+
+
Shares

अचुलियन संस्कृति र नेपाल : ढुङ्गे औजारबाट प्रागैतिहासिक मानवको खोज

हामी जब यी प्राचीन औजारहरूको सही उत्खनन, संरक्षण र विश्लेषण गर्छौं, तब मात्र हामी यो भूमिमा कहिलेदेखि थियौं भन्ने वास्तविक जानकारी पाउन सकिन्छ। अन्यथा, हामी सधैं मिथकमै रुमल्लिइरहनुपर्नेछ।

कमल मादेन कमल मादेन
२०८२ चैत २१ गते २१:३०

गाउँघरमा आज पनि निकै रोचक किंवदन्ती सुनिन्छ, ‘आकाशबाट चट्याङ पर्दा धर्तीमा ढुङ्गे बन्चरो खस्छ।’ कतिपय ठाउँमा यस्ता ढुङ्गे बन्चरालाई ‘बज्रढुङ्गा’ भनेर जतनपूर्वक सुरक्षित राखिएको पाइन्छ। बाल्यकालमा यस्तो प्रसङ्ग सुन्दा रहस्यमय लाग्थ्यो।

हरेक वर्ष चट्याङकै कारण विश्वभर दशौं हजार मानिसको ज्यान जाने गर्छ। नेपालमा मकवानपुर जिल्ला सबैभन्दा बढी प्रभावित मानिन्छ भने झापा, उदयपुर, इलाम, मोरङ लगायत अन्य केही जिल्लामा पनि यसको प्रभाव उल्लेखनीय छ।

चट्याङले प्रायः अग्ला रूखहरूमा क्षति पुर्‍याउँछ। हाँगा चिरिन्छन्, रूख ढल्छन् वा ठाडै सुक्छन्। यदि चट्याङसँगै ढुङ्गे औजार खस्ने भए, ती स्थानहरूमा त्यस्ता वस्तुहरू प्रशस्त भेटिनुपर्ने थियो। तर, यस्ता औजार प्रायः दुर्गम वा पुराना बस्ती क्षेत्रमा मात्र भेटिन्छन् र धेरैजसो पुस्तौंदेखि घरमा यसै राखिएका हुन्छन्।

वास्तवमा ढुङ्गे बन्चरा भनेर चिनिएका यी वस्तुहरू प्रागैतिहासिक मानवले बनाएका ढुङ्गे औजार हुन्। यस दृष्टिले हेर्दा, लोककथाले रहस्य थपे पनि यिनले मानव इतिहासको महत्त्वपूर्ण अध्याय उजागर गर्छन्। यही पृष्ठभूमिमा, प्रस्तुत लेखमा प्रागैतिहासिक ढुङ्गे औजारहरू र तिनका आधारमा नेपालमा मानव चहलपहलको प्रारम्भिक इतिहासबारे चर्चा गरिएको छ।

 ढुङ्गे युग

ढुङ्गे युगलाई ‘पाषाण युग’ पनि भनिन्छ। यो मानव सभ्यताको एउटा प्रारम्भिक कालखण्ड हो। मानिसले यस युगमा आफ्ना दैनिक आवश्यकता पूरा गर्न मुख्यतया ढुङ्गाका यस्ता औजार प्रयोग गरे। मानवको जीवनयापनमा अन्य जीवभन्दा फरक त्यही थियो। शिकार मार्न ढुङ्गाकै बन्चरा, भाला, वाण आदि प्रयोग हुन्थे।

विश्वमा ढुङ्गे औजार निर्माण कहिलेदेखि शुरु भएको थियो भन्ने थाहा पाउन ती ढुङ्गे औजारको आयु पत्ता नलगाई हुँदैनथ्यो। ढुङ्गे औजारको आयु पत्ता नलागेसम्म ढुङ्गे युग कहिलेदेखि कहिलेसम्म चलेको थियो भन्ने थाहा हुने कुरै भएन।

चित्र  १ : लोमेक्क्यिन ढुंगे औजार

बीसौं शताब्दीको मध्यताका वैज्ञानिकहरूले ‘रेडियोकार्बन डेटिङ’ (Radiocarbon Dating) विधि पत्ता लगाए। यसैअन्तर्गत सन् १९५० र १९६० को दशकमा ‘पोटासियम–आर्गन डेटिङ’ जस्ता उन्नत विधिहरू विकास भए, जसले लाखौं वर्ष पुराना ढुङ्गे औजारहरूको सही उमेर पत्ता लगाउन सम्भव बनायो।

त्यसपछि अध्येताहरूले बल्ल मानवनिर्मित ढुङ्गे औजार बढीमा २५ लाख वर्ष पुरानो हो भन्ने थाहा पाए। यस्ता हतियार वा औजारहरू सबैभन्दा बढी अफ्रिकी देश केन्या, इथियोपिया र दक्षिण अफ्रिकामा पाइएका छन्। यस्तै एशियामा चीन तथा भारतमा पाइएका छन्। नेपालमा पनि पाइएका छन्।

तेह्रथुमका ढुङ्गे बन्चराले त्यहाँ मानिस ७-८ हजार वर्षअघिदेखि खेतीपाती शुरु गरेका थिए भन्ने सङ्केत गर्छन्। हाम्रा यस्ता पुरातात्त्विक प्रमाणहरूलाई अब केवल एउटा रोचक कथा वा मिथकको घेरामा मात्र सीमित नराखी व्यापक शैक्षिक र वैज्ञानिक बहसमा ल्याउनुपर्छ।

ढुङ्गे हतियारहरूलाई मानव विकास र प्रविधिको प्रगतिका आधारमा समूहकृत गरिएको छ। त्यसअघि डेनमार्कका पुरातत्त्वविद् क्रिस्टियन जुर्गेन्सन थोमसनले सन् १८३६ मा पहिलो पटक मानव इतिहासलाई ढुङ्गा, कांस्य र फलामको प्रयोगका आधारमा ‘थ्री–एज सिस्टम’ मा विभाजन गरेका थिए। यसले मानवको प्रागैतिहासिक इतिहासको खाका त दिएको थियो, तर यो विभाजन विशुद्ध ढुङ्गे प्रविधिसँग मात्र थिएन, धातु मिसिएको थियो।

सन् १८६५ मा बेलायती पुरातत्त्वविद् सर जोन लुबकले पुरापाषाण र नवपाषाण युग शब्दको प्रयोग गरे। सन् १९६६ मा होडर वेस्टरोपले यसमा ‘मध्यपाषाण’ शब्द थपे। प्रविधिको विकास (औजारको बनावट), जीवनशैली, जीविकोपार्जन र जलवायु एवं वातावरणीय परिवर्तनका आधारमा त्यसपछि ढुङ्गे युगलाई पुरापाषाण (Paleolithic), मध्यपाषाण (Mesolithic) र नवपाषाण (Neolithic) युगमा विभाजन गरियो।

मानव अफ्रिकामा उद्विकास भएको हो। त्यहाँबाट अन्यत्र फैलिंदै जाँदा कतिपय ठाउँमा त धेरैपछि मात्र पुगे। यसमा लोप भएका मानव र अहिले अस्तित्वमा भएका हामी मानिस प्रजाति अफ्रिकाबाट निस्किएको समयतालिका पनि फरक छ। यसैले, ढुङ्गे युगका यी चरणहरू विश्वका भिन्नभिन्न भूगोलमा फरक-फरक समयतालिकामा देखिएका छन्।

 पुरापाषाण

पुरापाषाण युग भनेको मानव पूर्वजले ढुङ्गे औजार चलाउन शुरु गरेदेखि मानिस खेतीपाती प्रणालीमा प्रवेश गर्दासम्मको समयावधि हो। हामीलाई थाहै छ, अफ्रिकामा मात्रै मानव उद्भवका निम्ति वातावरण अनुकूल थियो। एशिया, युरोपमा हिउँले ढाकेको थियो। अमेरिकामा मानिस २३/२४ हजार वर्षअघि पूर्वी उत्तर एशियाबाट बेरिङ स्ट्रेट (Bering Strait) ल्यान्ड ब्रिज हुँदै उत्तर अमेरिकाको अलास्का पुगेका थिए।

१० हजार वर्षअघिसम्म समुद्री सतह अहिलेको भन्दा ३०/४० मिटर कम थियो। २० हजार वर्षअघि भने १२० मिटर जति कम थियो। यसको अर्थ आजका धेरै सामुद्रिक टापुहरू त्यतिबेला जमिनसँग जोडिएका थिए। साइबेरिया र अलास्का बीच बेरिङ स्ट्रेटमा सुक्खा जमिन थियो। यस्तैमा, मानिस अस्ट्रेलिया करिब ६० हजार वर्षअघि पुगेका थिए।

अब, थोरै मानव पूर्वजको कुरा गरौं। मानव पूर्वज र चिम्पान्जीका पूर्वजहरू करिब ७० लाख वर्षअघिसम्म एकै थिए। ७० लाख वर्षयता मानव पूर्वजहरू चिम्पान्जीभन्दा पृथक् किसिमले परिवर्तन हुँदैगए। यसपछि जलवायु परिवर्तनका कारण अनेकौं मानव वंश उदय र लोप भए।

अफ्रिकामा पनि करिब ३५ लाख वर्षअघि घना जङ्गलहरू सुक्दै गएर खुला घाँसेमैदान (Savanna) मा परिणत हुन शुरु भयो। जङ्गलमा फलफूल र नरम वनस्पति कम हुन थालेपछि मानव पूर्वजहरूलाई बाँच्नका लागि नयाँ खाद्यान्नको खोजी गर्नुपर्ने भयो। कडा फलहरू फुटाउन औजारको आवश्यकता भयो। मरेका ठूला जनावरको मासु खान पनि समस्या भएको थियो।

चित्र २ : ओल्डोवान (द ह्युमन पास्ट, सन् २०१८, पृ. ६१)

मानव पुर्खाहरूसँग जनावरको कडा छाला च्यात्न वा हड्डी फुटाउन सक्ने धारिलो दाँत वा नङ्ग्रा थिएनन्। मानवको दिमाग बाँदरको भन्दा केही उन्नत थियो। मरेको जनावरको मासु काट्न र हड्डीभित्रको प्रोटिनयुक्त मासी निकाल्न प्राकृतिक रूपमा पाइने ढुङ्गा चलाउन सिके। त्यसले अलि सहज भयो। त्यसपछि उनीहरूको मस्तिष्क ढुङ्गे औजार बनाउनेतर्फ गयो।

विश्वप्रसिद्ध जर्नल ‘नेचर’ को २१ मे २०१५ को संस्करणमा ३३ लाख वर्ष पुरानो ढुङ्गे औजार अफ्रिकी देश केन्याको लोमेक्वीमा उत्खनन गर्दा फेला परेको वृत्तान्त छ। त्यहाँ प्राप्त भएका ढुङ्गे औजारहरू सोही लेखको पृष्ठ ३१४ मा समावेश छन् (हे. तस्बिर १) लोमेक्वीमा पाइएका हुनाले त्यस्ता हतियारको नाम पनि लोमेक्वियन राखियो।

यी औजार अत्यन्त साधारण थिए। ठूला ढुङ्गालाई अर्को ढुङ्गामा ठोकेर फुटाइएका टुक्रा जस्ता देखिन्छन्। यस्ता औजार हेर्दा सामान्य ढुङ्गा जस्तै देखिन्छन्। सर्वसाधारणले त त्यसलाई छुट्याउनै सक्दैनन्। त्यसलाई पर्गेल्न अनेकौं कुरा जोडेर हेर्नुपर्ने हुन्छ। यसैले, हामीले यस्ता ढुङ्गे औजार वा हतियार देखे पनि चिन्न सक्दैनौं। अनि अर्को कुरा यस्ता वस्तु सुरक्षित पनि छैनन्।

आज पनि केही बाँदर सहित चिम्पाञ्जीले कडा फल (जस्तै: नट वा कडा बोक्रा भएका फल) फुटाउन यस्तै ढुङ्गा प्रयोग गर्छन्। त्यसैले लोमेक्वियन औजार बनाउने मानव र बाँदरको यस्तो व्यवहार बीच केही समानता देखिन्छ। यो चरणमा औजार प्रयोग मुख्यतः खाना प्राप्त गर्न र कडा वस्तु फुटाउनका लागि थियो। मानवले द्वन्द्वमा सम्भवतः प्रयोग गरेनन् होला।

चित्र २ : ओल्डोवान (द ह्युमन पास्ट, सन् २०१८, पृ. ५९)

पुरापाषाण काल शुरु हुँदा अहिलेको मानव वंश अर्थात् होमो समूह उदय भएकै थिएन। मानिसको वंश अर्थात् होमो (Homo) करिब २७ लाख वर्षअघिताका उद्विकास भएको हो। पुरापाषाण कालको शुरुका औजार अस्ट्रालोपिथेकस अफरेन्सिस (Australopithecus afarensis) ले चलाएका थिए (हे. तस्बिर ८)

यस्तै, केन्यान्थ्रोपस प्लाटियोप्स (Kenyanthropus platyops) र होमो ह्याबिलिस (Homo habilis) ले पनि चलाए। ती तीनै प्रजातिहरू क्रमशः २९, ३२ र १६ लाख वर्षअघि लोप भएका थिए।

पुरापाषाण कालमा मानिसहरू शिकार र जङ्गली कन्दमूल खोज्दै एक ठाउँबाट अर्को ठाउँमा डुलिरहन्थे। उनीहरू प्रायः गुफामा वा जनावरको छालाले बनेका अस्थायी पालहरूमा बस्थे। यो कालमा अनेकौं मानव वंश उद्भव हुँदै लोप भए। कुनै लामै अवधि रहे, कुनै ज्यादै छोटो अवधि।

कहिलेकाहीं जमिनमा सानो खाल्डो खनेर त्यसमा तातो कोइला र ढुङ्गाहरू भरिन्थ्यो। त्यसमाथि मासु वा फलहरू राखेर पात वा माटोले छोपेर केही समयसम्म छोडिन्थ्यो, जसले गर्दा भित्रको तापले राखिएका खानेकुरा पाक्थ्यो ।

करिब ३३ लाखदेखि १ लाख वर्षअघिसम्मको अवधिलाई प्रारम्भिक वा निम्न पुरापाषाण काल (Lower Paleolithic) भनिन्छ। यसै अवधिमा मानिसले आगोको नियन्त्रण र प्रयोग सिके। निम्न पुरापाषाण कालमा सबैभन्दा लामो अवधि ढुङ्गे औजार चलाउने होमो इरेक्टस थियो। यो प्रजाति करिब २० लाख वर्षअघिदेखि करिब १ लाख वर्षअघिसम्म अस्तित्वमा थियो।

करिब १ लाख वर्षदेखि ४० हजार वर्ष ईसापूर्वसम्मलाई मध्य पुरापाषाण काल (Middle Paleolithic) मानिएको छ। यस कालमा मानिस समूहमा बस्न र मृतकहरूलाई गाड्न शुरु गरेका थिए। मध्य पुरापाषाण कालमा मूलतः होमो नियन्डरथल र होमो सेपियन्स थिए। अमेरिका र अस्ट्रेलियामा पुग्ने होमो सेपियन्स मात्रै हुन्। दक्षिण–पूर्व एशियामा होमो लुजोनेन्सिस र होमो फ्लोरेसिन्सिस थिए। साइबेरिया र तिब्बत क्षेत्रमा होमो डेनिसोभान्स थियो।

करिब ४० हजार वर्षदेखि १० हजार वर्ष ईसापूर्वसम्मलाई नव पुरापाषाण काल (Upper Paleolithic) भनिन्छ। यसपछि मानिस खेतीपातीमा प्रवेश गरे। तर, यही अवधि सबैतिर मिल्छ भन्ने होइन। हतियारका बनावटका आधारमा मुख्य रूपमा यस्तो विभाजन गरिएको छ।

 मध्यपाषाण युग

विश्वभर औसत रूपमा करिब १० हजार वर्षअघि हिमयुग समाप्त भई तापमान बढ्न थालेको थियो। हिउँ पग्लिएपछि जलवायु न्यानो र ओसिलो हुने नै भयो। यसले गर्दा हिउँमा बस्ने ठूला जनावरहरू (जस्तै: म्यामथ) लोप हुन थाले र साना जनावरहरू, चराचुरुङ्गी तथा माछाहरूको सङ्ख्या बढ्दै गयो ।

तापमान बढेसँगै नयाँ प्रकारका घाँसे मैदान र जङ्गलहरू विकसित भए। यसले मानिसहरूलाई कन्दमूल, फलफूल र जङ्गली खाद्यान्नहरू सङ्कलन गर्ने नयाँ अवसर दियो। लाखौं वर्ष हिउँले ढाकेका भूभागहरू मलिलो भएकाले वनस्पति फैलन अनुकूल बनेको थियो।

बदलिंदो वातावरणमा बाँच्नका लागि मानिसहरूले आफ्ना जीवनशैली बदले। उनीहरूले ठूला हतियारका साटो साना र तिखा ढुङ्गाका हतियार (Microliths) बनाउन थाले। यसले साना जनावर शिकार गर्न सजिलो बनायो।

पहिलेको जस्तो शिकारको खोजीमा टाढा–टाढा भौंतारिनुको सट्टा, नदी वा तालको किनारमा अलि लामो समयका लागि बस्न थाले; त्यो पनि समूहमा। उनीहरूले जनावर पाल्ने र प्रकृतिमा पाइने अन्नहरू जम्मा गर्ने नयाँ काम थाले।

यही अवधिमा चीनको याङ्जे नदी उपत्यकामा जङ्गली धानखेती गर्न शुरु गरे। त्यसबेला धान एकैचोटि पाक्दैनथ्यो। बोट पनि यस्ता थिएनन्। कुनै दाना पछिसम्म अडिन्थे, कुनै झरिहाल्थे। कुनैका दाना साना र कुनैका ठूला हुन्थे।

चित्र ३ : अचुलियन (द ह्युमन पास्ट, सन् २०१८, पृ.७७) र अचुलियन (द ह्युमन पास्ट, सन् २०१८, पृ.४४)

तीमध्ये राम्रा छानेर रोप्न थाले ।  यो क्रम हजारौं वर्ष चलिरहँदा आजको धान उद्विकास हुन पुगेको हो। उता इरानको जाग्रोस माउन्टेन (पर्वत शृङ्खला) आसपासमा बस्नेले गहुँलगायत निकै गेडागुडी खेती गर्न सुरु गरेका थिए।

मध्य अमेरिकी भूभागमा मकै पनि यसरी नै खेती शुरु गरिएको थियो। यस्तो क्रम १० हजार वर्षअघि भएको नभई विश्वभर करिब ईसापूर्व १० देखि ६ हजारसम्म रहेको थियो।

 नवपाषाण युग

मध्यपाषाण कालमा बनाइएका हतियार साना र धारिला मात्र हुन्थे। त्यसले शिकार गर्न त सजिलो भएकै थियो ।  त्यसपछि भने ढुङ्गे बन्चरो जस्ता औजारहरू घोटेर चिल्लो र असाध्यै धारिलो बनाउन थालिएको थियो। तर खेतीपातीका लागि तिनीहरू उपयुक्त थिएनन्। यसका लागि नयाँ हतियार आविष्कार गर्न आवश्यक थियो।

खेतीपातीका लागि अर्धचन्द्राकार हतियार बनाइयो। यसका निम्ति काठ, हाड वा जनावरको बङ्गारा (विशेषगरी घोडाको) प्रयोग गरियो। काठ भने त्यस्तो आकारको खोजिन्थ्यो वा त्यस्तो आकारमा मोडिन्थ्यो वा खोपिन्थ्यो। मध्य अमेरिकामा ईसापूर्व ८,००० मा मानव बसोबास स्थलनजिक लौकाको जीवाश्म फेला परेको छ (द ह्युमन पास्ट, सन् २०१८, पृ. ३०६)

उसताका मानवले चकमक ढुङ्गा वा ज्वालामुखीबाट निस्किएका ढुङ्गा जस्तो ओब्सिडियन (Obsidian) फुटाएर स्टिलको ब्लेड जस्तै धारिलो बनाएर चलाउन थालेका थिए। यसबाट हँसिया (Sickle), खुकुरी, चक्कु, काँडको टुप्पो र ऐना समेत बनाए ।

ओब्सिडियन ढुङ्गा जताततै नपाइने भएकाले नवपाषाण युगमा यो बहुमूल्य वस्तुका रूपमा प्रयोग गरियो होला। यस्ता ढुङ्गालाई घोटेर र पालिस गरेर चेप्टो र धारिलो कोदालो पारिन्थ्यो। यसका निम्ति यसलाई लामो काठको बिंडमा ‘एल’ आकारमा डोरी वा जनावरको छालाले कसेर बाँधिन्थ्यो।

कडा माटो र जराहरू उखेल्नका लागि ठूला कडा ढुङ्गालाई फुटाएर गैंती (पिक) जस्तो बनाइन्थ्यो। यस्तै, मृगको सिङलाई उपयोग गरिन्थ्यो भन्ने लेखेको पढ्न पाइन्छ।

नवपाषाण युगमा मानिसले ढुङ्गालाई छिल्ने (Flaking) मात्र नभई घोटेर पालिस गर्ने प्रविधि अपनाएकाले यी यस्ता औजारहरू पहिलेका भन्दा धेरै टिकाउ र प्रभावकारी हुन्थे। मध्यपाषाण कालका चाहिं यसरी पालिस गरे जस्तो हुँदैनन्। नेपालका पहाडी भूभागमा बढी मात्रामा पालिस नगरेका औजार भेटिन्छन्।

मानिसले पछि ढुङ्गाभन्दा तामा (Copper) र पछि काँस (Bronze) धेरै बलिया, खप्ने र सजिलै चाहेको आकारमा ढाल्न सकिने वस्तु फेला पारे। त्यसले ढुङ्गाका औजारलाई विस्थापित गर्‍यो र ढुङ्गे युग समाप्त भयो। यहाँ विभिन्न कालखण्डमा बनाइएका ढुङ्गे औजारका किसिमको थोरै चर्चा गरौं।

लोमेक्वियन

सबैभन्दा पुरानो ढुङ्गे औजार केन्याको पश्चिम तुर्काना (West Turkana) को लोमेक्वीमा फेला परेको थियो भनेर माथि चर्चा गरियो। त्यहाँ भेटिएका र अन्य पनि त्यस्तै भेटिएका ढुङ्गे औजारलाई त्यही ठाउँको नामबाट ‘लोमेक्वियन’ (Lomekwian) भनिने गरिएको छ।

त्यस्ता औजार अत्यन्त साधारण थिए। ठूला ढुङ्गालाई अर्को ढुङ्गामा ठोकेर फुटाइएका टुक्रा मात्र हुन्। हेर्दा सामान्य ढुङ्गा जस्तै लाग्छन्, छुट्याउनै गाह्रो हुन्छ। वास्तवमा, आज पनि केही बाँदर– जस्तै: चिम्पाञ्जीले कडा फल (जस्तै: नट वा कडा बोक्रा भएका फल) फुटाउन ढुङ्गा प्रयोग गर्छन्।

चित्र ४ : मउस्टेरियन ढुंगे औजार ।

लोमेक्वियन औजार र बाँदरको यस्तो व्यवहार बीच केही समानता देखिन्छ। यस्ता ढुङ्गे औजार निर्बाध रूपमा अस्ट्रालोपिथेकस अफरेन्सिस (Australopithecus afarensis) र केन्यान्थ्रोपस प्लाटियोप्स (Kenyanthropus platyops) हरूले केही लाख वर्षसम्म उपयोग गरे।

ओल्डोवान

समय बित्दै गएपछि आवश्यकताहरू बढ्दै गए, नयाँ वातावरणीय परिवेशमा। मानव पूर्वज रूखबाट जमिनमा विचरण गर्नुपर्ने अवस्था आइलाग्यो। माथि उल्लिखित मानव पूर्वज बाहेक मानव वंशको पहिलो प्रजाति होमो ह्याबिलिस पनि उद्विकास भएको थियो, करिब २५ लाख वर्षअघि।

मूलतः होमो ह्याबिलिसले ठूलो ढुङ्गाबाट निकालिएका एकातर्फ वा दुवैतर्फ अर्को ढुङ्गाले हिर्काएर तिखो धार भएको चपर्स (Choppers) बनाए। यसको प्रयोग हड्डी फुटाउन, काठ काट्न र मासुका ठूला टुक्रा बनाउन गरे।

ठूलो ढुङ्गा फुटाउँदा निस्केका साना र धेरै तिखा पत्र वा टुक्राहरू पनि जनावरको छाला निकाल्न र मासु मसिनो गरी काट्न प्रयोग गरे। यसलाई फ्लेक्स (Flakes) भनिएको छ, जुन आधुनिक ‘चक्कु’ जस्तै हुन्थे।

ठूला ढुङ्गाहरूबाट निकालिएका गोलाकार वा अलि थेप्चा ढुङ्गाहरू खन्ने र वस्तुहरू खुर्किने (Scrapers), जनावरको हड्डी फुटाउन (Cracking) को निम्ति प्रयोग गरे। यो विशेषतः हड्डीभित्रको मासी खान वा ठूला तर कडा दानाको गुदी निकाल्न प्रयोग गरे।

हामी जब यी प्राचीन औजारहरूको सही उत्खनन, संरक्षण र विश्लेषण गर्छौं, तब मात्र हामी यो भूमिमा कहिलेदेखि थियौं भन्ने वास्तविक जानकारी पाउन सकिन्छ। अन्यथा, हामी सधैं मिथकमै रुमल्लिइरहनुपर्नेछ।

यस्तै, गोलाकार वा अलि थेप्चो परेका ढुङ्गाहरू (Discoid) खन्न र वस्तुहरू खुर्किने काममा प्रयोग गरे। त्यस्ता औजारहरू धेरैतिरबाट ताछिएका र धेरै कुना भएका पनि हुन्थे। यस्तै, ‘ह्यामरस्टोन’ (Hammerstones) हरू पनि बनाए। तर, यस्ता ‘ह्यामरस्टोन’ निकै वजनका हुन्थे।

यस्ता औजार चलाएर होमो ह्याबिलिसको आहार र जीवनशैलीमा ठूलो परिवर्तन भएको थियो। यस्ता प्रकृतिका हतियारहरू ५-६ लाख वर्षसम्म बनाइएका थिए। यस्तो हतियारलाई पुरातत्त्वविद्हरूले ‘औजार बनाउने मोड १’ नाम दिएका छन्।

यस प्रकृतिको ढुङ्गे औजारको तस्बिर सन् २०१८ मा प्रकाशित क्रिस स्कार्रे सम्पादित ‘द ह्युमन पास्ट: वर्ल्ड प्रिहिस्ट्री एन्ड डेभलपमेन्ट अफ ह्युमन सोसाइटिज’ शीर्षक पुस्तकको पृष्ठ ६१ मा समावेश छ (हे. तस्बिर २)

एशुलियन

प्रागैतिहासिक इतिहासमा पुरानो ओल्डोवान प्रकृतिका ढुङ्गे हतियारबाट मानवको आवश्यकता पूरा गर्न कठिन भइरहेको थियो। करिब २० लाख वर्षअघि होमो ह्याबिलिसबाट मानवको एक अर्को प्रजाति होमो इरेक्टस उद्विकास भइसकेको थियो।

होमो ह्याबिलिसको मस्तिष्कको आकार ५०० देखि ६५० क्युबिक सेन्टिमिटर थियो। होमो इरेक्टस मस्तिष्कको आकार ८०० देखि १,१०० क्युबिक सेन्टिमिटरसम्मको थियो। हुनत होमो ह्याबिलिसको मस्तिष्कको आकार बाँदरभन्दा अलि ठूलो तर जटिल काम गर्न नसक्ने प्रकृतिको थियो।

होमो इरेक्टसको शरीर आधुनिक मानिस जस्तै सीधा र अग्लो थियो। तिनका खुट्टा लामा र हातहरू छोटा थिए, जसले गर्दा उनीहरू रूखमा चढ्नुको सट्टा जमिनमा लामो दूरीसम्म हिंड्न र दौडिन सक्थे।

होमो ह्याबिलिस अफ्रिकामै सीमित रहे । तर, बुद्धिमत्ता र अनुकूलन क्षमताका कारण होमो इरेक्टस अफ्रिकाबाट बाहिर निस्केर एशिया र युरोपसम्म फैलिन सफल भए। होमो इरेक्टसले आगोलाई नियन्त्रणमा राख्न र प्रयोग गर्न जाने ।

चित्र ५ : उत्तरी अष्ट्रेलियामा पाइएको ढुङ्गे बन्चरो ।

उनीहरूले मासु पोलेर खान सिके। उनीहरूले ठूला ढुङ्गाहरूलाई आगोमा तताउँथे। जब ढुङ्गा एकदमै तातो हुन्थ्यो, त्यसमाथि मासु वा कन्दमूल राखेर पकाउँथे। यसलाई अहिलेको ‘ग्रिल’ (Grill) गर्ने तरिका जस्तै मान्न सकिन्छ ।

कहिलेकाहीं जमिनमा सानो खाल्डो खनेर त्यसमा तातो कोइला र ढुङ्गाहरू भरिन्थ्यो। त्यसमाथि मासु वा फलहरू राखेर पात वा माटोले छोपेर केही समयसम्म छोडिन्थ्यो, जसले गर्दा भित्रको तापले राखिएका खानेकुरा पाक्थ्यो ।

होमो ह्याबिलिसले बनाएका ओल्डोवान हतियारमा एकातिर मात्र धार हुन्थ्यो। इरेक्टसले दुवैतिर धार भएको हाते बन्चरो बनाए । वैज्ञानिकहरूले यस्ता ढुङ्गे औजार उत्तरी फ्रान्सको सेन्ट–एशुल (St. Acheul) मा फेला पारेका थिए। यही ठाउँको नामबाट त्यस्ता ढुङ्गे औजारलाई एशुलियन (Acheulean) नामकरण गरियो ।

यो हतियार धेरै किसिमको काम गर्न प्रयोग गर्न मिल्थ्यो । एशुलियनलाई पुरातत्त्वविद्हरूले कुनै स्पष्ट कारण विना ह्यान्ड एक्स (Hand axe) भनेर लेख्छन्। ह्यान्ड एक्स भनेको हाते बन्चरो हो। तर, यसको आकार अहिलेको बन्चरो जस्तो भने छैन ।

बरु यसको आकार फेदतिर समाउन हुने नासपाती वा अण्डाकार तर एकातिर टुप्पो हुने र टुप्पोको दुवैतर्फबाट ताछेर सन्तुलित र तिखो धार निकालिएको हुन्थ्यो । यसको फेद समात्नका लागि मोटो र गोलाकार बनाइएको हुन्थ्यो ।

यस्ता हतियार बनाउनुले होमो इरेक्टसमा कुनै पनि वस्तुलाई निश्चित आकार दिने मानसिक क्षमता र प्राविधिक कुशलता विकास भइसकेको सङ्केत गर्छ । यो बोकेर टाढा लैजान सकिन्थ्यो, सजिलै । यही हतियारका साथ होमो इरेक्टस अफ्रिकाबाट युरोप, एशियामा फैलिए । यो हतियार लगभग २ लाख वा १ लाख ३० हजार वर्षअघिसम्म बनाइन्थ्यो। यस्तो हतियारलाई पुरातत्त्वविद्हरूले ‘औजार बनाउने मोड २’ नाम दिएका छन् (हे. तस्बिर ३)

एशुलियन हतियार, यसको बनाउने प्रविधि र परिष्कारको आधारमा क्रिस स्कार्रे सम्पादित द ह्युमन पास्ट शीर्षक पुस्तकमा मुख्य दुई चरणमा विभाजन गरेको छ।

करिब १७ लाख ६० हजार वर्ष पहिलेदेखि ६–७ लाख वर्ष पहिलेसम्मलाई अर्लि एशुलियन भनिएको छ। यसताका औजारहरू अलि भद्दा, मोटो र कम सुडौल हुन्थे। ६–७ लाख वर्षपछि करिब १ लाख ३० हजार वर्षसम्ममा बनाइएका लेट एशुलियन भनिएको छ।

विक्रम श्रेष्ठ लिखित प्राग्–इतिहास: आदिम सभ्यता शीर्षक पुस्तकमा चाहिं ३ चरणमा विभाजन छ (२०८२, पृ.२६०–२६२)। यो पुस्तकमा समावेश सामग्रीहरू नेपाली भाषामा प्रकाशित प्राग्–इतिहास सम्बन्धी जानकारी अहिलेसम्मकै उत्कृष्ट छ।

 मउस्टेरियन

अफ्रिकामा होमो इरेक्टसबाट करिब ७ लाख वर्षअघि होमो हाइडेलबर्गेन्सिस उद्विकास भएको थियो। वैज्ञानिक मान्यता अनुसार हाइडेलबर्गेन्सिसबाट युरोपमा करिब ४ लाख वर्षअघि होमो नियन्डरथल, अफ्रिकामा ३ लाख वर्षअघि होमो सेपियन्स र एशियामा होमो डेनिसोभान्स उद्विकास भएका थिए।

करिब १ लाख ६० हजारदेखि ४० हजार वर्षअघिको समय हिमयुगको कठोर जलवायुले भरिएको थियो। युरोप र पश्चिम एशियामा चिसो, सुक्खा र कठिन वातावरण थियो, जहाँ ठूला जनावर (जस्तै: म्यामथ, रेनडियर आदि) शिकार गरेर बाँच्नुपर्थ्यो।

चित्र ६ : तेह्रथुम फेदापमाको ढुङ्गे बन्चरो जस्तो औजार

यस्तो अवस्थामा एशुलियन हाते–बन्चरो मात्र त्यस्ता जनावरलाई मार्न पर्याप्त थिएन। त्यसैले होमो नियन्डरथलले सानो, धारिलो र विशेष प्रयोजनका औजार बनाउने नयाँ तरिका विकास गर्‍यो, जसलाई मउस्टेरियन (Mousterian) नाम दिइएको छ।

यसअनुसार, पहिले नै ढुङ्गालाई योजना बनाएर टुक्र्याउने गरियो। यसले एउटै ढुङ्गाबाट धेरै नियन्त्रित आकारका फ्लेक्स (Flakes) निकाल्न सम्भव बनायो। यसरी बनाइएका औजारहरू छाला छिल्न, मासु काट्न, काठ प्रशोधन गर्न र हतियार (भाला) बनाउन प्रयोग हुन्थे। यसले देखाउँछ कि होमो नियन्डरथलमा योजनाबद्ध सोच र सीप उच्चस्तरमा विकास भइसकेको थियो।

यस्तो हतियार बनाउँदा पहिले एउटा ठूलो ढुङ्गालाई चारैतिरबाट ताछेर कछुवाको पिठ्युँ जस्तो आकार दिइन्छ। त्यसलाई विस्तारै चोइट्याउँदै चाहेको आकृतिको औजार बनाइन्थ्यो। निस्केका धारिला टुक्राहरू काट्ने चक्कु, खुर्पा (Scraper) वा भालाको टुप्पोका रूपमा प्रयोग गरिन्थ्यो। यस्तो हतियारलाई पुरातत्त्वविद्हरूले ‘औजार बनाउने मोड ३’ नाम दिएका छन्। यस्तो प्रविधिलाई लेभाल्वा प्रविधि (Levallois technique) भनिन्छ (हे. तस्बिर ४)।

 भाला जस्ता ढुङ्गे औजार

मानिसले करिब ५० हजारदेखि १० हजार ईसापूर्वको अवधिमा लामो र पातलो ढुङ्गाका पाताहरू (Blades) बनाए। यसमा विशेषगरी शिकार गर्न प्रयोग गरिने तिखो टुप्पो भएको, खोप्न वा छेड्न प्रयोग गरिने सानो र तिखो हतियार बनाउने गरियो। यसमा समात्न सजिलो होस् भनेर एकातर्फ धार नभएका चक्कु बनाइए।

यस्तै दुवैतिर धार भएका हतियार पनि बनाएको भेटिन्छ। २२ हजारदेखि १८ हजार ५०० वर्षअघि साना धारिला ढुङ्गे औजार बनाइएका थिए। सम्भवतः यो धनुवाणको लागि थियो कि? १८ हजार ५०० देखि ११ हजार वर्षअघि माछा मार्न प्रयोग गरिने काँडा भएको हड्डीको हतियार बनाइएका थिए। भालाको टुप्पोमा लगाइने मृगको सिङ वा हड्डीबाट बनेको तिखा हतियार पनि बनाइयो, यही अवधिमा।

 सूक्ष्म र घर्षित–पाषाण

इसापूर्व ८ हजारदेखि ४ हजार वर्षताका साना हतियारहरू बनाउन शुरु भयो। यसबाट अघिल्ला हतियारहरूका आकार घटाउँदै लगेर साना आकारका हतियार बनाइयो। ती हतियारहरू साना जनावर, चरा आदि मार्न काम लाग्थ्यो।

४ हजारदेखि २ हजार ५०० इसापूर्वमा माथि उल्लेख गरेका कतिपय ढुङ्गे हतियार विशेषगरी ढुङ्गे बन्चरोहरू पालिस गरेर बनाउन थालियो। विशेषगरी बालुवामा लामो समयसम्म घोटिन्थ्यो। यस्ता हतियार चिल्लो त हुन्थ्यो नै, टिकाउ पनि धेरै हुन्थ्यो। नेपालमा यस्ता हतियार निकै नै पाइएका छन्।

गाउँघरमा यस्ता ढुङ्गे औजारलाई अझै पनि मानिसले बनाएको भनिंदैन। यो त आकाशबाट चट्याङ पर्दा झरेको भन्ने गरिन्छ। कतैकतै चाहिं यसलाई ‘बज्रढुङ्गो’ भनिन्छ। मैले सानामा देखेको थिएँ, तर आकार कस्तो थियो भन्दा पनि आकाशबाट खसेको बन्चरो भन्ने मात्र स्मृतिमा बसेको छ।

चित्र ७ : बाँया म्याग्दी र दायाँ पपुवा न्युगिनी (ब्रिटिश म्युजियम)

नेपालमा ढुङ्गे हतियारबारे जानकारी नेपाल सरकारको पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा आधा शताब्दीअघि प्रकाशित भएका थिए। यसको प्रकाशन सन् १९६७ बाट शुरु भएको थियो। ढुङ्गे हतियारबारे नेपालमा बृहत् खोज–अनुसन्धान गर्ने जर्मनीकी एक अध्येता थिइन्।

 गुड्रुन कोर्विनसको योगदान

विश्वभर ढुङ्गे औजार भेटिएका प्रमाणहरूलाई हेर्दा नेपालमा पनि विविध प्रकारका भेटिनु अपवाद होइन। नेपालमा ढुङ्गे बन्चरो त उहिल्यैदेखि भेटिंदै आएका थिए। तर, दाङ र नवलपरासीमा भेटिएका हाते बन्चरो चाहिं विशेष हुन पुग्यो।

त्यहाँ हाते बन्चरो जर्मन प्रागैतिहासिक मानवविद् गुड्रुन कोर्विनसले १ मार्च १९९० मा फेला पारेकी थिइन् (हे. तस्बिर ९)। यसले नेपालमा होमो इरेक्टसको उपस्थिति थियो भन्ने पुष्टि गर्‍यो।

गुड्रुनले नेपालमा भेटिएका एशुलियन औजार अर्थात् हाते बन्चरोको विस्तृत विवरण तिनको पुस्तक ‘प्रिहिस्टोरिक कल्चर्स इन नेपाल’ मा गरेकी छन् (भोल्युम १, सन् २००७, पृ. १२४–१३०, २२८–२२९)। तस्बिर तथा स्केचहरू सोही पुस्तकको भोल्युम २ (सन् २००७, पृ. ११७–१२४) मा समावेश छन्।

गुड्रुनको अध्ययन अनुसार, नवलपरासीको सतपतीमा फेला परेको हाते बन्चरो ‘अर्ली प्लेइस्टोसिन’ (Early Pleistocene) कालसँग सम्बन्धित छ (भोल्युम १, पृ. २३५)। यो दाङमा फेला परेको हाते बन्चरोभन्दा अलि लामो छ (हे. तस्बिर १०)

अर्ली प्लेइस्टोसिन करिब २५ लाख ८० हजार वर्षदेखि ७ लाख ७० हजार वर्षअघिसम्म फैलिएको अवधि हो। यस आधारमा ती औजारहरू कम्तीमा ७ लाख वर्षभन्दा पुराना हुन् ।

त्यसैगरी, दाङको गडेरीमा फेला परेको औजारलाई ‘अर्लियर मिडल प्लेइस्टोसिन’ (Earlier Middle Pleistocene) कालको मानिन्छ, जुन करिब ७ लाख ७० हजारदेखि ४ लाख वर्षअघिको अवधि हो। यी तथ्यहरूले पुष्टि गर्छन् कि होमो हाइडेलबर्गेन्सिसबाट अफ्रिकामा होमो सेपियन्स उद्विकास हुनु अगावै नेपालमा होमो इरेक्टस आइपुगेका थिए ।

आधुनिक होमो सेपियन्स अफ्रिकामा करिब ३ लाख वर्षअघि उद्भव भएको थियो। त्यसैले नेपालमा ४ देखि ७ लाख वर्षअघिका हाते बन्चरोहरू होमो इरेक्टसकै हुन्। यी खोजहरूले नेपालमा लोप भएका मानव प्रजातिको उपस्थिति थियो भन्ने प्रमाण उपलब्ध गराउँछन्।

 ढुङ्गे बन्चरो

हाते बन्चरो र ढुङ्गे बन्चरो दुई फरक प्रागैतिहासिक ढुङ्गे औजार हुन् । हाते बन्चरो हत्केलामा अठ्याएर प्रयोग गरिन्थ्यो। यसको आकार हिजोआजको बन्चरो जस्तो छैन। यो होमो इरेक्टसले सिर्जना गरेको माथि चर्चा गरियो। यसलाई प्रयोग गर्न बिंडको प्रयोग हुन्नथ्यो ।

ढुङ्गे बन्चरो चाहिं झन्डै हिजोआज गाउँघरमा चलाइने बन्चरो जस्तै आकृतिको ढुङ्गे औजार हो। यसलाई काठको बिंड एकातिरको टुप्पोमा प्वाल पारेर वा बाँधेर उपयोग गरिन्थ्यो ।

चित्र ८ : अस्ट्रालोपिथेकस अफरेन्सिस (द ह्युमन पास्ट, सन् २०१८, पृ. ५४)

यस्तो सबैभन्दा पुरानो नमूना सन् २०१६ मा अस्ट्रेलियन आर्किओलोजी भोल्युम ८२, अङ्क १ मा प्रकाशित छ। यसमा प्रकाशित जानकारी अनुसार उत्तरी अस्ट्रेलियामा यस्ता हतियार ४४ हजारदेखि ४९ हजार वर्ष पहिलेका पाइएका छन्। यसको आकृति स्पष्टै बन्चरो जस्तो देखिन्न। बन्चरो जस्तो हो कि भन्ने मात्र देखिन्छ (हे. तस्बिर ५)

मानवले यस्तै औजार परिमार्जित गर्दै लैजाँदा ढुङ्गे बन्चरोको स्वरूप परिवर्तन गर्दै लगियो होला। त्यो ठाउँअनुसार, ढुङ्गाअनुसार फरक-फरक आकृतिका बनाउने गरियो होला। अफ्रिकाका यस्ता औजार र हामीकहाँ पाइएका औजारमा फरकपन देखिन्छ। नेपालको दाङ, नवलपरासीका भन्दा पूर्वी नेपालका फरक छन्।

यसको स्वरूप मध्यपाषाण युगमा निकै परिमार्जित भयो। तेह्रथुम वसन्तपुर नगरपालिका दाँगपाका हितराम तिल्लिङ (लिम्बू) को घरमा यस्ता तीन वटा ढुङ्गे बन्चरा जस्ता देखिने पुरातात्त्विक वस्तु छन् (हे. तस्बिर ११)

तिनीहरू ‘नेफराइट जेड’ वा ‘बसाल्ट’ जस्ता बलिया ढुङ्गाका होलान्। साह्रै बलिया, कडा जस्ता देखिन्छन्।

यसको टुप्पामा धार घोटेर चिल्लो र धारिलो बनाइएको छ। यस्तो चिल्लो बनाउनाले प्रयोग गर्दा घर्षण कम हुन्छ र हतियार लामो समयसम्म टिक्थ्यो होला। यस्ता हतियार गुड्रुन कोर्विनसले महोत्तरी लगायतका जिल्लामा फेला पारेकी थिइन्। महोत्तरीको रातु खोलामा फेला परेका औजारहरू भियतनाम, कम्बोडियातिरकासँग मिल्दाजुल्दा छन्।

ढुङ्गाको अर्को छेउ अलि साँघुरो र बाक्लो देखिन्छ। यो भागलाई काठ वा हड्डीको बिंडमा बाँध्न सजिलो हुने गरी बनाइएको थियो। यो सम्भवतः काठ काट्न प्रयोग गरिन्थ्यो होला। यसलाई माटो खन्न पनि प्रयोग गरिन्थ्यो। जनावर मार्न पनि प्रयोग गरिए। मानिस बीच द्वन्द्वमा पनि प्रयोग गरिए।

यो औजार तेह्रथुममा पहिलो पटक खेतीपाती गर्न प्रयोग गरिएको हुनुपर्छ। यो सम्भवतः इसापूर्व ६ हजार यताका हुनुपर्छ। चीनको याङ्जे नदी उपत्यकामा १० हजार वर्षअघि धान खेती शुरु भएको थियो। नेपालमा धान खेती गर्ने कला उतैबाट आउनेले लिएर आएका थिए होलान्।

यहाँ पहिलेदेखि नै मानिस थिए तर धान खेतीको ज्ञान थिएन । याङ्जे नदी उपत्यकाबाट बाहिर निस्केर गएका मानिस हिंड्ने बाटोबारे जे.आर. सुब्बा (पोन्धाक) ले ‘एन्सेस्टर्स अफ तिबेटो–बर्मन पिपुल’ शीर्षक पुस्तकमा लेखेका छन् (सन् २०२३)।

तेह्रथुमको फेदाप गाउँपालिकाको सिम्लेमा ढुङ्गे बन्चरो जस्ता आकृति भएका पुरातात्त्विक वस्तु डी.बी. आङ्बुङ र विजय निङ्लेखुले सङ्कलन गरेका छन् (हे. तस्बिर ६)

यस्तै, तेह्रथुमकै म्याङ्लुङ नगरपालिकाका बलदेव तुम्बाहाङ्फेले पनि ढुङ्गे औजार जोहो गरेका छन्। तेह्रथुममा लिम्बू समुदायका घरमा रहेका यस्ता ढुङ्गे औजार कम्तीमा ६ हजारदेखि बढीमा १० हजार वर्ष पुराना हुन सक्छन्।

उसताका पूर्वी (पहाडी) क्षेत्रमा घर बनाएर बस्ने प्रचलन पक्कै थिएन। उनीहरू ओढारमै बस्थे। किनभने साइबेरिया वा अफ्रिकामा जस्तो तेह्रथुममा ठूला जनावर हुन्थेनन्। ठूला जनावरका छालाबाट स्थायी छाप्रोको छानो बनाउने वस्तुस्थिति थिएन, त्यहाँ। तेह्रथुमका प्रागैतिहासिक आश्रय स्थलबारेमा यही लेखको थामारुङ लुङधुङ ओढार उपशीर्षकमा चर्चा गरिएको छ।

यस्तै एक ढुङ्गे बन्चरो मैले म्याग्दी जिल्लास्थित अन्नपूर्ण गाउँपालिकाको नारच्याङ गाउँमा देखें। यो १० से.मि. जति लामो छोटो बिंड लगाएर चलाउने हो। यसको दुवै पाटा मिलेका छन्। यसको मुख्य विशेषता भनेको यसमा चिल्लो सतह छ। बालुवामा लामो समयसम्म रगडेर वा घोटेर यस्तो बनाइन्थ्यो भन्ने जानकारी पाइन्छ। नवपाषाण ढुङ्गे औजारमा यसरी औजारको सतह चिल्लो पारिएको हुन्थ्यो।

यो काठ ताछ्न वा जङ्गल सफा गरेर खेतीयोग्य जमिन बनाउन वा आत्मरक्षा वा शिकारका लागि पनि प्रयोग गरिन्थ्यो होला। यो नेपालमा धातु प्रचलनमा आउनुअघिका हुनुपर्छ।

चित्र ९ : दाङमा भेटिएको हाते बन्चरो ।

ठीक यस्तै रङ र आकारको एक ढुङ्गे औजार पपुवा न्युगिनीबाट लगिएको बेलायतस्थित ब्रिटिस म्युजियममा सङ्ग्रहित छ (हे. तस्बिर ७, बायाँ म्याग्दी, दायाँ पपुवा न्युगिनी)। पपुवा न्युगिनीमा चाहिं यस्तो ढुङ्गे औजार एकाध सय वर्षअघिसम्म पनि बनाइन्थ्यो भन्ने लेखेको पाइन्छ। पपुवा न्युगिनीका आधारमा चाहिं म्याग्दीको ढुङ्गे बन्चरो धेरै पुरानो हो भन्नेमा सन्देह गर्ने ठाउँ रहेको छ।

 थामारुङ लुङधुङ ओढार

लिम्बू समुदायको प्रागैतिहासिक भूगोल पूर्वी नेपालको अरुण नदीपूर्वको पर्वत शृङ्खला तथा पहाडहरू हुन्। उनीहरू त्यहाँ कहिलेदेखि थिए भन्ने खास यकिन नभए पनि उनीहरूका पुर्खा ओढारमा बस्थे र पछि ओढार छाडेको कुरा तिनका मिथकमा आउँछ।

त्यस्तो एक ओढार तेह्रथुमको फेदाप गाउँपालिकास्थित पोक्लाबाङमा रहेको २०४५/४६ सालताकै सुनेको थिएँ। हेर्ने अवसर २०८१ साल चैत महिनामा जुर्‍यो। त्यहाँ सीता राना, शुभ मादेन, तारा मादेन, सूर्य निङ्लेखुसँग पुगें। त्यो औंसीबजारको पूर्व–उत्तरमा रहेको थुम्कोको पूर्व–उत्तरतिरको पहरामा रहेछ।

त्यो ओढारलाई थामारुङ लुङधुङ ओढार भनिन्छ। त्यो पालिका र आसपासका पालिकामा बसोबास गर्ने लिम्बूहरूले त्यही ओढारमा तिनका पुर्खा बस्थे भनेर कथा जोड्छन्। यो लिम्बू सभ्यताको ढुङ्गे युगको एउटा जीवन्त प्रमाण हो।

त्यो ओढार पूर्ण रूपमा बन्द गुफा नभई एक विशाल चट्टानी ओढार हो। यसको मुख फराकिलो छ। यसको अगाडिपट्टिको निस्किएको भागले वर्षा र हिउँबाट ओढारमा बस्नेलाई सुरक्षा दिन्थ्यो। यसको भित्री भाग अर्धगोलाकार र खुला छ, जुन सामूहिक बसोबासका लागि उपयुक्त थियो।

यो लगभग १९५० मिटर जति भौगोलिक उचाइमा छ। बिहानको सूर्यको किरण डाइरेक्ट पुग्ने भएकाले हिउँदमा पनि बस्न असजिलो थिएन। चिसो पहाडी तथा पर्वत शृङ्खलाहरूमा यस्ता ओढारहरू जाडोमा न्यानो र गर्मीमा शीतल हुने गर्छन्।

यसको बनावटले धुवाँ बाहिर जाने र ताजा हावा भित्र आउने प्राकृतिक सञ्चार मिलेको छ, जुन आगो बालेर बस्ने आदिम मानवको लागि महत्त्वपूर्ण थियो। यो ओढार ढुङ्गे पहरामा भएकाले त्यहाँ ढुङ्गे औजार पनि बनाइन्थ्यो होला। यसो हेर्दा त्यो ओढार ‘इको–फ्रेन्डली इन्जिनियरिङ’ को अनुपम उदाहरण हो।

पक्कै पनि थामारुङ लुङधुङ ओढार नवपाषाण युगको हो। त्यहाँ ढुङ्गे औजारहरू जे–जति भेटिएका छन्, तिनीहरू कम्तीमा ६ हजारदेखि बढीमा १० हजार वर्ष पुराना हुन सक्छन् भनेर माथि भनियो। यसबाट अनुमान लगाउन सकिन्छ कि ती १९ थरका पूर्वज हजारौं वर्षअघि त्यहींबाट निस्केर छुट्टिएका होलान्।

ती १९ थरहरू निङ्लेखु, सिङ्घक, पयाङ्गु, पंधाक, हुक्पा चोङ्बाङ, हुक्पा मादेम्बा, खापुङ, हाङस्रोङ, सम्बाहाम्फे (तेह्रथुमे), तुम्बाहाम्फे (तेह्रथुमे), लुम्फुङवा, पाहिम, तेयुङ, पङ्गेनहाङ, आङ्बुङ, चेलीफुङ, मुसाहाङ र थाम्देन हुन्। तुम्बाहाम्फे थर तेह्रथुम र ताप्लेजुङका छुट्टाछुट्टै छन्। यस्तै, सम्बाहाम्फे पनि तेह्रथुमे र पाँचथरे बेग्लै छन्।

 ढुङ्गे युगको अन्त्य

ढुङ्गे युग शुरु हुँदा मानव पूर्वज अफ्रिकामा थिए । तर, ढुङ्गे युगको अन्त्य हुँदा मानिस विश्वका विभिन्न भूभागमा पुगेका थिए। जब ती ठाउँमा मानिसले ढुङ्गे औजार छाडेर धातुको हतियार प्रयोग गर्न थाले, त्यसपछि ढुङ्गे युग समाप्त भयो । ढुङ्गे औजारलाई धातुले विस्थापित गरेको कालक्रम चाहिं विश्वका विभिन्न देशमा फरक-फरक छ। ढुङ्गे युग विश्वव्यापी रूपमा इसापूर्व ५ हजारदेखि २ हजारमा समाप्त भयो।

चित्र १० : सतपतिमा फेला परेको हाते बन्चरो ।

तर, क्रिस स्कार्रेद्वारा सम्पादित पुस्तक ‘द ह्युमन पास्ट’ (सन् २०१८) अनुसार तामाको सबैभन्दा पहिलो प्रयोग दक्षिण–पश्चिम एशियामा विशेषगरी इरान र टर्की (Anatolia) मा इसापूर्व ९ हजारदेखि ७ हजारमा प्राकृतिक रूपमा पाइने तामालाई पिटेर साना गहना र औजार बनाउन थालिएको थियो (पृ. २००)। तामालाई पगालेर धातु निकाल्ने प्रविधि भने इसापूर्व ५ हजारतिर विकसित भएको मानिन्छ।

मानिसले पहिले तामा (Copper) र पछि कांस्य (Bronze) चलाउन शुरु गरेका थिए। तामा नरम धातु हो। यसमा टिन मिसाएर कांस्य बनाउन लगभग इसापूर्व ३२०० बाट शुरु भयो। त्यसपछि लगभग इसापूर्व १२०० ताका फलामको उपयोग सुरुआत भयो।

 मिथक भर्सेस विज्ञान

ढुङ्गे हतियार (ढुङ्गे बन्चरो, हाते कुँडो, चक्कु आदि) सम्बन्धी मिथक केवल नेपाल वा दक्षिण एशियामा मात्र सीमित छैनन्; संसारका धेरै देशमा यस्ता विश्वासहरू पाइन्छन्। अझ एकै देशमा पनि भिन्नभिन्न धार्मिक समूहमा भिन्नभिन्न भनाइ छन्।

प्रागैतिहासिक मानवले प्रयोग गरेका ढुङ्गे औजारहरू पछि मानिसहरूले नबुझेका कारण तिनलाई अलौकिक वस्तु भनेर व्याख्या गरे। विशेषगरी चट्याङ, देवता र आकाशसँग जोडिएका कथाहरू संसारका धेरै संस्कृतिमा समान रूपमा देखिन्छन्।

युरोपका धेरै देशहरू— जस्तै: फ्रान्स, जर्मनी, इटाली र बेलायतमा प्राचीन समयदेखि ढुङ्गे बन्चरोलाई ‘आकाशबाट खसेको हतियार’ भनेर मानिने चलन थियो। त्यहाँ मानिसहरूले यस्ता ढुङ्गे औजारलाई ‘थन्डरस्टोन’ (Thunderstone) भन्थे।

मानिसहरूको विश्वास के थियो भने आकाशमा चट्याङ पर्दा देवताले आफ्नो हतियार फ्याँक्छन् र त्यो ढुङ्गाको रूपमा जमिनमा भेटिन्छ। नर्वे र स्क्यान्डिनेभियाका देशहरूमा त यसलाई वज्रदेवता ‘थोर’ (Thor) को हथौडा (ह्यामर) को अंश भनेर समेत मानिन्थ्यो।

भारत र नेपालतिर पनि यस्तै विश्वास पाइन्छ। यहाँ चट्याङलाई देवराज इन्द्रको अस्त्र ‘वज्र’ सँग जोडिन्छ। त्यसैले ढुङ्गे बन्चरो वा अन्य ढुङ्गे औजारहरूलाई ‘बज्रढुङ्गो’ भनेर घरमा सुरक्षित राख्ने चलन धेरै ठाउँमा थियो। मानिसहरू यस्तो ढुङ्गा घरमा राख्दा बिजुली नपर्ने, रोग नलाग्ने वा दुर्भाग्य टर्ने भन्ने विश्वास गर्थे।

ग्रिस र भूमध्यसागरीय क्षेत्रका पुराना समाजहरूमा पनि ढुङ्गे हतियारलाई देवताको अस्त्र मानिन्थ्यो। त्यहाँका मानिसहरूले चट्याङलाई देवता ज्युस (Zeus) को शक्ति ठान्थे। जब खेतबारी वा जङ्गलमा ढुङ्गे औजार भेटिन्थ्यो, त्यसलाई ‘देवताको हतियार’ भनेर सम्मान गर्ने चलन थियो।

वैज्ञानिक अनुसन्धान शुरु भएपछि मात्र मानिसहरूले यस्ता ढुङ्गे वस्तुहरू वास्तवमा लाखौं वर्षअघि प्रागैतिहासिक मानवले बनाएका औजार हुन् भन्ने कुरा बुझे। तर यस्ता मिथकहरू आज पनि सांस्कृतिक इतिहासको महत्त्वपूर्ण अंशका रूपमा बाँकी छन्। यसले एउटा कुरा स्पष्ट देखाउँछ—मानिसले विज्ञान नबुझेको समयमा प्रकृतिका रहस्यमय वस्तुहरूलाई देवता र अलौकिक शक्तिसँग जोडेर व्याख्या गर्ने प्रयास गरेको थियो।

 समस्या र आवश्यकता

प्रागैतिहासिक समयमा मानवसँग फलाम वा अन्य धातुका औजार थिएनन्, त्यसैले उनीहरूले ढुङ्गालाई नै मुख्य साधनका रूपमा प्रयोग गरे। शिकार गर्न, जनावरको मासु काट्न, काठ चिर्न, जरा–कन्द निकाल्न र आत्मरक्षा गर्न ढुङ्गे हतियार अत्यन्त आवश्यक थिए।

विशेषगरी एशुलियन (Acheulean) जस्ता प्रविधिले बनाएका हाते बन्चरो (Hand axe) ले मानव जीवनलाई धेरै सहज बनायो। यसले देखाउँछ कि ढुङ्गे औजार केवल हतियार मात्र नभई जीविकोपार्जन र बाँच्नका लागि आधारभूत आवश्यकता थिए।

तर समयक्रममा मानव समाज विकास हुँदै जाँदा—विशेषगरी कांस्य युग र फलाम युगको सुरुआतसँगै ढुङ्गे औजारहरूको प्रयोग क्रमशः घट्दै गयो। पक्कै पनि धातुका औजारहरू बढी बलिया, टिकाउ र प्रभावकारी भएकाले मानिसहरूले ढुङ्गे औजारलाई छाड्दै गए। यसरी व्यवहारबाट हराउँदै जाँदा ढुङ्गे हतियार बनाउने सीप र ज्ञान पनि पुस्तान्तरण हुन छोड्यो ।

चित्र ११ : तेह्रथुम दाँगपाको ढुंगे बञ्चरो ।

यस प्रक्रियालाई अझ तीव्र बनाउने अर्को कारण लेखन प्रणालीको अभाव थियो। प्रारम्भिक मानवसँग आफ्नो अनुभव र ज्ञान लेखेर सुरक्षित राख्ने कुनै माध्यम थिएन, त्यसैले सबै कुरा मौखिक रूपमा मात्र पुस्तान्तरण हुन्थ्यो। हिजोआज कतिपय समुदायका यस्ता प्राचीन कथाहरू लेख्ने काम भइरहेको छ।

तर मौखिक परम्परा समयसँगै क्षय हुँदै जान्छ। यसक्रममा, केही कुरा बिर्सिइन्छ। केही रूपान्तरण हुन्छन्। जब लेखन संस्कृति दक्षिण एशियामा करिब २३/२४ सय वर्षअघि शुरु भयो, त्यतिबेलासम्म ढुङ्गे औजारको वास्तविक प्रयोग र अर्थ धेरै हदसम्म हराइसकेको थियो।

हुनत मानिसको सोच्ने तरिका पनि हो। जुन वस्तुको वास्तविक कारण बुझिंदैन, त्यसलाई मानिसले प्रायः अलौकिक शक्तिसँग जोडेर व्याख्या गर्छ। त्यसैले खेतबारी वा जङ्गलमा भेटिने हाते बन्चरोहरूलाई चट्याङले खसालेको ‘बज्रढुङ्गो’ वा देवताको अस्त्र भनेर मान्न थालियो। यसरी वास्तविक इतिहास हराउँदै जाँदा अनेकौं मिथकहरू जन्मिए। त्यो हामीकहाँ मात्र होइन, संसारभर हो।

वास्तविकता थाहा नपाउँदा विभिन्न मान्यता उत्पन्न भए । मानिसहरूले वास्तविकता बुझ्न सकेनन्। पुरातात्त्विक अध्ययन लामो समयसम्म व्यवस्थित हुन सकेन । कतै यस्ता औजारहरूलाई साधारण ढुङ्गा ठानेर बेवास्ता गरियो भने कतै धार्मिक जलप लगाइयो। मुख्यगरी वैज्ञानिक अध्ययनबाट टाढा रह्यो। किनभने राज्य सञ्चालकहरूमा त धार्मिक जलप लगाउँदा नै फाइदा हुन्थ्यो। जति जनता अन्धकारमा रहन्छन्, उति फाइदा हुन्छ उनीहरूलाई।

यसैकारण हामीकहाँ यस्ता औजारहरू खोज–अनुसन्धान तथा विश्लेषण गराउनेतर्फ राज्य खासै लागेन। विश्वविद्यालय त यसमा अपडेट हुन अझै सकिरहेको छैन। चाहे ती हाम्रा पुरातत्त्वविद् हुन् वा मानवशास्त्री, अवस्था सन्तोषजनक छैन। उनीहरू अझै पुरापाषाण काल २५ लाख वर्षअघिबाट शुरु भएको भन्दै, लेख्दै आएका छन्।

विविध कारणले गर्दा नेपालमा मानव प्रागैतिहासिक इतिहास तोडमोड भएका छन्। यसबाट नेपालमा मानवको प्रागैतिहासिक इतिहास ज्यादै धमिलो छ। सिवापिथेकस/रामापिथेकसको जीवाश्मलाई अझै मानव पूर्वज भनेर पढाइँदैछ।

ढुङ्गे हतियारहरू प्राचीन मानवका लागि अनिवार्य आवश्यकता थिए, तर प्रविधिको परिवर्तन, लेखन अभाव, मौखिक परम्पराको क्षय र रहस्यमय व्याख्या गर्ने मानवीय प्रवृत्तिका कारण तिनको वास्तविक इतिहास क्रमशः बिर्सिंदै गयो। यही प्रक्रियाले ‘आवश्यकता हरायो। त्यसपछि यसबारे ज्ञान हरायो। हजारौं वर्षपछि यसप्रति मिथक जन्मियो।’

 बुझ्नुपर्ने

एशुलियन संस्कृति र नेपालमा फेला परेका ढुङ्गे औजारहरूले हाम्रो इतिहासको एउटा महत्त्वपूर्ण तर ओझेलमा परेको कालखण्डलाई उजागर गरेका छन्। विगतमा वैज्ञानिक चेतना र पुरातात्त्विक प्रविधिको अभावमा तिनलाई ‘बज्रढुङ्गा’ वा आकाशबाट खसेको दैवी उपहारका रूपमा बुझियो।

यी वस्तुहरू वास्तवमा हाम्रा प्रागैतिहासिक पुर्खाहरूको अस्तित्व र सङ्घर्षका ठोस प्रमाण हुन्। यी औजारहरूले मानवले प्रकृतिसँग अनुकूलन हुन र आफ्नो जीविकोपार्जनका लागि गरेको प्रारम्भिक बौद्धिक एवं प्राविधिक विकासलाई स्पष्ट रूपमा दर्साउँछन्।

नेपालको सन्दर्भमा, गुड्रुन कोर्विनस जस्ता अध्येताहरूले गरेका खोज र अनुसन्धानले यहाँको मानव चहलपहलको इतिहासलाई करिब ७ लाख वर्षअघिसम्म पुर्‍याएको छ। यसले नेपालमा होमो इरेक्टसको उपस्थिति थियो भन्ने बताउँछ।

दाङ र नवलपरासी जस्ता क्षेत्रमा भेटिएका हाते बन्चरो र अन्य ढुङ्गे हतियारहरूले नेपाल केवल आधुनिक सभ्यताको केन्द्र मात्र नभई आदिम मानव विकासको एउटा महत्त्वपूर्ण थलो रहेको पुष्टि गर्दछन्।

तेह्रथुमका ढुङ्गे बन्चराले त्यहाँ मानिस ७-८ हजार वर्षअघिदेखि खेतीपाती शुरु गरेका थिए भन्ने सङ्केत गर्छन्। हाम्रा यस्ता पुरातात्त्विक प्रमाणहरूलाई अब केवल एउटा रोचक कथा वा मिथकको घेरामा मात्र सीमित नराखी व्यापक शैक्षिक र वैज्ञानिक बहसमा ल्याउनुपर्छ।

अन्ततः, मानव विकासको यो वास्तविक कथालाई बुझ्न र जोगाउन राज्य र प्राज्ञिक निकायको सक्रिय भूमिका आवश्यक देखिन्छ। हाम्रा यी ऐतिहासिक धरोहरहरूलाई मिथकको भ्रमबाट मुक्त गराई वैज्ञानिक तथ्यमा आधारित बनाउनु नै आजको मुख्य दायित्व हो।

जब हामी यी प्राचीन औजारहरूको सही उत्खनन, संरक्षण र विश्लेषण गर्छौं, तब मात्र हामी यो भूमिमा कहिलेदेखि थियौं भन्ने वास्तविक जानकारी पाउन सकिन्छ। अन्यथा, हामी सधैं मिथकमै रुमल्लिइरहनुपर्नेछ र ‘यही भूमिमा राम–लक्ष्मण जन्मेका थिए वा सीता जनकपुरमा हलो जोत्दा निस्किएकी थिइन्’ भन्ने जस्ता कथावाचनमै हाम्रो चेतनाको स्तर अडिनेछ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कमल मादेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?