News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सांस्कृतिक नीतिले १२४ भन्दा बढी मातृभाषा, जातजाति र मौलिक संस्कारलाई संरक्षण गर्दै राष्ट्रिय एकता र समृद्धि निर्माण गर्नुपर्ने बताइएको छ।
- लोपोन्मुख भाषाहरूलाई राष्ट्रिय भाषा बैंकमा सुरक्षित गरी डिजिटल र मौखिक रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
- सांस्कृतिक पुनर्जागरणका लागि स्थानीय इतिहास, कला, दर्शन र परम्परालाई गाउँदेखि सुरु गरी राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्नुपर्ने सुझाव दिइएको छ।
हाम्रो देश भुगोल मात्र नभएर हजारौँ वर्षदेखि निरन्तर विकसित भइरहेको एउटा जीवित सभ्यता हो । उत्तरमा हिमालयको काखदेखि दक्षिणको समथर तराईसम्म फैलिएको हाम्रो विविधतापूर्ण भूगोलमा फरक-फरक जीवनशैली, चिन्तन र संस्कृति जीवित छ ।
१२४ भन्दा बढी मातृभाषाहरू, सयौँ जातजाति र तिनका मौलिक संस्कारहरूले बनेको यो सांस्कृतिक मोजाइक विश्वकै लागि एउटा दुर्लभ सङ्ग्राहलय हो । यहाँका ढुङ्गा-ढुङ्गामा इतिहास कोरिएको छ, टाकुरामा गौरव छ, माटोमा दर्शन र हावामा लोक-सङ्गीतको गुञ्जन छ ।
यद्यपि, विश्वव्यापीकरणको तीव्र लहर र पश्चिमा सांस्कृतिक अतिक्रमणका कारण हाम्रा मौलिक पहिचानहरू क्रमशः ओझेलमा पर्दै गएका छन् । नयाँ पुस्ता आफ्नो परिचयबाट विमुख हुँदै जानु र हाम्रा रैथाने ज्ञान, सीप र कलाहरू सङ्ग्रहालयका वस्तु बन्नु राष्ट्रिय अस्मिताका लागि चुनौतीको विषय हो । यस्तो अवस्थामा, हाम्रा छरिएर रहेका विविधतालाई एउटै राष्ट्रिय सूत्रमा उनेर एकताबद्ध र समृद्ध राष्ट्र निर्माण गर्न एउटा सन्तुलित, समावेशी र दूरगामी राष्ट्रिय सांस्कृतिक नीतिको अपरिहार्यता देखिएको छ ।
अहिलेको सरकारको सांस्कृतिक नीतिले कला, साहित्य, भाषा, सङ्गीत, इतिहास र दर्शनलाई केवल अतीतको स्मृति वा मनोरञ्जनको साधनमा मात्र सीमित राख्नु हुँदैन । यसलाई त आधुनिक नेपालको सांस्कृतिक शक्ति, अन्तर्राष्ट्रिय पहिचान र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा पुनर्व्याख्या गरिनुपर्छ ।
जबसम्म हाम्रा मौलिक कथाले साहित्यमा स्थान पाउँदैनन्, हाम्रा दर्शनले विश्वको बौद्धिक जगत्लाई झक्झक्याउँदैनन् र हाम्रा सांस्कृतिक सम्पदाले रोजगारी सिर्जना गर्दैनन्, तबसम्म विकासको जग पूर्ण हुँदैन ।
भाषा र साहित्य
एउटा भाषा मर्नु भनेको शब्दहरूको मात्रै अन्त्य हुनु होइन, बरु एउटा सिङ्गो सभ्यताको अवसान हुनु हो । हाम्रा पहाडी कन्दरादेखि तराईका फाँटसम्म गुञ्जिने १२४ भन्दा बढी मातृभाषाहरू केवल संवादका माध्यम मात्र होइनन्, ती त हाम्रा पुर्खाले हजारौँ वर्षदेखि प्रकृति, जीवन र जगतसँग गरेका अन्तर्क्रियाका धुनहरू हुन् । जब एउटा कुसुण्डा वा राउटे भाषाको अन्तिम वक्ता मौन हुन्छ, तब उसँगै त्यो समुदायले सँगालेको जडीबुटीको ज्ञान, आकाशका तारा हेरेर मौसम चिन्ने कला र धर्तीलाई पुज्ने मौलिक दर्शन पनि सधैँका लागि बिलाएर जान्छ ।
यसकारण, अबको सांस्कृतिक नीतिले यी हराउन लागेका स्वरहरूलाई राष्ट्रिय भाषा बैंकको सुरक्षित घेराभित्र ल्याउनुपर्छ । जहाँ हाम्रा प्रत्येक लवज, लोककथा र उखानहरूलाई डिजिटल अक्षरमा मात्र होइन, समुदायको कण्ठमा पनि जीवित राखियोस् । लोपोन्मुख भाषाहरूलाई विशेष संरक्षण दिँदै तिनका मौखिक साहित्यलाई लिपिबद्ध गर्नु भनेको हाम्रो साझा राष्ट्रिय परिचय जोगाउनु हो ।
अर्कोतर्फ, हाम्रो साहित्य केवल भूगोलको सीमाभित्र खुम्चिएर बस्नु हुँदैन । गाउँका पसिनाको गन्ध आउने मौलिक कथा, कर्णालीका सङ्घर्ष र तराईका मिथकहरूले अब विश्वका ठूला पुस्तकालयका तख्ताहरूमा आफ्नो ठाउँ खोज्नुपर्छ । राज्यले एक सक्रिय अनुवाद संयन्त्र खडा गरी नेपाली र अन्य स्थानीय भाषाका उत्कृष्ट कृतिहरूलाई विश्वका प्रमुख भाषाहरूमा अनुवाद गर्न लगानी गर्नुपर्छ ।
जब एउटा स्थानीय स्रष्टाले आफ्नो गाउँको सामाजिक यथार्थ र माटोको सुगन्ध लेख्नका लागि राज्यबाट स्रष्टा वृत्तिको ओत पाउँछ, तब मात्र हाम्रा मौलिक कथाले विश्वबजारमा प्रतिस्पर्धा गर्ने साहस पाउनेछन् । साहित्य केवल किताबको पानामा मात्र होइन, नेपाली पहिचानको अन्तर्राष्ट्रिय संवाहक बनेर संसारभरि फैलिनुपर्छ ।
कला र सङ्गीत
नेपालका प्राचीन शहर र गाउँहरूमा घुम्दा लाग्छ– यहाँका ढुङ्गाहरू बोल्छन् र काठका प्रत्येक बुट्टाहरूले छुट्टाछुट्टै कथा सुनाउँछन् । हाम्रा पुर्खाले छिना र हथौडाको मद्दतले काठ र ढुङ्गामा जुन प्राण भरे, त्यो केवल मूर्तिकला मात्र थिएन, त्यो त उनीहरूको अगाध श्रद्धा र सिर्जनशीलताको पराकाष्ठा थियो । मन्दिरका टुँडालदेखि झ्यालका आँखिझ्यालसम्म कोरिएका ती बुट्टाहरू, र रङ्गहरूको माध्यमबाट ध्यान सिकाउने पौभा र थाङ्काहरू विश्वकै लागि एउटा अभूतपूर्व विस्मय हुन् । तर, आज यी कलाहरू केवल विदेशी पर्यटकका चिनो वा सङ्ग्रहालयका शोकेसमा खुम्चिएका छन् ।
यी मौलिक सीपहरूलाई अब केवल पुर्ख्यौली पेशाका रूपमा मात्र सीमित राख्नु हुँदैन । यसलाई आधुनिक शिक्षा प्रणालीको मूलधारसँग जोडेर एउटा जीवन्त प्राविधिक विषय बनाइनुपर्छ । जब एउटा युवाले विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दा हाम्रा परम्परागत वास्तुकलाको गणित सिक्छ, र अर्को विद्यार्थीले सारङ्गीको तार रेट्दा वा पञ्चैबाजाको ताल मिलाउँदा त्यसलाई प्राविधिक शिक्षाको औपचारिक मान्यता दिइन्छ, तब मात्र हाम्रा सीपहरूले आत्मसम्मान पाउनेछन् । सारङ्गीको धुन र मादलको घन्काई अन्तर्राष्ट्रिय मञ्चहरूमा सुनिने नेपाली सिग्नेचर बन्नुपर्छ ।
समयको क्रूर प्रवाहले धेरै कलाहरू मेटिँदै गइरहेका छन् । त्यसैले, देशभर छरिएका अनगिन्ती कलाकृति र लोक संगीतका लोपोन्मुख धुनहरूलाई डिजिटल आर्ट आर्काइभमा सुरक्षित गर्नु अपरिहार्य छ । यो एउटा यस्तो खुला संसार हुनुपर्छ, जहाँ भोलिको पुस्ताले आफ्ना पुर्खाको सिर्जनालाई एक क्लिक मा भेट्न सकोस् । जब नयाँ पुस्ताका कलाकारहरूले ती प्राचीन धुन र रङ्गहरूबाट प्रेरणा पाउँछन्, तब मात्र हाम्रो मौलिक कलाले आधुनिकताको काँध चढेर नयाँ उचाइ चुम्नेछ । कला र सङ्गीत केवल मनोरञ्जन होइनन्, यी त हाम्रो राष्ट्रिय पहिचानका ती झल्काहरू हुन् जसले संसारलाई नेपाल चिनाउँछन् ।
इतिहास र पुरातत्त्व
इतिहास पाना र गाथाहरू मात्रै होइन, न त यो केवल विजेता राजाहरूको नामावली र दरबारभित्र रचिएका षड्यन्त्रहरूको श्रृंङ्खला नै हो । वास्तविक इतिहास त ती सामान्य मानिसहरूको पसिना, साहस र सङ्घर्षमा लुकेको हुन्छ, जसले यो देशको जग थामेका थिए । तर बिडम्बना ! हाम्रा इतिहासका पानाहरूमा दरबार र युद्धका कथाहरूले जति ठाउँ पाए, गाउँका ती किल्ला र गढीहरूमा रगत बगाउने सिपाहीहरू, ढुङ्गा बोक्ने कालीगढहरू र माटो जोगाउने किसानका कथाहरू सधैँ ओझेलमा परे ।
अबको सांस्कृतिक नीतिले इतिहासलाई दरबारको कोठाबाट निकालेर जनताको आँगनसम्म पुर्याउनुपर्छ । लिच्छवि कालदेखि नै गौरवशाली रहेको हाम्रो सभ्यताका कयौँ कडीहरू आज पनि झारपातले छोपिएका गढी, भग्नावशेषमा परिणत भएका किल्ला र धुलोले पुरिएका ताडपत्रहरूमा सिसकइरहेका छन् । ती ओझेलमा परेका गढी र ऐतिहासिक दस्तावेजहरूको उत्खनन गर्नु भनेको हाम्रो हराएको गौरवलाई पुनः प्राप्त गर्नु हो ।
प्रत्येक प्रदेशमा आधुनिक अभिलेखालय स्थापना गरिनुपर्छ, जहाँ हाम्रा पूर्वजले शिला र पत्रहरूमा छोडेका ज्ञानका थोपाहरू सुरक्षित रहून् र तिनले भोलिको पुस्तालाई आफ्नो जरासँग जोड्न सकून् ।
हाम्रो पुरातत्त्व केवल हेर्नका लागि मात्र होइन, यो त हाम्रा पुर्खाको अद्वितीय इन्जिनियरिङको प्रमाण पनि हो । भूकम्प वा समयको मारले जीर्ण भएका हाम्रा प्राचीन स्मारकहरूको पुनर्निर्माण गर्दा सिमेन्ट र कङ्क्रिटको कृत्रिमता होइन, बरु त्यही परम्परागत चुना-सुर्की, काठ र इँटाको मौलिक सुगन्ध अनिवार्य हुनुपर्छ ।
जब हामी आफ्नै मौलिक इन्जिनियरिङ र निर्माण सामग्रीको प्रयोग गर्छौँ, तब मात्र हाम्रो वास्तुकलाको विशिष्टता संसारका सामु शिर ठाडो पारेर उभिन सक्छ । इतिहासलाई जोगाउनु भनेको केवल विगतलाई सम्झनु होइन, बरू बलियो जगमा उभिएर भविष्यको उचाइ नाप्नु हो ।
दर्शन र लोक-परम्परा
नेपाल केवल हिमालको देश मात्र होइन, यो त मानवीय चेतनाको उच्चतम शिखर छुने दर्शनको उद्गम स्थल पनि हो । कपिलवस्तुको शान्त भूमिबाट फैलिएको बुद्धको करुणा र गुफाहरूमा गुञ्जिरहेको व्यासको वैदिकताको अनुपम सङ्गम यहीँको माटोमा भेटिन्छ ।
हाम्रा प्रत्येक लोक-परम्परा, गाउँका देउराली र शहरका बहालहरूमा केवल रीतिरिवाज मात्र छैनन्, तिनमा त जीवन जिउने एउटा गहिरो र अर्थपूर्ण दर्शन लुकेको छ । प्रकृति र मानवबीचको सन्तुलन कसरी मिलाउने भन्ने ज्ञान हाम्रा पुर्खाले युगौँदेखि अभ्यास गर्दै आएका थिए ।
बिडम्बना ! आज हामी आफ्नै आँगनको बहुमूल्य दर्शनलाई बिर्सिएर विदेशी विचारधाराको उधारो खोजीमा भौँतारिरहेका छौँ । अबको सांस्कृतिक नीतिले हाम्रा रैथाने दर्शनहरूचाहे त्यो प्रकृतिलाई पुज्ने मुन्धुम होस्, शरीर र ब्रह्माण्डको शक्ति बुझ्ने तान्त्रिक दर्शन होस् वा संसारलाई हेर्ने बौद्ध चिन्तन– यिनलाई केवल पूजाकोठामा मात्र सीमित राख्नु हुँदैन ।
यी त आधुनिक विश्वविद्यालयका अनुसन्धानशालामा बहसका विषय बन्नुपर्छ । जब हाम्रा मौलिक दर्शनहरूले आधुनिक विज्ञान र मनोविज्ञानसँग संवाद गर्छन्, तब मात्र नेपाली चिन्तनले विश्वलाई नयाँ दिशा निर्देश गर्न सक्छ ।
हाम्रो संस्कृति केवल प्रदर्शनको वस्तु होइन, यो त सामूहिकताको एउटा सुन्दर नमुना हो । हाम्रा जात्रा, पर्व र रीतिरिवाजहरूलाई युगौँदेखि जीवन्त राख्ने शक्ति गुठी प्रणालीमा निहित छ । गुठी केवल एउटा संस्था मात्र होइन, यो त समुदायलाई आपसमा जोड्ने कसिलो डोरी हो । यी अमूर्त सम्पदाहरूलाई जोगाउन र जात्राहरूको लय कायम राख्न परम्परागत गुठीहरूलाई कानुनी र आर्थिक रूपमा सुदृढ गरिनुपर्छ ।
जब एउटा गुठियारले आफ्नो परम्परा थाम्दा राज्यबाट सम्मान र सहयोगको आड पाउँछ, तब मात्र हाम्रा चोक र गल्लीहरूमा जात्राको रौनक र संस्कृतिको सुगन्ध कहिल्यै हराउने छैन । दर्शन र परम्परा नै हाम्रा ती जरा हुन्, जसले हामीलाई जस्तोसुकै आँधीबेहरीमा पनि ढल्न दिँदैनन् ।
संस्कृति र अर्थतन्त्र
लामो समयसम्म राज्यले संस्कृतिलाई केवल खर्चको खातामा राख्यो र अनुत्पादक क्षेत्रका रूपमा मात्रै हेर्यो । के यो केवल दान-दक्षिणा र सरकारी अनुदानमा मात्र बाँच्ने एउटा बोझ हो? तर सत्य त यो हो कि हाम्रा प्रत्येक जात्रा, हस्तकलाका बुट्टा र गाउँका सुसेलीहरूमा देशको कायापलट गर्न सक्ने आर्थिक ऊर्जा लुकेको छ ।
अबको सांस्कृतिक नीतिले संस्कृतिलाई केवल रक्षार्थी होइन, बरु राष्ट्रिय अर्थतन्त्रको एउटा बलियो उत्पादक र आत्मनिर्भरताको आधार स्तम्भ बनाउनुपर्छ । जब हाम्रा परम्पराहरूले मानिसको पेट भर्न र हातमा काम दिन थाल्छन्, तब मात्र संस्कृतिको संरक्षण दिगो हुन्छ।
यसका लागि हामीले “नमुना सांस्कृतिक तथा सम्पदा गाउँ” र “कथा सुनाउने गाउँ” को एउटा नयाँ र मौलिक अवधारणा अघि सार्नुपर्छ । हाम्रा पर्यटकहरू केवल हिमाल हेर्न मात्र होइन, ती हिमालको काखमा बसेर सुनाइने लोककथा सुन्न, स्थानीय भान्साको स्वाद चाख्न र त्यहाँको विशिष्ट जीवनशैलीको हिस्सा बन्न आउनुपर्छ।
जब एउटा विदेशी पर्यटकले गाउँको चौतारीमा बसेर स्थानीय बूढापाकाबाट त्यहाँको इतिहास सुन्छ र स्थानीयको हातको सीप किन्छ, तब हाम्रो संस्कृतिले ग्लोबल ब्रान्डको रूप लिन्छ । सांस्कृतिक पर्यटन भनेको केवल मन्दिरको फोटो खिच्नु मात्र होइन, यो त हाम्रो मौलिकतालाई अनुभवका रूपमा बिक्री गर्नु हो।
अर्कोतर्फ, हाम्रा सिर्जनात्मक क्षेत्रहरू— चलचित्र, नाटक र साहित्य— अब केवल सोखको विषय मात्र रहेनन्, यिनलाई त एउटा सिर्जनात्मक उद्योग का रूपमा राज्यले कानुनी मान्यता दिनुपर्छ । जब एउटा चलचित्रकर्मीले काठमाडौँको कोठा छोडेर सुदूर गाउँका मौलिक व्यथा र कथालाई पर्दामा उतार्ने साहस गर्छ, तब राज्यले उसलाई कर छुट र सहुलियतपूर्ण ऋण दिनुपर्छ ।
गाउँको माटोमा भिज्ने कथाहरू र स्थानीय कलाकारहरूको श्रमलाई उद्योगको दर्जा दिइँदा मात्र नेपाली सिर्जनाले विश्वबजारमा आफ्नो मूल्य खोज्न सक्छ । संस्कृति र अर्थतन्त्रको यो सुन्दर फ्युजनले नै नेपाललाई सधैँ अर्काको भर पर्नुपर्ने अवस्थाबाट मुक्त गराई स्वाभिमानी र समृद्ध राष्ट्र बनाउनेछ।
तलबाट माथि जाने नीतिगत प्रक्रिया
अहिलेसम्मका हाम्रा धेरै नीतिहरू काठमाडौँका कोठामा बसेर कोरिए, जहाँ दूरदराजको वास्तविक सुगन्ध पुग्नै पाएन । तर संस्कृति त गाउँका पँधेरामा, गोठालोका सुसेलीमा र दमारका देउडामा बाँचेको हुन्छ । केन्द्रबाट थोपरिएका योजनाहरूले कहिल्यै पनि स्थानीय मनलाई छुन सक्दैनन् ।
त्यसैले, अबको सांस्कृतिक नीति कुनै आदेशको दस्तावेज होइन, बरु यो त भुइँतहबाट उम्रिएको एउटा बलियो बर-पिपल जस्तो हुनुपर्छ, जसको जरा प्रत्येक गाउँको माटोमा गहिरोसँग गाडिएको होस् ।
यसका लागि ७५३ वटै पालिकाहरूले आफ्नो भूगोलको एउटा विस्तृत सांस्कृतिक प्रोफाइल तयार पार्नुपर्छ । यो केवल तथ्याङ्कको सङ्ग्रह मात्र होइन, यो त कुन गाउँमा कुन लोकभाका बाँकी छ, कुन गाउँमा इतिहास जीवित छ र कुन बूढापाकाको कण्ठमा गाथा सुरक्षित छ भन्ने कुराको एउटा खाका हुनुपर्छ । जब एउटा पालिकाले आफ्नो भाषा, कला र इतिहासको मूल्य बुझ्छ, तब मात्र राष्ट्रिय गौरवको जग बलियो हुन्छ । नीति निर्माणको यो प्रक्रिया सिंहदरबारबाट होइन, गाउँबाट सुरु हुनुपर्छ।
संस्कृतिको सबैभन्दा ठूलो चुनौती भनेको यसलाई नयाँ पुस्तामा कसरी जीवित राख्ने भन्ने नै हो । आजका केटाकेटीहरूले विश्वका कुनाका कुरा मोबाइलमा देख्छन्, तर आफ्नै घरको दलानमा बसेका हजुरबाको कथा सुन्न भ्याउँदैनन् ।
त्यसैले, विद्यालयको पाठ्यक्रममा कम्तीमा १० प्रतिशत अंश स्थानीय संस्कृति र इतिहास का लागि छुट्याइनुपर्छ । यो एउटा यस्तो कक्षा हुनुपर्छ, जहाँ किताबका पाना पल्टाउनुको सट्टा विद्यार्थीहरूले आफ्नै गाउँका शिल्पकारसँग माटो मुछ्न सिक्छन् र आफ्नै हजुरआमाबाट लोककथाहरू सुन्छन् । जब शिक्षाले पुस्ताहरूबीचको यो टुटेको साङ्ग्लोलाई फेरि जोड्छ, तब मात्र हाम्रो संस्कृति समयको आँधीमा नढली युगौँसम्म लहलहाइरहनेछ ।
सांस्कृतिक पुनर्जागरण र समृद्धि
नेपालको भविष्य केवल तथ्याङ्कको आर्थिक वृद्धिदर वा भौतिक पूर्वाधारका ठूला संरचनामा मात्र निहित छैन; यसको वास्तविक प्राण त हाम्रा पुर्खाले विरासतमा छोडेका सांस्कृतिक गौरवका कण-कणमा लुकेको छ । विकासको रथ तब मात्र सही दिशामा दौडिन्छ, जब यसको एउटा पाङ्ग्रा आधुनिक प्रविधि हुन्छ भने अर्को पाङ्ग्रा हाम्रो मौलिक संस्कृति । हामीले खोजेको समृद्धि त्यस्तो होस्, जहाँ समृद्धिको शिखर चढ्दै गर्दा हाम्रा खुट्टा आफ्नै माटोको जगमा दरिलो गरी टेकिएका हुन् ।
वास्तविक सांस्कृतिक पुनर्जागरण त्यस दिन सुरु हुनेछ, जब गाउँको एउटा सामान्य किसानले जीवनभर भोगेको सङ्घर्ष र उसको माटोको गन्ध अन्तर्राष्ट्रिय चलचित्रको पर्दामा जीवन्त भएर उत्रिनेछ । त्यो दिन हाम्रो सफलताको उत्सव हुनेछ, जब कुनै लोपोन्मुख भाषाको शब्दकोश तयार भएर त्यसले नयाँ पुस्ताको जिब्रोमा पुनर्जन्म पाउनेछ । अनि जब हाम्रा बिर्सिएका प्राचीन गढी र किल्लाहरू भग्नावशेषबाट ब्युँतिएर विश्वका पर्यटकका लागि ज्ञान र कौतूहलको गन्तव्य बन्नेछन्, तब मात्र हाम्रो पहिचानले पूर्णता पाउनेछ ।
राज्यले निर्माण गर्ने सांस्कृतिक नीति केवल कागजको खोस्टो मात्र होइन, यो त प्रत्येक नेपालीलाई आफ्नो शिर ठाडो पारेर म को हुँ भन्ने प्रश्नको गौरवपूर्ण उत्तर दिन सिकाउने एउटा दस्तवेज हो ।
यसले हाम्रो विविधतालाई कमजोरी होइन, बरु विश्वलाई देखाउन सकिने एउटा अनुपम सामर्थ्यका रूपमा स्थापित गर्नेछ । जब हाम्रा भाषा, कला, इतिहास र दर्शनले राज्यको संरक्षण र समुदायको माया पाउँछन्, तब मात्र नेपाल संसारको मानचित्रमा एउटा सुन्दर, सुसंस्कृत र स्वाभिमानी राष्ट्रका रूपमा सधैँ उभिनेछ ।
प्रतिक्रिया 4