+
+
Shares

स्वर्ण समयका सरगमहरू

रेखा शाह रेखा शाह
२०८२ माघ २४ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका रेखा शाहले आफ्नो ५० वर्षको जीवन यात्रा र सङ्गीत तथा समाजसेवामा तीन दशकको सक्रियताबारे चर्चा गर्नुभयो।
  • उहाँले नारी हिंसा, घरेलु हिंसा र सामाजिक विसंगतिबारे आफ्नो अनुभव र चेतना साझा गर्नुभयो र 'रेखा शाह फाउन्डेसन' स्थापना गरेको बताउनुभयो।
  • रेखा शाहले उमेर लुकाउन नचाहने र सक्रियतामा विश्वास राख्ने कुरा बताउँदै नारीहरूको उत्थान र सम्मानका लागि आह्वान गर्नुभयो।

रेखा भनेको आकार, रूप र चिह्न हो । निर्धारित दिशामा लम्किएको मसिनो र लामो धर्को पनि हो । डोरो पनि हो । धार्मिक र वैज्ञानिक रूपमा यसका अनेकौं अर्थहरू पनि छन् । रेखाले संस्कृति पनि बोक्छ र जीवनको हिँडाइ पनि । मेरो नाम रेखा राखिँदा यी सबै सोचेर राखिएको त थिएन होला तर आज सम्झन्छु, म पनि त जीवनको एउटा यस्तै रेखामा छु । त्यो रेखा, त्यो डोरो, त्यो धर्को मेरो जीवनको अविराम यात्रा भएर आज ५० वर्षमा आइपुगेको छ । म रेखा नामकी रेखा आज आफ्नै जीवनको ५० वर्ष लामो रेखा लिएर तपाईंहरूकी एक गायिका रेखा शाह भएर सप्रेम उभिएकी छु तपाईँहरूकै अघिल्तिर । म यसरी उभिनुको जग तपाईंको माया हो ।

धेरै मान्छे उमेर लुकाउँछन् । उमेर र सक्रियता दाँज्न चाहन्नन् । म मेरो उमेर र जिन्दगीको पाना सर्लक्क पल्टाउन चाहन्छु । हो, म उमेरले ५० वर्षकी भएँ तर गीतसंगीत र समाजसेवाको सक्रियतामा म उही रेखा हुँ, जुन रेखा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गुन्यु चोलीमा सजिएर सिमसिमे पानीमा गाइरहेकी थिइ ।

उमेर र सक्रियता फरक कुरा हुन् । यही फरकपनले सिर्जनामा दम राख्छ । कोही २० वर्षमा निराशा र अल्छीको हाइ काढिरहेका हुन्छन् त कोही १०० वर्षमा पनि सक्रिय हुन्छन् ।

१०० वर्ष पार गरेर पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी कार्यक्रमहरूमा प्रमुख अतिथि हुँदै मन्तव्य राख्दै हुनुहुन्थ्यो । उमेर उत्साहमा निर्भर गर्छ । उमेर सक्रियतामा निर्भर गर्छ । उमेर मनको विश्वासमाथि निर्भर गर्छ । मैले के कति गर्न सकेँ वा गरिरहेछु, त्यो अलग कुरा हो । तर मलाई उमेर र सक्रियता दुवै प्रिय लाग्छ ।

आज सम्झिँदा रमाइलो लाग्छ । मेरो उमेर पाँच दशक, सङ्गीतको योगदान तीन दशक । आफैँले योगदान भन्ने शब्द प्रयोग गरौँ कि नगरौँ भन्ने दोधारमा छु । यसलाई सक्रियता पनि भन्न सकिन्छ । म मेरो जीवनको स्वर्णकालका सुवर्ण सरगमहरू गाइरहेछु र झुमिरहेछु तिनै सुरहरूमा ।

आज मलाई मेरै केही कुरा गर्न मन छ । म कुनै लेखक होइन तर बेलाबेलामा केही लेखिरहन मनपर्छ । जेन्डर स्टडीजमा स्नातकोत्तर गर्दा सरहरूले भन्नुहुन्थ्यो, रेखा जे पढेकी छौ, अल्छी नगर र केही लेखिरहूँ । मैले जानेको सबैभन्दा धेरै मेरै विषयमा हो । त्यसपछि गीत सङ्गीत हो । अलिअलि समाज हो ।

सबैभन्दा बढी नारी हुनुको बोध हो । देखेको, भोगेको वा सुनेको घरेलु हिंसा हो । समाजको बेथिति र विसंगति हो । जीवनका आरोहअवरोह हुन् । भत्किएका सपना र विमतिका पाटाहरू हुन् । एकपल्ट नारी भएर नहेरीकन मान्छेले नारीको जीवनको गहिराइ नाप्न सक्दैन । बिरालोको ख्यालख्याल मुसाको काल भने जस्तो पुरुषहरूको ख्यालख्यालमा नारीको जीवन बर्बाद भएको देखेकी छु तर पनि समाज नारीप्रति नै औंलो उठाउँछ ।

समयले त्यो औंला तल झार भनिरहेछ तर कतिपय पुरुष त्यही उठेको औंलामा इज्जत खोजिरहेछन् । ज्यादतीको त्यो औंला समय आफैँले नकाट्ला र ? हिंसा मन पर्दैन । हिंसाको अन्त्य हुनु जरुरी छ । हिंसाले नै हिंसा मर्छ भन्ने विश्वास नभएकै कारण नारीहरू सहनशील भएका हुन् । नत्र नारीहरू आफैँ हिंसाका लागि तयार हुन सक्थे ।

आफू, आफैँ र आफ्नै संघर्षलाई सम्झँदा आफैँदेखि माया लागेर आउँछ । टिनएजमै राष्ट्रिय प्रतियोगिता जित्दाको खुसी कम्ता रमाइलो थिएन । बेलाबेला परेको गम्भीर बिरामी कम्ता पीडादायी थिएन । नारीलाई नारीकै इज्जत गर्नुपर्छ भन्ने चेतना नभएर घरेलु वस्तु सम्झिएका दिनमा हुर्किँदै आएकी छोरी हुनाले छोरी हुनुको घरेलु र सामाजिक पीडा, स्वास्नी हुनुको पीडा र नारी भएर समाजसँग संघर्ष गर्नुको पीडाको बोध छ । म आफैँले कति भोगेँ भोगिनँ, त्यो दोस्रो कुरा हो तर एउटा सचेत नागरिकको हैसियतले प्रत्येक नारीले भोगेको पीडालाई म मेरो आफ्नै पीडा सम्झन्छु ।

अरू कसैमाथि आइपरेको दुःख र पीडा देख्दा, त्यतिखेर म अर्को एउटा पीडाबोध गरिरहेकी हुन्छु । समान हृदय हुनेहरूका लागि पीडा पनि समान हुने रहेछ । यी सबै समस्याहरूलाई सम्बोधन गर्ने गरी केही नयाँ काम गर्न सकिन्छ कि भनेर ‘रेखा शाह फाउन्डेसन’ स्थापना गरेकी छु । केही असहाय बालबालिकाहरूलाई पढाएकी छु । ती बालबालिका आज स्नातक पढ्ने भइसकेका छन् । भेटिँदा आमा भन्छन् । कम्ता खुसी लाग्दैन । माता तीर्थ औंशीका दिन ‘ह्याप्पी मदरस्स डे’ लेख्छन् । म खुसीले पुलकित हुन्छु ।

मलाई गायन जति मनपर्छ, त्योभन्दा बढी समाजसेवा मनपर्छ । भूकम्पको बेला ११४ घरपरिवारलाई झन्डै २५ ट्रक सामग्री वितरण गरेँ । त्यसबाट मलाई लाखौं ट्रक खुसी मिल्यो । यसरी खुसी बटुल्दै जाँदा समाजमा झन् धेरै हिंसा र दुःख देखिँदो रहेछ ।

के देखिएन समाजमा ? हजुरबाउले नातिनीलाई गर्ने दुव्र्यवहार देखियो । बाउले छोरीलाई गर्ने दुव्र्यवहार देखियो । दाजुभाइले दिदीबहिनीलाई गर्ने दुर्व्यवहार देखियो । राज्यले गर्ने कानुनी विभेद देखियो । अवसरमा नारीहरू पछि परेका, पारिएका देखियो । यी सबै देख्नुको साक्षी भएर म सङ्गीतको सरगममा छु । गीत गाएकी छु । बालादिनमा कुन मोडमा ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ यो गीत गाएँ । आज समाज, परिवार र राज्यको संरचना बेइमानहरूको कब्जामा छ कि जस्तो लाग्छ ।

के सबैको जिन्दगीको रेखा सरल रेखा भएर हिँडिरहेको छ त ? सरल रेखा भत्किएर बक्र रेखामा बाँच्नु कसरी जीवन हुन सक्छ ? जीवन भनेकै वक्ररेखामा मुस्कुराउने फूल हो त ? एक्लै एक्लै बसेको बेला याद गर्छु, यही प्रश्नको उत्तर खोजिरहन्छु तर निरुत्तर निरुत्तर हुन्छु ।

मैले मृत्युलाई नजिकैबाट छामेको पनि याद छ । अनेकौं अप्ठ्याराहरूसँग जुधेँ । लामै समय अनेकौं कारणले बिरामी पनि परेँ । दुई–दुई पटक कोरोनाको संक्रमण भयो । कसैलाई भनिनँ । डेङ्गुको बेला झण्डै प्राण गएको त्यो पनि कसैलाई भनिनँ । केही निश्चित अभावहरू पनि झेलेँ । सम्पन्नता पनि देखेँ । साथीभाइ पनि भेटेँ । कतिको हात पाएँ, कतिको घात पाएँ । आफ्नै भनिनेहरुले आफ्नोपनमा धोका दिए । स्नेहको हत्केला टेकेर पीडाको आगो बाल्न खोजे ।

यी सबैले भोग्ने दुःख हुन् । पाउने र सहने दुःख हुन्, मैले पनि पाएँ धेरथोर । त्यो प्राप्तिले एन्जाइटी दियो कि आनन्द ? मूल प्रश्न यो हो । मुस्कुराउनुमा जति सजिलो रुनुमा छैन तर नरोइकन हाँसोको मूल्य पनि बोध हुँदो रहेनछ । आँखाका डिलको आँसुको थोपा परेलीले बार लगाई ओठ च्यातेर हाँसेको मुस्कान पानी परेपछि थिलथिलो भएको गुलाफ जस्तो रहेछ । कहिलेकाहीँ त्यही च्यातिएको गुलाफ भएर धेरै काँडाहरूसँग जीवन साटिरहेँ कि जस्तो पनि लाग्छ ।

के मेरो जिन्दगी मेरो अधीनमा छैन र ? ‘माइ बडी माइ च्वाइस्’ मेरो सपना मेरो अधीनमा । मेरो जिन्दगी मेरो मर्जी ! यसरी प्रत्येकले सोच्नु जरुरी छैन र आज ? उमेर लुकाएर, दुःख लुकाएर, संघर्ष लुकाएर र आफैँलाई लुकाएर जिन्दगी हलुको पार्न सकिन्न । आज म ५० वर्षकी भएँ । म गायिका हुँ । गीत रेकर्ड गरेकै तीन दशकभन्दा बढी भइसक्यो । त्यही गीतको मायामा बाँधिएका मेरा धेरै श्रोता–शुभेच्छुकहरू छन् ।

केही दिनअघि मात्र काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले सानो गितार बजाएर सिमसिमे पानीमा गुनगुनाइरहनुभएको भिडियो सामाजिक सञ्जालतिर देखेथेँ । त्यो २०४९ सालको गीत, त्यो गीत गाउँदा म जति सानी थिएँ, बालेन शाहको आवाजमा त्यो गीत सुनेपछि म खुसीले त्यसैगरी चुलबुले सानी नानी भएकी छु । केही दिनअघि एउटा सुटिङको सिलसिलामा कुटुम्ब टिमले कति मिठो माया र सद्भाव प्रस्तुत गरेको थियो । कति मिठो धुनमा मलाई सम्मान गरेको थियो । त्यो सम्मान भित्र संघर्षबाट प्राप्त मोती टल्के जस्तो लाग्थ्यो ।

नेपाली गीत संगीतलाई नजिकबाट हेर्ने विशिष्ट साधक, स्रष्टाहरू, प्राध्यापकहरू, समीक्षक, समालोचकहरु र क्लासिकल मुडका श्रोताको रोजाइमा पाको जस्तो भएर उभिनु पनि कसरी बुढ्यौली हुनसक्छ र ? भारतीय चलचित्रका प्रसिद्ध नायक नायिकाहरू जीवनको ८० वर्षतिर पनि मञ्चमा त्यसैगरी उभिन्छन्, जसरी १६ वर्षमा काँचको पर्दामा देखिन्थे । त्यो र त्यस्तै उत्साह आज समाजलाई दिनु छ, सिकाउनु छ र भन्नु छ, आफैँ उत्साही भएन भने अरु कोही आएर खुसी हुने ट्याब्लेट खुवाउँदैन । दिदीबहिनी हो, जाग, बिउँझ र उठ ! अरुलाई उठ भनिरहँदा मैले म आफैँ उठ्नुपर्छ भनेर बोध गरेको सत्य पनि लुकाउन चाहन्नँ ।

म आज पनि धादिङको गाउँ सम्झिरहन्छु । धादिङका ख्याति प्राप्त कवि, कलाकार, स्रष्टा र सर्जकहरूको जिल्ला हो तर पनि त्यतिखेरको चलनमा समाजको बनोट अर्कै थियो । शाहहरू राजा जस्तै मानिन्थे । गाउँलेहरूले त्यस्तै व्यवहार गर्थे । समाजका अन्य वर्ग र तहतप्कालाई हेर्ने नजर पनि आजभन्दा फरक खालको थियो । त्यतिखेरकी एउटी छोरी म ! तर कुन ज्ञान आयो मेरो मनमा कुन्नि, मैले कसैलाई पराइ देखिनँ ।

कसैलाई भेदभाव गरिनँ र उचनिच ठानिनँ । स्कुलमा सबैसँग सँगै गाएँ । सँगै खाएँ । सबैको घर घरमा पुगेँ । सबैको साझा छोरी भएँ । कतिलाई मेरो त्यो खुकुलोपन मन परेन । कतिले मलाई कसिलो बनाउन खोजे । बाँधेर आँगनमै राख्न खोजे तर कलाले फुर्किएका हातगोडा कसरी बाँधिन्छन् एउटै आँगनमा ? आँगन आँगनमा पुगेँ । स्कुलको कक्षा कोठामा पुगेँ । नाचगान, पूजाआजा, रामरमाइलोमा पुगेँ । तीज, पञ्चमी र सत्यनारायणको पूजा छुटेन । नौमतीबाजा बजेपछि आफैँ जमजमाउँथे हातगोडा र फरफर फरफर हुन्थे गीत गाउने ओठ । आफैँ बनाउँथेँ गीत, आफैँ गाउँथे ।

आजको भाषामा आफैँ गीतकार जस्तो, आफैँ संगीतकार र गायिका जस्तो । हो पनि त्यही । तिनै दिनमा आफैँले बनाएकी हुँ, सिमसिमे पानीमा । यो गीतको लय र आफैँले लेखेकी हुँ शब्द पनि । पछि जति गीतहरू गाएँ, एल्बमहरू सार्वजनिक गरेँ, ती गीतहरूमा मात्रै मैले ख्याति प्राप्त गीतकार र संगीतकार खोज्न थालेँ । उनीहरूसँग उनिएर संगीतलाई फराक बनाउन खोजेँ । फराकपनले मेरो हृदयलाई पनि उज्यालो बनाएको छ ।

सरगमको संसर्गले सङ्लो बनाएको छ जीवन । जीवनको रेखा र रेखाको जीवन एकै ठाउँमा मिसियो । गायिका रेखाको जीवनरेखा यसरी लम्बिँदै लम्बिँदै आएको छ, ५० वर्षसम्म । मलाई अझै गर्नुछ, नयाँ यात्रा फुर्तिका साथ । त्यो फुर्ति मलाई मेरै गाउँले दिएको हो । मलाई अझै सम्झना छ, मैले घाँस दाउरा गरेको, मेलापात गरेको, वन जङ्गल चहार्दै दुःखले पढेको । त्यही हो मेरो धरातल । मैले त्यो धरातल बिर्सेकी छैन । मैले आवाज भर्ने मौका पाएको धादिङको चर्चित जिल्ला गान छ एउटा:

हाम्रो धादिङ राम्रो धादिङ संस्कृतिले विचारले
जात्रा उत्सव महोत्सवले प्रकृतिले सञ्चारले ।

समय बदलिन्छ । समयसँगै प्रविधि र सोचहरू पनि बदलिन्छन् । आज गीत संगीतका हरपहरुमा केही फरकपन भेटिन्छ । लवाइ खुवाइमा फरकपन भेटिन्छ । मैले बाँचेको मेरो जीवन र आज मेरो छोराले बाँचिरहेको उसको जीवन एकै होइन र एकै सोच्नु पनि हुन्न । जब एकै सोचिन्न भने फरकपन स्वीकार्नुपर्छ । आज पनि समाज विचारमा, हृदयमा, सद्भावमा, प्रेममा, हार्दिकतामा होइन; लुगामा अल्झिन्छ । खाने कुरामा अल्झिन्छ ।

कसले कस्तो लगायो ? कसले के खायो ? को कोसँग हिड्यो ? को कोसँग बोल्यो ? कतिबेला घरबाट कहाँ गयो ? साँझ कतिबेला फक्र्यो ? यो कुनै गफको विषय हो ? कसले के गर्‍यो ? कति गर्‍यो ? उसको उपस्थितिले समाजलाई कस्तो प्रभाव पर्‍यो ? यो चाहिँ मूल विषय हो संवादको तर त्यो पाटो अझै कमजोर छ । यही कमजोरीलाई टेकेर गरिने प्रहारको पहिलो चोट नारीले खानुपर्छ । दुई–चार अगुवा नारीहरू त्यो चोट सहन तयार भइदिए भने नयाँ पुस्तालाई सजिलो हुनेछ । प्रेमिकालाई वस्तु सम्झने प्रेमीहरूलाई पनि ठिक बाटोमा ल्याउन सकिन्छ । म यसरी सोच्दछु ।

आज हिंसाका अनेक रूप छन्— फिजिकल र डिजिटल । शारीरिक हिंसा, मानसिक हिंसा र बोलीवचनबाट हुने हिंसा । यी हिंसा प्रत्यक्ष र परोक्ष दुवै रूपमा छन् । लवाइखुवाइमा छेकबार । हिँडाइ, बोलाइ र बसाइमा छेकबार । यो छेकबार पनि हिंसा हो । मान्छेहरु प्रेम गरेँ भन्छन् तर त्यो नक्कली प्रेममै पनि हिंसा छ । प्रेमका नाममा प्रेम छैन अचेल । प्रेम पनि हिंसाको जग जस्तो देखिन्छ । ती सबै बाधा र व्यवधानहरू छिचोल्दै म मेरो जीवनको गोरेटोलाई रेखामय गोरेटो बनाउँदै आइरहेकी छु ।

म मेरो मर्जीको ड्रेसअप गर्छु । म मेरो मर्जीको मेकअप गर्छु । म आफैँ आफ्नो निर्णय गर्छु । मेरो उमेरको घोषणा गर्छु । लुक्ने र लुकाउने होइन, जिन्दगी देखिने र देखाउने कुरा हो । म आत्मसम्मानका साथ उभिन चाहन्छु र प्रत्येक बहिनीहरू ससम्मान उभिएको हेर्न चाहन्छु । यो अभियानमा म कतै काम लाग्न सक्छु कि ? म यसरी पनि सोचिरहेछु । आज ५० वर्ष पूरा भइरहँदा मलाई उमेर ढल्केको अनुभव छैन । अनुभवी भएको अनुभव छ र घरमा सुस्ताएर बसिरहनुभएका दिदीहरू उठ्नुहोस् र बहिनीहरु पनि जमजमाएर हिँड्न तयार हुनुहोस् ।

जीवन रेखा हो । जीवनको रेखा एउटा धर्का हो । धर्का पनि त कोरिनुपर्छ । जिन्दगीको धर्का अर्काले कोरिदिने होइन । आफैँले कोर्नुपर्छ । आफैँले कोरेको धर्कामा आफैँ हिँडेपछि आफ्नो जीवनको धर्का एउटा अमिट छाप भएर बस्छ । त्यही छाप इतिहास हो । समयले प्रत्येक नारीलाई इतिहास बनाउन आह्वान गरिरहेछ । कि अझै सुस्ताएर बसिरहने ?

आज समयले प्रत्येक नारीलाई आफ्नो इतिहास आफैँ बनाउने गरी उठ्न, हिँड्न र प्राप्ति भेट्न उत्प्रेरित गरिरहेछ । अल्छी, आलस्य, विरक्ति र गुनासोको भारी पन्छाएर उठ्नुपरेको छ । भन्नेहरूले भनिरहून् । सुन्नेहरू सुनिरहून् । हामी हिँडिरहन्छौं, हिँडिरहन्छौँ र हिँडिरहन्छौँ आफ्नै गतिमा, आफ्नै लय र आफ्नै तालमा तर एउटा कुरा चाहिँ मलाई मन परिरहेको छैन ।

कवि–कलाकारहरूलाई जिउँदो हुँदामा सम्मान गरिन्न । दुई शब्द सकारात्मक लेखिन्न । प्रोत्साहन दिइन्न । मरेपछि प्रशंसा र प्रशस्तिको भारी बोकाइन्छ । मरेको मान्छेले के देख्छ र ? के पाउँछ र ? माया दर्शाउने र माया गर्नेले जिउँदो हुँदैमा गर्नुपर्छ ताकि बाँच्दैमा देख्न पाओस् आफूमाथिको प्रशंसा र माया ! यो अभियान कसले सुरु गर्देला ? कहाँबाट सुरु होला ? म यस्तै एउटा नयाँ व्यवहार र संस्कृतिको खोजीमा छु ।

यसरी अनेकौं सोचहरू सँगाल्दै संगीतको दुनियामा हराउँदै आएँ । लाग्छ, जीवन पनि त एउटा सङ्गीत हो । जीवनको पनि सुर छ, ताल छ, लय छ । सुर, ताल, लयको जीवनमा आफ्नै मनको सुर, ताल, लय मिसाएर जीवनलाई सङ्गीतमय बनाउने हामी आफैँ त हौँ नि ! होइन र  ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?