+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

निर्वाचन प्रहरीमाथि कुटपिट आरोप, डीएसपी भन्छन्- अनुशासनमा राख्न खोजिएको मात्रै हो

‘खाना खाएर फर्कने क्रममा बाटोमा अपशब्द प्रयोग गरेपछि निर्वाचन प्रहरीलाई अनुशासनमा बस्नुस् भनेर प्रशिक्षकहरूले अलि कडाइ गरिएको हो । एक-दुई लाठी प्रयोग गर्दा केही गुनासो आएका होलान् । -डीएसपी

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८२ फागुन २ गते १०:२९

२ फागुन रोल्पा । रोल्पामा नेपाल प्रहरीले निर्वाचन प्रहरीमाथि कुटपिट गरेको घटना बाहिरिएको छ । माघ २६ मा सोमबार प्रहरी कर्मचारीहरूले १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरेको विषयले अहिले जिल्लामा तरंग सिर्जना गरेको हो ।

कुटपिट भएकामध्ये केहीलाई गम्भीर चोटपटक लागेको पनि खुलेको छ । १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको स्रोतले बतायो । उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयले गुपचुपमै राख्न खोजे पनि अहिले बाहिरिएको हो ।

अस्पतालस्रोतका अनुसार उनीहरू उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । उपचारमा आएका कुटिएका निर्वाचन प्रहरीमध्ये धेरैजसोको ढाडमा र तीघ्रामा नीलडाम रहेको अस्पतालस्रोतले जनाएको छ ।

अपमानित महसुस गर्दा कुटपिट

प्रत्यक्षदर्शीका अनुसार त्यो दिन बेलुका ६ बजेतिर रोल्पा नगरपालिका-४ लिबाङको सात तलेमा रहेको शहीद प्रतिष्ठानको भवनमा खाना खाएर बस्ने व्यवस्था गरिएको कभर्ड हलतिर निर्वाचन प्रहरी फर्किएका थिए ।

नेपाल प्रहरीका दुई जना जवान मोटरसाइकलमा फर्किएका थिए । उनीहरूले निर्वाचन प्रहरीको व्यवहारले अपमानित महसुस गरेर मेस सञ्चालन भएको ठाउँमै फर्किन लगाएको स्रोत बताउँछ ।

त्यहाँ पुगेपछि ‘हाँस्ने को–को हो ?’ भन्दै निर्वाचन प्रहरीमाथि लाठीले कुटपिट भएको बताइएको छ । कुटिनेमा निर्वाचन प्रहरीको ४ नम्बर टोलीका १०४ जना रहेको स्रोतले बतायो ।

त्यसरी कुटपिट भएपछि तत्कालै केही निर्वाचन प्रहरीले प्रतिवादसमेत गरेका थिए । जसमा जिल्ला प्रहरीका अधिकारीले कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्ने आश्वासन दिएपछि विषय गुपचुप भएको थियो ।

उक्त आश्वासन कार्यान्वयन नभएको आशंका देखिएपछि निर्वाचन प्रहरीहरूले नै घटना चुहाएका हुन् ।

अहिले जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)  वीरेन्द्रवीर विश्वकर्माले पनि घटना भएको स्वीकार गरेका छन् । ‘खाना खाएर फर्कने क्रममा बाटोमा अपशब्द प्रयोग गरेपछि निर्वाचन प्रहरीलाई अनुशासनमा बस्नुस् भनेर प्रशिक्षकहरूले अलि कडाइ गरिएको हो,’ उनले भने, ‘एक-दुई लाठी प्रयोग गर्दा केही गुनासो आएका होलान् ।’ उनले यो विषय धेरै ठुलो नभएको दाबी गरे । कुटपिटमा संलग्न प्रहरी जवानलाई विभागीय कारबाही गरिसकेको पनि डीएसपी विश्वकर्माले बताए ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पनि घटना स्वीकार गर्दै सुरक्षामा खटिने प्रहरी कर्मचारीले अनुशासनमा बस्नुपर्नेमा सतर्क गराएको आफूले जानकारी पाएको बताए ।

‘निर्वाचन प्रहरी निर्वाचन सुरक्षाका लागि भर्ना गरिएको हो । उसले पनि अनुशासनमा बस्नुपर्छ । संस्थाको नियम मान्नुपर्छ,’ उनले भने, ‘त्यसैले अनुशासनमा रहन सचेत गराइएको हो, भन्ने मैले सुनेको छु ।’

अहिले सामाजिक सञ्चालनमा यो घटनालाई कतिपयले मानव अधिकार उलंघनको घटनाका रूपमा पनि अर्थ्याइरहेका छन् ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?