मनगढन्ते सोचहरूको भुमरीमा रगंमगिरहेको मगज कहिलेकाहीँ आफैं तर्सिन्छ र प्रश्न गर्छ आफैंसँग– ‘संसारमा अहिलेसम्म सबैभन्दा बढी अड्याब्ट भएको नाटक कुन हो ?’ र आफैं जवाफ फ्याक्छ– ‘शेक्सपियरको ह्याम्लेट ।’
आजसम्म ‘ह्यामलेट’ कतिपटक रूपान्तरण गरियो भन्ने कुराको कुनै एउटा निश्चित संख्या भने छैन, किनभने यो ४०० वर्षभन्दा अगाडिदेखि विभिन्न माध्यम र संसारका भिन्नभिन्न संस्कृतिहरूसँग गोलिदै निरन्तर रूपान्तरित हुँदै आएको छ ।
‘ह्यामलेट’मै आधारित या त्यसको कथाबाट प्रेरित भएर संसारभर अहिलेसम्म १०० भन्दा बढी सिनेमाहरू बनिसकेका छन् । जस्तै: रोजर एलर्स र रोब मिन्कोफले संयुक्त निर्देशन गरेको यानिमेटेड फिल्म ‘द लाइन किङ’, विशाल भारद्वाजको ‘हेदर’ या अकिरा कुरुसवाको ‘द ब्याड स्लिप वेल’ ।
सन् २०२२ मा रोबर्ट इगर्सले ‘द नर्थम्यान’ भन्ने एउटा फिल्म बनाए, जुन प्राचीन स्क्यान्डिनेभियन दन्त्यकथा ‘एम्लेथ’मा आधारित छ । एम्लेथ मध्ययुगीनकालका एक पौराणिक स्क्यान्डिनेभियन राजकुमार हुन्, जसको बदलाको कथा डेनिस इतिहासकार तथा धर्मशास्त्री स्याक्सो ग्राम्याटिकसले आफ्नो किताब ‘हिस्ट्री अफ डेन्स’मा उल्लेख गरेका छन् ।
शेक्सपियरले यो नाटक सोही स्क्यान्डिनेभियन दन्त्यकथा र तत्कालीन लन्डनको रङ्गमञ्चमा प्रचलित तर गुमनाम एउटा पुरानो नाटक ‘अर-ह्यामलेट’ बाट प्रभावित भएर लेखेका थिए । कतिले यसलाई शेक्सपियरकै नाटकको प्रारम्भिक संस्करण मान्छन् भने प्रायःले यसको श्रेय थोमस किडलाई दिन्छन् ।
‘ह्यामलेट’बारे केही इतिहासकारमाझ एउटा थ्योरी छ, जुन शेक्सपियरको व्यक्तिगत जीवनसँग सम्बन्धित छ । यो नाटक लेखिनु केही वर्षअघि सन् १५९६ मा शेक्सपियरका एकमात्र छोरा ह्यामनेटको ११ वर्षको उमेरमा निधन भएको थियो । उनको मृत्युको कारण भने ठ्याक्कै थाहा छैन । सम्भवतः १४औं शताब्दीमा युरोप र एसियामा फैलिएको मानव इतिहासकै एउटा घातक महामारी ‘ब्रूबोनिक प्लेग’का कारण मृत्यु भएको भनिन्छ ।
त्यससमय ‘ह्यामलेट’ र ‘ह्यामनेट’ प्रायः एउटै नाउँका रूप मानिन्थे । नामसँगै ‘ह्यामलेट’ नाटकमा देखिने शोक, गुमनाम हुनुको भावना, बाबु–छोराको सम्बन्ध र मृत्युको चिन्तनले आफ्नो छोराको मृत्युपछि शेक्सपियरमा परेको भावनात्मक प्रभावलाई चित्रण गर्छ ।
अकसर विलियम शेक्सपियरलाई अङ्ग्रेजी भाषाको इतिहासकै महान् लेखकहरूमध्ये एक मानिन्छ । आफ्नो जीवनकालमा उनले लगभग ३९ वटा नाटक, १५४ वटा सोनेट र केही आख्यानात्मक कविताहरू लेखे । अङ्ग्रेजी साहित्यको इतिहासमा उनी यस्ता लेखक हुन्, जसका कृतिहरू चार शताब्दीदेखि संसारका अधिकांश भाषा र माध्यमहरूमा अनुवाद र रुपान्तरित हुँदै आएका छन् ।
अझैपनि अन्य नाटककारको तुलनामा उनका नाटकहरू बढी मञ्चन हुने गर्छन् र आजसम्म पनि ती उत्तिकै सान्दर्भिक र जीवन्त रहँदै आएका छन् । यद्यपि उनका नाटक र कविताहरू विश्वभर प्रसिद्ध छन्, तर शेक्सपियरको व्यक्तिगत जीवनी र साहित्यिक यात्राका धैरै पक्षहरू भने अझै रहस्यको गर्भभित्र र केही इतिहासकारका थ्योरी पछाडि लुकेर बसेका छन् ।
सन् २०२० मा प्रकाशित आइरिस लेखिका म्यागी ओ’फ्यारेलको उपन्यासमा आधारित भएर ओस्कार विजेता निर्देशक क्लोही झाओले यो वर्ष एउटा फिल्म बनाइन्– ‘ह्यामनेट’ । यो फिल्मको कथा विलियम शेक्सपियर र उनकी पत्नी एग्नेस/एनी ह्याथवेको व्यक्तिगत सँगसँगै उनीहरूको पारिवारिक जीवन वरिपरि घुम्छ । उनीहरूका ११ वर्षीय छोरा ह्यामनेटको ब्युबोनिक प्लेगका कारण भएको असामयिक निधन र त्यो शोकले उनीहरूमा पारेको प्रभावको काल्पनिक कथामा फिल्म केन्द्रित रहेको छ ।
फिल्मको पटकथा विलियम शेक्सपियर(पल मेस्कल) र एग्नेस(जेसी बक्ली) को पहिलो भेटको वर्णनबाट सुरु हुन्छ । त्यस समयसम्म शेक्सपियर आफ्नो भविष्यलाई लिएर निश्चित छैनन् । उनी बच्चाहरूलाई ल्याटिन भाषा पढाउँछन् र आफ्ना बाबुको पेशा ‘पञ्जा बनाउने’ काममा सहयोग गर्छन् । यता एग्नेस एक ‘वनबोक्सी’की छोरी हुन्छिन् र पृथ्वी, रुख अनि आकाशसँगको उनको सम्बन्ध फिल्ममा अत्यन्तै जीवन्त महसुस हुन्छ । उनीहरूको प्रेमलाई सुरुमा दुवै परिवारले अस्वीकार गर्छन्, यद्यपि एग्नेस गर्भवती भएका कारण उक्त विवाहलाई अनिच्छापूर्वक अनुमति दिइन्छ ।
त्यसपछि उनीहरूका सन्तानहरू हुन्छन्– छोरी सुसाना र जुम्ल्याहा: छोरी जुडिथ र छोरो ह्यामनेट । एक परिवारको रूपमा उनीहरू खुसी देखिन्छन् । तर विलियम भने अशान्त छन्, आफ्नो जिन्दगीसँग पूर्णरूपमा सन्तुष्ट छैनन् । आफ्ना पतिमा ‘मैले भेटेका कुनै पनि पुरुषमा भन्दा बढी क्षमता छ’ भन्ने कुरामा सचेत एग्नेसले विलियमलाई लन्डन जान प्रोत्साहन दिन्छिन् ।
वास्तवमा यो फिल्मको केन्द्रबिन्दुमा विलियम शेक्सपियरभन्दा पनि उनकी पत्नी एग्नेस छिन् । फिल्ममा हामीले नाटककारका रूपमा विलियम शेक्सपियरको उदयका बारेमा लगभग केही पनि जान्दैनौँ, बरू एग्नेसका अनुभवहरूसँगै एक बाबु र पतिका रूपमा शेक्सपियरको जीवनको चित्रण गरिएको पाइन्छ ।
फिल्ममा निर्देशक झाओले दुवै पात्रहरूको मनोभावलाई एक-एकवटा मेटाफरले छोपिदिएकी छन् । एग्नेस– त्यो धर्ती हुन्, जसले परिवारलाई आफ्नो कोमलतामा बाँधेर राख्छिन् । उनको प्रकृतिप्रतिको प्रेम, जंगली जीवजन्तुहरूसँग कुराकानी गर्ने शैली, जडीबुटीबाट औषधि बनाउने र भविष्य देख्न सक्ने क्षमताका कारण उनलाई ‘वनबोक्सी’को उपनाम दिइएको छ । र यता शेक्सपियर भने फिक्का आकाशजस्ता छन्– जो सधैं आफ्नै कल्पना र विचारमा हराइरहन्छन् । आफ्नो करियर बनाउन उनी बारम्बार लन्डन जान्छन् । उनको स्वभाव पनि बतासजस्तो छ । कहिले उनी शान्त देखिन्छन्, कहिले आफ्नै कुण्ठाहरूको जालोमा बैचन हुन्छन् ।
ब्युबोनिक प्लेगका कारण उनीहरूको एक मात्र छोरा ‘ह्यामनेट’को मृत्यु हुन्छ । त्यससमय शेक्सपियर आफ्नो छोरालाई अन्तिम बिदाइ गर्नका निम्ति घरमा हुँदैनन् । उनी नाट्य क्षेत्रमा करियर बनाउन लन्डनमै व्यस्त हुन्छन् । आफ्नो छोराको मृत्युको शोकाकुल परिस्थितिलाई एक्लै सहनु परेकोले, एग्नेस आफ्ना पतिसँग रिसाएकी हुन्छिन् र उनीहरूको सम्बन्ध बिस्तारै बिगिँदै जान्छ ।
यहाँ फिल्मको उद्देश्य शोकलाई सौन्दर्यको रङमा पोत्ने या त्यसको अनुभवलाई बढाइचढाइ गरेर प्रस्तुत गर्नु होइन, बरु यहाँ शोकलाई मानवीय दृष्टिकोण दिइएको छ । एग्नेसका लागि, यो एउटा यस्तो अवस्था हो जसले समयलाई रोकिदिन्छ र उनको जीवनको लयलाई छिन्नभिन्न बनाउँछ । विलियम यहाँ महान् नाटककारको छविमा उभिएका छैनन्, उनी एक पति हुन्, शोकमा डुबेका बाबु हुन्, जो छोराको मृत्युपछि आफूबाट सबथोक गुमेको महसुस गर्छन् ।
‘ह्यामनेट’ मर्मस्पर्शी छ । भावनात्मक रूपमा यसले दर्शकलाई स्तब्ध बनाउँछ । वियोगले पात्रको चरित्रलाई निखार्ने भन्दा पनि उनीहरूलाई भित्रैदेखि खोक्रो बनाउँछ भन्ने कुरा फिल्मले बुझेको छ । त्यसैले पनि यो फिल्म वियोगान्त कथाको भारमा थिचिएको जस्तो मात्र लाग्दैन । बरु यहाँ शेक्सपियरले आफ्नो प्रसिद्ध नाटक ‘ह्यामलेट’ कसरी सिर्जना गरे भन्ने कुराको काव्यिक प्रक्रियालाई पुनर्कल्पना गरिएको छ । शेक्सपियरको यो नाटक शताब्दीयौंदेखि प्रशंसा र चर्चाको एउटा उच्च स्थानमा छ र यस फिल्मले यस नाटकको उत्पत्तिको कथालाई खोज्ने आँट गरेको छ ।

नाटककारका रूपमा शेक्सपियरको करियरमा केन्द्रित हुनुको साट्टा यो फिल्मले उनको परिवारभित्रको शोक, प्रेम र आत्मीय सम्बन्धहरूको अन्वेषण गर्छ । यो फिल्म सुरुदेखि अन्त्यसम्म निकै सुन्दर ढंगले खिचिएको छ । फिल्मको विकासक्रमलाई हेर्दा यो कुनै नाटकजस्तो पनि लाग्छ, जो तीन भावमा बाँडिएको छ– हर्ष, वियोग र मुक्ति ।
फिल्मको अन्तिम दृश्यहरूले हामीलाई प्रकृतिको सुन्दरता अनि क्रूरताबाट ‘ह्यामलेट’ नाटकको पहिलो मञ्चनमा पुर्याउँछ । उक्त नाटकमा शेक्सपियर ह्यामलेटका मृत बाबुको भूतको भूमिकामा हुन्छन् । छोराको वियोगपछि आफूमा परेको भावानात्मक चोटलाई उनले नाटकका दृश्य र संवादहरूमा छताछुल्ल पारेका छन् । जहाँ एउटा दृश्यमा उनी ह्यामलेटको कानमा भन्छन्– ‘मलाई नबिर्स’ ।
यस्तो लाग्छ, यो दृश्य शेक्सपयरको आत्मग्लानि हो, उनको पश्चाताप हो । नाटकको माध्यमद्वारा उनी आफ्ना मृत छोरा ह्यामनेटसँग संवाद गरिरहेका छन् । उनलाई अन्तिम बिदाइ दिइरहेका छन्, जुन उनले आफ्नो वास्तविक जीवनमा गर्न सकेनन् ।
मञ्चन भइरहेको नाटकमा राजा क्लाउडियसले रचेको षड्यन्त्रअनुसार लायर्टेससँगको द्वन्द्वका क्रममा विष भरिएको तरवारले लागेर घाइते भएपछि ह्यामलेट स्टेजमा ढल्छन् । मर्नुअघि उनले त्यही तरवार र विष घोलिएको रक्सी प्रयोग गरेर क्लाउडियसको हत्या गर्छन् । र मर्नुअघि उनले आफ्ना साथी होरासियोलाई आफ्नो सत्य कथा संसारलाई सुनाउन आग्रह गर्छन् र अन्तिम वाक्य बोल्छन्– ‘बाँकी सबै मौनता हो ।’
एग्नेसको आँखा स्टेजको छेउमा उभिरहेका आफ्ना पति शेक्सपियरसँग जुध्न पुग्छ । यही ठाउँमा उनको अनुहारको सूक्ष्म हाउभाउ स्पष्ट रूपमा झल्किन्छ । उनीहरूबीच केही बेर भावुक नजरहरू साटासाट हुन्छन् । उनले बुझ्छिन्– त्यो मौनताभित्र जमेर आफ्नो पतिभित्र उम्लिरहेको शोकको लाभा र आत्मग्लानिको आगो । नाटक सकिएपछि उनले स्टेजमा आफ्नो छोराको बालसुलभ प्रतिरुप देख्छिन्, जो स्टेजको अँध्यारो ढोकामा विलिन हुन्छ । उनी एकोहोरो हाँस्न थाल्छिन् । जस्तो फिल्म भन्न खोजिरहेछ– छोराको वियोगान्त मृत्युको वास्तविकतालाई एग्नेसले स्विकारिन् र आफ्ना पतिको मौनतामा जमेको शोकलाई बुझेर उनका कमजोरीहरूलाई माफ गरिदिइन् ।
‘ह्यामनेट’ : शोकले कसरी हामीलाई छिन्नभिन्न बनाउँछ र हामी कसरी फेरि आफूलाई समेट्ने प्रयास गर्छौं भन्ने कुराको एउटा हृदयविदारक चित्रण हो । फिल्मले प्राकृतिक र संवेदनशील अनि गहकिला भावनाहरूलाई प्रस्टसँग पर्दामा उतारेको छ, जसमा जेसी बक्ली र पल मेस्कलको अभिनय अहिलेसम्मकै उत्कृष्ट छ । पात्रहरूबीचका आत्मीय क्षणहरू एकदम वास्तविक लाग्छन्, ती हृदयस्पर्शी छन् र निसासमा गाँजिएर पनि मन्त्रमुग्ध पार्ने खाल्का छन् । फिल्म आफ्नो उदृय स्पष्ट छ– यो वियोगको गाथा मात्र होइन, बरु कलाको महान् क्षमतामाथिको एउटा विशाल चिन्तन हो ।
प्रतिक्रिया 4