News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन सकिएपछि काठमाडौं, ललितपुर र चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगबाट प्राप्त गाडी फिर्ता नगरेको पाइएको छ।
- जिल्लास्थित निर्वाचन कार्यालयहरूले पटक–पटक गाडी फिर्ता गर्न ताकेता गर्दा पनि अधिकृतको कार्यालयले फिर्ता नगरेको गुनासो गरेका छन्।
- निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गाडी कार्यालयकै नाममा भएको र निर्वाचन सकिएपछि फिर्ता गर्नुपर्ने बताए।
१८ चैत, काठमाडौं । २१ फागुनको प्रततिनिधिभा चुनावमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गरेको गाडी फिर्ता नगरेको पाइएको छ । निर्वाचन सकिएपछि फिर्ता गर्नेगरी अधिकृतको कार्यालयलाई जिल्लास्थित निर्वाचन कार्यालयले सवारी साधन उपलब्ध गराएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरेर निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन भनेर निर्वाचन आयोगले गठन गरेको विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू २७ फागुनमै बन्द भइसकेका छन् ।
निर्वाचनको अन्तिम परिणाम आएर सरकारसमेत गठन भइसक्यो तर कतिपय निर्वाचन अधिकृतको कार्यालयले गाडी फिर्ता नगरेको पाइएको छ । फिर्ता नगर्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौं, ललितपुर र चितवनका छन् ।
जिल्लास्थिति निर्वाचन कार्यालयहरूले गाडी फिर्ताको लागि अधिकृतको कार्यालयलाई बारम्बार ताकेता गर्दा पनि फिर्ता नगरेको गुनासो गरेका छन् । ‘निर्वाचन सकिएपछि फिर्ता गर्नुपर्ने हो तर फिर्ता भएको छैन,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंको निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चुरमान खड्काले फागुन १६ मा निर्वाचन आयोगबाट बा २ झ ७६१७ नम्बरको स्कोर्पियो गाडी निर्वाचन सकिएपछि फिर्ता गर्नेगरी हस्ताक्षर गरेर लिएका थिए । अधिकृतको कार्यालयलाई सवारी साधन दिँदा लिखित कागज गरेर नै दिएको हुन्छ । तर उनीहरूले गाडी फिर्ता गर्न आलटाल गरेका छन् ।

निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय, ललतिपुरले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई बा. प्र. ०१००२ झ ७६२२ नम्बरको स्कोर्पीयो गाडी उपलब्ध गराएको थियो । तत्कालीन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गाडी बुझेको थियो ।
तर निर्वाचन सकिएपछि अन्य सामग्री फिर्ता गरे पनि अधिकृतको कार्यालयले गाडी भने फिर्ता गरेको छैन । ‘निर्वाचनको अवधिभरका लागि दिइएको हो । अहिलेसम्म फिर्ता भएको छैन,’ निमित्त निर्वाचन अधिकारी समिता बस्नेतले अनलाइनखबरसँग भनिन् ।
अधिकृतको कार्यालयले अन्य सामगी बुझाउन आउँदा गाडी पनि फिर्ता गर्न आयोगको कार्यालयले आग्रह गरेको थियो । अधिकृतको कार्यालयले २ चैतमा अन्य सामग्री फिर्ता गर्न आएको थियो ।
निर्वाचन कार्यालयका कर्मचारीले गाडी नभइ अन्य सामग्री पनि नबुझ्ने अडान लिएका थिए । अधिकृतको कार्यालयले गाडीबाहेकका सामग्री छोडेर गए ।
अधिकृतको कार्यालयले अटेरी गरेर जबर्जस्त लगेको पाइएको छ । ‘गाडी फिर्ता नगरी अरु सामग्री पनि बुझ्न मानेका थिएनौं । तर उहाँहरूले जर्बजस्त गाडी फिर्ता नगरी जानु भयो,’ निर्वाचन कार्यालय ललितपुरको स्टोर प्रमुखसमेत रहेकी कम्युटर अपरेटर भोजकुमारी सोमाइले भनिन्, ‘गाडी हाम्रो कार्यालयको नाममा छ । केही भयो भने तपाईंहरू नै जिम्मेवार हुनुपर्छ भनेर भनेका छौँ ।’
ललितपुरको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पुनाराम खनाल थिए ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय चितवनले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सवारी साधन उपलब्ध गराएको थियो । ‘पुरानो गाडी थियो । फिर्ता भएको छैन । तर अधिकृतको कार्यालयले स्रेस्ता पनि बुझाउन बाँकी छ । त्यो सँगै फिर्ता गर्नुहोला,’ जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले भने । चितवनको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश केदारनाथ पौडेल थिए ।
आयोगको अथवा जिल्लास्थित कार्यालयको नाममा रहेको सवारी साधन फिर्ता गर्न आयोगले आग्रह गरेको छ । ‘हामीले निर्वाचन कार्यालयलाई गाडी दिएको हो । गाडी कार्यालयकै नाममा हुन्छ । निर्वाचन सकिएपछि तत्तत् कार्यालयमा फिर्ता गर्नुपर्छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘निर्वाचनमा आवश्यकता अनुसार प्रयोग गर्न भनेका थियौं ।’

आयोगको नाममा रहेको सवारी साधन मुख्य निर्वाचन अधिकृतले आफ्नो सम्बन्धित कार्यालयमा लगेपनि हस्तान्तरणको प्रक्रियाबाट लैजानु पर्ने हुन्छ । तर एउटा कार्यालयको गाडी अर्को कार्यालयले प्रयोग गर्न मिल्दैन । ‘सरकारी निकायकै गाडी पनि एउटाबाट अर्को निकायमा लैजान विधि र प्रक्रियाबाट लैजानु पर्ने हुन्छ । त्यसरी लैजान मिल्दैन,’ जिल्लास्थिति निर्वाचन कार्यालयका अधिकारीहरूले भने ।
अधिकांश जिल्लामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई बनाइएको थियो । न्यायाधीशको नेतृत्वमा रहेको कार्यालयबाट गाडी फिर्ता नभएपछि निर्वाचन कार्यालयका कर्मचारीहरू निराश भएका छन् । ‘पटक–पटक ताकेता गर्दा फिर्ता गर्न मान्नु भएन । न्यायाधीशज्यूहरूलाई के भन्नु,’ कार्यालयका कर्मचारीहरू गुनासो गर्छन्, ‘गाडी फिर्ता नगर्नु भनेको दुरुपयोग हो ।’
निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय ७७ जिल्लामै स्थापना गरिएको थियो । मत गणना सकिएको एक हप्तामा अधिकृतको कार्यालयको समय पनि सकिन्छ । निर्वाचनमा प्रयोग भएको सबै सामग्री जिल्ला निर्वाचन कार्यालयमा अधिकृतको कार्यालयले फिर्ता गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4