+
+
Shares

रौतहट घटनाबारे प्रहरी- कारमा रास्वपा उम्मेदवार थिएनन्, चालकमाथि ज्यान मुद्दामा अनुसन्धान

अनुसन्धानका क्रममा उक्त कार चुनावी प्रचारमै खटिएको पाइएको छ । रास्वपा उम्मेदवार शेख सगिरको चुनावी घरदैलोमा उक्त कार खटिएको पाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ माघ २३ गते १८:२९

२३ माघ, काठमाडौं । बिहीबार दिउँसो २ बजेतिर रौतहटको ईशनाथ नगरपालिका–३ मठिया टोलमा एउटा कारले चार वर्षीया बालिकालाई किच्यो ।

सार्वजनिक भएको क्लोज सर्किट क्यामेरा (सीसीक्यामेरा)को फुटेजमा बा १५ च ४२४४ नम्बरको सतो कार गुड्दै गरेको देखिन्छ । केही अगाडि सानो घुम्ती हुन्छ । त्यही घुम्तीनेरबाट ती बालिका बाटो क्रस गर्न खोजेको जस्तो देखिन्छ । आफ्नै गतिमा गुडेको त्यो कारले ती बालिकालाई ठक्कर दिन्छ । चक्काले किचेर अगाडि बढेपछि कार रोकिन्छ । केही मानिसहरू दौडिएर लडिरहेकी ती बालिकालाई उठाउँछन् । त्यतिन्जेलमा त्यहाँ मान्छेको भीड जम्मा भइसक्छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार त्यतिबेला गम्भीर घाइते भएकी बालिका चार वर्षीया अल्फा खातुन हुन् । उनलाई त्यही ठक्कर दिने कारमा राखेर अस्पताल लगिन्छ । ‘ठक्कर दिएपछि त्यही कारमा बालिकाको आमा र आफन्त बसेर अस्पताल लगेको देखिएको छ,’ बस्यालले अनलाइनखबरसँग भने ।

उनका अनुसार ती बालिकालाई सुरुमा सिटी अस्पताल गौर लगिन्छ । त्यहाँ गम्भीर रहेको बताएपछि प्रादेशिक अस्पताल गौर लगिन्छ । बालिकाको अवस्था गम्भीर रहेको भनेपछि चालक त्यहाँबाट फरार हुन्छन् ।

अन्तत: चिकित्सकले ती बालिकालाई मृत घोषणा गर्छन् । बालिकाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा उक्त कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्टिकर टाँसेको देखिन्छ । अगाडिको नम्बर प्लेटनेर बाँसको लट्ठी ठड्याइएको उक्त कारलाई प्रहरीले नियन्त्रणमा लिन्छ ।

उक्त लट्ठी झण्डा राख्न प्रयोग गरिएको हुनसक्ने विश्लेषण गर्दै उक्त कार चुनावी प्रचारमा खटिएको भन्ने निष्कर्ष प्रहरीले निकाल्छ । नभन्दै अनुसन्धानका क्रममा उक्त कार चुनावी प्रचारमै खटिएको पाइएको छ ।

रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी घरदैलोमा उक्त कार खटिएको पाइएको छ । प्रहरीले बालिकाको मृत्यु भएपछि बिहीबार नै कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

डीएसपी बस्यालका अनुसार उक्त कारमा बालिकालाई ठक्कर दिने बेला भने रास्वपा उम्मेदवार सगिर सवार थिएनन् । ‘चुनावी प्रचारमा कार प्रयोग भएको भन्ने बुझिएको छ । तर त्यतिबेला उम्मेदवार सगिर सवार हुनुहुन्न रहेछ,’ बस्यालले अनलाइनखबरसँग भने ।

प्रहरीका अनुसार त्यतिबेला उम्मेदवार सगिर भने चुनावी घरदैलोमा सक्रिय थिए । त्यही बेला उनका चालक मुस्ताखले उक्त कार चलाएका थिए ।

सवारी ज्यानको मुद्दा

पक्राउ परेका चालकविरुद्ध प्रहरीले सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ । ‘बालिकाको ज्यान नै गएपछि सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाएका छौं,’ डीएसपी बस्यालले भने ।

बिहीबार पक्राउ परेका चालक मुस्ताखलाई म्याद थपका लागि प्रहरीले शुक्रबार अदालत उपस्थित गराएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रौतहटमार्फत जिल्ला अदालत रौतहट उपस्थित गराइएका चालकविरुद्ध म्याद थप समेत भएको छ ।

डीएसपी बस्यालका अनुसार पहिलो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । अब उनीमाथि सवारी ज्यानको कसुरमा अनुसन्धान भएर मुद्दा चलाइने बस्यालले बताए ।

हिरासतमा रहेका चालक भने लाइसेन्सबाहक रहेको पाइएको डीएसपी बस्याल बताउँछन् ।

कार उम्मेदवार सगिरको नाममा

बालिकालाई ठक्कर दिने कार भने रास्वपा उम्मेदवार सगिरको नाममा रहेको पाइएको छ । ठक्कर दिएपछि कारमाथि अनुसन्धान गर्दा रास्वपा उम्मेदवार सगिरको नाममा कारको ब्लु–बुक रहेको पाइएको छ ।

आफ्नो नाममा कार भए पनि उनले चालक मुस्ताखलाई कार चलाउन दिएका थिए । सोही बेलामा दुर्घटना भएको थियो ।

यता रास्वपा नेताको कारले ठक्कर दिएर बालिकाको ज्यान गएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको छ । रास्वपाले भने विज्ञप्ति नै निकालेर कानूनलाई सघाउने बताएको छ ।

‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको र घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं ।’

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीद्धारा जारी विज्ञप्तीमा पीडित परिवारलाई न्याय दिलाउन समेत पार्टीले कुनै कसर बाँकी नराख्ने उल्लेख गरिएको छ ।

‘कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्दैन । पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?