News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मी, अर्घाखाँची र स्याङजा जिल्लामा गानेगुर्जो जडीबुटीको अव्यवस्थित संकलनले यसको लोप हुने सम्भावना बढेको छ।
- विश्व स्वास्थ्य संगठनले सन् २००३ मा जडीबुटीको असल खेती तथा संकलन अभ्यास निर्देशिका प्रकाशन गरेको छ।
- नेपालले गानेगुर्जो संरक्षण, अनुसन्धान र व्यवसायीकरणबाट आर्थिक र स्वास्थ्य क्षेत्रमा फाइदा लिन सक्छ।
नेपालको जैविक विविधता र यसको उपयोग सम्बन्धी मौलिक ज्ञान, सीप, प्रविधि र अभ्यास विश्व मानव कल्याणकै लागि समेत उपयोगी भन्दा अन्यथा नहोला । जडीबुटीको संरक्षण, बजार व्यस्थापन योजना र अनुसन्धान विना अवैज्ञानिक विधिबाट संकलन गरी न्यून मूल्यमा बिक्री गरेर देशमा स्वस्थ जनशक्ति र दिगो समृद्धि आउन सम्भव हुँदैन । अझ जरा तथा गानो प्रजातिका जडीबुटीहरूको जथाभावी संकलन र बासस्थानको क्षयीकरणले यसको संख्यामा व्यापक ह्रास आई लोप हुने सम्भावना हुन्छ ।
गुल्मी, अर्घाखाँची, स्याङजा जस्ता मध्य पश्चिमी पहाडी जिल्लाहरूमा गानेगुर्जोको गानोको अव्यस्थित संकलनले भविष्यमा यसको वंशाणुस्रोत नै लोप हुने चिन्ता संरक्षणविद्हरूले गरेका छन् । गानेगुर्जो तराईदेखि मध्य पहाडसम्म पाइने पतझड, लहरेदार बहुवर्षीय वनस्पति हो । यसको उपयोगी भाग गानो जरा हो, जुन पखाला, ग्यास्टिक, दुखाई कम गर्न, पेटका जुका हटाउन, ज्वरो र पिसाब सम्बन्धी रोगको उपचारमा उपयोग गरिन्छ ।
जडीबुटी सम्बन्धी परम्परागत ज्ञान नै आधुनिक औषधि विज्ञानको लागि मार्ग दर्शक हो । यसमा थप अध्ययन अनुसन्धानबाट ज्ञान, प्रविधि विकास गर्न सरकार, उद्यमी र प्राज्ञिक क्षेत्रबाट लगानी र समझदारीपूर्ण कार्यान्वयनको आवश्यकता छ । यसो हुन सकेमा नेपालले आर्थिक र स्वास्थ्य दुवै क्षेत्रमा फाइदा लिन सक्छ । विद्यमान परिप्रेक्ष्यमा गानेगुर्जो अध्ययन, अनुसन्धान, संरक्षण, व्यवस्थापन तथा दिगो सदुपयोगको पर्खाइमा छ ।
यो लेखमा गानेगुर्जो मात्र नभई नेपालका समग्र महत्त्वपूर्ण जडीबुटीहरूको संरक्षण र सदुपयोगको सवालमा कार्यदिशा बताउने प्रयास गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले जडीबुटीहरूको उत्पादनलाई स्वस्थ र गुणस्तर बनाउन सन् २००३ मा जडीबुटीको असल खेती तथा संकलन अभ्यास निर्देशिका प्रकाशन गरेको छ । यसको आधारभूत सिद्धान्तहरूमा जडीबुटी प्रजातिको सही पहिचान, स्वच्छ र गुणस्तर जडीबुटी उत्पादन, खेती, संकलन, ढुवानी, प्रशोधन र भण्डारणमा सजगता, दिगो उत्पादन, रोजगारी तथा मूल्य अभिवृद्धि, वातावरण र जैविक विविधता संरक्षण रहेका छन् ।
यसैगरी, ३ मार्च २०२६ मा मनाइएको विश्व वन्यजन्तु दिवसको नारा ‘औषधीय तथा सुगन्धित वनस्पतिः स्वास्थ्य, सम्पदा र जीविकोपार्जनको संरक्षण’ रहेको छ । जुन हरित राजश्व, रोजगारी तथा दिगो विकासको माध्यमबाट मानवको दीर्घकालीन कल्याण, सभ्यता र अस्तित्वसँग अन्तरसम्बन्धित देखिन्छ । उक्त नाराले वानस्पतिक जैविक विविधताको मानव स्वास्थ्य, परम्परागत, आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणाली र स्थानीय अर्थतन्त्रमा रहेको महत्त्वपूर्ण योगदानलाई उजागर गर्दछ ।

साथै, अत्यधिक संकलन र बासस्थानको क्षयका कारण यी वनस्पतिहरू जोखिममा परिरहेको अवस्थालाई ध्यानमा राख्दै तिनको संरक्षणमा आम जागरण ल्याउन पनि भूमिका खेल्दछ ।
विश्वमा प्राकृतिक र प्राङ्गारिक वस्तुको माग बढ्दो छ । हामीसँग अमूल्य जडीबुटी (वनौषधी) स्रोतहरू तथा परम्परागत ज्ञान, सीप, प्रविधि र अभ्यासहरू छन् । आवश्यकता यति मात्रै हो कि ज्ञान, सूचना, बजार र न्यायपूर्ण व्यवस्थापन ।
फेरि, स्वदेशको कच्चा पदार्थ न्यून मोलमा निर्यात गरेर कुनैपनि मुलुकको विकास दिगो भएको छैन । बाह्य अनुभव के छ भने व्यवस्थित र योजनाबद्ध ढंगले अघि बढेमा एउटै वनस्पतिले पनि देशको आर्थिक अवस्था उकास्न मद्दत गर्छ, उदाहरणको लागि केन्यामा पाइरेथ्रम, जुन लामखुट्टे भगाउन प्रयोग गरिन्छ, दक्षिण कोरियामा जिन सेन जुन सम्पूर्ण रोगको उपचार हुन्छ भन्ने विश्वास गरिन्छ ।
नेपालको जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरूमा पछिल्लो दशकमा विशेषगरी पहाडी क्षेत्रबाट समय समयमा काउलोको बोक्रा, सेतकचिनीको जरा, कालीकाठ फल, पात र बोक्रा, सतुवाको गाना तथा जरा अव्यवस्थित संकलन हुने गरेको देखिन्छ ।
गुल्मीमा करीब १० वर्ष अघि शिकारी लहरारबिलाजोरको अत्यधिक जरा संकलन गरेकोले हाल यसको संख्यामा व्यापक कमी देखिएको छ, जुन (वनस्पति विभाग, काठमाडौको वनस्पति स्रोत वनस्पति परिचय-२५ बिलाजोर २०६८ असार, वर्ष १५ अंक ४ मा प्रकाशित भएको छ) । अहिले पुनः चुत्रो र गानेगुर्जोको अत्यधिक संकलन भएको जानकारी सामाजिक संजालहरूमा देखिन्छ ।
यस्तो अवस्था संरक्षण, हरित अर्थतन्त्र, र दिगो विकासको अवधारणा विपरीत नै छ । यस लेखमा गानेगुर्जोको बारेमा गुल्मीको स्थलगत अध्ययन र सन्दर्भ सामाग्रीहरूमा आधारित रहेर भावी कार्यदिशा दिने प्रयास गरिएको छ ।
खासगरी पखाला लाग्दा वा कब्जियत हुँदा यसको जरा (करीब १०० ग्राम) सफा पानीमा लेदो बनाई बिहान बेलुका १ चम्चा खानाले पेट सम्बन्धी अन्य रोगहरू निको हुन्छ । मात्रा बढी भएमा रिंगटा लाग्ने हुनाले आफ्नो उमेर, अवस्था अनुसार अनुभवीहरूको अनुभवको आधारमा वा आयुर्वेदिक चिकित्सकको सल्लाह बमोजिम सावधानीपूर्वक लिनुपर्छ । गोरूलाई चिसो लागेको र जोत्ने समयमा एक मुठी मकैको पीठोमा करीब १०० ग्राम यसको धूलो मिलाइ बिहान साँझ खुवाउनाले पखाला, वायु गानो सरेको र शरीर दुखेको निको हुने हुन्छ । गाईका बाच्छा बाच्छीहरूलाई पेटको जुका मार्न पनि उपयोग गरिन्छ । पहाडी ग्रामीण भेगको ज्ञान र अभ्यास मानव तथा पशु स्वास्थ्य दुवै हिसाबले महत्वपूर्ण देखिन्छ । गुल्मी लगायत आसपासका स्थानहरूमा यो ज्ञान र अभ्यास प्रचलनमा रहेको छ ।
गुल्मी, अर्घाखाँची, स्याङजा जस्ता पश्चिमी पहाडी जिल्लाहरूमा अव्यवस्थित र अवैज्ञानिक ढंगले गानेरजरा संकलन गरिएकोले केही वर्षमा गानेगुर्जोको लोप हुने सम्भावना देखिन्छ । साथै भूक्षयको पनि जोखिम बढेको छ । हाल संकलन भएको अधिकांश गानोरजरा अर्ध प्रशोधन गरी निर्यात गर्ने पाइएको छ । एकातर्फ जडीबुटीहरू उपयोग नभई माटोमा परिणत भएका छन् भने अर्कोतिर अत्यधिक संकलन र बासस्थानको क्षयीकरणले प्राकृतिक अवस्थामा वंशाणु स्रोत नै लोप हुने गरी संकलन गर्ने अभ्यास देखिन्छ । दुवै विधि दिगो र हरित अर्थतन्त्र निर्माणका हिसाबले असल होइनन् ।
वनस्पति विभागको सन् २०१६ मा प्रकाशित नेपालका औषधीजन्य वनस्पतिहरू पुस्तकमा उल्लेख भएका ८१९ प्रकारका जडीबुटीमध्यको एक प्रजाति हो – गानेगुर्जो । यसको गानोरजरा लामो समय (१ वर्ष भन्दा बढी) सम्म सामान्य अवस्थामा पनि जीवित रहनसक्ने क्षमताका कारण यसको प्रसारण गर्न सहज छ । तसर्थ, कृषकहरूको एक नवीन नगदे बालीको रूपमा अघि बढाउन सकिन्छ । नेपालको पहाडी क्षेत्रमा बसाइ सराइको एक कारण बाँदरबाट हुने बाली नालीको नोक्सानी पनि भएको सन्दर्भमा यसको व्यवसायीकरण एक समाधानको उपाय हुन सक्छ ।
गानेगुर्जो मात्र नभई नेपालका समग्र महत्वपूर्ण जडीबुटीहरूको संरक्षण र सदुपयोगको सवालमा निम्नानुसार बमोजिमको साझा बुझाई हुन उपयुक्त देखिन्छ ।
कुनै पनि चिकित्सा प्रणालीले पूर्णता नपाएको अवस्थामा विश्व स्वास्थ्य संगठनले स्थानीय मौलिक चिकित्सा पद्धतिलाई पनि संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यसैगरी यस संगठनले जडीबुटीहरूको उत्पादनलाई स्वस्थ र गुणस्तर बनाउन सन् २००३ मा जडीबुटीको असल खेती तथा संकलन अभ्यास निर्देशिका प्रकाशन गरेको छ । यसको आधारभूत सिद्धान्तहरूमा जडीबुटी प्रजातिको सही पहिचान, स्वच्छ र गुणस्तर जडीबुटी उत्पादन, खेती, संकलन, ढुवानी, प्रशोधन र भण्डारणमा सजगता, दिगो उत्पादन र मूल्य अभिवृद्धि, वातावरण र जैविक विविधता संरक्षण रहेका छन् ।
यसैगरी ३ मार्च २०२६ मा मनाइएको विश्व वन्यजन्तु दिवसको नारा ‘औषधीय तथा सुगन्धित वनस्पतिः स्वास्थ्य, सम्पदा र जीविकोपार्जनको संरक्षण’ रहेको थियो । जुन मानवको दीर्घकालीन कल्याण, सभ्यता र अस्तित्वसँग अन्तरसम्बन्धित देखिन्छ ।
जडीबुटी सम्बन्धी परम्परागत तथा आयुर्वेद ज्ञान नै आधुनिक औषधी विज्ञानको जननी हो । नेपाल जस्तो जैविक र जातीय विविधता भएको स्थानमा मौलिक तथा परम्परागत ज्ञान, सीप, अभ्यासको अभिलेखीकरण र आधुनिकीकीकरणबाट हुने उत्पादित वस्तुहरूमा पेवा अधिकार लिन सहज हुन्छ । साथै लाभांशको स्वस्थ र समन्याययिक वितरण गर्ने नीतिगत सुधार गरी कार्यान्वयन आवश्यक छ । अनि मात्रा जैविक विविधता महासन्धि १९९२ को पक्ष राष्ट, जैविक विविधतामा धनी र विशिष्ट देश भएकोमा हामी गर्व गर्न सक्छौं ।

गानेगुर्जोको स्रोत सर्भेक्षण र डाटाबेस अध्यावधिक गर्नुपर्ने, संरक्षण र दिगो सदुपयोगको क्षेत्रमा अध्ययन, अनुसन्धानमा लगानी बढाउनुपर्छ । वनस्पति विभाग, नास्ट, विश्वविद्यालयहरू, आयुर्वेद औषधि उत्पादक संस्थाहरू, सिंहदरबार बैद्यखाना विकास समिति, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, डिभिजन वन कार्यालयहरू, स्थानीय उपभोक्ता र सहकारी समूहहरूबीच समन्वय हुन जरूरी छ ।
गुणस्तरीय उत्पादन र यसको न्यायपूर्ण बजार मूल्य नै आजको आवश्यकता हो । वन नियमावली, २०७९ को अनुसूची ७ मा व्यवस्था भएको जडीबुटीको राजश्व दरको अध्यावधिक तथा प्रभावकारी नियमनको जरूरी छ । यसका अतिरिक्त सामुदायिक वनमा व्यवस्थापन योजनामा दिगो संकलन गर्न सकिने परिमाण, सो को डिजिटल डाटाबेस तयार हुन जरूरी छ ।
यसैगरी जनचेता अभिवृद्धि, स्थानीय तहको विद्यालयहरूमा वातावरण तथा जैविक विविधता अन्तर्गतको पाठ्यक्रममा स्थानीय सम्भावित जडीबुटीहरूको वानस्पतिक तथा रासायनिक पहिचान, उपयोगिता, बजार, निजी तथा सामुदायिक वनमा खेती, प्रशोधन, भण्डारण, वस्तु विविधीकरण तथा बहुआयामिक सदुपयोगका विषयहरू समावेश हुन उपयुक्त देखिन्छ ।
खासगरी फाइटोकेमिस्टी फाइटो ट्याक्सोनोमीको अध्ययनबाट अन्य लोप हुन लागेको जडीबुटीहरूको रासायनिक विकल्पबाट प्रतिस्थापन गरी संरक्षण प्रयासमा समेत यो वनस्पतिको उपयोग गर्न सकिन्छ । साथै गानेगुर्जोको सवालमा हुलाक टिकट प्रकाशन हुँदा राम्रो प्रभाव पर्ने देखिन्छ ।
यो गुणकारी वनस्पतिको अध्ययन अनुसन्धानबाट ज्ञान, प्रविधि विकास र गुणस्तरीय उत्पादन गर्न सरकार, उद्यमी र प्राज्ञिक क्षेत्रबाट लगानी र समझदारीपूर्ण कार्यान्वयनको आवश्यकता छ । गानेगुर्जो जस्ता जडीबुटीलाई संरक्षण, स्वदेशमै खेती तथा प्रशोधन प्रविधिको विकास, बजार व्यवस्थापन र निर्यात गर्न सके नेपालले आर्थिक र स्वास्थ्य दुवै क्षेत्रमा फाइदा लिन सक्छ । तसर्थ, गानेगुर्जो जस्तो बहुउपयोगी जडीबुटीको यथाशीघ्र अध्ययन, अनुसन्धान, संरक्षण, व्यवसायीकरणबाट दिगो सदुपयोग गरी हरित रोजगारी, राजश्व, र अर्थतन्त्रको निर्माणमा हातेमालो गरौं ।
(बस्नेत, वन तथा वातावरण मन्त्रालय र पाण्डे, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा कार्यरत छन्)

प्रतिक्रिया 4