१८ चैत, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमालेले सडकमा आफ्नै नेता-कार्यकर्तालाई पनि राम्ररी उतार्न सकिरहेको छैन।
प्रदर्शनमार्फत राजनीतिक प्रतिवादलाई देशव्यापी बनाउने भनिए पनि सहभागिताको कसीबाट हेर्दा सरकारलाई सडकबाट दिने चुनौती कामकाजी नबन्ने संकेत मिलिसकेको छ ।
यही निराशाजनक पृष्ठभूमिबीच बुधबार अपराह्न नेकपा एमालेको मुख्यालय च्यासलमा भने युवाहरूको अनपेक्षित भिड थियो । ती युवाहरूलाई पार्टी कार्यालयसम्म तान्ने चुम्बक बनेका थिए- एमालेका युवा सांसद सुहाङ नेम्वाङ।
सुहाङले एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ लाई निर्विरोध निर्वाचित गराउने पार्टी नेतृत्व (अध्यक्ष ओलीलगायत) को योजनाविरुद्ध उम्मेदवारी दिने घोषणा गरे। नेतृत्वको ‘फर्मान’ विरुद्ध एउटा युवा सांसदले देखाएको यो साहसले एमाले वृत्तका धेरै युवाहरूमा उत्साह थपेको थियो।
तर, च्यासलमा जे देखियो, त्यो नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान त्रासदीको सबैभन्दा भद्दा चित्र थियो । नेम्वाङले संसदीय दलको नेतामा उम्मेदवारी दिन एउटा प्रस्तावक र समर्थक पनि पाउन सकेनन्।
लोकतन्त्रको प्राण मानिने ‘प्रतिस्पर्धा’ त्यहाँ निरीह बन्यो। उपमहासचिव योगेश भट्टराईले समर्थक र प्रस्तावक बन्न नदिन सांसदहरूलाई दबाब दिएको भन्दै सार्वजनिक आपत्ति नै जनाए ।

परिणामतः एमाले संसदीय दलको नेतामा समानुपातिकतर्फबाट सांसद बनेका, माओवादी पृष्ठभूमिबाट आएका रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भए।
यस घटनाले एमालेभित्र फेरि तरङ्ग ल्याएको छ।
पार्टी सचिव योगेश भट्टराईले सार्वजनिक रूपमै असन्तुष्टि पोखे। उनले भने, ‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको र समग्र आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको बेला आज संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टीपङ्क्तिलाई थप चिन्तित बनाएको छ। सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन।’
अमृत साइन्स क्याम्पसका स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले सामाजिक सञ्जालमा लेखे, ‘नेतृत्व र शैली नबदल्ने एमालेको यो रबैया सचेत युवाहरूलाई स्वीकार्य छैन। चुनाव नजितेकालाई नेता मान्ने दासताले युवाको प्रतिनिधित्व गर्न सक्दैन।’
कुरा रामबहादुर थापा बादलले जिते वा सुहाङ नेम्वाङले हारे भन्ने होइन। कुरा त सुहाङले एउटा प्रस्तावक र समर्थक पनि पाउन नसक्ने गरी एमालेभित्र लोकतन्त्र कसरी खुम्चियो भन्ने हो।
चिया पसलमा नेतृत्वको कटु आलोचना गर्ने नेताहरू पार्टी पदाधिकारीका अगाडि पुग्दा किन गरुडका अगाडि सर्पजस्तो लल्याकलुलुक पर्छन् ? यसको जवाफ खोज्न कम्युनिस्ट आन्दोलनको इतिहास केलाउनुपर्छ ।
दोहोरो जीवन बाँच्न विवश नेताहरू
यस्तो लाग्छ- अहिले एमालेमा (र समग्र नेपाली कम्युनिस्ट आन्दोलनमा) नेता-कार्यकर्ता हुनु भनेको दुइटा जीवन जिउनु हो।
एउटै तथ्यमा दुइटा परस्पर विरोधी तर्क गर्नु हो। भित्रभित्रै एउटा ‘दुःखी आत्मा’ भएर बाँच्नु हो।
यसलाई मनोविज्ञानको भाषामा ‘संज्ञानात्मक असंगति’ भन्ने गरिन्छ। कार्यकर्तालाई थाहा छ- नेतृत्वको निर्णय गलत छ, यसले पार्टीलाई क्षति पुग्छ। तर, उनीहरू सार्वजनिक रूपमा भनिरहेका हुन्छन्, ‘यो नेतृत्वको दूरदर्शी र सर्वोत्कृष्ट निर्णय हो।’
आफ्नो आन्तरिक विश्वास र बाह्य कार्यबीचको यो द्वन्द्व कम गर्न उनीहरू ‘सायद मै पो गलत थिएँ कि, अध्यक्ष नै सही हुनुहुन्छ’ भन्दै ‘भक्ति संस्कृति’ अर्थात् भक्ति मार्गमै आफूलाई घिसार्छन् ।
यो पतन अचानक भएको होइन। फ्रान्सेली मार्क्सवादी दार्शनिक लुई अल्थुसरले भनेजस्तै यो राज्य वा पार्टीका ‘वैचारिक उपकरण’ को सफलता हो ।

जब पार्टीमा शक्ति केन्द्रीकरण हुन्छ, पार्टीको स्कुलिङ, प्रशिक्षण र मुखपत्रहरूले नेतृत्वको स्तुतिगानलाई ‘निष्ठा’ र प्रश्न गर्नुलाई ‘अनुशासनहीनता’ को भाष्य निर्माण गर्छन्।
टिकट, पद र अवसरको साँचो एउटै व्यक्तिको खल्तीमा भएपछि कार्यकर्ताहरू आफ्नो राजनीतिक अस्तित्व जोगाउन प्रश्नविहीन ‘आधुनिक दास’ मा रूपान्तरण हुन्छन्।
सुहाङ नेम्वाङले प्रस्तावक नपाउनुको कारण अरू केही होइन, सांसदहरूमा रहेको त्यही टिकट र अवसर गुम्ने भय हो।
समाजशास्त्री रोबर्ट मिचेल्सले सन् १९११ मै प्रतिपादन गरेको ‘आईरन ल अफ अलिगार्की’ आज एमालेमा ठ्याक्कै लागु भएको छ- जहाँ जतिसुकै लोकतान्त्रिक भनिए पनि संगठन अन्ततः सानो समूहको नियन्त्रणमा पुग्छ र आम सदस्यहरू नि:शब्द अनुयायी बन्न बाध्य हुन्छन्।
विधि र प्रक्रियाको औपचारिकीकरण
मदन भण्डारीले ‘प्रतिस्पर्धाद्वारा श्रेष्ठ बन्ने’ दार्शनिक मान्यता स्थापित गरेको पार्टीमा आज प्रतिस्पर्धा रुचाइन्न ।
चुनाव हारेका सीमित नेताहरूले हिरासतमा रहेका पार्टी अध्यक्षको ईशारामा काम गर्दै गरेको अभ्यासले पार्टीभित्रको लोकतन्त्र ‘हाइज्याक’ मा परेको अवस्था लुक्न सकेन ।
कुरा नतिजाको मात्रै होइन, विधिको औपचारिकीकरणको हो। कुरा कसले चुनाव जित्यो वा हार्यो भन्ने होइन, बरु भर्खरै सपथग्रहण गरेका सांसदहरूले यति छिट्टै मतदिने मतदाताको मनको आवाज कसरी बेवास्ता गरे भन्ने हो ।
त्यसो त, जेनजी आन्दोलनअघि सम्पन्न एमाले विधान महाधिवेशनले समाजको पदचाप सुन्न सकेन। त्यसअघिको चितवन (नारायणगढ) महाधिवेशनमा लोकतन्त्र केवल ‘सेटिङ’ को औपचारिकीकरणमा सीमित भएको र जहाँ भीम रावलहरूले भोगेको नियति आजका पुस्ताले बिर्सेका छैनन्।

२०५१ सालदेखि २०६२ सम्म युद्धरत माओवादीसँग ‘लोकतान्त्रीकरण’ को एजेन्डा बोकेर वैचारिक सङ्घर्ष गरेको एमाले आज लोकतन्त्रकै प्रश्नमा टाट पल्टिएको छ। एमालेको लोकतान्त्रीकरणको छवि यतिबेला लेनिनपछि सोभियत संघमा उदाएको स्टालिनको युगतिर बेगले दौडिरहेको हो ?
त्यतिबेला फरक मत राख्नेहरूको भौतिक सफाया हुन्थ्यो, अहिले राजनीतिक सफाया हुन्छ। घनश्याम भूसालहरू अटाउँदैनन्, भीम रावलहरू किनारा लगाइन्छन्, र सुहाङ नेम्वाङहरूले समर्थक पाउँदैनन्।
संयोग नै मान्नुपर्छ, हिजो बन्दुकको राजनीतिबाट आएका बादल आज समानुपातिकको बाटो हुँदै संसदीय दलको मात्र होइन, अध्यक्ष ओली पक्राउ परेपछि पार्टीकै कार्यवाहक नेतृत्वमा पुगेका छन्।
कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणको झन्डा उठाएको एमालेको दार्शनिक व्याख्या अब च्यासलबाट उनै बादलले गर्नेछन् । किनकि, उनी पनि ओलीकै ‘निगाह’ बाट निर्वाचित भएका हुन्।
आवश्यकता छ, युवालाई आकर्षित गर्नुपर्ने । कार्यशैली छ- युवाको बाटो छेक्ने । जनताले चुनेपनि पार्टीले नचुन्ने । चुनिन नदिने ।
एमालेका बौद्धिक नेता सुरेन्द्र पाण्डे संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र मति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको बताउँछन् ।
‘एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब नेतृत्व ‘म नै पार्टी र पार्टी नै म’ भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ।’
यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्ने उनको निष्कर्ष छ ।
‘९ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुल्यो भने कहिले खुल्ने? अब स्पष्ट छ – पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन,’ पाण्डे लेख्छन्, ‘पार्टीलाई कसैको ‘निजी क्लब‘ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ।’
‘ड्र्यागन रोपेर उपियाँ फलाउने’ नियति
यो स्तरको चुनावी पराजयपछि पनि एमाले नेतृत्वमा देखिएको अटेरीपना र अहंकारले १३५-४० वर्षअघिको युरोपेली कम्युनिस्ट आन्दोलनको एउटा रोचक सन्दर्भलाई सम्झाउँछ।
सन् १८९० को दशकको सुरुवाततिर जर्मनी र फ्रान्समा आफूलाई ‘मार्क्सवादी’ भन्ने युवाहरूको लहर चलेको थियो। तर, उनीहरूलाई न ऐतिहासिक भौतिकवादको गहिराइ थाहा थियो, न जीवन व्यवहारमा लागू गर्थे। उनीहरू केवल पद, प्रतिष्ठा र पार्टीमा छिटो माथि पुग्न ‘मार्क्सवाद’ को पहिरन लगाउँथे ।
उनीहरूको वैचारिक खोक्रोपन र अनावश्यक घमण्ड देखेर कार्ल मार्क्सका सहकर्मी फ्रेडरिख एंगेल्स निकै दिक्क भएका थिए। उनले १८९० मा पल लाफार्गलाई लेखेको चिठीमा प्रसिद्ध जर्मन कवि हेनरिक हाइनेको एउटा भनाइ उद्धृत गरेका थिए- ‘मैले ड्र्यागनहरू रोपेको थिएँ र उपियाँ फलाएँ।’
ग्रीक पौराणिक कथामा ‘ड्र्यागनको दाँत रोप्दा शक्तिशाली योद्धाहरू जन्मन्छन्’ भन्ने मिथक छ।
एंगेल्सले मार्क्सवादको नाममा उदाएका अवसरवादी र सत्तालोलुप अनुयायीहरूलाई ‘उपियाँ’ सँग तुलना गरेका थिए। मार्क्स आफैँ पनि फ्रान्सका ती तथाकथित मार्क्सवादीहरूको अन्धभक्ति र जडसूत्रवादी शैली देखेर यति दिक्क भएका थिए कि उनले झोँकमा भनेका थिए- ‘(यदि यही मार्क्सवाद हो भने) मलाई यति मात्र थाहा छ कि म मार्क्सवादी होइन !’

मार्क्सको त्यो भनाइ मार्क्सवादको खारेजी थिएन, बरु विचारको सरलीकरण, यान्त्रिक प्रयोग र सत्ताको लागि भइरहेको दुरुपयोगविरुद्धको कडा चेतावनी थियो।
तर, आज १३५ वर्षपछि नेपालमा आफूलाई मार्क्सवादीहरूको नियति ठ्याक्कै उस्तै देखिन्छ । अध्यक्ष ओलीले महाधिवेशनबारे सार्वजनिक रूपमै भनेका थिए, ‘म बोल्छु, महाधिवेशन सकिन्छ।’
तर यसको वैचारिक प्रतिवाद गर्न सक्ने कुनै नेता पार्टीभित्र बाँकी थिएनन् । त्यसले एमालेभित्रको आलोचनात्मक चेत गुमेको संकेत गरेको थियो ।
चुनावमा त्यति ठूलो धक्का खाएर पार्टीको साख भुइँमा बज्रिँदा पनि एमाले नेतृत्वले समाजको कुरा सुन्न रुचि देखाएको छैन। महासचिव पोखरेल अझै पनि फेसबुकबाट आलोचना गर्नेहरूलाई झपार्दै ‘रफु-मास्टर’ को भूमिका निभाइरहेका छन्।
तर, जस्तोसुकै अन्धकारमा पनि एउटा सानो झिल्को बाँकी रहन्छ। सुहाङ नेम्वाङले तेस्रो-चौथो पुस्ताको प्रतिनिधित्व गर्दै जे गरे, त्यो एमाले लोकतान्त्रीकरणको विगत सम्झाउने प्रयास बनेको छ । प्रस्तावक, समर्थक नपाए पनि उनले विधि र प्रक्रिया सम्झाएका छन्।
नेपालको संसदीय इतिहासमा साना दलको सूचीमा खुम्च्याएको एमालेका लागि सुहाङले विद्रोहको झन्डा उठाउने साहस गरेका छन् । उनको स्पष्ट सन्देश हो- यदि पार्टीलाई ‘उपियाँ’ हरूको झुन्डबाट जोगाएर साँचो अर्थमा ‘ड्र्यागन’ बनाउने हो भने, पुस्तान्तरण र रुपान्तरणको दबाबलाई ख्याल गर्नुपर्छ, समयको आवाज सुन्नुपर्छ ।
उनको सन्देश थियो- एमालेको मुख्यालमा बुधबार थुप्रिएको युवाको भिड जुन आशा पछ्याएर त्यहाँ पुगेको थियो, त्यो आशा र आवाजलाई सुन ।
प्रतिक्रिया 4