News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीको तातोपानी प्राकृतिक तातोपानी कुण्डमा वार्षिक २४ हजारभन्दा बढी मानिस उपचारका लागि आउने र दैनिक ६०० देखि ८०० जनाको उपस्थिति हुने गरेको छ।
- तातोपानी कुण्डको आयस्ताबाट २०० घरपरिवारले प्रत्यक्ष रोजगार पाएका छन् भने स्थानीय विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीलाई आर्थिक सहयोग भइरहेको छ।
- तातोपानी कुण्डमा धार्मिक स्थल स्थापना गरी व्यवसायिककरण गरिएको छ र यसबाट हुने आयस्तालाई राज्य, नगरपालिका र समुदायमा वितरण गर्ने व्यवस्था गरिएको छ।
हुनत म्याग्दीको परिचयमा म्यागासेसे पुरस्कार विजेता, पूर्वमन्त्री तथा भर्खरै निर्वाचित सांसद महावीर पुन थपिएका छन्। यहीं छन् घोरेपानी र पुनहिल। अन्नपूर्ण आरोहणको पदमार्ग र बेसक्याम्प पनि यतै त छ, जहाँबाट मौरिस हर्जोगले सन् १९५० को जूनमा पहिलो पटक अन्नपूर्ण शिखर आरोहण गरेका थिए। यहीं छ भुरुङ तातोपानी। २०३१ सालतिर सोमनाथ प्यासीले शिक्षक हुँदा प्रचार गरेको कम्युनिस्ट विचारबाट प्रभावित भएर जनताले बनाएको आधार इलाका र दमनको कथा भएको गाउँ दोवा पनि यहीं पर्छ ।
भीमप्रसाद गौचनले गरेको अत्याचारका कथाहरू पनि छन्। पर्वत राज्यको राजधानी बेनी पनि त यहीं छ। धौलाश्री (धौलागिरि) हिमाल पनि यहीं छ। यहाँ भने सदियौंदेखि मानिसहरूले रोगका विरुद्ध लड्न प्रयोग गर्दै आएको सिङ्गा तातोपानीका विषयमा कुरा गरिनेछ। तर त्यस अगाडि केही भूमिका।
तुलु राजा, सुब्बा नरसिंह मल्ल र पाखापानी
मेरो साथमा छन् उहिलेदेखि पढ्न साँची राखेका चन्द्रप्रकाश बानियाँको उपन्यास ‘तुलु राजा’ र कमरेड मोहनविक्रम सिंहको विशालकाय उपन्यास ‘जलजला’। म्याग्दीमा पहिलो पढाइ त तुलु राजाकै गर्नुपर्छ भन्ने मन भयो र म त्यसमा प्रवेश गरें। त्यो किन पनि भने यो उपन्यास जलजलाको तुलनामा अलि सानो छ आकारमा। यस अगाडि म्याग्दीकै पर्वते मल्ल राजखलकको इतिहाससँग त्यतिबेलाको समाजका अनेक अन्तरसङ्घर्षहरू जोडिएको ‘महारानी’ उपन्यास पढ्दा म बानियाँको लेखनशैली र उनको इतिहासचेतबाट निकै प्रभावित भएको थिएँ।
बानियाँजी २०४८ मा यसै जिल्लाबाट संसद्मा प्रतिनिधित्व गर्थे नेकपा एमालेका तर्फबाट। अहिले समाज, इतिहास, संस्कृति र राजनीतिलाई आलोचनात्मक रूपमा पर्गेल्छन्। ऐतिहासिक भौतिकवादी विश्वदृष्टि अँगाल्छन् र आफ्नो लेखनमा माझिएका र उत्तरदायी देखिन्छन्। फेसबुकमा रचनात्मक रूपमा सक्रिय छन्।
‘तुलु राजा’, लाटी रानी र नरसिंह मल्लको कथा रहेको उपन्यास वि.सं. १८९७ मा म्याग्दी पाखापानीमा भएको ऐतिहासिक वर्गसङ्घर्ष र राज्यविरुद्धका स्थानीय उत्पीडित किसानहरूको विद्रोह र त्यसमाथि गरिएको निर्मम दमनको कथा हो। इतिहासका वास्तविक पात्र र घटनाहरूलाई आधार बनाएर कथिएको औपन्यासिक रचना मार्फत लेखकले तत्कालीन समयको समाज, संस्कृति र आम मानिसका दुःखसहित राज्यका दमनकारी नीतिको मिहिन पाराले चित्रण गरेका छन्। खासगरी पर्वतलाई गोर्खाले अधीनस्थ गरेपछिको समयको प्रसङ्ग छ।
त्यतिबेला नेपाल दरबारमा थापाहरूको रजाइँ कमजोर भएर पाँडेहरू शक्तिमा आएका थिए। रणजङ्ग पाँडे काजी थिए, रणदल पाँडे पाल्पा गौंडाका हाकिम। बागलुङ, पर्वत पनि पाल्पा गौंडाले हेर्थ्यो। एक प्रकारको क्षेत्रीय प्रशासन थियो। पाल्पाअन्तर्गत बागलुङ, बागलुङअन्तर्गत पर्वत, मुस्ताङलगायत पनि पर्थे। पाल्पा गौंडाको मुख्तियार रणदल पाँडेको विश्वास जितेको नरसिंह मल्ल बेनी अड्डाको सुब्बा थियो। अर्थात् यहाँको मुख्य प्रशासक। स्थानीय रूपमा थकालीहरू (मनिलेन्डर) छलकपट गरेर किसानको घरखेत अँठ्याउँथे।
पर्वत गोर्खालीको नियन्त्रणमा गएपछि स्थानीय तामाखानी ठेकेदारहरूलाई जिम्मा लगाइयो। यस्तो ठेक्कामा नेवारहरू पुगेका थिए। स्थानीय मगर, छन्त्याल र कामीहरू मुख्य श्रमिक थिए। छन्त्यालहरू खानी खनेर तामाको धाउ निकाल्थे। कामीहरूले खार्थे। किसानहरूलाई न्यूनतम ज्यालामा तर अनिवार्य झारा उठाएर भारी ओसारिन्थे। बेनीको टक्सारमा पैसा काटिन्थ्यो। तर ठेकेदारहरू काम गर्नेहरूलाई ठग्थे। माल अड्डाका अमाली, अमिन, डिठ्ठा र विचारी (मुख्य रूपमा बाहुन र क्षत्री) हरू झेली गरेर भए पनि थकाली साहुलाई किसानको जमिनको स्वामित्व सारिदिन्थे र त्यसबापत कोसेलीपात लिन्थे। राम्रो खेत, राम्रो उब्जनी साहुकहाँ बुझाएर, ठगिएका किसानलाई अनिकालले सताउँथ्यो।
पाखापानीका बुधे पाइजाको कान्छो छोरा तुलेले आफ्नै अक्किलले वरपरका गाउँलेलाई सम्झाएको, गाउँका मुखियालाई चित्त बुझाएर पाखो फाँडेर बारी खोरिया बनाउन र गाउँलेहरूलाई अनिकालबाट बचाउन प्रेरित गरेको, साहुहरूका पुस्तैनी ऋणका तमसुक च्यातेर किसानहरूलाई ऋणमुक्त गराएको थियो। स्थानीय मल्ल, ठकुरी, क्षत्री र थकालीहरूको सत्ता र शक्ति रक्षा गर्न तुलु र स्थानीय मगर तथा कामीहरूमाथि नरसिंह मल्ल सुब्बाले छल गरेर दमन गरेको कथा नै उपन्यासको मूल कथा हो।
तत्कालीन अभिलेखमा लाटी (जसलाई लेखकले रुपी नाम दिएका छन्) नाम गरेकी रूपवती मगर्नी युवतीलाई तेस्री पत्नी बनाएर लैजान चाहेको सुब्बा नरसिंह मल्लले लाटीले आफूले मन पराएको आफ्नै जातको तुलेसँग बिहे गरेर गएपछि तुले र रुपालाई दुःख दिने षड्यन्त्र थाल्यो। तुलेलाई राज्यको शत्रुका रूपमा चित्रित गर्दै रिपोर्टहरू बनाइयो। शासन आखिर डिठ्ठा–विचारी, सेनाको स्थानीय कम्पुको लप्टन, सुब्बा, भटीका थकालीहरू, मल्ल, खत्री र ठकुरीहरूको थियो। नरसिंह मल्ल सुब्बा भएर स्याङ्जाबाट आएको भए पनि यताका मल्ल र क्षत्री–ठकुरीहरूसँग उसको मितेरी साइनो या आफन्तहरूको सञ्जाल थियो।
ठेकेदारबाट ज्याला असुल गर्न, खोरिया खनेर खेती विस्तार गर्न, स्थानीय किसानलाई पुस्तौंको ऋणबाट मुक्त गरेर फटाहा साहु र सरकारी अड्डाका अमाली, अर्दलीहरूलाई दण्डित गर्न लिएको पहलका कारण गाउँलेहरूले तुलेलाई राजा भन्न थालेका थिए। रणजङ्ग पाँडेको समयमा रित्तिंदो राज्य ढुकुटी भर्न भएको दबाब, तामाखानीबाट पुरानो ज्याला नदिई तामा ल्याउन रोक्ने स्थानीय पहलमा तुलेको भूमिका र सुब्बा नरसिंह मल्लको तुलेसँग भएको व्यक्तिगत इबीको घेरोमा परेर पाखापानीका किसानहरूमाथि भीषण दमन गरियो। तुलेको बाबु बुधे, दाजु कुसुमेसहित धेरै किसान युवाहरूको हत्या गरियो। तुले लड्दालड्दै मारियो। तुलेलाई मारेका सिपाहीहरूले तुलेको गिंडिएको टाउको लगेर उसको घरमा राखे र नरसिंहको आदेशमा लाटीलाई बलात्कार गरे। ऊ तीन महिनाकी गर्भवती थिई। आफ्नो बलात्कृत अवस्था र तुलेको हत्यापछि लाटीले आत्महत्या गरी। पाखापानी गाउँ आफ्नो स्मृतिमा तुलु राजा र लाटी रानीका स्मृति साँचेर राख्दै जीवित रह्यो।
तत्कालीन अड्डाका लिखतहरूमा बाहेक नेपालको अफिसियल इतिहासमा तुलु राजा र उनको विद्रोह तथा दमनको कथा कतै पनि उल्लेख छैन। तर त्यसबखतका सरकारी अड्डाका कागजपत्रहरूमा तुलेसहित मारिनेहरूको नाम, सुब्बा नरसिंह मल्ल, भागवत पाठकहरू र रणदल पाँडे, ठेकेदार, डिठ्ठा–विचारीसहित मुख्य पात्रको नाम उल्लेख छ। मारिएका स्थानीय किसानहरूको नाम पनि छ भन्ने कुरा लेखकले मसँगको कुरामा बताएका थिए। केही किंवदन्ती छन्, जसले घटनाका विषयमा जान्न मद्दत गर्छन्। जङ्गबहादुर कुँवरले कोतपर्वमार्फत सत्ता हत्याएर राणा शासन थालनी गर्नुभन्दा सात वर्ष अगाडिको यो घटनाले गोर्खाली राजाहरूको शासनकालमा स्थानीय सम्पत्तिशाली वर्ग, शासक खलक र आमजनता बीचको सङ्घर्षको एउटा महत्त्वपूर्ण अध्यायलाई अभिलिखित गरेको छ।
नेपालको इतिहासलाई मार्क्सवादी चस्माले पर्गेल्दै लेखकले दुई सय वर्षजति अघिको समाजको अर्थ–राजनीतिक तथा सामाजिक चरित्रको समाजशास्त्रीय चित्रण गरेका छन्। यो आफ्नो प्रकारको एउटा उत्कृष्ट कृतिका लागि लेखकलाई बधाई र धन्यवाद ! म नेपाली समाज, यहाँका द्वन्द्व र एकता तथा सामाजिक इतिहासका बारेमा चासो हुने सबैलाई यो पुस्तक पढ्न अनुरोध गर्छु।
यसरी हेर्दा चन्द्रप्रकाश म्याग्दीका नयाँ चिनारी पनि भएका छन्, जसलाई ‘महारानी’ उपन्यासका लागि उनले पाएको मदन पुरस्कारले थप सहयोग गरेको छ।
जता माया उतै छ नजर …
भर्खर किशोरवयले छोएको उमेरमा वनपाखामा गीत गाइन्थ्यो : बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल ! आजकाल त्यो उमेरमा फर्कन पाए वनपाखामा गाइँदो हो : हे ….. बेनी बजारमा झर मायालु….. मेरै परे है भर मायालु, आउँदा टेलिफोन गर मायालु…… । (मैले नाच्न खोजें भने सोझो आँगन पनि तत्काल टेढो भइहाल्ने भएर मात्रै हो, नत्र मलाई पनि यो पञ्चैबाजा गीतमा नाच्न खुब मन लाग्छ।)
सिङ्गा तातोपानी जाँदा बेनीबाटै ८ किमि पश्चिम म्याग्दी नदीको उत्तरी किनारबाट जानुपर्ने भएकोले तातोपानीभन्दा पहिले बेनीकै चर्चा गरौं। बेनी बजारलाई उत्तर तिब्बत मुस्ताङतिरबाट सुसाउँदै झरेको कालीगण्डकी र पश्चिम गुर्जा हिमालदेखि झरेको म्याग्दी खोलाले च्यापेका छन्। उहिल्यै पर्वते मल्ल राज्यको हिउँदे राजधानी रहेको र कालीगण्डकी किनारको सयौं वर्ष पुरानो साल्ट रुट, गङ्गा किनारदेखिका हिन्दु धर्मभीरुहरूको तीर्थयात्राको महत्त्वपूर्ण पदमार्गको एउटा बिसौनी भनिए पनि बेनी छ निकै साँघुरो।
लंकाका राजा रावणका हजुरबा पुलस्त्य ऋषिले तपस्या गरेको ठाउँ भन्दै अलि माथि पुला गलेश्वरतिर पुलस्त्य आश्रम बनाए पनि पौराणिक कालमा यहाँ खस आर्यहरूको बस्ती रहेको कुनै प्रामाणिक आधार छैन। तर यो झन्डै दुई सहस्राब्दी पुरानो रुट भएकोचाहिं अनुमान गरिएको छ। यस क्षेत्रमा पुन मगरहरूको आगमनको इतिहास हजार-बाह्र सय वर्षको मानिन्छ। कसैले उनीहरू तिब्बतबाट आएको भन्छन् र कसै–कसैले रुकुमतिरबाट आएको मान्छन्। उनीहरूको आदिथलो तिब्बतको खाम क्षेत्र हुन सक्छ। र, खसहरूको आगमन पनि १२औं शताब्दी वरपरबाट मात्र भएको मानिन्छ। पन्ध्रौं शताब्दीतिर ठकुरी मल्लहरू (मगरबाटै बनेका) ले यस क्षेत्रमा राज्य थालेपछि भएको भाषिक दमनमा परेर यहाँका पुनहरूले मगर भाषा नबोले पनि पहिले केही गाउँ र इलाकामा उनीहरूकै राज्य थियो।
पहिले जुम्ली खस राज्यको क्षेत्र पर्ने यस क्षेत्रमा राज्य टुक्रिंदै गएर पहिले थापाहरूले र पछि मल्ल राजाहरूले अलग–अलग राज्य बनाएर शासन गरेका थिए। अर्को घर थपथाप गर्ने जमिन नै बाँकी नरहने गरी भरिएको छ बेनी। जिल्ला सदरमुकाम, नगरपालिका, सरकारी/गैरसरकारी कार्यालय, अनेक पेशाका मानिसहरू यहीं खाँदिएर अटाएका छन्। मानिसहरूले आर्जन गरेको सम्पत्ति दुई खोलीको किनार र जोखिमको यो क्षेत्रमा पुनर्लगानी गरिरहेको देख्दा यसको भविष्य भने जीवितै रहेको भान हुन्छ। संविधानले धरो जस्तो बचाएर राखेको जिल्लाको केन्द्र बन्ने सौभाग्य यही बेनीलाई छ। बेनी नगरपालिकाको केन्द्र पनि यही हो।
हामी तातोपानी गन्तव्य बनाएर चैत महिनाको पहिलो दिन साँझ ५ बजेतिर लक्ष्मीजी र म बसको १० घन्टे यात्रा गरेर बेनी पुग्यौं। बसपार्कमा झर्नासाथ हुरीबतासको फेला परियो। केही पोकापन्तुरासहित झरेर ट्याक्सी खोज्दा ८ किमि दुरीको तल्लो तातोपानी बजारका लागि ८०० भाडा दाबी गरे। चालकले स्थानीय प्रशासनले तोकेको भाउ भनेर ढिपी नै गरेपछि र विकल्प खोज्न अलि समस्या देखेपछि हामी जान तयार भयौं, ठगियौं कि जस्तो मनमनमा लागेर पनि। मानवीय स्वभाव होला, सेवा सकेसम्म कममा खरिद गर्ने चाह राख्नु।
तातोपानी उपचारको अर्थ–राजनीति

अन्यत्रको ओखतीमुलोले नपत्याएपछि मानिस एउटा विकल्पको खोजीमा यहाँ आइपुग्दा रहेछन्। प्रकृतिप्रदत्त तातोपानीबाट सड्के–मर्केको, चोटपटक निको भए पनि दुख्न नछाडेको, नसा च्यापिएको, जोर्नी र हाड दुखेर सुनिएको लगायत उपचार हुन्छ भन्ने विश्वासमा यहाँ पुगिंदो रहेछ। म्याग्दीका आदिवासीहरूले त्यसको प्रयोगबाट अनुभव गरेको ज्ञान र मानिसहरूले सयौं वर्षदेखि प्रयोग गर्दै र आफ्ना जटिल शारीरिक रोगबाट राहत पाउँदै आएको ठाउँ। पारालाइसिस भएका, हातखुट्टा कुनै बेला सड्के–मर्केर दुःख पाइरहेका, चोटपटक लागेर दुःख पाएका, बाथ भएका र अनेक रोगले गालेका मानिसहरू जिजीविषाले डोर्याएर यहाँ ओइरिंदा रहेछन्। समितिका मानिसहरूले देखाएको आँकडामा गत वर्ष २४ हजारजति मानिस यहाँ आएका रहेछन्। हामी हुँदा दैनिक कम्तीमा ६०० देखि ८०० जनाको उपस्थिति छ। भीडभाड छ।
चैत २ गते महिलाको दुई समूह र पुरुषको एक गरी तीन समूहमा विभाजन गर्दा पनि पानीको पोखरी भरिभराउ थियो। कम्तीमा २५० देखि ३०० सम्म पुरुष एकैपटक (२० बाई ४० फुटको होला) पोखरीमा बसिरहेका। त्यस्तै दुई समूहमा गरेर ६०० जति महिलाहरू पालो पर्खिरहेका।
यतिका मान्छेलाई अटाउने गरी साना–ठूला होटल, होमस्टेहरूले उपल्लो र तल्लो बजार भरिएका छन्। अलि सुविधासम्पन्न होटल पनि रहेछ होटल हटस्प्रिङ। आफ्नो हैसियतअनुसार रोज्न पाइने अनेक विकल्प रहेछन्। आम ग्राहकहरू आफैंले खाना बनाएर खान मिल्ने अलि सस्ता र सफा होटलतिर लागेको पाइयो। हामी पनि त्यो समूहमा पसियो। यी होटलवालाले दिनको प्रतिव्यक्ति ३०० देखि ६०० सम्म लिएर बस्न दिने, ग्यास, चुलो, पकाउने भाँडाकुँडाको व्यवस्था गरिदिने रहेछन्। प्रायशः वृद्ध उमेरका बुढाबुढी मिलेर आउने भए पनि नुहाउनेमा केही युवाहरू पनि देखिन्थे।
यतिका मान्छेले खाने–बस्ने भएकोले खसी र कुखुराको मासु, म्याग्दी खोलाका असला, मरमसला, साबुन, गम्छा, तरकारी, दालचामल, भुटुनदेखि नुन, चिनी र मसलासम्म अनि नुहाउँदा लगाउने कपडाहरू र साबुन, स्याम्पु लगायतका उपभोगका सामानहरूको व्यापार। सानो ठाउँमा अटाई–नअटाईको कारोबार रहेछ। साँझ रिमझिम पानीमा रमाउनेहरूले व्यापारको अर्को हिस्सा ओगट्छन्। मिठाई पसल र मासु पसलमा गैरपहाडे समुदायका व्यापारी पनि एक–दुई घर देखिए। यहाँको व्यापारमा क्षत्री, थकाली, मगर, दलित र बाहुनहरू मिसमास देखिए। यसको अर्थ तातोपानी पर्यटनको अर्थतन्त्र समावेशी हुँदै गएको रहेछ। वरपरका गाउँबाट कोदो, फापर, केरा, मौसमी तरकारी, खसी, पाठा र कुखुरा यहाँ खरिद हुने रहेछन्। वरपरबाट सङ्कलित दूधको बजार पनि निश्चित भएकोले गाईभैंसीपालन गर्ने किसानले पनि लाभ लिइरहेका। गाई होलेस्टिन जातका धेरै रहेको सुनियो।
पहिले–पहिले पहराबाट आउने मूल या बालुवा खोस्रेर बन्ने तातोपानीको पोखरीमा मानिसहरू आएर नुहाउने गर्थे रे, कतिले आफैं खोस्रेर पनि। पहराको ओढारमा या वरपरको खाली ठाउँमै टहरो बनाएर बास बस्थे रे! त्यो जमानाका मानिसहरू पनि अहिले नुहाउन आउँदै छन्। २०४२ सालयता मात्र यसलाई व्यवस्थित पोखरी बनाउने प्रयास भएको रहेछ। यसको सकेसम्म व्यापारीकरण भएको पनि छ। समितिले व्यवस्थापनलाई राम्रो बनाउने, धेरैलाई सुविधा दिने प्रयास गरेको छ। केही प्राइभेट भन्न मिल्ने थप पोखरीहरू पनि बनाइएका छन्। पैसा त दुई घण्टाको सय रुपैयाँ तिरे यस्तो पोखरीमा नुहाउन पाइहालिन्छ। ठूलो पोखरीमा भने एक दिनको ५० रुपैयाँ अर्थात् दुई–दुई घन्टे पालो गरेर दिनको दुईपटकलाई पचास रुपैयाँ मात्र।
२०० जति घरपरिवार यो व्यवसायसँग आश्रित रहेको समितिका पदाधिकारीहरूले बताएका थिए। मेरो आफ्नो अनुमानमा दैनिक कम्तीमा ६ देखि ८ लाखजतिको कारोबार यहाँका आवास र पसलहरूबाट भएको हुनुपर्छ। यस्तै दैनिक न्यूनतम ४० हजारको आयस्ता कुण्डमा नुहाउनेहरूबाट भएको छ। कम्तीमा ६०० जनाले प्रत्यक्ष रूपमा रोजगार पाएका छन्। अप्रत्यक्ष रूपमा यातायात व्यवसायी, वरपरका गाउँका किसानहरूले लाभ लिइरहेका छन्।
आयस्ताको १३ प्रतिशत भ्याट सरकारलाई र २५ प्रतिशत नगरपालिकालाई बुझाएपछि बचेको रकमले सामाजिक सेवा र कुण्ड व्यवस्थापनमा खर्च गरिंदै आएको र सबै पदाधिकारीले भोलेन्टियर्सका रूपमा काम गरिरहेको भनेर समितिका अध्यक्ष कृष्ण खड्का र सचिव कुमार केसीले एकैपटक सुनाए। सामाजिक सेवामा पूरै समय लगाउने मानिसहरू छन् र समाज बाँच्नलायक पनि बनेको छ। आयस्ताबाट बचेको रकमले स्थानीय विद्यालयमा शिक्षकलाई तलब, प्रहरी चौकी र स्वास्थ्य चौकीको पूर्वाधार, बजार व्यवस्थापन लगायत क्षेत्रमा सपोर्ट गरिराखेको। यसरी हेर्दा यहाँको सार्वजनिक प्राकृतिक स्रोतको उपयोग सार्वजनिक हितमा नै भइरहेको देखियो। समितिले प्राकृतिक चिकित्सा पद्धतिअनुरूपको अलग केन्द्र चलाउने प्रयासमा भौतिक संरचना निर्माण गरिसकेको रहेछ। स्थानीय प्रशासनको असहयोगका कारण रोकिइराखेको देखेर अलि खिन्न बनायो।
कथा आफ्ना–आफ्ना
१) म २२ वर्षमा इन्डियन आर्मीमा भर्ना भएँ। थर्ड नाइन जिआर। अनेक दुःख गरियो। तीन छोरा, एक छोरी भए। गाउँमा राखे बिग्रलान् भनेर आफैंसँग लगें। कम्पनीमा हुँदा त बुढी र म मिलेर तरकारी खेती गर्यौं र बेच्यौं पनि। मासु कम खाइयो। मन्थ्ली पाउने तीन बोतल रममध्ये गोठालालाई एक बोतल दिन्थें, उसले दूध ल्याइदियो। अर्को एक बोतल स्कूलको बस चालकलाई दिन्थें। छोराछोरीलाई स्कूल ल्याउने–लाने गरिदियो। अर्को एक बोतल मासुवालालाई दिन्थें। उसले हप्तामा एकपटक भित्र्याँस मासु ल्याइदिन्थ्यो। यसरी केटाकेटी पढाएँ। बुटवलमा घर–घडेरी जोडें। अहिले सबै केटाकेटी सेटल भए। सबै बाहिर छन्। ५२ वर्षको हुँदा मैले सबै छोराछोरीको व्यवहार सकें। कान्छो भने बेलायत छ, बिहे गर्न हतार नगरौं भन्छ। २४ वर्ष नोकरी गरेर अनररी सुबेदार बनेर निस्कें। महिनाको ७० हजारजति पेन्सन आउँछ। बेलामा विचार नपुर्याउने, पल्टनमा छँदा रक्सी र आइमाईको पछि लाग्नेहरू अहिले मेरो उन्नति देखेर आफ्नो गल्ती सम्झन्छन् र पछुताउँछन्।
२) उबेला पढेको भए एसएलसी पास गरेपछि जागिर पाउँथ्यो। पढिएन। बेलायती सेनामा भर्ना हुन गयो, फालिदियो। पछि इन्डियन आर्मीमा भर्ना हुने भनेर गोरखपुर पनि गयो, त्यहाँ पनि लिएन। यसै बुढो भयो म त। पेन्सन पनि छैन। म: कति वर्ष पुग्नुभयो ? ऊ: उन्नाइस साल हो। म: ए, हामी त दौंतरी रहेछौं। ऊ: तपाईं जागिरमा हो ? म: होइन, जागिर त खाएको हो, स्थायी भएन, अब पेन्सन नभएको बुढो हुँ म पनि। ऊ: ए, म जस्तै लण्ठ्याङ्ग बुढो रहेछ तपाईं पनि। म: हो त्यस्तै भन्नुपर्यो अब। तपाईं नपढेर बिग्रेको, म पढेर बिग्रेको भन्नुपर्ला। बेलामा बुद्धि पुगेन, लण्ठु भइयो भनुम् न। उनी ४८ वर्षको उमेरमा वनमा हिंड्दै गर्दा वन्यजन्तुको आक्रमणमा परेछन्। गाउँलेहरूले बेहोस अवस्थामा भेटेर ल्याएपछि चार दिनमा होस आएछ। अहिले पनि एउटा गोडाको बुढीऔंलो दुख्ने गर्दोरहेछ। अब अपरेसन गर भन्छ डाक्टरले, यो उमेरमा के ऋण लगाउने भनेर गरेको छैन।

३) मिश्रित संवादहरू क. कहाँबाट आउनुभएको ? ख. बागलुङ। ग. हिजो त राम्रो नाच्नुभयो, कलाकार हुनुहुँदोरहेछ। ख. अब बेलामा नाच्ने, गाउने, बजाउने त गरियो नि, अहिले त बुढो भएर पो। घ. लाहुरे हो ? ख. होइन, जान त जापान पनि गइयो, दिल्ली, हरियाणा, गुडगाउँतिर बसियो। धेरै वर्ष भुलियो भनम् न। तर आर्मीमा होइन। किन ढाँट्ने र ? ग. कलाकार मान्छे हुनुहुँदोरहेछ, बुढी कति छन् ? ख. अहिले त एउटै छ। तीनवटी हुन्। ग. दुईवटी कता गए त ? ख. गए नि आफ्नो-आफ्नो बाटो। म बाहिरफेर डुलिहिंड्ने। अर्को खोजेर हिंडे नि। क. के भएर आउनुभयो त तातोपानी ? ख. अब बुढो भइयो, ज्यानले साथ दिन छाड्यो। अनि यता नुहाउन आको नि। क. कुन गीत गाउनुहुन्थ्यो उमेरमा ? ख. यताहुँदी त्यतिबेला यानीमाया, सालैजो भाका चल्थे। ग. घुमाउने भाका गाउन सक्नुहुन्छ ? ख. सकिन्छ नि। घ. ल भरे तपाईं र म गाउने, रमाइलो गर्ने है त ? ख. हँ ? हुन्छ नि तपाईं पनि गाउने भए।
४) वास्तवमा अर्जुन जोशीको ठाउँमा नयाँ युवालाई दिएको भए यसपालि कांग्रेसले जित्ने थियो पर्वतमा। हुन त म २०७९ कै रास्वपा हो। तर रास्वपाले पनि पैसामा टिकट बेच्यो। धरोधर्म म मुखेन्जी भन्न सक्छु। सन्तोष रेग्मीले पाउनुपर्ने हो टिकट। ऊ जेनजीको हो। २७ वर्ष भयो। अडिटर हो। जिल्ला सभापति हो रास्वपाको। टिकट भुसालले पायो। हुन त रेग्मी भदौ २४ गते राष्ट्रपति कार्यालयको बोर्ड फाल्न जाने पहिलो मान्छे हो। किन दिएनन् कुन्नि टिकट। मान्छे त गगन राम्रो हो नि। अब यसपालि घण्टीको फेला परे। कुलमानले चाहिं गल्ती गरेकै हो। ऊ रास्वपाबाट उठेको भए उसका कम्तीमा थप १० जनाले जित्थे।
५) हेर्नु अहिले मधेशमा पनि गाह्रो छ। हाइवेमा पाँच वर्ष अगाडि करोड पर्ने जग्गा अहिले ‘ए ५० लाखमा खाओ न’ भन्दा नि खाने मान्छे पाइँदैनन्। म यहाँ माथि बाबियाचौरबाट मधेश झरेको हुँ पचास सालमा। यो ठाउँमा कहिल्यै मोटर पनि आउँदैन, विकास पनि हुन्न भनेर गएको। अहिले मैले बेचेको बारीमा दुई सय हात त मोटरबाटोले काटेर गएको छ, घडेरी परेको छ। बाबियाचौरेहरूले सुन्तला बेचेर पैसा कमाएका छन्। पहिलेको आफ्नो ठाउँ, केही जमिन, पाखो किनेर सुन्तला लगाम्, हामी बुढाबुढी गएर बसौंला, बस्न त पहाडको हावापानी नै राम्रो भनेको छोराहरू मान्दैनन्। त्यो मधेशको पानी नमिठो। भात खान लाग्यो, हरक्क गन्ध आएजस्तो लाग्छ, खानै गाह्रो। गर्मी उस्तै। यस्तो विकास आउँछ भन्ने जानेको भए किन जान्थें र उतिबेला। यस्तो राम्रो हावापानी छ।
६) म त दश वर्ष भयो, बर्सेनि एकपटक आउँछु। बाथ छ मेरो। यहाँ आएर सात दिन बसेपछि सन्चो हुन्छ। पहिला त म पनि बागलुङकै हुँ क्यारे, अहिले चितवन झरेको पनि ३० वर्ष भयो।
७) पाँच वर्ष पहिले चेकअप गर्दा कोलेस्ट्रोल बढेको रहेछ। डाक्टरले ओखती खानुपर्छ भन्यो। मैले ‘नखाए कसो होला ?’ भनेर सोधेको, ‘मुख बार्नुस्, एक महिनापछि आउनुस् तर ओखती त त्यसपछि पनि खान पर्न सक्छ’ भन्यो। त्यसपछि म यहाँ आएँ। एक साता बसेर गएँ। महिना दिन पुगेपछि फेरि चेक गर्न डाक्टरकहाँ गएँ। कोलेस्ट्रोल घटेको रहेछ। डाक्टरले ‘मुख राम्रोसँग बार्नुभएछ ठिकै छ’ भन्यो। मैले यहाँ आको त भनिनँ। तर हरेक वर्ष आउँछु। ओखती खान परेको छैन।
८) सुवेदी सर हो ? (पहिलो दिन। म पोखरीमा बस्ने ठाउँ खोज्दै उभिएको मात्रै थिएँ। कोही चिनेका भेटिए भने यहाँ पनि उनै राजनीतिका गफको चक्करमा फसिएला भन्ने पिर थियो मनमा। त्यस्तोमा यो आवाजले झस्कें।) हो। मैले चिनिनँ नि ? म …तिमिल्सिना। युरोपतिर छु। पोहोर पनि यहाँ एक साता बसेर गएको। अहिले पनि नेपाल आको बेला आइहालेको। तपाईँलाई म चिन्छु। हुनत हामी क्याम्पस पढेको अलि ढिलो हो। कास्कीकोटका … सुवेदी र म उता नजिक–नजिक बस्छौं। हेर्नुस् न, उता गएपछि बीस–पच्चीस वर्ष मरेर काम गरियो। अहिले गोडा दुख्छन्। ढाड कर्करी खान्छ। काम नगरी त म बस्न पनि सक्दिनँ जीउ दुखेर। पोहोर यहाँ नुहाएपछि अलि–अलि राहतको महसुस भयो। अब त म सधैं वर्षको एकपटक आउने विचारमा छु।
र चिया पसलमा…
अब एमसीसी पास भयो भने पक्का पनि अमेरिकी सेना आउँछ। चीन र इन्डियाको दुस्मनी छ। अमेरिका पनि चीनको दुस्मन छ। अस्ति भर्खर अमेरिकाको जर्नेल आएर रेकी गरेर गइराखेको छ। अब ठूलो सेनाको जर्नेलहरू यसै आउँछ र थोरै ? रेकी गरेर गइराखेको छ। अमेरिकाले चीन हान्यो भने भारतले पनि सहायता गर्छ। नेपाललाई गाह्रो पर्छ। अब यिनीहरू कच्चा केटाहरू चुनाव जितेको छ। एमसीसी त अमेरिकी सेनालाई राख्नलाई, क्याम्प बनाउन जग्गा चाहिएर गर्न लागेको हो। भेनेजुएलाकोलाई त पोको पारेर लग्यो। नेपाललाई के बाँकी राख्थ्यो। इरानलाई हान्नेले नेपाललाई के बाँकी राख्छ ? चीनलाई घेर्न लागेको छ। भारतले चीन हान्न खोज्यो भने पनि अमेरिकाले सहायता गरिहाल्छ। गाह्रो छ नेपाललाई। अब उता इरान वारले गर्दा कतिको जागिर जाने हो। यता आएर के गरेर खान्छ त्यत्रो मान्छेहरूले ?
अब्जर्भेसन
अनेक मान्छे अनेक विचार। नुहाउन आउनेहरूमा सबैभन्दा बढी बागलुङ र म्याग्दीका। समग्रमा गण्डकीका। पूर्वसैनिकहरूको सङ्ख्या धेरै थियो, त्यसपछि किसानहरू। महिलाहरूमा अधिकांश कृषिकर्म गरेका र गृहिणीहरू।
नास्टको परीक्षणले यहाँको पानीमा पिएच (अल्कालिन) रहेको देखाएको रहेछ। यहाँको नुनिलो पानीले ग्यास्ट्रिक ठिक हुन्छ भनेर पिउने चलन रहेछ। खासगरी बाथ हुनेहरूका लागि निकै फाइदा भएको बताउँदै थिए। कसै–कसैले पायल्स ठिक भएको पनि बताए।
नुहाउने एउटा विधि त बनाइएको छ। त्यसलाई सूत्रबद्ध गर्ने, यहाँ नुहाउँदा हुने फाइदाहरू, नुहाउँदा अपनाउनुपर्ने विधिबारे थप प्रस्ट पार्नु राम्रो हुन्थ्यो। चिनियाँ सिनेमामा यस्ता तातोपानी कुण्डमा सर्वाङ्ग नाङ्गै नुहाइरहेका पुरुषहरूको भीडको दृश्य देखेको थिएँ। साउनाको प्रचलन त पश्चिमाहरू खासगरी युरोपबाट नेपालमा फैलिएकै छ। यो प्राकृतिक स्रोतका परम्परागत विश्वासको मूल्यलाई खण्डित नगरिकनै पनि यसको विश्वसनीयता बढाउने, ज्येष्ठ नागरिक र अपाङ्गमैत्री संरचना निर्माण गर्ने, पानीको पोखरी सफा राख्न अपनाउनुपर्ने नियम पालन गर्न/गराउन सके आउने दिनमा यो थप लोकप्रिय हुन सक्छ। अहिले त खासगरी पुरानो धवलागिरिका मान्छे र पोखरातिरबाट आउने बढी देखिन्छन्। झापा, दोलखा, चितवन, ललितपुरका पनि भेटिए। छन त तातोपानीका कुण्ड र धाराहरू हिमालका फेदीतिर देशभरि होलान् तर उपचारका दृष्टिले यसलाई बढी विश्वासिलो मानिंदो रहेछ। व्यवस्थित गरेर प्रचार गर्दा देशभरका मान्छेका लागि स्वास्थ्य पर्यटनको गतिलो गन्तव्य बन्न सक्छ सिङ्गा तातोपानी।
तातोपानी प्रकृतिले दिएको उपहार हो। यसबाट हुने व्यापारिक लाभ देखेर राज्यका अधिकारीहरू यसको दोहनका लागि जहिले पनि आँखा गाडिरहेका हुन्छन्। अर्कोतिर अब विस्तारै निजी क्षेत्रले यसको लाभ एकलौटी गर्न प्रयास थाल्नेछ। यसका लागि समुदायको हातबाट कुण्ड व्यवस्थापन हात पार्ने र एकलौटी उपयोग गर्ने प्रयास भइरहेको पनि थाहा भयो। यस्तो भयो भने साधारण आयस्ताको वर्गका साधारण मानिसहरूका लागि यो कुण्डको स्नान पहुँचबाहिर जान सक्छ। समुदायले जे जस्तो लाभ लिएको छ त्यो हराउन सक्छ। सार्वजनिक स्रोतहरूको प्रयोग सार्वजनिक हितकै लागि गर्ने कुरामा जोड दिन स्थानीय समाजसेवी र राजनीतिक दलहरूले पहल लिऊन्।
स्थानीय समुदायले जे–जस्तो प्रयास गरेको छ त्यो प्रशंसनीय छ। यसको प्रयोगबाट रोगी–बिरामीले लिइआएको लाभले निरन्तरता पाओस्। प्राप्त आर्थिक लाभ समुदायमा वितरण होस्। कुण्ड स्नानसँगै आधुनिक र सुविधासम्पन्न प्राकृतिक या आयुर्वेदिक उपचार केन्द्र समुदायकै मातहत सञ्चालित भयो भने यसमा खर्च गर्न आउने महँगा ग्राहकको सङ्ख्या बढ्ने नै छ। त्यसबाट ठूला होटलले पनि अवश्य लाभ लिनेछन्।
तीन युगको गठबन्धन

तातोपानी नुहाउने परम्परालाई व्यवसायीकरण गर्ने क्रममा कुण्डको गेटमा अचानक जलकुण्डलेश्वर महादेव र जलदेवी भगवती उत्पत्ति गराएर मन्दिर स्थापना गरिएको रहेछ। एउटा ठूलो ढुङ्गामा नागको स्थान स्थापना गरिएको। कुण्डको बीच भागको अगाडि पर्ने गरी बुद्ध र महाकालीको चित्र र मूर्ति, बाहिर बुद्धकै अलि ठूलो मूर्ति। धूप, अक्षता, ध्वजा र फूलसँग पैसा चढाउँदै गरेका भक्तजनहरू। धार्मिक तथा दानदातव्यलाई प्रोत्साहन गर्ने प्रवचन, साँझ सन्ध्या आरती। मन्त्रहरूको सङ्गीतमय प्रसारण। वातावरणलाई आध्यात्मिक बनाउन प्रयास गरिएको रहेछ। धर्म र व्यापारको अर्थ–राजनीतिक सम्बन्ध स्थापित गर्न पछिल्लो समयको नेपाली व्यवसायी र नवधनाढ्य वर्ग निकै सक्रिय छ। मनकामना, मौलाकालिका, चन्द्रागिरि, पाथीभरा–मुक्कुमलुङ केही उदाहरण हुन्। कुण्डको कारण हुने पर्यटनको आयस्तामा चलेको पूँजीवाद, व्यवसायलाई आकर्षक बनाउन छिराइएका देवीदेवता र आस्थाको सामन्तवाद अनि स्रोतबाट हुने आयस्तालाई राज्य, नगरपालिका र समुदायमा वितरण गरेको समाजवादको यहाँ गज्जबको गठबन्धन देखियो।
अन्त्यमा, आतिथ्यका लागि स्थानीय समुदाय, कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णजी र सचिव कुमारजी सहित कर्मचारीहरू र हामीलाई सहयोग गर्ने होटल थापा परिवारलाई हार्दिक धन्यवाद।
(नोट: भेट त भर्खरै निर्वाचनमा पराजित उम्मेदवार हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, जिससका उपसंयोजक समेत केही राजनीतिक व्यक्तित्वहरूसँग पनि भयो। यसबारे पछि कुनै समय लेखिएला !)
प्रतिक्रिया 4