राजनीति मेरो लागि कुनै आकस्मिक महत्वाकांक्षा होइन, न त पद र प्रतिष्ठाको खोजी । राजनीति मेरो जीवनका भोगाइ, संघर्ष र समाजसँगको निरन्तर साक्षात्कारबाट जन्मिएको एउटा वैचारिक निष्कर्ष हो । म किन भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उठें ? भन्ने प्रश्नको उत्तर कुनै एक वाक्यमा सीमित छैन, यो उत्तर मेरो राजनीतिक यात्रा, पत्रकारिताको अनुभव, श्रमजीवी वर्गसँगको ऐक्यबद्धता र राज्यको चरित्रप्रति मेरो दृष्टिकोणसँग गाँसिएको छ ।
मैले राजनीति कर्णालीको उपेक्षित भूगोलबाट सिकें, जहाँ राज्य नागरिकको होइन, शक्ति र पहुँचको मात्र थियो । २०५६ सालदेखि विद्यार्थी आन्दोलन हुँदै माओवादी युद्धमा होमिंदा; जेल, हिरासत र अदालतका मोर्चामा उभिंदा, मैले राज्यको दमनकारी अनुहार मात्र होइन, परिवर्तनप्रतिको जनताको अदम्य चाहनालाई पनि नजिकबाट देखें । यही अनुभवले मलाई राजनीति पदको खेल होइन, सामाजिक एजेण्डालाई न्यायपूर्ण बनाउने माध्यम हो भन्ने बोध गरायो ।
पत्रकारिताले मलाई समाजको अर्को तहमा पुर्यायो । झन्डै दुईदशक नेपाली पत्रकारिताको मूलप्रवाहमा काम गर्दा मैले अभिव्यक्ति स्वतन्त्रताको मूल्य मात्र होइन, श्रमजीवी पत्रकारहरूको दयनीय अवस्था पनि देखें । श्रम शोषण, असुरक्षा र अपमान विरुद्ध आवाज उठाउनु सजिलो थिएन । तर यही संघर्षले श्रमजीवी पत्रकार संघ, नेपाल स्थापना गर्ने र नेतृत्व गर्ने जिम्मेवारीसम्म पुर्यायो । मेरो राजनीतिक दृष्टिकोण यहीं निर्माण भयो, ‘लोकतन्त्र’ श्रमको सम्मान विना अर्थहीन छ, उन्नत लोकतन्त्रका लागि प्रगतिशील दृष्टिकोणको जरूरत छ ।
भक्तपुर–२ मा मेरो उपस्थिति यही दृष्टिकोणको आधारमा हो । म यहाँ बाहिरबाट आएको उम्मेदवार होइन । नीलबाराही (मूलपानी पीपलबोट पारि), बोडेमा डेढ दशकदेखि बस्दै आएको छु । बोडे आसपासका बस्ती, यहाँका किसान, श्रमजीवी, नेवार समुदायका सांस्कृतिक जीवन र दैनिकीसँग म प्रत्यक्ष जोडिएको छु । भक्तपुर आज ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले भरिएको जिल्ला भए पनि, यहाँका श्रमजीवी र मध्यम वर्गीय नागरिकले त्यो समृद्धि आफ्नै जीवनमा अनुभूत गर्न सकेका छैनन् । यही अधुरो मुद्दाको सुनुवाइ र पैरवी गर्न जरूरी ठानेर मैले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निधो गरें ।
सूर्यविनायकदेखि मध्यपुर थिमिसम्म फैलिएको म उठेको निर्वाचन क्षेत्र तीव्र शहरीकरणको चपेटामा छ । तर शहरी विकास योजनाविहीन छ । धुलाम्मे सडक, अव्यवस्थित ढल, खानेपानीको संकट, सार्वजनिक खुला क्षेत्रको अभाव र अव्यवस्थित तारजालीले शहरलाई असुरक्षित बनाइरहेको छ । यो केवल पूर्वाधारको समस्या होइन; यो राज्यको दृष्टिकोणको समस्या हो । त्यसैले म वैज्ञानिक गुरुयोजना सहितको दीर्घकालीन शहरी व्यवस्थापनको पक्षमा छु ।
सुशासनको प्रश्न अझ गहिरो छ । दलगत सिन्डिकेट, बिचौलिया प्रवृत्ति र प्रशासनिक ढिलासुस्तीले जनतालाई राज्यबाट टाढा बनाएको छ । लोकतन्त्र चुनावको दिनमा मात्र सम्झिने अभ्यासले नागरिक र प्रतिनिधि बीचको सम्बन्ध टुटेको छ । म यसलाई पुन:स्थापित गर्न चाहन्छु, डिजिटल सेवा, सार्वजनिक सुनुवाइ र ‘सांसदसँग नागरिक’ जस्ता प्रत्यक्ष संवादका माध्यमबाट । शिक्षा र स्वास्थ्यको अवस्था लोकतन्त्रको स्तर मापन गर्ने सूचक हो । यहाँ सामुदायिक विद्यालयहरू कमजोर बनाइएका छन् ताकि शैक्षिक माफियाहरूको शिक्षा व्यापार फस्टाओस् । स्वास्थ्य चौकीहरू औषधि र जनशक्तिविहीन छन् ताकि निजी अस्पतालको बजार बढोस् । म यी क्षेत्रलाई बजारको हातबाट निकालेर अधिकारको क्षेत्रमा फर्काउन चाहन्छु, गुणस्तरीय सामुदायिक शिक्षा र पहुँचयोग्य सार्वजनिक स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने नीति मार्फत ।
सामाजिक सुरक्षाको प्रश्न पनि उत्तिकै गम्भीर छ । युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य छन्, ज्येष्ठ नागरिक एक्लिंदै गएका छन्, अपाङ्गता भएका नागरिकहरू सार्वजनिक स्थानमै अपमानित हुनुपरेको छ । यो केवल व्यवस्थापनको समस्या होइन, यो समावेशी लोकतन्त्रको असफलता हो । म स्थानीय उद्यम, युवा स्वरोजगार र अपाङ्गतामैत्री संरचनालाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्न चाहन्छु । भक्तपुरको संस्कृति र परम्परागत कला, हस्तकला र सांस्कृतिक सम्पदालाई आधुनिक अर्थतन्त्रसँग जोडेर मात्र विकास दिगो हुन्छ । म यही दृष्टिकोण बोकेर उम्मेदवार बनेको हुँ ।
अन्तत: म किन भक्तपुर–२ मा उठें भन्ने प्रश्नको उत्तर यही हो । किनकि म राजनीतिलाई श्रमजीवी वर्गको पक्षमा उभिने माध्यम बनाउन चाहन्छु । लोकतन्त्रलाई केवल शासन प्रणालीका लागि मात्र होइन, सामाजिक न्यायको अभ्यास बनाउने मेरो दृढ विश्वास छ । मैले जीवनभर भोगेको विभेद, संघर्ष र पत्रकारिताबाट सिकेको सत्य यही भन्छ, यदि राजनीति जनताको जीवन बदल्न सक्दैन भने त्यो राजनीति होइन । भक्तपुर–२ का जनताले दिनुहुने प्रत्येक मतलाई म विकास, सुशासन र आत्मसम्मानको ऊर्जामा रूपान्तरण गर्ने संकल्पमा परिणत गर्नेछु । यो मेरो उम्मेदवारी पद मात्रका लागि पनि होइन, यो एउटा वैचारिक अभियान हो, प्रगतिशील लोकतन्त्रको अभ्यासका लागि ।
नेपालको लोकतान्त्रिक अभ्यास केवल निर्वाचनको नियमितता वा सरकार परिवर्तनको चक्रमा सीमित विषय बनाइनुहुन्न । यो राज्य संरचनामा सुधार, सामाजिक शक्ति सम्बन्ध र विकासको दिशासँग जोडिएको ऐतिहासिक प्रक्रियामा बदल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यिनै संरचनागत प्रश्नहरू अझै अनुत्तरित रहेको यथार्थका बीच मैले भक्तपुर–२ बाट उम्मेदवारी दिएको हुँ ।
भक्तपुर जस्तो सांस्कृतिक सम्पदाले भरिएको र आर्थिक सम्भावना बोकेको क्षेत्रलाई केवल ऐतिहासिक गौरवमा सीमित राखेर हुँदैन । यहाँको साना उद्योग, पर्यटन, कृषि र सिर्जनात्मक अर्थतन्त्रलाई आधुनिक प्रविधि र बजारसँग जोड्नु आवश्यक छ । प्रगतिशील दृष्टिकोणले स्थानीय अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने र युवालाई रोजगारी सिर्जना गर्ने दीर्घकालीन रणनीति प्रस्ताव गर्छ । नेपालको राजनीतिक संक्रमणले संघीयता र संविधान निर्माण मार्फत संस्थागत उपलब्धि हासिल गरेको छ । तर शासनको प्रभावकारिता, प्रतिनिधित्वको वास्तविक समानता र नीतिगत स्थिरताको अभाव र चुनौती अझै छ । यसर्थ लोकतन्त्रलाई अर्को उन्नत चरणमा लैजाने वैचारिक बहस आवश्यक छ । त्यो बहस यो चुनावमा होस् भन्ने पनि हाम्रो अपेक्षा हो ।
हालको मिश्रित निर्वाचन प्रणालीले केही हदसम्म समावेशी प्रतिनिधित्व दिएको भए पनि आर्थिक स्रोत र स्थानीय शक्ति संरचनाको प्रभावले असमान प्रतिस्पर्धा कायम राखेको छ । पूर्ण समानुपातिक प्रतिनिधित्वले हरेक मतको समान मूल्य सुनिश्चित गर्दै संसद्लाई जनमतको वास्तविक प्रतिबिम्ब बनाउन सक्छ भन्ने हाम्रो बुझाइ छ । यसले विचार, कार्यक्रम र नीतिमा आधारित राजनीति प्रवर्द्धन गर्छ र ऐतिहासिक रूपमा बहिष्कृत समुदायको आवाजलाई निर्णायक प्रक्रियामा ल्याउँछ ।
नेपालको संसदीय अभ्यासमा देखिएको अस्थिरता र नीतिगत निरन्तरताको अभावले दीर्घकालीन विकास योजनालाई प्रभावित पार्दा, भ्रष्टचार व्यप्त हुँदा, पुराना र ठूला भनिएका दलहरूले शासन प्रणालीको दुरुपयोग गरेर नै गत भदौ २३ र २४ को जेनजी विद्रोह भएको थियो । त्यसैले स्पष्ट जनादेश प्राप्त सशक्त कार्यकारी राष्ट्रपतीय प्रणालीले आर्थिक योजना, पूर्वाधार निर्माण र सामाजिक सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन सक्छ । तर यसको लागि सन्तुलित शक्ति संरचना, स्वतन्त्र न्यायपालिका, सशक्त संसद् र संघीय विकेन्द्रीकरण अनिवार्य हुन्छ । पूर्ण समानुपातिक संसद् र सशक्त कार्यकारी बीचको सन्तुलनले प्रतिनिधित्वको विविधता र शासनको स्थिरतालाई एकैसाथ सम्भव बनाउने मार्ग बन्छ भन्ने हाम्रो ठहर हो ।
यसर्थ नेपालको लोकतान्त्रिक यात्रा राजनीतिक परिवर्तनहरूको निरन्तर शृंखला मात्र होइन, सामाजिक संरचना र शक्ति सम्बन्धहरूको पुनर्संरचनासँग गाँसिएको ऐतिहासिक शृंखला हो । संविधान निर्माणदेखि संघीयताको अभ्याससम्म आइपुग्दा लोकतन्त्रले संस्थागत रूप त पाएको छ, तर सामाजिक–आर्थिक न्याय, प्रतिनिधित्वको समानता र शासनको प्रभावकारितामा देखिएका कमजोरीहरूले लोकतन्त्रलाई उन्नत चरणमा लैजान सक्ने वैचारिक आधार देशले खोजिरहेको छ । यहींबाट प्रगतिशील दृष्टिकोणको आवश्यकता स्पष्ट हुन्छ, किनकि लोकतन्त्रलाई केवल प्रक्रियागत प्रतिस्पर्धा होइन, संरचनागत न्याय र उत्पादनमुखी रूपान्तरणको माध्यमको रूपमा हेर्ने दृष्टि विना उन्नत लोकतन्त्र सम्भव हुँदैन ।
प्रगतिशील दृष्टिकोणले लोकतन्त्रलाई शक्ति–वितरणको प्रश्नसँग जोडेर हेर्छ । राज्य सामाजिक शक्तिहरूको द्वन्द्व र सहमतिबाट निर्मित संरचना भएकाले आर्थिक वर्चस्व र राजनीतिक अभिजात्यलाई चुनौती विना औपचारिक लोकतन्त्रले जनताको वास्तविक मुक्ति सुनिश्चित गर्न सक्दैन । पूर्ण समानुपातिक प्रतिनिधित्वले जनमतको यथार्थ प्रतिबिम्ब संसद्मा सुनिश्चित गर्छ भने सशक्त कार्यकारी संरचनाले नीतिगत निरन्तरता र प्रभावकारिता बढाउँछ । दुवैको सन्तुलनले लोकतन्त्रलाई बहुमतको एकाधिकारबाट जोगाउँदै स्थिर र उत्तरदायी शासन सम्भव बनाउँछ ।
अन्तत: उन्नत लोकतन्त्र कुनै स्थिर मोडेल होइन; यो निरन्तर विकसित हुने ऐतिहासिक प्रक्रिया हो । जब प्रतिनिधित्व न्यायपूर्ण हुन्छ, शासन संरचना प्रभावकारी हुन्छ र विकास उत्पादनमुखी दिशामा अघि बढ्छ— त्यतिबेला मात्र लोकतन्त्र जनताको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउने शक्तिमा रूपान्तरण हुन्छ ।
अत: भक्तपुर–२ बाट उठ्ने मेरो निर्णय यही वैचारिक समझ, राजनीतिक अनुभव र सामाजिक प्रतिबद्धताको परिणाम हो । म चुनाव जित्नका लागि मात्र होइन, लोकतन्त्रलाई उन्नत चरणमा लैजाने बहसलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म जोड्न उठेको हुँ । प्रगतिशील दृष्टिकोण, संरचनागत सुधार र जनमुखी विकासको मार्गमा आधारित राजनीतिक अभ्यास मार्फत भक्तपुर–२ लाई परिवर्तनको प्रयोगशालामा रूपान्तरण गर्ने लक्ष्य सहितको मेरो उम्मेदवारी हो ।
प्रतिक्रिया 4