News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम एशियामा अमेरिका र इजरायलले इरानमाथि २०० भन्दा बढी आक्रमण गरेका छन् भने इरानले पनि प्रत्याक्रमण गरिरहेको छ।
- इरानले अमेरिकी फाइटर जेटका पाइलटलाई जीवितै पक्रेर बुझाउनेलाई १० अर्ब इरानी तोमान इनाम दिने घोषणा गरेको छ।
- लेबनानमा इजरायल र हिजबुल्लाहबीच भिडन्त जारी छ र दुवै पक्षले मिसाइल आक्रमण गरेका छन्।
२१ चैत, काठमाडौं । पश्चिम एशियामा तनाव उत्कर्षमा पुगेको छ। इरानमाथि अमेरिका र इजरायलले आक्रमणलाई तीव्र पारेका छन् भने इरानले पनि प्रत्याक्रमण गरिरहेको छ।
शनिबार अमेरिका आफ्नो खसालिएको लडाकु विमानको पाइलटको खोजीमा छ भने इरानले अमेरिकामाथि निरन्तर क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
शनिबार बिहानसम्म प्राप्त लाइभ अपडेटहरूका आधारमा कस्तो छ इरानको पछिल्लो अवस्था ?
अमेरिकी पाइलटको खोजीमा सी-१३० हर्कुलस विमान
इरानमा खसालिएको आफ्नो फाइटर जेटका पाइलटको खोजीमा अमेरिकाले सी-१३० हर्कुलस जस्तो ठूलो विमान प्रयोग गरिरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा यो विमान इरानको आकाशमा निकै कम उचाइमा उड्दै ‘फ्लेयर्स’ छोडिरहेको देखिन्छ।
विमानले आफूलाई मिसाइल आक्रमणबाट बचाउन यसरी तातो फ्लेयर्स छोड्ने गर्दछ, जसले गर्दा मिसाइलले विमानको इन्जिनको तातोलाई नभई फ्लेयर्सलाई निशाना बनाउँछ।
यसैबीच, इजरायलका एक अधिकारीले खसालिएको अमेरिकी जेटका दुईमध्ये एक पाइलटलाई इरानभित्रबाट जीवितै उद्धार गरिएको दाबी गरेका छन्। अर्का पाइलटको खोजी अझै जारी छ। यद्यपि यस दाबीको आधिकारिक पुष्टि हुन बाँकी छ।
यसअघि इरानले अमेरिकी एफ-३५ फाइटर जेट खसालेको दाबी गरेको थियो, तर केही रिपोर्टहरूले उक्त विमान एफ-१५ ई हुन सक्ने बताएका छन्। यसैगरी, खाडी क्षेत्रको होर्मुज नजिकै ए-१० वारथोग विमान पनि दुर्घटनाग्रस्त भएको र त्यसमा सवार दुईमध्ये एकको उद्धार गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
अमेरिकी पाइलट समात्नेलाई इरानले घोषणा गर्यो पुरस्कार

इरानले अमेरिकी फाइटर जेटका पाइलटलाई जीवितै पक्रेर बुझाउनेलाई १० अर्ब इरानी तोमान इनाम दिने घोषणा गरेको छ। इरानको सरकारी मिडिया आईआरआईबीका एक प्रस्तोताले नागरिकहरूलाई यस्तो अपिल गरेका हुन्।
अमेरिकी विमान खसालेको दाबीपछि इरानका सडकहरूमा खुसियाली मनाइएको छ। इरानी अधिकारीहरूले आफूहरूसँग अझै धेरै सैन्य क्षमता बाँकी रहेको र थप आक्रमण गर्ने चेतावनी दिएका छन्।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकालाई व्यङ्ग्य गर्दै भनेका छन्, ‘इरानलाई ३७ पटक हराउने दाबी गर्नेहरू अहिले आफ्नै पाइलट पनि खोज्न सकिरहेका छैनन्।’
२४ घण्टामा २०० भन्दा बढी आक्रमण
अमेरिका र इजरायलले पछिल्लो २४ घण्टामा इरानमाथि २०० भन्दा बढी आक्रमण गरेका छन्। अमेरिकास्थित मानवअधिकार सङ्गठन ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ का अनुसार बिहीबारदेखि शुक्रबारसम्म इरानका १३ वटा प्रान्तमा कुल २०६ वटा आक्रमण भएका छन्, जसमा एक सर्वसाधारणको मृत्यु भएको छ।
यसका बाबजुद इरानले अमेरिकी र इजरायली आक्रमणबाट ध्वस्त भएका आफ्ना भूमिगत मिसाइल बङ्करहरूलाई केही घण्टामै पुनः सञ्चालनमा ल्याइरहेको अमेरिकी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ। इरानले अझै पनि ठूलो सङ्ख्यामा मिसाइल र मोबाइल लन्चरहरू सुरक्षित राखेको अनुमान गरिएको छ।
इरानको प्रत्याक्रमण
इरानले पनि शुक्रबार राति इजरायल र अमेरिकी अखडाहरूलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको छ। उत्तरी इजरायलको किरयात अता सहर र पेटाह टिकवा सहरमा इरानी ब्यालेस्टिक मिसाइल खस्दा कयौँ सवारी साधन जलेका छन् र भवनहरूमा क्षति पुगेको छ।
त्यस्तै, इराकस्थित सशस्त्र सङ्गठन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले पछिल्लो एक दिनमा इराक र आसपासका क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूमा १९ वटा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेको छ। यद्यपि अमेरिकाले यसको पुष्टि गरेको छैन।
यसैबीच, इरानको एउटा ड्रोन बहराइनको सितरा क्षेत्रमा खसालिँदा त्यसको भग्नावशेष बस्तीमा खसेर चार जना घाइते भएका छन् भने घरहरूमा क्षति पुगेको छ। त्यस्तै, दुबईको मरिना क्षेत्रमा पनि हवाई आक्रमण रोक्ने क्रममा भग्नावशेष खसेको छ, तर त्यहाँ कुनै मानवीय क्षति भएको छैन।
ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फाइटर जेट खसालिएको घटनाले इरानसँगको सम्भावित वार्तामा कुनै असर नपार्ने बताएका छन्। उनले भनेका छन्, ‘यो युद्ध हो। हामी युद्धमा छौं।’
रिपब्लिकन सांसद जोन कर्टिसले संसद्ले औपचारिक रूपमा युद्धको घोषणा नगरेसम्म थप सैन्य अभियानका लागि फन्डिङ (आर्थिक सहयोग) को समर्थन नगर्ने बताएका छन्।
यसैबीच, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले इरान युद्धमा युरोपले अमेरिकाको पूर्ण समर्थन नगर्ने सङ्केत दिएकी छिन्। उनले राष्ट्रिय हितको रक्षा गर्नु सबैभन्दा महत्त्वपूर्ण रहेको बताएकी छिन्।
ट्रम्पले युरोपेली सहयोगीहरूले इरानविरुद्धको युद्धमा साथ नदिएको भन्दै आलोचना गरेका छन्। यसै सन्दर्भमा नेटोका महासचिव मार्क रुटेले आगामी अप्रिल ८ मा ट्रम्पसँग भेटवार्ता गर्दैछन्।
होर्मुज जलसन्धिमा सुरक्षित आवागमन सुनिश्चित गर्ने बहराइनको प्रस्तावमाथि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा हुने भनिएको मतदान अर्को हप्तासम्मका लागि सरेको छ।
लेबनानमा पनि भिडन्त
लेबनानमा पनि इजरायल र हिजबुल्लाहबीच भिडन्त जारी छ। इजरायली वायुसेनाले उत्तरी इजरायलमा रकेट प्रहार गर्न प्रयोग गरिएको हिजबुल्लाहको एउटा रकेट लन्चर नष्ट गरेको छ भने लेबनानको राजधानी बेरुतका विभिन्न स्थानमा आक्रमण सुरु गरेको छ।
अर्कोतर्फ, हिजबुल्लाहले पनि दक्षिणी लेबनानका तीन छुट्टाछुट्टै स्थानमा इजरायली सैनिकहरूलाई लक्षित गरी रकेट र गाइडेड मिसाइल प्रहार गरेको दाबी गरेको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4