+
+
Shares

पर्सा २ : चौरसियालाई चुनौती दिँदै युवा

पर्सा–२ मा रहेका प्रतिस्पर्धीमध्ये सबैभन्दा ‘हेभिवेट’ कांग्रेसका अजय चौरसिया हुन् । तर अहिले मतदातामाझ पुराना भन्दा नयाँ र युवा उम्मेदवारको चर्चा बढी छ ।

सफल खतिवडा सफल खतिवडा
२०८२ माघ १० गते ११:४६

१० माघ, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–२ मा चुनावी सरगर्मी बढेको छ । यहाँ पुराना दलका अनुभवी उम्मेदवारका लागि युवाहरूको उम्मेदवारी ‘टाउको दुखाइ’ बन्नसक्ने देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय चौरसिया निर्वाचित भएका थिए । उनले त्यो बेला २८ हजार ४५१ मतसहित जित निकाल्दा जनता समाजवादी पार्टी(जसपा)का सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।

चौरसिया यसपटक पनि यही क्षेत्रमा उम्मेदवार छन् । विशेषगरी युवा, विद्यार्थी, पेशाकर्मी र स्वतन्त्र विचार राख्ने मतदाताले पुराना राजनीतिक संस्कृतिभन्दा फरक, पारदर्शी र जवाफदेही नेतृत्वको अपेक्षा गरेका छन् । यस्तो धारणा राख्ने मतदाताले नयाँ उम्मेदवारतर्फ चासोपूर्वक हेरिरहेका छन् ।

को–को छन् उम्मेदवार ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस क्षेत्रमा अहिले ३६ वर्षीय सुशील साह कानुलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । अहिले उनी वडाध्यक्ष पदबाट राजीनामा दिएर रास्वपाको उम्मेदवार बनेका छन् ।

कानुले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि उनी उपेन्द्र नेतृत्वकै पार्टीमा निरन्तर सक्रिय थिए । तर, अहिले उनले रास्वपा प्रवेश गरेर राजनीतिक पहिचान फेरेका छन् ।

यस्तै यसपटक पुरानोमध्येको एक दल नेकपा एमालेले पनि यो क्षेत्रमा युवा उम्मेदवार २९ वर्षीय रिमा यादवलाई अघि सारेको छ । रिमा एमालेबाट देशभरकै कान्छी उम्मेदवार पनि हुन् ।

यादवको व्यक्तिगत राजनीतिक पृष्ठभूमि लामो नभए पनि उनलाई पारिवारिक पृष्ठभूमिका कारण एमालेले टिकट दिएको स्थानीयको बुझाइ छ । स्नातक तहसम्मको अध्ययन गरेकी रिमाका ससुरा रामायण राउत अहिर एमालेका पुराना नेता रहेको एमालेका मधेश प्रदेश उपाध्यक्ष विचारीप्रसाद यादवले बताए । अहिर २०५६ देखिका एमालेका सक्रिय नेता हुन् । उनकै कारण रिमाले टिकट पाएको प्रदेश उपाध्यक्ष यादवको पनि बुझाइ छ ।

यो क्षेत्रमा एमालेले २०६४को पहिलो संविधानसभा निर्वाचनमा विचारीप्रसाद यादवलाई उम्मेदवार बनाएको थियो । त्यो बेला उनी कांग्रेसका अजयकुमार द्विवेदीसँग पराजित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा भने एमालेबाटै यादव निर्वाचित भएका थिए ।

त्यसपछि एमालेले उम्मेदवारी दिएको यसैपटक हो । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले जसपासँग चुनावी गठबन्धन गरेर यो सिट छाडेको थियो । एमालेसँगकै गठबन्धनमा २०७४ मा जसपाका विमलप्रसाद श्रीवास्तवले जिते पनि २०७९ मा भने कांग्रेसका चौरसियाले जितेका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि यो क्षेत्रमा ४० वर्षमुनिकै युवा उम्मेदवार अघि सारेको छ । विघटित प्रतिनिधिसभामा राप्रपाबाटै समानुपातिकतर्फकी सांसद रहेकी बीना जैसवाल कुर्मी यसपटक प्रत्यक्ष मैदानमा छिन् ।

जसपाले भने यसपटक ४५ वर्षीय अशोक टेमानीलाई उम्मेदवार बनाएको छ । टेमानी नेपाल उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष पनि हुन् । उनी पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो क्षेत्रमा रहेका प्रतिस्पर्धीमध्ये सबैभन्दा ‘हेभिवेट’ उम्मेदवार कांग्रेसका चौरसिया नै हुन् । कांग्रेसमा विद्यार्थी राजनीतिदेखि सक्रिय उनी ०५१ सालदेखि पर्सा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।

२०५६ को प्रतिनिधिसभामा पहिलो पटक चुनाव लडेका चौरसिया निर्वाचित हुँदै २०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायक मन्त्री बनेका थिए । पछिल्लो पटक चौरसिया केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन मन्त्री थिए ।

अहिले मतदातामाझ पुराना भन्दा नयाँ र युवा उम्मेदवारको चर्चा बढी छ । त्यसैले अन्तिम नतिजाका लागि भने फागुन २१ को निर्वाचन परिणाम नै कुर्नुपर्ने हुन्छ ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?