+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पत्रकारिता छोडेर राजनीतिक यात्रा

दलगत सिन्डिकेट, बिचौलिया प्रवृत्ति र प्रशासनिक ढिलासुस्तीले जनतालाई राज्यबाट टाढा बनाएको छ । लोकतन्त्र चुनावको दिनमा मात्र सम्झिने अभ्यासले नागरिक र प्रतिनिधि बीचको सम्बन्ध टुटेको छ । म यसलाई पुन:स्थापित गर्न चाहन्छु ।

जन्मदेव जैसी जन्मदेव जैसी
२०८२ फागुन २ गते ९:०६

राजनीति मेरो लागि कुनै आकस्मिक महत्वाकांक्षा होइन, न त पद र प्रतिष्ठाको खोजी । राजनीति मेरो जीवनका भोगाइ, संघर्ष र समाजसँगको निरन्तर साक्षात्कारबाट जन्मिएको एउटा वैचारिक निष्कर्ष हो । म किन भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उठें ? भन्ने प्रश्नको उत्तर कुनै एक वाक्यमा सीमित छैन, यो उत्तर मेरो राजनीतिक यात्रा, पत्रकारिताको अनुभव, श्रमजीवी वर्गसँगको ऐक्यबद्धता र राज्यको चरित्रप्रति मेरो दृष्टिकोणसँग गाँसिएको छ ।

मैले राजनीति कर्णालीको उपेक्षित भूगोलबाट सिकें, जहाँ राज्य नागरिकको होइन, शक्ति र पहुँचको मात्र थियो । २०५६ सालदेखि विद्यार्थी आन्दोलन हुँदै माओवादी युद्धमा होमिंदा; जेल, हिरासत र अदालतका मोर्चामा उभिंदा, मैले राज्यको दमनकारी अनुहार मात्र होइन, परिवर्तनप्रतिको जनताको अदम्य चाहनालाई पनि नजिकबाट देखें । यही अनुभवले मलाई राजनीति पदको खेल होइन, सामाजिक एजेण्डालाई न्यायपूर्ण बनाउने माध्यम हो भन्ने बोध गरायो ।

पत्रकारिताले मलाई समाजको अर्को तहमा पुर्‍यायो । झन्डै दुईदशक नेपाली पत्रकारिताको मूलप्रवाहमा काम गर्दा मैले अभिव्यक्ति स्वतन्त्रताको मूल्य मात्र होइन, श्रमजीवी पत्रकारहरूको दयनीय अवस्था पनि देखें । श्रम शोषण, असुरक्षा र अपमान विरुद्ध आवाज उठाउनु सजिलो थिएन । तर यही संघर्षले श्रमजीवी पत्रकार संघ, नेपाल स्थापना गर्ने र नेतृत्व गर्ने जिम्मेवारीसम्म पुर्‍यायो । मेरो राजनीतिक दृष्टिकोण यहीं निर्माण भयो, ‘लोकतन्त्र’ श्रमको सम्मान विना अर्थहीन छ, उन्नत लोकतन्त्रका लागि प्रगतिशील दृष्टिकोणको जरूरत छ  ।

भक्तपुर–२ मा मेरो उपस्थिति यही दृष्टिकोणको आधारमा हो । म यहाँ बाहिरबाट आएको उम्मेदवार होइन । नीलबाराही (मूलपानी पीपलबोट पारि), बोडेमा डेढ दशकदेखि बस्दै आएको छु । बोडे आसपासका बस्ती, यहाँका किसान, श्रमजीवी, नेवार समुदायका सांस्कृतिक जीवन र दैनिकीसँग म प्रत्यक्ष जोडिएको छु । भक्तपुर आज ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले भरिएको जिल्ला भए पनि, यहाँका श्रमजीवी र मध्यम वर्गीय नागरिकले त्यो समृद्धि आफ्नै जीवनमा अनुभूत गर्न सकेका छैनन् । यही अधुरो मुद्दाको सुनुवाइ र पैरवी गर्न जरूरी ठानेर मैले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निधो गरें ।

सूर्यविनायकदेखि मध्यपुर थिमिसम्म फैलिएको म उठेको निर्वाचन क्षेत्र तीव्र शहरीकरणको चपेटामा छ । तर शहरी विकास योजनाविहीन छ । धुलाम्मे सडक, अव्यवस्थित ढल, खानेपानीको संकट, सार्वजनिक खुला क्षेत्रको अभाव र अव्यवस्थित तारजालीले शहरलाई असुरक्षित बनाइरहेको छ । यो केवल पूर्वाधारको समस्या होइन; यो राज्यको दृष्टिकोणको समस्या हो । त्यसैले म वैज्ञानिक गुरुयोजना सहितको दीर्घकालीन शहरी व्यवस्थापनको पक्षमा छु ।

सुशासनको प्रश्न अझ गहिरो छ । दलगत सिन्डिकेट, बिचौलिया प्रवृत्ति र प्रशासनिक ढिलासुस्तीले जनतालाई राज्यबाट टाढा बनाएको छ । लोकतन्त्र चुनावको दिनमा मात्र सम्झिने अभ्यासले नागरिक र प्रतिनिधि बीचको सम्बन्ध टुटेको छ । म यसलाई पुन:स्थापित गर्न चाहन्छु, डिजिटल सेवा, सार्वजनिक सुनुवाइ र ‘सांसदसँग नागरिक’ जस्ता प्रत्यक्ष संवादका माध्यमबाट । शिक्षा र स्वास्थ्यको अवस्था लोकतन्त्रको स्तर मापन गर्ने सूचक हो । यहाँ सामुदायिक विद्यालयहरू कमजोर बनाइएका छन् ताकि शैक्षिक माफियाहरूको शिक्षा व्यापार फस्टाओस् । स्वास्थ्य चौकीहरू औषधि र जनशक्तिविहीन छन् ताकि निजी अस्पतालको बजार बढोस् । म यी क्षेत्रलाई बजारको हातबाट निकालेर अधिकारको क्षेत्रमा फर्काउन चाहन्छु, गुणस्तरीय सामुदायिक शिक्षा र पहुँचयोग्य सार्वजनिक स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने नीति मार्फत ।

सामाजिक सुरक्षाको प्रश्न पनि उत्तिकै गम्भीर छ । युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य छन्, ज्येष्ठ नागरिक एक्लिंदै गएका छन्, अपाङ्गता भएका नागरिकहरू सार्वजनिक स्थानमै अपमानित हुनुपरेको छ । यो केवल व्यवस्थापनको समस्या होइन, यो समावेशी लोकतन्त्रको असफलता हो । म स्थानीय उद्यम, युवा स्वरोजगार र अपाङ्गतामैत्री संरचनालाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्न चाहन्छु । भक्तपुरको संस्कृति र परम्परागत कला, हस्तकला र सांस्कृतिक सम्पदालाई आधुनिक अर्थतन्त्रसँग जोडेर मात्र विकास दिगो हुन्छ । म यही दृष्टिकोण बोकेर उम्मेदवार बनेको हुँ ।

उन्नत लोकतन्त्र कुनै स्थिर मोडेल होइन; यो निरन्तर विकसित हुने ऐतिहासिक प्रक्रिया हो । जब प्रतिनिधित्व न्यायपूर्ण हुन्छ, शासन संरचना प्रभावकारी हुन्छ र विकास उत्पादनमुखी दिशामा अघि बढ्छ— त्यतिबेला मात्र लोकतन्त्र जनताको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउने शक्तिमा रूपान्तरण हुन्छ

अन्तत: म किन भक्तपुर–२ मा उठें भन्ने प्रश्नको उत्तर यही हो । किनकि म राजनीतिलाई श्रमजीवी वर्गको पक्षमा उभिने माध्यम बनाउन चाहन्छु । लोकतन्त्रलाई केवल शासन प्रणालीका लागि मात्र होइन, सामाजिक न्यायको अभ्यास बनाउने मेरो दृढ विश्वास छ । मैले जीवनभर भोगेको विभेद, संघर्ष र पत्रकारिताबाट सिकेको सत्य यही भन्छ, यदि राजनीति जनताको जीवन बदल्न सक्दैन भने त्यो राजनीति होइन । भक्तपुर–२ का जनताले दिनुहुने प्रत्येक मतलाई म विकास, सुशासन र आत्मसम्मानको ऊर्जामा रूपान्तरण गर्ने संकल्पमा परिणत गर्नेछु । यो मेरो उम्मेदवारी पद मात्रका लागि पनि होइन, यो एउटा वैचारिक अभियान हो, प्रगतिशील लोकतन्त्रको अभ्यासका लागि ।

नेपालको लोकतान्त्रिक अभ्यास केवल निर्वाचनको नियमितता वा सरकार परिवर्तनको चक्रमा सीमित विषय बनाइनुहुन्न । यो राज्य संरचनामा सुधार, सामाजिक शक्ति सम्बन्ध र विकासको दिशासँग जोडिएको ऐतिहासिक प्रक्रियामा बदल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यिनै संरचनागत प्रश्नहरू अझै अनुत्तरित रहेको यथार्थका बीच मैले भक्तपुर–२ बाट उम्मेदवारी दिएको हुँ ।

भक्तपुर जस्तो सांस्कृतिक सम्पदाले भरिएको र आर्थिक सम्भावना बोकेको क्षेत्रलाई केवल ऐतिहासिक गौरवमा सीमित राखेर हुँदैन । यहाँको साना उद्योग, पर्यटन, कृषि र सिर्जनात्मक अर्थतन्त्रलाई आधुनिक प्रविधि र बजारसँग जोड्नु आवश्यक छ । प्रगतिशील दृष्टिकोणले स्थानीय अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने र युवालाई रोजगारी सिर्जना गर्ने दीर्घकालीन रणनीति प्रस्ताव गर्छ । नेपालको राजनीतिक संक्रमणले संघीयता र संविधान निर्माण मार्फत संस्थागत उपलब्धि हासिल गरेको छ । तर शासनको प्रभावकारिता, प्रतिनिधित्वको वास्तविक समानता र नीतिगत स्थिरताको अभाव र चुनौती अझै छ । यसर्थ लोकतन्त्रलाई अर्को उन्नत चरणमा लैजाने वैचारिक बहस आवश्यक छ । त्यो बहस यो चुनावमा होस् भन्ने पनि हाम्रो अपेक्षा हो ।

हालको मिश्रित निर्वाचन प्रणालीले केही हदसम्म समावेशी प्रतिनिधित्व दिएको भए पनि आर्थिक स्रोत र स्थानीय शक्ति संरचनाको प्रभावले असमान प्रतिस्पर्धा कायम राखेको छ । पूर्ण समानुपातिक प्रतिनिधित्वले हरेक मतको समान मूल्य सुनिश्चित गर्दै संसद्लाई जनमतको वास्तविक प्रतिबिम्ब बनाउन सक्छ भन्ने हाम्रो बुझाइ छ । यसले विचार, कार्यक्रम र नीतिमा आधारित राजनीति प्रवर्द्धन गर्छ र ऐतिहासिक रूपमा बहिष्कृत समुदायको आवाजलाई निर्णायक प्रक्रियामा ल्याउँछ ।

नेपालको संसदीय अभ्यासमा देखिएको अस्थिरता र नीतिगत निरन्तरताको अभावले दीर्घकालीन विकास योजनालाई प्रभावित पार्दा, भ्रष्टचार व्यप्त हुँदा, पुराना र ठूला भनिएका दलहरूले शासन प्रणालीको दुरुपयोग गरेर नै गत भदौ २३ र २४ को जेनजी विद्रोह भएको थियो । त्यसैले स्पष्ट जनादेश प्राप्त सशक्त कार्यकारी राष्ट्रपतीय प्रणालीले आर्थिक योजना, पूर्वाधार निर्माण र सामाजिक सुधारलाई प्रभावकारी रूपमा अघि बढाउन सक्छ । तर यसको लागि सन्तुलित शक्ति संरचना, स्वतन्त्र न्यायपालिका, सशक्त संसद् र संघीय विकेन्द्रीकरण अनिवार्य हुन्छ । पूर्ण समानुपातिक संसद् र सशक्त कार्यकारी बीचको सन्तुलनले प्रतिनिधित्वको विविधता र शासनको स्थिरतालाई एकैसाथ सम्भव बनाउने मार्ग बन्छ भन्ने हाम्रो ठहर हो ।

यसर्थ नेपालको लोकतान्त्रिक यात्रा राजनीतिक परिवर्तनहरूको निरन्तर शृंखला मात्र होइन, सामाजिक संरचना र शक्ति सम्बन्धहरूको पुनर्संरचनासँग गाँसिएको ऐतिहासिक शृंखला हो । संविधान निर्माणदेखि संघीयताको अभ्याससम्म आइपुग्दा लोकतन्त्रले संस्थागत रूप त पाएको छ, तर सामाजिक–आर्थिक न्याय, प्रतिनिधित्वको समानता र शासनको प्रभावकारितामा देखिएका कमजोरीहरूले लोकतन्त्रलाई उन्नत चरणमा लैजान सक्ने वैचारिक आधार देशले खोजिरहेको छ । यहींबाट प्रगतिशील दृष्टिकोणको आवश्यकता स्पष्ट हुन्छ, किनकि लोकतन्त्रलाई केवल प्रक्रियागत प्रतिस्पर्धा होइन, संरचनागत न्याय र उत्पादनमुखी रूपान्तरणको माध्यमको रूपमा हेर्ने दृष्टि विना उन्नत लोकतन्त्र सम्भव हुँदैन ।

प्रगतिशील दृष्टिकोणले लोकतन्त्रलाई शक्ति–वितरणको प्रश्नसँग जोडेर हेर्छ । राज्य सामाजिक शक्तिहरूको द्वन्द्व र सहमतिबाट निर्मित संरचना भएकाले आर्थिक वर्चस्व र राजनीतिक अभिजात्यलाई चुनौती विना औपचारिक लोकतन्त्रले जनताको वास्तविक मुक्ति सुनिश्चित गर्न सक्दैन । पूर्ण समानुपातिक प्रतिनिधित्वले जनमतको यथार्थ प्रतिबिम्ब संसद्मा सुनिश्चित गर्छ भने सशक्त कार्यकारी संरचनाले नीतिगत निरन्तरता र प्रभावकारिता बढाउँछ । दुवैको सन्तुलनले लोकतन्त्रलाई बहुमतको एकाधिकारबाट जोगाउँदै स्थिर र उत्तरदायी शासन सम्भव बनाउँछ ।

अन्तत: उन्नत लोकतन्त्र कुनै स्थिर मोडेल होइन; यो निरन्तर विकसित हुने ऐतिहासिक प्रक्रिया हो । जब प्रतिनिधित्व न्यायपूर्ण हुन्छ, शासन संरचना प्रभावकारी हुन्छ र विकास उत्पादनमुखी दिशामा अघि बढ्छ— त्यतिबेला मात्र लोकतन्त्र जनताको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउने शक्तिमा रूपान्तरण हुन्छ ।

अत: भक्तपुर–२ बाट उठ्ने मेरो निर्णय यही वैचारिक समझ, राजनीतिक अनुभव र सामाजिक प्रतिबद्धताको परिणाम हो । म चुनाव जित्नका लागि मात्र होइन, लोकतन्त्रलाई उन्नत चरणमा लैजाने बहसलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म जोड्न उठेको हुँ । प्रगतिशील दृष्टिकोण, संरचनागत सुधार र जनमुखी विकासको मार्गमा आधारित राजनीतिक अभ्यास मार्फत भक्तपुर–२ लाई परिवर्तनको प्रयोगशालामा रूपान्तरण गर्ने लक्ष्य सहितको मेरो उम्मेदवारी हो ।

लेखक
जन्मदेव जैसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?