
अविश्रान्त यायावर गन्तव्य विनाको गन्तव्यतिर गइरहेथ्यो, लखरलखर । यो जानु उसको नित्य दिनचर्या थियो । प्रकृतिका नयाँ दृश्य हेर्नु, जगतका नयाँ मान्छे भेट्नु, नयाँ कुरा सुन्नु र जो देखेको, भेटेको र सुनेको हिंड्दाहिंड्दै लोकलाई सुनाउनु उसको जीवनको प्रिय अभीष्ट थियो । बुढेसकालमा पाइला टेकेको यायावर साह्रो थाकेको र भोकाएको थियो । त्यसैले हिंड्दै जाँदा उसलाई हावाको मसिनो झोंक्काले पनि ढाल्ला कि झैं लाग्थ्यो ।
बाटामा उही दिशातिर गइरहेको एउटा गधा भेटियो । यायवर गधादेखि तर्केर अगाडि जान खोज्दै के थियो, गधाले उसलाई मुन्टो बटारेर पुलुक्क हेर्यो । यायावरलाई त्यो हेराइमा केही न केही परिचित र निकट भावको आभास भयो ।
‘जी हजुर,’ गधाको मुखबाट मान्छे बोल्यो । यायावरले चकित दृष्टिले यताउता हेर्यो । के त्यो बोल्ने गधा नै हो ? कि कसैको बोली गधाको मुख भएर यता आएको हो ?
‘जी हजुर,’ उही मुखबाट उही कुरो दोहोरियो । यायावरको नाजुक अवस्था देखेर शायद द्रवित भई गधाले भन्यो, ‘जी हजुर, ममाथि चढ्नोस् । जहाँसम्म बाटो मिल्छ, म त्यहाँ पुर्याइदिन्छु ।’
यायावर अन्कनायो । स्वरुप छ गधाको, बोली छ मान्छेको । म गधामाथि चढुँ कि मान्छेमाथि ?
‘सुन गधा, चढेको तिर्ने पैसो मसँग छैन । म हिंडेरै जान्छु’, यायावरले आप्mनो विवशता प्रकट गर्यो ।
‘त्यो पर्दैन’, गधा बोल्यो ।
‘किन ?’
‘यसै पनि मलाई त्यता जानै छ, त्यसैले…’
‘मलाई कहाँसम्म लगिदिनुहुन्छ, गधा ?’ यायावरले खुल्दुली प्रकट पर्यो ।
‘मेरो पाटीसम्म ।’
‘पाटी कहाँ छ ?’
‘पाटी बाटामै पर्छ ।’
यायावरले लख काट्यो, गधाको बास पाटीमा रहेछ क्यार ।
यायावर फुत्त उफ्रेर गधामाथि चढ्यो ।
गधा सुमुसुमु बाटो लाग्यो ।
‘यो ठाउँको नाउँ के हो, गधा ?’ यायावरले सोध्यो ।
‘जी हजुर ।’
‘म सोध्दैछु, यो ठाउँको नाउँ के हो ?’ गधाले बुझेन कि भनेर यायवरले प्रश्न दोहोर्यायो ।
‘जी हजुर’, गधाले उही रट लगायो ।
‘मान्छे झैं बोल्ने तर कुरा नबुझ्ने, कस्तो गधा रहेछ ?’ यायावरले मनमनै तर्क गर्यो ।
‘पाटी कति टाढा छ, गधा ?’
‘जी हजुर’, गधाको उही रट दोहोरियो ।
‘हैट्, गधा !’ यायावरलाई झिज्याट लाग्यो ।
आखिर जगत जान्न हिंडेको यायावर न हो, उसको जिज्ञासाले किन थकाइ मार्थ्यो ? सोध्यो, ‘जान्नैपर्ने तर कहिल्यै नसोधिने एउटा कुरो सोधूँ कि, गधा ?’
‘जी हजुर ।’
‘शरीरको आकार हेरी गधाको लिङ्ग किन यति साह्रो ठूलो भएको हो ?’
‘जी हजुर ।’
उत्तर सुनेर यायावर कड्क्यो— ‘हैट्, गधा !’
गधा बोल्यो, ‘जी हजुर ।’
यायावरको अतृप्त जिज्ञासामा अर्को प्रश्नले मुन्टो उठायो । र सोध्यो, ‘गधा, मान्छेले मान्छेलाई ‘तँ गधा’ भनेर गाली गर्छ । मान्छेको दृष्टिमा गधा तुच्छताको प्रतीक भएको देख्दा तपाईंलाई कस्तो लाग्छ ?’
गधाको उही उत्तर आयो, ‘जी हजुर ।’
यायावरलाई लचकलचक हल्लाउँदै गधा अघि बढ्दो छ । यायावर गधाको मुखबाट हर प्रश्नको एकै जवाफ ‘जी हजुर’ सुनेर उदेक मान्दो छ । हैन, शुरुमा त गधाले राम्रैसँग दोहोरो कुरो गरेको थियो । पछि गधालाई के भयो ? ‘जी हजुर’, ‘जी हजुर’को सुगारटान सिवाय उसको मुखबाट केही निस्कँदैन । यायावरले स्वयम्लाई सम्झायो— जे भए पनि गधा भनेको गधै हो ।
यायावरले अर्को जिज्ञासा प्रकट गर्यो, ‘गधा, तपाईंले जेको उत्तरमा पनि ‘जी हजुर’ भन्नुभयो । आखिर किन ?’
‘पाटीमा जे रटाइयो, आफूले त्यही रटियो । जे रटियो, जेको उत्तर दिने बेलामा पनि मुखमा फ्याट्ट त्यही आउन थाल्यो । आखिर ‘जी हजुर’मा हर प्रश्नको उत्तर समेटिन्छ भने अरू कुरा भन्ने लेठो गर्नु किन ?’
यायावरले सोच्यो— गधाको बास भएको पाटीमा कुनै धार्मिक सम्प्रदायको अखाडा रहेछ क्यार ! ‘जी हजुर’ त्यही धार्मिक सम्प्रदायको भक्तिवचन हो शायद ।
जाँदाजाँदा निकै पर बाटाको छेउमा एउटा विशाल फलामे गेट देखियो । गधा गेट बाहिर पुग्यो । गेट घुरुक्क उघ्रियो । गेटभित्र पस्ने सुरले गधा टक्क अडियो । गधाको धार्मिक पाटी आएछ भन्ने बुझेर यायावर गधाबाट फुत्रुक्क ओर्लिनु के थियो, चौपाया गधा त अघि नै दोपाया मान्छेमा पो फेरिएछ ! यायावर आश्चर्यचकित भयो । त्यो अघिको के थियो ? यो अहिलेको के हो ?
‘मेरो पाटी यही हो’ गेटभित्रको विशाल महल देखाउँदै अल्लिबेर अघिसम्मको गधा, अहिलेको मान्छेले भन्यो, ‘म यो पाटीको सङ्गठित सदस्य हुँ ।’
विशाल महलको भित्तोमा बडाबडा लाल अक्षरमा लेखिएको थियो, ‘नेकपा (विशुद्ध)’ ।
‘धन्यवाद गधे–मानव’ छुट्टिने बेलामा यायावरले स्याबासी दियो ।
प्रत्युत्तरमा गधे–मानवले भन्यो, ‘जी हजुर ।’
प्रतिक्रिया 4