News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याललाई सभामुख पदको उम्मेदवार बनाइएको छ र उनी निर्विरोध निर्वाचित हुने देखिन्छ।
- रास्वपाको संसदीय दलको बैठकले अर्याललाई सर्वसम्मत रूपमा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
- अर्यालले प्रतिनिधिसभाको सर्वोच्च पदबाट संसद् सञ्चालन, समिति गठन र प्रशासनिक कार्य गर्नेछन्।
१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुख पदको सम्मुख पुगेका छन् । राज्यका निकायमा पदीय जिम्मेवारी बहन गर्ने व्यक्तिहरूको मर्यादा क्रमअनुसार अर्याल पाँचौ स्थानमा पुग्न लागेका हुन् ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछि सभामुखको मर्यादाक्रम निर्धारण गरिएको छ । राज्यको अर्को अंग कार्यपालिकाको प्रमुख (प्रधानमन्त्री) मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले जिम्मेवारी लिएका छन् ।
रास्वपाले राज्यका प्रमुख तीन अंगमध्ये एक रहेको व्यवस्थापिका (संसद्) को सर्वोच्च पद सभामुखमा अर्याललाई अघि बढाउने निर्णय बिहीबार गरेको हो । प्रतिनिधिसभाको पहिलो बैठक लगत्तै बसेको रास्वपाको संसदीय दलको बैठकले उपसभापति अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरको हो ।
निर्णयबारे जानकारी गराउँदै पार्टी प्रवक्ता मनिष झाले भने, ‘संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेज्यूले उहाँको नाम प्रस्ताव गर्नुभयो । बैठकले सर्वसम्मत रूपमा पारित गर्यो ।’
प्रतिनिधिसभामा १८२ सिट रहेको रास्वपाबाट अर्याललाई सभामुखको उम्मेदवारमा अघि सारेपछि उनी उक्त पदमा निर्विरोध हुने निश्चित जस्तै छ । विपक्षी दलहरूले उनीसँग प्रतिस्पर्धा गर्न उम्मेदवार अघि सार्ने देखिँदैन ।
सभामुखका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र आइतबार चयन गर्ने गरी संसद् सचिवालयले कार्यतालिका बनाएको छ ।
रास्वपा नेताहरूका अनुसार नयाँ सरकारको मन्त्रिपरिषद् गठन गर्ने क्रममा उनले गृहमन्त्री पदमा इच्छा देखाएका थिए । सुधन गुरुङलाई गृहमन्त्री बनाउने निश्चित भएसँगै उपसभापति अर्याललाई सभामुख बनाउने निर्णयमा रास्वपा पुगेको हो ।
सभापति रवि लामिछानेको ‘विश्वासपात्र’को पहिचान बनाएका अर्याल रास्वपा गठन हुनु अघिदेखि नै रविसँग निकट थिए ।

अघिल्लो संसद्मा समानुपातिक सांसद बनेका अर्याल रास्वपा सरकारमा सहभागी हुँदा दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । सभापति रवि विदेश जाँदा र जेल पर्दा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका अर्यालले यस पटक काठमाडौं-९ बाट फराकिलो मतान्तरले जितेका थिए ।
उनी २०७९ असार ७ गते रास्वपा गठन भएसँगै राजनीतिमा क्रियाशील भएका थिए । पार्टी गठन भएकै महिनाको १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता हुँदा अर्यालको नाम केन्द्रीय सदस्यहरूको सूचीमा तेस्रो स्थानमा राखिएको थियो ।
जलेश्वर बैठकबाट उपसभापतिमा डा. स्वर्णिम वाग्ले थपिनुअघि अर्याल एकल उपसभापति थिए । अर्याल रास्वपाको प्रवास विभागको प्रमुखको जिम्मेवारीमा समेत छन् ।
सभापति रवि टेलिभिजन प्रस्तोता रहेकै बेला अर्याल इजिलिंक रेमिट्यान्समा आवद्ध थिए । त्यतिबेलादेखि नै रवि र अर्यालबीच निकटता बढेको थियो । अर्यालले उक्त रेमिट्यान्स कम्पनीको ब्रान्ड एम्बेस्डर रविलाई बनाएका थिए ।
अर्यालले २०५३ सालमा रोजगारीका लागि जापान पुगेर रेन्टुरेन्ट व्यवसायसमेत गरेका थिए । ५१ वर्षअघि धादिङ जिल्लाको साविक मैदी गाविस (हाल ज्वालामुखी गाउँपालिका) मा जन्मेका उनी हाल काठमाडौं महानगरपालिका विनायक बस्तीमा बसोबास गर्दै आएका छन् ।
उनी पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी, रेमिटेन्स लगायतका क्षेत्रमा सक्रिय थिए । सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था तथा इजिलिंक रेमिटेन्समा लगानी गर्दै निर्देशक तथा सीईओको भूमिकामा काम गरेको उनको अनुभव छ ।
वैकल्पिक राजनीति, सुशासन, रोजगारी सिर्जना र श्रमिकमैत्री नीतिलाई चुनावी एजेन्डा बनाएका उनले काठमाडौं–९ मा अन्य प्रतिस्पर्धीलाई धेरै पछि पारेर जित निकाले ।
अब प्रतिनिधिसभाको सर्वोच्च र साझा व्यक्तिको भूमिकाबाट अर्यालले निष्पक्षता कायम गर्नु पर्नेछ । संसद्को कार्यव्यवस्था बैठक बोलाउने जिम्मेवारी सभामुखलाई हुन्छ । संसदीय समिति गठन गर्नका लागि उनले भूमिका खेल्नुपर्ने हुन्छ । संसद् सचिवालयको प्रशासनिक कार्य समेत उनको काम, कर्तव्य, अधिकारअन्तर्गत पर्छ ।
साधारणतयाः सदनमा सभामुखलाई मतदानको अधिकार हुँदैन । कुनै विषयमा मतदान हुँदा बराबर मत खसेको अवस्थामा भने सभामुखलाई मतदानको अधिकार हुन्छ ।
प्रतिक्रिया 4