गइन् । जूनेली अब एक्लै नयाँ गाउँतिर लागिन्। पहिला माइत जाँदा निकै उत्साह हुने गर्थ्यो । यस पटक उत्साह, कहिले पुगौला भन्ने हतार केही थिएन । बाटोमा जंगल पर्थ्यो, चितुवा देखिन्थ्यो कहिलेकाहीँ । जूनेलीलाई केही कुराको डर थिएन । मनमा अर्को हावाहुरी चलिरहेको थियो । माइत गएर के भन्ने ? कसरी भन्ने ? बाबा आमाले के गर्लान्?

झमक्क साँझमा माइत पुगिन् । आमा-बाबा दाइ-भाउजू सबै भान्सामै थिए । केही नबोली सिधै भान्सामा अचानक जूनेलीलाई देख्दा सबै छक्क परे । ‘ओहो ! नि जून पो आइन् खबर सबर नगरेर आइस तो, ठिकै छ, घरै उज्यालो भओ’ आमा । जूनेलीलाई माइतीमा सबैले माया गरेर सानैदेखि जून मात्र भन्ने गर्थे । जून जस्तै शितल उज्यालो रे ।

जूनेली केही बोलिन । अगेनाको छेउमा गएर बसिन्। ‘के भओ ? यो त केइ बोल्दैन त ! झन ज्वाइँ विदेशबाट आको ! यो त माइत पो आछ त, झगडा गरेर पो आछ कि के हो ? ‘नजानिदो डर बुबाको । ‘हैन तेस्तो सल्लाह गरेर नै आको हो, केही दिन बसेर जाने हो’ जूनेली आगो तिर हेर्दै टोलाउँदै । ‘यता हेर् त के भओ ? आमालाई नि हेरेछैनस् तैंले ? मुख देखा त यता ! के बिगार गरिर आइस् कि के हो ? कि ज्वाइँले केई भने कि ?’ आमा ।

जूनेलीले आमातिर पुलुक्क हेरिन् । आमाले पहिल्यैदेखि नै जूनेलीलाई हेरिरहेकी थिइन्। आमाले जूनेलीको अनुहार आँखामा भएको हावा हुरी केही छिनमै थाहा पाइहालिन्। त्यसपछि केही सोध्ने आँट गरिनन् । उत्तर सुन्न मन थिएन आमालाई । ‘थालले केटा ! खाना लगाउछु अब’ जूनेलीकोको दाइलाई ।

आमा, बुबा, दाइ, भाउजू र जूनेलीले सँगै खाना खाए । भाउजूले सबै भाँडा धोएपछि दाइ भाउजू सुत्न गए । ‘आमा ! म आज तपैँ सँगै सुत्छु है !’ जूनेली ।

आमाको आँखा रसाइसकेको थियो । उनलाई अन्दाज भइसकेको थियो । केही अप्रिय भएको छ । टाउको मात्र हल्लाएर सहमति दिइन् । ‘लौ ! म नि गएँ, आमाछोरी यही बिस्तरा लगाएर सुत’ भन्दै बुबा पनि भान्साकोठाबाट बाहिरिएर आफ्नो कोठातर्फ गए ।

जूनेली आगोमा हात सेकाइ बसिन् । आमाले ओछ्यानमा बिस्तरा लगाइन्। ‘आइजा, सुतम्’ आमाले अझै पनि के भएको हो ? सोध्ने आँट गरेकी थिइनन्।

जूनेली आएर कुनातर्फ पल्टिइन् भने आमा छेउमा । बत्ति निभ्यो । जूनेलीले आमाको हात चरप्प समातेर पल्टिएकी थिइन् । एकछिन दुवैजना केही बोलेनन्।’ भन् जून ! अब भन् त आमालाई ! के भाको हो ?’ आमा जून तिर फर्किएर ।

जून केही बोलिन । ‘भन नानी ! आमालाई नभने कोलाइ भन्छस त ! भन् त, तेरो अनुहारले मेरो ज्यान खान लागिसको’ आमा । जूनेली त भक्कानो छोडेर आमाको काँधमा टाउको टाँसेर पो रोइन् । आमालाई के भएको हो ! थाहा थिएन तर जूनेली रोएपछि आमा पनि रोइन् । ‘आमालाई किन रुवाउछस् नानी ! भन त ! मेरो ज्यान जान लागिसको’ आँसु पुछ्दै आमा ।

जूनेलीले सबै कुरा रुँदै भनिन्।

सबै सुनिसकेपछि आमा केही बोलिनन् । जूनेलीलाई अँगालोमा बेरिन्। ‘अब सुत भओ ! सबै ठिक हुन्छ अब, त्याँ जान पर्दैन अब, मेरी छोरी आमासँगै बस्छे अब, सुत नानी..अब सुत’ आँसु पुछ्दै आमा ।

जूनेली अझै सुँक्क सुँक्क गर्दै रुँदै थिइन् । ‘यो कुरा ह्याँ कसैलाई नभनेस् नानी, सबै जिम्मा अब तिम्रो आमाको भयो’ आमा । एकछिनमा दिनभरको थकानले होला जूनेली रुँदारुँदै निदाइन् । आमालाई के निद्रा लाग्दो ! उठेर पानी खाइन्। जूनेलीको छेउमा पल्टिएर निदाएकी जूनेलीको कपाल मुसारिन् । छटपटिँदा छटपटिँदै एकछिन आँखा लागेको मात्र थियो, उज्यालो भएछ ।
…………
आमाले भने बमोजिम कोही कसैलाई जूनेलीले घटनाको बारेमा भनिनन् । आमाले यो कुरा बुबालाई बिहानै भनिसकेकी रहिछन् तर बुबाले जूनेलीलाई केही भनेनन्, सोधेनन् तर बुबाको आँखाले सबै कुरा भनिरहेको जूनेलीले थाहा पाइसकेकी थिइन्। बुबाले दाइलाई भनेछन्, दाइले पनि केही सोधेनन् जूनेलीलाई । दाइले भाउजूलाई ।

अब जूनेली उनको माइतीमा पनि एउटी बलात्कार पिडित महिला भएकी थिइन् । सबैले विचरा, दयनीय पात्रको रूपमा व्यवहार गर्थे ।

एकदिन साँझमा पानी लिएर आउदा बुबा आँगनमा बसेर एक्लै रोइरहेको जूनेलीले देखिन् । गोठमा एक दिन गोबर फाल्दै गर्दा आमा एक्लै ज्वाइँले साथ नदिएको भन्दै एक्लै बतुराइरहेको सुनिन् । एकदिन साँझ रक्सी खाएर आएर दाइ खुकुरी लिएर ज्वाइँ र भद्रेलाई काट्छु भन्दै नाचेको देखिन् । मन झन् अशान्त भइरहेको थियो । अब जूनेलीलाई आफ्नै माइतीमा बस्न पनि आफू बोझ भएको जस्तो लागिरहेको थियो ।

एक साँझ सानुमायाको फोन आयो । उनका श्रीमान् पुनः दुबई फर्केको सुनाइन्, उनको घरका कुराहरू सुनाइन् अनि कुरै कुरामा भद्रे गाउँमा आएको समेत सुनाइन् । अरू कुराहरूले त खासै मन छोएन श्रीमान केही नभनी दुबई गएकोमा नरमाइलो लाग्यो तर पहिले जस्तो रोइनन् । सोही राति धेरै बेर सोचेर नाम्लो लिएर घर नजिकैको खनियाको बोटसम्म पुगिन् । नाम्लोलाई खनियाको हाँगामा बाधिन्, पासो पनि बनाइन् । एकछिनमा के सोचिन् कुन्नी ! नाम्लो फुकालेर घरमा आइन्, सुतिन्।

भोलिपल्ट बिहान सन्धीखर्क जाने भन्दै घरबाट हिँडिन्। १ घण्टामै रतनमारे बजार पुगिन । लगभग दिनभर रतनमारे बजारको खाना खाने होटलमै बसिन् । अन्दाजी ३/४ बजे बल्ल रतनमारे बजारबाट गोखुङ्गातिर हानिइन्। झिसमिसे साँझमा गोखुङ्गा गाउँ पुगिन्।

गाउँमा एउटा पसल थियो । गाउँभरका जँड्याहाहरू हरेक साँझ भेला जम्मा हुने ठाउँ, बाटोमै पर्ने हुनाले जूनेलीले पसल बाहिरैबाट एउटा बिस्कुट मागिन् । भित्र यताउता हेरिन्, भित्र टेबलमा ४/५ जना पुरुषहरू रक्सी खाइरहेका थिए । भद्रे पनि थियो । जूनेली झसङ्ग भइन् र छिटोछिटो बिस्कुट लिएर सानुमायाको घरतिर लागिन्।

सानुमायाको घर नजिकै रहेको चौतारीमै एक्लै १ घण्टा जति बसेर रात पारी सानुमायाको घरमा पुगिन् । बिस्तारै ढोका ढकढकाइन्। सानुमाया सुतेकी थिइनन् । ढोका खुल्यो। ‘लौ न ! काँ बाट आएकीहोस् केटी यति बेला ?’ सानुमाया जूनेलीलाई भित्र तान्दै ।

‘तलाई भेट्न आको, भेट नभाको धेरै भाथ्यो, भोलि बिहान उज्यालो नहुँदै जान्छु ‘जूनेली भित्र पस्दै । ‘किन बिहानै जान परो ? आ… बसे हुन्छ १/२ दिन कोले के गर्नी हो र ?’ सानु माया । ‘आँसी ल्या त केटी ! मेरो चप्पलमा काँडा भिजेछ कि के हो ! निकाल्न परो’ जूनेली खाटमा बसेर चप्पल हेर्दै ।

सानुमाया बाहिर गएर हँसिया लिएर आएर जूनेलीलाई दिइन्। जूनेलीले हँसियाको टुप्पोले चप्पल यताउता घोचिन् । चप्पल र हँसिया खाटमुनि राखिन्। दुवैजना एकछिन कुरा गरेपछि निदाउने तरखर गरे । सानुमाया एकैछिनमा निदाइन्।

जूनेली बिस्तारै उठेर चप्पल लगाइन्, हँसिया लिइन् र बिस्तारै ढोका खोलेर मूलबाटो तिर निस्किइ भद्रेको घरतिर लागिन्। भद्रेको घर अँदाजी ५ मिनेटमै पुगिन्थ्यो । घर पस्ने तगारो नजिकै एउटा धारा थियो । धाराको पछाडि बाँसघारी । बाँसघारीमा बसिन्। रातको अँदाजी १०/११ बजिसकेको थियो । चकमन्न अँध्यारो । जूनली सानोमा बाँसघारीमा तर्साउछ रे ! भनेर बाँसघारीको बाटो हिंड्दा दिउँसै पनि डराउने केटी आज रातको अन्धकारमा पनि उनको मनमा कुनै डर थिएन । मूलबाटो हेर्दै बसिरहिन्।

अन्दाजी १ घण्टा पछि मात्र टर्च बाल्दै एउटा आकृति मूलबाटोबाट भद्रेको घरतिर आइरहेको देखियो । आकृति नजिक हुँदै आउदा भद्रे नै हो भनेर बल्ल जूनेलीले चिनिन्। भद्रे रक्सीले मातेर ढलमलाउदै घरतिर आइरहेको थियो । धारा हुँदै आफ्नो घरको तगारो खोल्ने बेलामा धाराको पानी बगेर हिलो भएको ठाँउमा चिप्लिएर नराम्री पछारियो ।

उठेर ढलमलाउदै तगारो खोल्ने बेलामा खोल्न नसकेर तगारो दुवैहातले समाइ एकछिन झुल्न थाल्यो । सोही बेला जूनेली बाँसघारीबाट निस्केर तगारोमा पुगि दाहिने हातले हँसिया समाइ हँसियाको चुच्चोले भद्रेको घुच्चुकमा क्वाकिन्। ‘ऐया !…’ गर्दै भद्रे ढल्यो ।

टाउको पछाडि घुच्चुकबाट रगतको छिर्का बग्न थालेको थियो ।

टाउको समात्दै भुइँमा लडेको भद्रेको टाउकोमा फेरि हँसियाको चुच्चोले हानिन्। हातले छेक्यो । त्यसपछि कति पटक हँसियाले प्रहार गरिन्, जूनेलीलाई समेत थाहै भएन । भद्रेको आवाज बन्द भइसकेको थियो । यता उता हेरिन्। रात उस्तै कालो थियो, सुनसान । जूनेली मूलबाटो हुँदै सन्धिखर्कतिर हिँडिन्। डाँडा, खोल्सा, जंगल हुँदै बिहान झिसमिसेमा सन्धिखर्क जिल्ला प्रहरी कार्यालय पुगिन् । गेटमा एक जना सिपाही थिए।

‘मैले यो आँसीले मान्छे काटेर आको हो, अझै रगत आलै छ आँसीमा, मलाई थुन्नुस्’ जूनेली । ‘हजुर ! के भन्नुभयो’ रातभरको ड्युटीले ओल्यास्स परेको सिपाही झस्किँदै ।

‘मैले यो आँसीले मान्छे काटेर आएको हो, मलाई थुन्नुहोस’ जूनेलीले फेरि अगिकै वाक्य जस्ताको तस्तै भनिन् । ‘ओहो ! ल ल ! आउनुस आउनुस्’ भन्दै दौडेर ड्युटी अफिसरलाई रिपोर्ट गर्यो । एकैछिनमा प्रहरी कार्यालयमा हल्लाखल्ला भैहाल्यो । डिएसपी साप पनि आँखा मिच्दै आए । जूनेलीलाई ड्युटी अफिसर रुममा राखिएको थियो ।

‘ओहो नानी ! किन यस्तो गर्यौ, हामीले केही गर्छौं भनेकै थियौँ ‘डिएसपीले भने।

जूनेली केही बोलिनन् । उनको अनुहार आज ढपढप बलेको थियो । नजानिदो सन्तोष थियो अनुहारमा । ‘कसरी गर्यौ भन त ! ‘डिएसपी । जूनेलीले सबै कुरा निर्धक्क गर्वसाथ भनिन् । कुनै पश्चाताप, पछुतो थिएन उनको भावमा ।

सोही बेला डिएसपीको मोबाइल बज्यो । कुरा गरे । ‘त्यो मान्छेको मृत्यु भइसकेछ, मुचुल्का गर्न मुद्दाको टोली पठाइदेऊ’ फोन काट्दै ड्युटी अफिसरलाई भने डिएसपी सापले।

जूनेली लामो सास फेर्दै मुस्कुराइन् मात्र । घटनापछि बल्ल आज उनको अनुहार उज्यालो भएको थियो । ‘म्याद थपको तयारी गर्नुस ल ! ‘मुद्दा फाँटको सईसापलाई भन्दै डिएसपी साप आफ्नो निवासतर्फ गए ।

पूर्व क्षितिजमा घामको किरण देखिन थालेको थियो । बिस्तारै उज्यालो हुन लागेको थियो ।

समाप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?