News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशमा कैलाली, डडेलधुरा, कञ्चनपुर र टिकापुर लगायतका स्थानमा हरियाली र कृषिजन्य गतिविधि देख्न पाइयो।
- दोधारा–चाँदनीमा महाकाली नदीपारिको नेपाली भूमिमा चार लेनको पक्की पुल निर्माणाधीन छ र एकतर्फको पुलबाट सवारी आवतजावत भइरहेको छ।
- टिकापुरमा किसानहरूले तोरी काटेर थन्क्याउने काम तीव्र गतिमा गरिरहेका छन् जसले यहाँका किसानहरूको जीवन र संघर्ष देखाउँछ।
नेपालका ७ प्रदेशमध्ये ६ वटा घुमिसके पनि सुदूरपश्चिम पुग्ने अवसर मिलेको थिएन । यसपाली अफिसबाट निर्वाचनको कामले जाँदा सुदूरपश्चिम पुग्ने मौका जुर्यो ।
धनगढी ओर्लिनेबित्तिकै तोरी र गहुँले ढाकिएका फाँटहरूले आँखालाई शीतलता दिए । हरियालीले मन लोभ्याएपछि झोलाबाट क्यामेरा निकालेर तुरुन्तै केही तस्बिर खिचेँ ।

कैलालीबाट डडेलधुरातर्फ लाग्दा भीमदत्त राजमार्गको घुमाउरो, लामो र पट्यारलाग्दो यात्रा थियो । भासु भीर छिचोल्दै करिब चार घण्टामा डडेलधुरा पुग्यौँ । त्यहाँबाट शेरबहादुर देउवाको गाउँ गन्यापधुरा पुग्न कच्ची सडक हुँदै ओरालो लाग्यौँ । गन्यापधुरा पुग्दा खेतका डिलैभरि राखिएका टौवाहरूको दृश्यले मन छोयो । यो दृश्यले मेरो मात्र होइन, साथीहरूको पनि मन लोभ्यायो ।

पाखाहरूमा घाँस सुकेर बिरक्तलाग्दो देखिन थाले पनि खेतमा लगाइएका बालीले ताजा हरियाली छरिरहेको देखिन्थ्यो । रुवाखोला आफ्नै ताल र लयमा बगिरहेको छ, जसले प्रकृतिको सौन्दर्य अझ जीवन्त बनाउँछ ।




डडेलधुराबाट कञ्चनपुरतर्फ लाग्यौँ ।
कञ्चनपुर पुगेपछि छुटाउनै नहुने ठाउँ हो– महाकाली नदीपारिको नेपाली भूमि, दोधारा–चाँदनी । पहिले महाकाली जोड्ने एकमात्र झोलुङ्गे पुल थियो, तर अहिले चार लेनको पक्की पुल निर्माणाधीन छ । हाल एकतर्फको पुलबाट सवारी साधन आवतजावत गर्न सकिने भइसकेको छ ।



दोधारा–चाँदनीमा अहिले तोरी पहेँलो फूलले पहेँलपुर छ । सुनौला फाँटहरूको समुद्रले मन प्रफुल्लित बनाउँछ ।

यता टिकापुरमा भने किसानहरू तोरी भित्र्याउने तयारीमा जुटेका छन् । खेतमा तोरी काटेर थन्क्याउने काम तीव्र गतिमा भइरहेको छ । यो दृश्यले यहाँका किसानहरूको जीवन र संघर्षलाई स्पष्ट देखाउँछ ।




यो यात्राले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य तथा स्थानीय संस्कृतिको नजिकबाट अनुभव गर्ने अवसर मिल्यो। हरियाली, शान्ति र सरलताले भरिएको यो ठाउँले जोकोहीको मन छुन्छ । फर्केर आउने रहर जगाउँछ ।


प्रतिक्रिया 4