+
+
Shares

समाजबाट छुट्दै गइरहेको साहित्य

हाम्रो लेखनको जरा माटोबाट विच्छेदित भइसकेपछि , आकाशतर्फको उडानका लागि प्रस्थान गरिसकेपछि ती हाम्रा लागि होइनन् भनेर बुझ्नमा हामी बाध्य हुनुपर्छ ।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ फागुन ८ गते १०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले दशैँको छुट्टीमा गाउँमा भेटेका प्लस टू विद्यार्थीले साहित्यको व्यावहारिक काम नभएको बताए।
  • लेखकले साहित्य समाजसँगको दूरी र उपभोक्तावादी समाजमा यसको उपेक्षा भएको उल्लेख गरे।
  • साहित्यकारले सामाजिक संवाद र पाठक अन्तरक्रियामा जोड दिनुपर्ने र मौलिकता गुम्दा साहित्यको प्रयोजनमाथि प्रश्न उठ्ने बताए।

यो लेख लेखिरहनुभन्दा दुई वर्षअघिको एउटा स्मृति मेरो मस्तिष्कमा छड्किरहेको छ ।

दशैँको छुट्टीमा गाउँ गएको थिएँ । वर्षभरि शहरले लाटो बनाइदिएको चेतनालाई गाउँको बतासले बौराइदिएको थियो । ग्राउन्डमा फुटबल खेल चलिरहेको थियो । म ग्राउन्डकै वरिपरि टहलिरहेको थिएँ । एकजना पात्रलाई भेट्न पुगेँ, जो प्लस टूमा अङ्ग्रेजी विषय लिएर पढिरहेका थिए । कुरा हुँदै जाँदा अध्ययनको कुरा पनि खोतलिन थाल्यो । कुराकानीको सिलसिलामा उनले भने- ‘यो लिटरेचरको त काम नै के छ र ! पढुन्जेल समरी पढ्ने हो, पास भइहालिन्छ ।’

मैले थप कुरा अघि बढाइनँ । यस अर्थले होइन कि म उसलाई निरुत्तर नै राख्न चाहन्थेँ । ऊ जीवनको जुन उमेर, अनुभव अनि सामाजिक परिवेशमा थियो, मेरा अनेकन विजयातुर तर्कहरूका बाबजुद पनि उसको अन्तस्करणले मेरा तर्कहरूलाई सही मान्न सक्दैनथ्यो । जब आफू अगाडिको जीवन नै प्रमाण बन्न सक्दैन, तर्कहरू निस्तेज बन्न जान्छन् ।

अपूर्व प्रश्नहरू तर यो घटनालाई एउटा प्रश्नसँग जोड्ने प्रयास भने हामीले अवश्य गर्नुपर्छ । प्रश्न अपूर्व पनि छैन- ‘के साहित्य समाजदेखि छुट्टिँदै गइरहेको हो ?’

हो, माथि उल्लिखित पात्रले भनेझैँ साहित्यको व्यावहारिक जीवनमा कुनै काम देखिँदैन । समाजको आधारभूत चरित्र नै के हुन्छ भने कुनै पनि वस्तुको मूल्य उक्त वस्तुले दिने परिणाममा भर पर्छ । जति शीघ्र र तात्कालिक परिणाम दिन सक्यो, वस्तुको मूल्य आकाशिँदै जान्छ ।

तर साहित्यको भने तात्कालिक मूल्य छैन । कुनै समाचारपत्रले दिने तात्कालिक मूल्यभन्दा पनि कम छ साहित्यको मूल्य । त्यसकारण समाजमा साहित्य तुलनात्मक रूपमा उपेक्षित मानिन्छ । जुन देशहरू जहाँ अत्यधिक सङ्ख्यामा किताब पढिने र बिक्री हुने मानिन्छ, त्यहाँ पनि साहित्यको उपस्थिति हाम्रोमा झैँ दुर्लभ हुन्छ ।

यदि मार्क्सवादीहरू आफ्नो शास्त्रीयताबाट निर्लिप्त भएर अध्ययन गर्ने भए अहिलेको समयमा उनीहरूले समाजलाई दुई वर्गमा वर्गीकृत गर्थे- पुँजीपति र उपभोक्ता । हाम्रो समय उपभोक्तावादको समय हो । उपभोक्तावादी समाजको महत्त्वपूर्ण विशेषता के हो भने यसमा तात्कालिक सुख दिने वस्तुहरूको उपभोगबाट व्यक्तिले आफूलाई सान्दर्भिक गराइराख्नु हो । यस्तो समाजमा कला र मानिसबीचको दूरी ह्वात्तै बढेर जान्छ ।

लोकमनोरञ्जित सामग्रीहरूले साहित्यलाई सामाजिक परिधिभित्र नगन्यझैँ बनाइदिएका छन् । कुनै फास्ट फूड जस्तै, हट न्युज जस्तै सामग्रीहरू चर्चा हुने स्थानमा साहित्यकारले स्थान पाउनका लागि लोकमनोरञ्जनका कुनै न कुनै एउटा विधि भने समाउन बाध्य छन् । समयको विपरीत प्रवाहमा बगेर आफ्नो महत्ता देखाउनु भनेको जोखिम मोल्नु हो । हो, अहिलेको मानिसले साहित्य खोजेका छैनन्, तर मुख्य प्रश्न भने ‘साहित्य खोज्नुपर्छ कि पर्दैन ?’ भन्ने हो ।

साहित्य या कुनै नयाँ कला त्यतिबेला मात्र सम्प्रेषणीय हुन्छ- जतिबेला साहित्य हाम्रो साझा अनुभूतिको धरातलमा लेखिएको हुन्छ । व्यास या होमर या तुलसीदासले लेखेका कृतिहरू आजसम्म उत्तिकै महत्त्वका साथ अध्ययन गरिनुको मूल कारण भनेको त्यही विषय र भाषा हो, जसमा हाम्रा अनुभूतिहरूले स्थान पाउँथे ।

निश्चय पनि साहित्य समाजको अपेक्षामा लेखिएको हुँदैन, तुलसीदासले भनेझैँ ‘स्वान्त सुखाय’को भावमै लेखिएको हुन्छ । तर जुन विषय र शैलीमा टेकेर लेखिएको हुन्छ, ती हाम्रा अनुभूति र जीवनका अभिलेखभन्दा अन्यत्र हुँदैनन् । तिनले हाम्रो आत्मविस्मृतिलाई हाम्रै बोधले समात्न सक्ने गरी प्रदर्शन गरिदिएका हुन्छन् ।

हाम्रो समय अब पुराना समयहरू जस्तो साझा अनुभवमा बद्ध समय छैन । आधुनिक समयले मानिशहरू विभाजन नगरे पनि वर्गीकृत भने अवश्य गरेको छ । हाम्रा स्वयंका खोज र पहिचानमा नयाँ-नयाँ बुँदाहरू थपिदिएको छ । यो क्रम अझै बढोत्तरी हुँदै जाँदा हामी प्रत्येकले हामीलाई अपवाद मान्न थालेका छौँ । अपवादहरू मात्र बसेको ठाउँमा साझा अनुभव भने हुँदैन ।

हामी एक-अर्कासँग फरक हुन सक्छौँ, तर आमूल रूपमा अपवाद भने छैनौँ । तर एउटा झुटो अथवा दिग्भ्रान्त अनुभूतिले, आफूलाई अपवाद ठान्ने अनुभूतिले कतै न कतै मानव जातिलाई वैकल्पिक जातिको रूपमा भने स्थापित गर्दै जाने खतरा कायम नै छ ।

यसैले हामी आफूलाई अपवाद मान्ने चलनबाट दंशित भएका छौँ । हामीले आफूलाई अभिव्यक्त गर्ने कृत्रिम भाषाशैलीको स्थापना गरेका छौँ र अमूर्तताका नाममा एउटा अन्तरक्रियाहीन साहित्यको सिर्जनामा लिप्त भएका छौँ । व्यक्तिवादले हामीलाइ आफ्ना क्षणिक , दिग्भ्रान्त अनुभवहरूलाई पनि एउटा साझा सामनायीकृत सूत्रमा ढल्न खोज्छौ । आफूलाई असामान्य र स्वाभाविक जीवनप्रवाहभन्दा भिन्न देखिने लोभ या चलनले गर्दा साहित्यकारको रचना र मानिशहरूको जीवनबीचको दूरी बढेको छ ।

तर यसबाट साहित्यकार आफैँलाई पनि हानिकारक छ । जुन साहित्य समाजको साझा जीवनसँग संवाद नै गर्न नसक्ने गरी वैयक्तिक हुन्छ, त्यसमा सापेक्ष दृष्टिलाई नै अन्तिम सत्य मान्ने लेखकीय अहङ्कार पनि तीव्र हुन्छ । दृष्टिहरू शून्यमा जन्मिन्छन्, शून्यमा बिलाउँछन् । जुग-जुगान्तरसम्म सान्दर्भिक रहने साहित्यले सापेक्षिक पात्र, घटना र दर्शनलाई अपरिवर्तनीय निरपेक्षताभित्र बुन्ने, बुट्टा भर्ने काम गर्छ । अर्को शब्दमा जीवन्तता प्रदान गर्छ ।

हाम्रो समाज पनि राजनीति र क्रान्तिबाट आक्रान्त भइरहने समाजभित्र पर्छ । सात सालदेखि बयासी सालसम्मको यात्रामा हाम्रो परम्परा, चेतना, जीवनशैली लगायतका कुराहरूमा परिवर्तन र परिष्कार हुँदै आएको छ । तर किन हो, हाम्रो साहित्यले यस्ता विषयहरू गैर-आख्यानका लागि मात्र छाडिदियो । यसबाट नै हामी यथार्थको धरातलबाट कसरी छुट्टिँदै गइरहेका छौँ र आफूलाई उजागर गर्दैछौँ भन्ने कुरा देखिँदै छ ।

समाज यति पनि दरिद्र हुँदैन कि त्यहाँ सधैँ यस्ता सदस्यहरू मात्र हुन् जो अविच्छिन्न उपभोग र व्यक्तिवादको अहङ्कारमा रमाउँछन् । यसमा यस्ता सदस्यहरू पनि हुन्छन् जो साहित्यका पारखी हुन्छन्, जो रचनाकारसँग रचनाहरूका बारेमा संवाद गर्न रुचाउँछन् ।

त्यस्तो समयमा साहित्यकारको रचनामा पाठक अन्तरक्रिया गर्ने स्थान नै भएन भने साहित्यको प्रयोजनमाथि प्रश्न उठाउने समय आएको छ भनेर बोध गर्नुपर्छ । आफ्ना मौलिकता हराउँदै गएको समाजसँग टेक्ने माटो नभएपछि साहित्यहरू आकाशको क्षेत्रफल र फैलावटतिर ताक्ने गर्छन् । हाम्रो लेखनको जरा माटोबाट विच्छेदित भइसकेपछि , आकाशतर्फको उडानका लागि प्रस्थान गरिसकेपछि ती हाम्रा लागि होइनन् भनेर बुझ्नमा हामी बाध्य हुनुपर्छ ।

लेखकीय स्वतन्त्रता छ जसले गर्दा लेखकको रचनामा सामाजिक अंकुश लगाउन पाइँदैन । तर आफ्नो लहड र सन्तुष्टिका लागि लेखिसकेपछि समाजिक रूपमा प्रतिष्ठापित हुने अपेक्षा र गनगन मनमा पनि राख्नु हुँदैन । केवल आफ्नो एकान्तिकतालाई सुमधुर बनाउने तर पाठकको एकान्तिकताको चिन्ता नगर्ने लेखक समाजको केन्द्रबाट परिधितर्फ घचेटिनु जीवनको स्वाभाविक नियम मानिनुपर्छ ।

गार्हो लेख्नु सहज काम हो । सहज लेख्न भने लेखकको अभ्यास लामो चाहिन्छ । कुनै समय तेस्रो आयामको आलोचना गर्दै तारानाथ शर्माले भनेका थिए– ‘सर्जकले सिर्जना छाती निचोरेर लेख्छ ।’ अधिकतर स्नायुहरू निचोर्दा, भाषाको आर्किटेक्चरमा समय खेर फाल्दा लेखकले आफ्नो स्वाभाविक सन्निहित निजत्व पनि खेर फालिरहेको हुन्छ ।

विदुर नीतिमा कतै भनिएको छ- वैद्यलाई रोगीहरूको संख्या घटेको मन पर्दैन, विद्वानलाइ समाजमा शिक्षित बढेको मन पर्दैन । समाजलाई मात्र दोष लगाएर उम्किने चाहने साहित्यकारहरूको हकमा पनि यही नियम लागु भएको जस्तो लाग्छ, वर्तमानको नेत्रपान गर्दा ।

अब मैले लेखनमै प्रारम्भमै उल्ल्लेख गरेको पात्रको प्रश्नलाइ के उत्तर दिउ ! गल्ती उसको हैन ।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?