+
+
Shares

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२६ : अन्तिम ६ पुस्तकको सूची सार्वजनिक

यस वर्षको सूचीमा इतिहासका कठीन मोड, क्रान्ति, पहिचानको खोजी र मानवीय संवेदनाका गहिरा कथा समेटिएका ६ उत्कृष्ट उपन्यासले स्थान बनाउन सफल भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १९:१६

१८ चैत, काठमाडौं । विश्व साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कारमध्ये एक ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२६’ को अन्तिम छनोट सार्वजनिक गरिएको छ ।

यस वर्षको सूचीमा इतिहासका कठीन मोड, क्रान्ति, पहिचानको खोजी र मानवीय संवेदनाका गहिरा कथा समेटिएका ६ उत्कृष्ट उपन्यासले स्थान बनाउन सफल भएका छन् ।

अंग्रेजी बाहेकका अन्य भाषामा लेखिएका, बेलायत र आयरल्यान्डमा अनुवाद भई प्रकाशित भएका यी कृतिहरूले विश्वभरका पाठकको ध्यान खिचेका छन् ।

यस वर्षको छनोट समितिकी अध्यक्ष तथा लेखिका नतासा ब्राउनले एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘यी पुस्तकले गत शताब्दीका विभिन्न कालखण्डलाई जीवन्त बनाएका छन् । यिनमा हृदयविदारक पीडा, क्रूरता र एक्लोपन भए तापनि, अन्त्यमा यसले पाठकलाई आशा र ऊर्जा प्रदान गर्दछन् । यी यस्ता अविष्मरणीय पात्र हुन् जसलाई पाठकले बारम्बार सम्झिरहनेछन् ।’

महिला लेखक र अनुवादकको वर्चस्व

यस पटकको ‘सर्टलिस्ट’ मा महिलाहरूको बलियो उपस्थिति देखिएको छ । ६ मध्ये ५ जना लेखक र ४ जना अनुवादक महिला हुन् । साथै, यी लेखक चारवटा महादेशका विभिन्न व्यावसायिक पृष्ठभूमिबाट आएका छन् । जस्तै, ताइवानकी याङ सुवाङ–जी मङ्गा भिडिओ गेमका स्क्रिप्ट लेख्छिन् भने बुल्गेरियाकी रेने काराबास स्थापित अभिनेत्री समेत हुन् ।

अन्तिम ६ मा पर्न सफल पुस्तक :

द नाइट्स आर क्वाइट इन तेहरान : शिदा बाज्यारद्वारा लिखित र रुथ मार्टिनले जर्मन भाषाबाट अनुवाद गरेको यो उपन्यास इरानी क्रान्ति (१९७९) देखि सन् २००९ को ‘ग्रीन रिभोलुसन’ सम्मको कथा हो । एउटा परिवारको चार पुस्ताको कथामार्फत यसले तानाशाही विरुद्धको संघर्ष र मातृभूमि गुमाउनुको पीडालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

सी हू रिमेन्स : रेने काराबासको यो उपन्यास अल्बानियाको ग्रामीण समाजमा आधारित छ । एक युवती बेक्जाले मागी विवाहबाट बच्न पुरुषको रूपमा बाँच्ने निर्णय गर्छिन् । यो पितृसत्तात्मक समाज र आत्म–पहिचानको एउटा मार्मिक कथा हो ।

द डाइरेक्टर : ड्यानियल केलम्यानद्वारा लिखित यो उपन्यास अस्ट्रियाली फिल्म निर्माता जी डब्लु पाब्स्टको जीवनमा आधारित ऐतिहासिक आख्यान हो । नाजी जर्मनीको समयमा हलिउड छोडेर स्वदेश फर्केका एक कलाकारले कसरी सत्ताको प्रोपागान्डा र आफ्नो नैतिकताबीच संघर्ष गर्छन् भन्ने यसमा देखाइएको छ ।

अन अर्थ एज इट इज बेनिथ : ब्राजिलकी आना पाउला माइयाको यो ‘होरर’ उपन्यास एउटा दुर्गम जेलको कथा हो, जहाँ जेलरले कैदीहरूलाई जंगलमा छोडिदिन्छन् र उनीहरूको शिकार गर्दछन् । यसलाई ‘रगतले लेखिएको कविता’ भनिएको छ ।

द विच : फ्रान्सेली लेखिका मारी एनडियाईको यो उपन्यास सन् १९९६ मा प्रकाशित पुरानो कृति हो । तर यसको जादुमयी र रहस्यमय कथाका कारण यसले यस वर्ष पुन: चर्चा कमाएको छ । एउटी बोक्सी लुसी र उनका छोरीको शक्ति र पारिवारिक सम्बन्धलाई यसले रोचक ढंगले प्रस्तुत गरेको छ ।

ताइवान ट्राभलग : याङ सुवाङ–जीको यो उपन्यास सन् १९३० को दशकमा जापानको नियन्त्रणमा रहेको ताइवानको यात्रा वर्णन हो । एक जापानी उपन्यासकार र उनको ताइवानी दोभासेबीचको सम्बन्ध र शक्ति संरचनालाई यसले मसिनो गरी केलाएको छ ।

विजेताको घोषणा आगामी मे १९ मा गरिनेछ । विजेता लेखक र अनुवादकले संयुक्त रूपमा ५०हजार पाउन्ड पुरस्कार राशी प्राप्त गर्ने छन् । गत वर्ष भारतका मुस्लिम महिलाको कथा समेटिएको ‘हार्ट ल्याम्प’ ले यो पुरस्कार जितेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?