१८ चैत, काठमाडौं । २१ फागुनको निर्वाचनमा नमिठो पराजय बेहोरेपछि मधेशवादी दलहरूले पार्टी एकता र युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको तयारी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता ह्रदयेश त्रिपाठीले मधेशवादी दलहरू बीच एकीकरणको तयारी भइरहेको जानकारी दिए ।
२०४८ सालपछि पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व विहिन बनेपछि पार्टी एकता मात्र होइन नयाँ किसिमको पार्टी बनाउने विषयमा नेताहरूबीच अनौपचारिक सहमति बनेको नेताहरू बताउँछन् ।
‘पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल चलिरहेको छ । पुराना नेताहरू संरक्षक वा सल्लाहकारको भूमिकामा बसेर नयाँ पुस्ताको नेतृत्व ल्याउँछौं,’ पूर्वमन्त्री समेत रहेका नेता त्रिपाठीले अनलाइनखबरसँग भने ।
युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नेमा एक किसिमको सहमति भएपनि कसलाई नेता बनाउने भन्ने विषय भने टुंगिनसकेको त्रिपाठीले बताए ।
राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष राजेन्द्र महतोले गम्भीर छलफल गरेर एकीकरणको निर्णय लिने बताए ।
उनी भन्छन्, ‘एकता नै बल हो भन्ने हामीलाई थाहा नभएको होइन तर अति आत्मविश्वास भनौं की अहंकार भनौं चुनाव अघि एक हुन सकेनौं । अब गम्भीर समीक्षा गरेर निर्णय गर्छौं ।’
गुमेको अवसर
गत फागुनको निर्वाचनमा मधेश प्रदेशका ३२ मध्ये ३० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित्यो । १३ लाख मत सहित रास्वपा मधेशमा पहिलो पार्टी बन्दा १ लाख ३८ हजार मत सहित जसपा नेपाल चौथो र ५० हजार मत पाएको जनमत पार्टी पाँचौं स्थानमा झर्यो ।
सबै मधेशवादी दलले देशभरीबाट पाएको मत जोड्दा साढे तीन लाख हुन्छ । यो यसपटक खसेको कुल मतको तीन प्रतिशत भन्दा बढी हो । यसले मधेशवादी दल मिलेको भए प्रतिनिधिसभामा प्रतिनिधित्व सम्भव थियो भन्ने देखाउँछ ।

जसपा नेपालले १ लाख ७७ हजार ७९७ र जनमत पार्टीले ७९ हजार ४३५ मत पाएको थियो । एकल चिह्न जाँतो लिएर निर्वाचनमा गएको राजेन्द्र महतोको रामुपा, अशोक राईको जसपा र रेशम चौधरीको नागरकि उन्मुक्ति पार्टीले ६२ हजार ६९ भोट ल्यायो ।
एकल चिह्न बस लिएर लडेको नेपाल संघीय समाजवादी पार्टीले २९ हजार ४३६ मत ल्यायो । नेसंसपाका अध्यक्ष मोहम्मद रिजवान अन्सारी आफूले विभिन्न दलका नेताहरू एकता वा मोर्चाबन्दीका लागि छलफल गरिरहेको बताए ।
उनी भन्छन्, ‘नेताहरूलाई आत्मसमीक्षा गरेर जाऔं भन्ने प्रस्ताव मैले पन राखेको छु, उहाँहरूबाट पनि प्रस्ताव आएका छन् ।’
संघर्ष र संकटमा एकता
२०७७ वैशाख ८ गते सरकारले अध्यादेश मार्फत् राजनीतिक दल सम्बन्धी ऐन, २०७३ संशोधन गर्यो । दल फुटाउन केन्द्रीय समिति र संघीय संसद्को ४० प्रतिशत आवश्यक पर्ने प्रावधान खुकुलो बनाउन सरकारले अध्यादेश ल्याएको थियो ।
अध्यादेशमा विभाजित दलको मान्यता प्राप्त गर्न केन्द्रीय समिति वा संघीय संसद् मध्ये एकमा ४० प्रतशित पुग्ने प्रावधान राखियो । तर, यो अध्यादेशले दिएको ‘सहुलियत’ प्रयोग गरेर कुनै पार्टी विभाजित भएन ।

अध्यादेशको उल्टो प्रभाव देखियो । यो अध्यादेश जारी भएको दुई दिनपछि दुई वटा मधेशवादी दल समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भयो ।
त्यतिबेला राजपाबाट सहमति पत्रमा हस्ताक्षर गर्ने मध्येका एक नेता महिन्द्रराय यादव सम्झन्छन्, सरकारले अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउन खोजेको थियो, हामीले दुई पार्टी एकता गरेर देखायौं ।’
यादव अहिले नेपाली कम्युनिष्ट पार्टीमा छन् ।
त्यति बेला सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव, शरतसिंह भण्डारी र सपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
जब संकट पर्छ मधेशवादी दल एक ठाउँमा आईहाल्छ भन्ने अर्को उदाहरण हो, २०७४ वैशाखमा पाँच दल बीच भएको एकता । मधेशी मोर्चाले ३१ वैशाखका लागि घोषति स्थानीय निर्वाचनमा भाग नलिने अडान लिएको थियो ।

२०७४ वैशाख ७ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रयि मधेश समाजवादी पार्टी, महन्द्रिराय यादवको तराई मधेश समाजवादी पार्टी र राजकिशोर यादवको मधेशी जनअधकिार फोरम (गणतान्त्रिक ) मिलेर राजपा गठन गरे ।
पार्टी एकतापछि राजपाले स्थानीय चुनावमा भाग लएिर राम्रो नतिजा ल्यायो । राजपाले १४ नगरपालिका र ११ वटा पालिका प्रमुख जित्यो । त्यही वर्ष भएको आम निर्वाचनमा भाग लिएर राष्ट्रिय दल पनि बन्यो । २०७४ को निर्वाचनमा समानुपातिक तर्फ ४ लाख ७२ हजार २५४ मत पाएको राजपाले प्रत्यक्षमा मात्र ११ सिट जितेको थियो ।
एकताका लागि कार्यकर्ताबाट दबाब
मधेशको मुद्दामा प्रमुखता दिएर गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टी स्थापना गरेका थिए । २०६४ पछि मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रकि पार्टी बलशाली मधेशवादी दल बनेर आए ।
२०८२ सम्म आईपुग्दा कुनै पनि मधेशवादी दलले तीन प्रतशित मत ल्याउन सकेनन् । जसपा नेपालका संरक्षक तथा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर मधेशी मोर्चाको बैठकमा अनौपचारिक छलफल जारी रहेको बताउँछन् ।
एकताका लागि स्थानीय नेता तथा कार्यकर्ताबाट दबाब आएको जसपा नेपालका नेता मनीषकुमार सुमन बताउँछन् । आफ्नो पार्टीका मात्र होइन अन्य पार्टीका कार्यकर्ताहरूमा यस्तै भावना पाएको उनको अनुभव छ ।
नेता सुमन भन्छन्, ‘चुनाव भन्दा पहिला पनि हामीले केही दलसँग एकता गरिसकेका छौं । निर्वाचनको समीक्षा गरेर थप दलसँग पनि एकताको पहल गर्छौं ।’
प्रतिक्रिया 4