+
+
Shares
बहस :

कमरेड सुरेन्द्र पाण्डे र मार्क्सवादको अनर्थकारी भाष्य

यदि कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न र बुर्जुवा वर्चस्वमाथि धावा बोल्ने हो भने आफ्ना प्रस्तावनालाई पुष्टि गर्ने तथ्य, तर्क र ऐतिहासिकतासहित डकुमेन्ट लिएर बहसमा आउनुभए सहज हुने थियो। केही समय पीएचडीको थेसिस लेख्न थाती राखेर यता लाग्ने कि कमरेड ?

झलक सुवेदी झलक सुवेदी
२०८३ वैशाख २७ गते ७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता सुरेन्द्रप्रसाद पाण्डेले मार्क्सवादका परम्परागत भाष्यमाथि प्रश्न उठाउँदै नयाँ वर्ग विश्लेषण र मोबाइल डेमोक्रेसीको अवधारणामा विवादास्पद विचार राखेका छन्।
  • पाण्डेले गिग वर्करहरू र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई पनि पूँजीवादी शोषणमा परेको उदाहरणसहित वर्ग संघर्षको नयाँ रूप नभएको बताएका छन्।
  • लेखकले पाण्डेका विचारलाई खण्डन गर्दै पूँजीवादको आधारभूत चरित्र र वर्ग सम्बन्धमा कुनै मौलिक परिवर्तन नभएको र कम्युनिस्ट पार्टीले श्रमिक वर्गको हितमा काम गर्नुपर्ने बताए।

नेकपा एमालेका नेता कमरेड सुरेन्द्रप्रसाद पाण्डे एमालेभित्र ‘मोडरेट’ व्यक्तित्व भएका थोरै नेतामध्येमा पर्छन्। अध्ययनशील छन्, अहिले त औपचारिक रूपमा नै समाजशास्त्रमा विद्यावारिधि गरिरहेका छन्। सार्वजनिक रूपमा आफ्ना विचारहरू हक्की तरिकाले राख्छन् र पछिल्लो समय नेतृत्वमाथि लगातार प्रश्न गरेर आफूलाई पार्टीका स्थापित ‘अफिसियल’ विचार र पद्धतिभन्दा भिन्न धारणासहित प्रस्तुत गर्ने गरेका छन्।

२०३५ सालतिरबाटै तत्कालीन माले समूहको पूर्णकालीन कार्यकर्ता बनेर लामो समय भूमिगत रूपमा पार्टी निर्माणमा योगदान गरेका पाण्डे पार्टीभित्र ओलीपछिको नेतृत्व दाबी गरिरहेका विद्या भण्डारी, विष्णु पौडेल, शङ्कर पोखरेल, पिएस गुरुङसहितका प्रतिस्पर्धी नेताहरूमा पर्छन्। एकपटक अर्थमन्त्री र केहीपटक सांसद भएका र दुईपटक महासचिवमा प्रतिस्पर्धा गरेर पराजित भएका पाण्डे एमालेभित्र सम्भावना बोकेका र प्रभावशाली नेता मानिन्छन्। पछिल्लो समय उनी सनातनी मार्क्सवादीहरूले भन्दा भिन्न कित्तामा उभिएर समाजको चरित्रको विश्लेषण गर्ने प्रयासमा छन् तर अहिलेसम्म उनी यस्तो विश्लेषणको तर्कसम्मत निष्कर्षमा पुगेको जस्तो देखिएको छैन।

पछिल्लो समय उनी अहिलेको समयलाई मोबाइल डेमोक्रेसीको समय, डेटा इकोनोमीको समय, कृत्रिम बौद्धिकताको समय र नयाँ वर्ग उदय भएको समय भन्दै मार्क्सवादका परम्परागत भाष्यमाथि नै प्रश्न उठाइरहेका भेटिन्छन्। गत भदौ २४ को घटना र फागुन २१ को निर्वाचनमा गम्भीर धक्का खाएको नेपालको कम्युनिस्ट आन्दोलन या नेकपा एमालेका सन्दर्भमा उनका जिज्ञासाहरूको सैद्धान्तिक वैचारिक व्याख्या गरेर खण्डन या समर्थन गरिदिने या बहसमा उत्रने व्यक्तित्वको पनि खडेरी परेको जस्तो छ।

एमाले या नेकपाभित्रका ‘अफिसियल’ मार्क्सवादीहरू यी प्रश्नमा मौन छन्; न खण्डन गरेका छन्, न समर्थन नै। यस्तो अवस्थाले मार्क्सवादको आधारभूत बुझाइमा समस्या आउन सक्ने र मार्क्सवादप्रति झुकाव राख्ने युवा या नवयुवा पुस्ता भ्रमित हुन सक्ने सम्भावना छ। समग्र आन्दोलनलाई विचारधारात्मक रूपमा बरालेर पूँजीवादको सेवामा लैजाने जोखिम पनि छ।

यहाँ म कमरेड पाण्डेका प्रश्नहरूमाथि प्रतिप्रश्न गर्ने जमर्को गर्नेछु। म मार्क्सवादको आधिकारिक व्याख्याता होइन, न कम्युनिस्ट पार्टीको नेता नै हुँ। म मार्क्सवादको एउटा औसत क्षमताको पाठक हुँ र म त्यही औकातमा बसेर यो बहस अघि बढाउने प्रयास गर्नेछु।

के समाजको वर्ग चरित्र बदलिएको छ ?

आफैँ समाजशास्त्रको औपचारिक शिक्षा लिइरहेका र वर्ग विश्लेषणका मार्क्सेली परम्परा बुझेका पाण्डेलाई थाहा छ कि मार्क्सको समयपछि पनि पूँजीवादको आधारभूत चरित्र र वर्गसम्बन्ध बदलिएको छैन।

मर्कन्टायल युगको पूँजीवाद, स्वच्छन्द पूँजीवाद, उपनिवेशवाद, साम्राज्यवाद, वित्तीय पूँजीवाद या भूमण्डलीकृत नवउदारवादजस्ता रूप पक्षमा आउने परिवर्तन अवश्य देखिन्छन् तर यसले समग्र उत्पादन प्रणालीमा कुनै तात्त्विक अन्तर ल्याएको छैन। श्रमको अतिरिक्त शोषणका माध्यमबाट उत्पन्न हुने मुनाफा अथवा अतिरिक्त मूल्य, एकाधिकारी मूल्यबाट बढ्ने पूँजीको अत्यधिक केन्द्रीकरण र सीमित सङ्ख्याका पूँजीपतिहरूबाट बजार तथा प्राकृतिक स्रोतमाथिको नियन्त्रणको आधारभूत चरित्रमा कुनै परिवर्तन भएको छैन।

श्रमशक्ति खरिद गरेर नाफा कमाउने वर्ग एकातिर छ, अर्कोतिर श्रमशक्ति बिक्री गरेर आयआर्जन गरेर निर्वाह गर्ने वर्ग छ। अहिले पनि पूँजीपति वर्गले गर्ने मुनाफा उसले श्रमिकहरूले पाउने ज्यालाका लागि गर्ने खर्च र पूँजीपतिको मुनाफाका लागि खर्च गरिरहेको समयको बीचको फरकमा टिकेको छ। पाण्डेले भन्ने गरेका आईटी वा एआई या गिग वर्करहरू पनि श्रम शोषणमा छन्।

गिग वर्करहरू (एप र सञ्जालहरूबाट उपभोक्ता र उत्पादक या सप्लायरसँग सम्बन्ध गाँसिएका, पठाओ या उबरसँग जोडिएका चालकहरू, कन्टेन्ट सिर्जना गरिदिने, आपसी सहमतिमा मूल्य तय गरेर फ्रिलान्स करारमा काम गर्नेहरू) माथिको श्रमशोषणका विषयमा अमेजनका कामदारहरूले गरेको सङ्घर्षको कथा पुरानो भएको छैन।

गिग वर्करहरू समयमा कोटा पूरा गरेर या आफ्नो आम्दानीको आवश्यकता पूरा गर्न २० घण्टा खटेर काम गर्दा धपेडीकै कारण ज्यान जाने गरेको खबर अमेरिका, चीन (सन् २०२३ मा मात्र ५० भन्दा बढी), इन्डोनेसिया (गत वर्ष मात्र १२ जना) र दक्षिण कोरियाबाट पनि आउने गरेका छन्। भारतको नीति आयोगको रिपोर्टअनुसार ९० प्रतिशत गिग कामदारहरूसँग बचत रहँदैन र उनीहरू जोखिममा रहन्छन्। त्यसमध्येका ७० प्रतिशतले सरकारले तोकेको औसत ज्यालाभन्दा कम आय आर्जन गर्छन् र त्यसका लागि अरू औपचारिक कामदारका भन्दा बढी समय खर्च गर्छन्।

‘समयले वर्गको नयाँ परिभाषा खोज्यो’ भन्नु आलोकाँचो कुरा हो। यस्ता कुरा गरेर श्रमिकहरूलाई भ्रमित पार्ने, वर्गसङ्घर्षबाट विमुख बनाउने र प्रकारान्तरले बुर्जुवा वर्गलाई नै सहयोग गर्ने कामले न मार्क्सवादको नयाँ भाष्य बन्छ, न कम्युनिस्ट पार्टी नै बन्छ।

परम्परागत रूपमा हेर्दा यिनीहरू कुनै कारखानाका कामदार होइनन्; साइकल, कार या बाइकमा सवार हुन्छन्। तर उनीहरूको न पेसागत सुरक्षा छ, न कुनै सामूहिक मोलतोलको सम्भावना रहन्छ। यो पङ्क्ति थप शोषणमा परेको छ। लामो समयको काम र अलगावले उनीहरूलाई वस्तुकरण गरिदिएको छ। परिवारलाई समय दिन नपाउने, साथीभाइसँग समय बिताउन नभ्याउने, अर्को कामदारसँग भेट पनि नहुने र एक्लै काममा कुदिरहने गर्नाले ऊ ‘एलिनेसन’ मा पुगेको छ; ‘डिप्रेस्ड’ छ। काम गर्दागर्दै थलामै परेर या आत्महत्या गरेर जीवन फालिरहेको छ।

उनीहरूलाई सस्तो दरमा काम लगाएर कम्पनी मालिकहरू सुपर रिचमा उक्लिरहेका छन्- चाहे जेफ बेजोज होऊन्, चाहे ज्याक मा। (यसको मार्क्सवादी व्याख्याका लागि हेर्नुहोस्: ‘The Hidden Injuries of Class in the Age of Digital Capitalism’, ‘Casual Labor and Shadow Work in China’s Gig Economy’, ‘Gig Work and Labor Exploitation’ आदि)

नेपालमा बसेर अमेरिका या अरू धनी मुलुकका कम्पनीका लागि आईटी क्षेत्रमा या कल सेन्टरमा काम गर्नेहरूले उताको श्रमिकको तुलनामा अत्यन्त कम ज्यालामा काम गर्ने भएकैले अवसर पाउने हुन्। यसरी हेर्दा कामदार–मालिक सम्बन्धको रूप परिवर्तन भएको छ; यहाँका अरू अनौपचारिक या औपचारिक क्षेत्रका कामदारका तुलनामा बढी ज्याला पनि पाएका छन् तर उनीहरू वास्तवमा श्रमशोषणमा परेका छन् र कम्पनीका लागि अतिरिक्त मुनाफा कमाइदिने कामदार बनेका छन्। न सामाजिक सुरक्षा छ, न पेसागत निरन्तरताको ग्यारेन्टी छ। पूँजीवादले निर्माण गरेका पार्ट टाइम जब, रिमोट जब, कन्ट्र्याक्ट जबजस्ता कामका प्रकृति नै श्रमिकहरूलाई भय र असुरक्षामा राखेर, सामूहिक मोलतोलको अधिकारबाट वञ्चित गरेर रगतपसिना चुस्ने नयाँ औजार मात्र हुन्।

नेपालकै सन्दर्भमा पनि अस्पतालमा काम गर्ने नर्सहरू, भर्खर सेवा प्रवेश गरेका डाक्टरहरू, निजी विद्यालयमा अध्यापन गर्ने शिक्षक–शिक्षिकाहरूमध्ये धेरैले अत्यन्त न्यून ज्यालामा काम गरिरहेका छन्। हालै भएको नर्सहरूको आन्दोलनका समयमा आएको समाचार हेर्नुभएकै होला- नर्सहरू जम्मा ८ देखि १० हजारमा पनि काम गरिरहेका थिए। त्यसरी काममा लगाउने निजी अस्पतालका मालिकहरूले जे कमाए, त्योचाहिँ श्रमको मूल्य शोषण गरेरै आएको हो। के तपाईंलाई थाहा छ, काठमाडौँका पसल या रेस्टुरेन्टहरूमा काम गर्ने सहायक कामदारहरूले कति तलब पाउने गरेका छन् ?

तपाईं भूमिगत हुँदा काठमाडौँ या मोरङको निम्न मध्यम वर्गको एउटा तप्का अहिले उच्च मध्यम वर्गमा बदलिएको होला। सहरमा घर र जमिन भएको परिवार लखपतिका रूपमा सुतेर बिहान उठ्दा करोडपति पनि भयो होला। पछिल्लो आर्थिक सुधारको लाभ लिन सकेको मिहिनेती या व्यवस्थापकीय जोखिम उठाउन सक्ने सानो सङ्ख्याले आफ्नो हैसियतमा उल्लेख्य प्रगति पनि गर्‍यो होला। राजनीतिक क्लास, ठेकेदार या बिचौलिया अथवा व्यापारीहरूबीचको साँठगाँठबाट सत्तारुढ दलका नेता–कार्यकर्ता, प्रहरी र सेनाका हाकिम, उच्च तहका कर्मचारी र बिचौलियाको जीवनस्तर उकासिएको पनि होला। त्यसैलाई हेरेर तपाईं नयाँ वर्ग विश्लेषणको चक्करमा पर्नुभयो भनेचाहिँ अन्ततोगत्वा त्यसले ठूलो बुर्जुवा वर्गको सेवा गर्नेबाहेक केही गर्ने छैन।

तपाईंले भन्नुभएको रहेछ- जम्मा साढे १७ प्रतिशत गरिबहरू छन् देशमा। ती पनि सबै पार्टीका पक्ष–विपक्षमा बाँडिएका छन्। अब त्यति सानो सङ्ख्याको गरिबको प्रतिनिधित्व गर्छु भनेर पार्टी बन्छ ? यो कस्तो मार्क्सवाद हो सुरेन्द्र कमरेड ? तपाईंलाई थाहा छ, २०२३ को नेपाल जीवनस्तर सर्वेक्षणअनुसार २० प्रतिशत नेपालीहरू गरिबीको रेखामुनि छन् (निरपेक्ष गरिबी)। त्यो घटेर १८ मुनि पुग्यो होला।

यो गरिबहरूको सबैभन्दा निम्न ‘क्याटेगोरी’ को कुरा हो। अरू तथ्याङ्क हेर्नुभयो भने पाउनुहुन्छ- सानोतिनो धक्काले बहुआयामिक गरिबीमा धकेलिन सक्ने जनसङ्ख्या थप २० प्रतिशत र मध्यम वर्गको तल्लो हिस्सा थप २० प्रतिशत छ। तथ्याङ्क नै खोज्दै गयो भने भेटिन्छ कि नेपालको झन्डै ६० प्रतिशत जनसङ्ख्या निम्न मध्यम वर्ग, गरिब र निरपेक्ष गरिब छ। माथिल्ला दुई कित्ता सानोतिनो धक्काले गरिबीतिर धकेलिने जोखिममा बसेका छन्। विश्लेषण गर्दा आफूलाई र आफ्नो सर्कलमा आउनेलाई मात्र हेरेर हुन्छ ? भुइँमा जानुपर्दैन ?

दोस्रो कुरा, कम्युनिस्ट राजनीतिले गरिबको राजनीति गर्न खोजेको हो कि श्रमिक वर्गको ? कम्युनिस्ट पार्टीले गर्ने राजनीति बुर्जुवा वर्गका विरुद्ध श्रमजीवी वर्गको पक्षमा गर्ने हो। नेपालको सन्दर्भमा पूँजीवादको राम्रोसँग विकास नभएकाले मार्क्सले परिकल्पना गरेका तीनवटा वर्गभित्र अनेक उपवर्गहरू पनि छन्। जस्तो: कृषि क्षेत्रमा आफूले खेतीमा कत्ति काम पनि नगर्ने र ज्यालादारी मजदुर लगाएर काम गर्ने धनी किसान या जमिन्दार होला (त्यो पनि अब परम्परागत सामन्त होइन, नयाँ पूँजीपति हो, व्यवस्थापक हो)।

आफ्नो जमिनमा आफैँ पनि काम गर्ने र सिजनल रूपमा ज्यालादारी मजदुर लगाउने स्तरको मध्यम किसान होला। आफ्नो काम आफैँ गर्ने तर अर्काकोमा पनि गएर काम गर्ने र ज्याला कमाउने किसान पनि होला। किसान त हो तर बजारमा बेच्नका लागि उत्पादन गर्ने पूँजीवादी किसान होला। आफ्नो उत्पादनले जीविका मात्र गर्ने पनि होला। आफ्नो जमिन नभएको, अरूको अधियाँ-बटैया गरेर या भाडामा लिएर कमाउने होला। कृषि क्षेत्रमै ज्यालादारी श्रम मात्र गर्ने भूमिहीन किसान होला। सबैभन्दा पिँधमा परेको दलित होला।

त्यस्तो चरित्र आधुनिक क्षेत्रमा पनि छ। पूरै अनौपचारिक क्षेत्रमा श्रम बिक्री गरेर निर्वाह गर्ने, सिपको काम गर्ने, सानासाना सामान बनाएर बिक्री गर्ने, एक–दुई जना कामदार राख्ने र आफू पनि काम गर्ने, पूरै कामदारलाई काम लगाएर आफूले व्यवस्थापन गर्ने होला। घर र जमिनको लगान उठाएर खाने, काम नगर्ने; वित्तीय पूँजी परिचालन गरेर, सेयर मार्केटमा लगानी गरेर खाने पनि होला। अंशमा पाएको जग्गा बेच्दै खाने पनि होला; त्यसैबाट पैसा निकालेर व्यापार, उद्योग र सेयरमा लगानी गर्नेहरू पनि होलान्।

मोबाइल डेमोक्रेसीजस्ता अवधारणाले कामदार वर्गलाई वर्ग चेतनासहितको नागरिक बन्नबाट रोक्छ र एउटा ‘फल्स कन्ससनेस’ तिर धकेल्छ। यस्तो चेतनाले उसलाई एमालेबाट रास्वपातिर, माकपाबाट तृणमूल अनि तृणमूल पनि छाडेर बिजेपीतिर लैजान्छ।

यस्ता अनेक उपवर्गहरू भए पनि बुर्जुवा समाजको वर्ग चरित्रमा आधारभूत भिन्नता आएको छैन। या त सम्पत्तिशाली वर्ग छ या काम गरेर खाने वर्ग छ। काम गरेर खानेहरूको सानो सङ्ख्या सम्पत्तिशाली वर्गमा उक्लेको छ; पूँजीपतिबाट सडकमा झरेका पनि होलान्, नगण्य। तर मूल रूपमा सम्पत्ति (घरजग्गा प्रशस्त भएका, बैङ्क या सेयरमा लगानी, उद्योग–कलकारखानाको मालिक्याइँ) भएको वर्ग र सम्पत्ति नभएको वर्गका बीच समाज विभाजित छ।

श्रम र पूँजीका बीच, किसान र भूमिपतिका बीच, गरिब र धनीका बीच उत्पादनका सिलसिलामा स्थापित हुने सम्बन्धमा कहाँनिर परिवर्तन आयो र नेपाली समाजको नयाँ वर्ग विश्लेषण गर्नुपरेको हो ? यसमा मार्क्सेली वर्ग विश्लेषणले नसमेटेको के कुरा उत्पत्ति गरेको छ प्रविधिले ? बरु प्रविधि र बौद्धिक सम्पत्ति अधिकारमाथि नियन्त्रण र एकाधिकार कायम गरेर नयाँ ‘टेक्नो फ्युडल सुपर रिच’ हरू जन्मेका छन् औँलामा गन्न सकिने सङ्ख्यामा। पूँजीको अत्यधिक केन्द्रीकरण भएको छ।

नेपालमा बेरोजगारी दर १२ प्रतिशत छ। १५ देखि २४ वर्ष समूहमा २० प्रतिशतभन्दा बढी बेरोजगार छन्। रोजगारी गर्नेहरूको ८० प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन्, जसको सामाजिक या पेसागत सुरक्षाको कुनै निश्चितता छैन। पेसागत समूहमा पर्ने, मध्यम वर्गमा पर्ने सीमित बैङ्कका म्यानेजरहरू, उच्च तहका सरकारी जागिरेहरू, कम्पनीका सीईओहरू, केही महँगा अस्पतालका चिकित्सकहरू, राम्रो कन्सल्टिङ फर्मका इन्जिनियरहरूबाहेक आम पेसागत समूहका कर्मचारीहरू कति तलबमा बाँचिरहेका छन् ?

परिवारमा कसैलाई क्यान्सर भयो, लामो समय उपचार गर्नुपर्ने दुर्घटनामा परे या वृद्धवृद्धालाई स्याहार गर्नुपर्ने, बच्चाहरूलाई पढाउनुपर्ने बोझ एकैपटक परेको खण्डमा मध्यम वर्गका परिवारहरू करोडपतिबाट रोडपतिमा झरिहाल्छन्। यसरी ऊ सधैँ जोखिममा छ। यो जोखिमवाला वर्ग पनि आधारभूत रूपमा आफू श्रम गरेर बाँच्ने, साना व्यवसायमा अरूलाई पनि काममा लगाउने, आफूले पनि श्रम गर्नेहरूको हो- सानो व्यापारी, सानो जागिरे र व्यवसायी।

चलायमान डेमोक्रेसीका कुरा

मोबाइल डेमोक्रेसी एउटा अपरिपक्व सारसङ्ग्रहवादी दृष्टिकोणबाहेक केही होइन। मोबाइलले सूचनामाथि सहज पहुँच बनाएको छ; ज्ञान बढेको छ, प्रश्न गर्ने ‘स्पेस’ दिएको छ। धेरै मानिसहरूले वाणी दिने फोरम पाएका छन्। खुसी, आक्रोश, समर्थन, विरोध, प्रश्न र जवाफका लागि प्रयोग भएको छ। विचारमाथि हुने छलफलमा सहभागिताको दायरा अवश्य बढाइदिएको छ।

कतार या साउदीको कुनै मरुभूमिमा दिनभर साहुका लागि श्रम गरे पनि राती सुत्ने बेला नेपालका नेताहरूलाई धित मरुन्जेल आमाचकारी गाली गरेर रिस मारेको छ। रियल टाइम सूचना पाउन सक्ने बनाएको छ। कसैकसैले फेसबुक, युट्युब, टिकटक मनिटाइज गरेर पैसा पनि कमाएका होलान्। तर यसले उसको वर्ग चरित्रमा कुनै भिन्नता ल्याउँदैन। उत्पादन सम्बन्धमा उसको हैसियत र स्थान बदलिँदैन।

मोबाइल डेमोक्रेसीजस्ता अवधारणाले कामदार वर्गलाई वर्ग चेतनासहितको नागरिक बन्नबाट रोक्छ र एउटा ‘फल्स कन्ससनेस’ तिर धकेल्छ। यस्तो चेतनाले उसलाई एमालेबाट रास्वपातिर, माकपाबाट तृणमूल अनि तृणमूल पनि छाडेर बिजेपीतिर लैजान्छ।

सूचनामा पहुँच हुनु र आफ्नो अभिव्यक्ति राख्ने प्लेटफर्म फराकिलो हुनुले ‘डेमोक्रेटिक राइट’ को अभ्यासको दायरा फरक पार्ने मात्रै हो। टुँडिखेल पनि त्यहीँ, माइतीघर पनि त्यहीँ भएको हो। रेडियो पनि र टिभी पनि त्यहीँ, छापा माध्यमका पत्रिका पनि त्यहीँ। तर यसले छिटो सूचना र छिटो प्रतिक्रियाबाहेक सञ्चारका माध्यमका दृष्टिले गर्ने काम भनेको २०५० सालतिर निस्कने सन्ध्याकालीन या मध्याह्न दैनिकले भन्दा बढी केही पनि होइन।

के मोबाइल डेमोक्रेसीले गरिब र धनीका बीच, शासक र शासितका बीच, श्रम गरिखाने र श्रम गराएर खानेका बीचको सम्बन्धमा केही भिन्नता ल्याउँछ ? उत्पादनका काममा मोबाइल प्रयोग भयो भने ल्याउने भिन्नता निकै सानो छ। पहिले पाल्पाको कुनै किसानले बुटवलमा घिउ बेच्नुपर्दा त्यता भाउ कति छ भन्ने कुरा घिउ बोकेर बजार पुगेपछि मात्र थाहा पाउँथ्यो र पाएको मोल लिएर बेच्थ्यो। अहिले घरबाट मूल्य त थाहा पाउँछ तर बजारमा उसले मूल्य नियन्त्रण गर्न सक्छ ? ‘बात करते हो !’

जम्मामा एआई या मोबाइल या चौथो पाँचौ जेनरेशनको प्रविधिको प्रयोगले मानिसहरूको प्रकृतिसँगको संघर्ष, उत्पादनका लागि संघर्षलाई सहज बनाएको छ । कम समय खर्च गरेर धेरै आयस्ता गर्न सक्ने बनाएको छ । त्यसको नियन्त्रण कसको हातमा छ, फरक परेको छ कि झन केन्द्रीकृत भएको छ ? यो जम्मामा धातुको प्रयोग, पानी घट्टको सिर्जना या जेम्सवाटले गरेको वाष्प इञ्जिनको आविस्कार र टेलिफोनको पहिलो प्रयोगको वृहत्तर विस्तारित रूप सरह मात्रै हो । कपडा कारखाना हुने पूँजीपति र आईटी या एआई क्षेत्रको पूँजीपतिका बीच वर्गका सन्दर्भमा सारमा कुनै फरक छैन ।

पार्टी निर्माण र समाजमा विचारधारात्मक वर्चस्वका लागि गरिने सङ्घर्षमा नयाँ प्रविधिले गर्ने माग खाली सङ्गठन र प्रचारको शैली या माध्यममा परिवर्तन हो। जस्तो: एमालेले अहिले सबै अपानिहरू सामाजिक सञ्जाल या अनलाइन पत्रिकाबाट सदस्यहरूसम्म वितरण गरिदिन्छ। पहिले काठमाडौँबाट बसमा चढेर कसैले पोखरासम्म लान्थ्यो, त्यहाँबाट अर्कोले झोलामा राखेर पैदलै पर्वत, त्यहाँबाट तेस्रोले म्याग्दी पुर्‍याउनुपर्थ्यो।

अहिले फेसबुकबाटै हुने सञ्चार र उतिबेला हुलाकी लगाएर गरिने सञ्चारमा समयको ‘ग्याप’ बाहेक केही पनि फरक पर्ने होइन। जुलुस या धर्नाका लागि अथवा सभाका लागि अपिल गर्न घरघर भन्न जानुपर्दैन, फेसबुक, टिकटकले सूचना लगिदिन्छन्। सङ्गठनका लागि मानिसहरूसँग संवाद गर्ने माध्यम पनि यी बन्छन्। तर यी माध्यममा भएको सुविधा मात्र हुन्, बाँकी कुरामा यसले के भिन्नता ल्याउँछ ?

पहिले तपाईंले कसैलाई उसको घरमा गएर लामो समय लगाएर सम्झाइबुझाई सङ्गठनमा ल्याउँदा उसलाई एकोहोरो आफ्ना कुराले प्रभावित गर्न जति सम्भव थियो, अब त्यस्तो छैन। अरूका विचार पनि उसले सुनिरहन्छ। सङ्गठनका विचार र नेतृत्वको चरित्रका बीच तालमेल खोज्न सक्छ। योभन्दा बढी के हुन्छ ? त्यसैले मोबाइल डेमोक्रेसीको कुराले कुनै सैद्धान्तिक वैचारिक प्रश्न उठाउँदैन। यो केवल पपुलिस्ट र ताली खाने तर्क मात्रै हो।

बुर्जुवा र कामदार वर्गबीच भेद सकियो र ?

यु आर फन्डामेन्टल्ली रङ कमरेड सुरेन्द्र !

‘वर्ग केले निर्धारण गर्छ ?  यो श्रमिकले काम गर्ने प्लेटफर्म मात्र होइन, उत्पादन प्रक्रियाका क्रममा स्थापित हुने सम्बन्ध हो। यसलाई उत्पादन सम्बन्ध भनिन्छ। उत्पादनका साधन र अन्तिम उत्पादन कसको स्वामित्वमा हुन्छ, कसले अरूको श्रमशक्ति किन्छ र कसले ज्यालाका लागि आफ्नो श्रम बेच्दछ- यिनै कुराले वर्गहरूबीचको सम्बन्ध निर्धारण गर्छन्।’

यो कुरा गिगमा पनि, आईटी र एआई प्लेटफर्ममा पनि, आप्रवासी श्रमिकमा पनि, अल्गोरिथमिक या क्लाउडसोर्सिङ प्लेटफर्महरूमा काम गर्ने, फ्रिलान्सर, घोस्ट वर्कर सबैमा लागू हुन्छ। नेपालमा बसेर अमेरिकाको काम गर्नेले पनि रातको समयमा नसुतेर काम गर्छ, अमेरिकी कम्पनीको मालिकलाई अतिरिक्त श्रम बेच्छ, उता आफूजत्ति नै काम गर्नेको तुलनामा दशौँ गुणा कम तलब लिन्छ र साहुलाई अतिरिक्त मूल्य जम्मा गरिदिन्छ। यसैले यो शोषणको रूप परिवर्तन हो, चरित्र परिवर्तन भएको होइन।

नेपालबाट मलेसिया या कतार जाने मजदुरले अर्धदासका रूपमा आफ्नो श्रम बिक्री गर्छ, यता पाइने ज्यालाभन्दा अतिरिक्त कमाइ गर्छ तर उताको साहुलाई थप ‘सरप्लस भ्यालु’ (अतिरिक्त मूल्य) सिर्जना गरिदिन्छ। श्रमिकलाई नयाँ समयको अर्धदासका रूपमा अन्तर्राष्ट्रिय बजारमा खरिद-बिक्रीको माल बनाइएको छ। यसले श्रम सम्बन्धको होइन, स्थानको परिवर्तन गरेको हो। उता गएर एङ्गेल्सको समयको सापेक्षतामा लन्डनको ‘वर्किङ क्लास’ जस्तो भएर काम गरे पनि उसले कमाएको पैसाले यता आफ्नो परिवार भने निम्न मध्यम परिवारमा उक्लेको छ। केटाकेटीले पढाइ र स्वास्थ्य उपचार पाएका छन्।

यसलाई एकै समयमा दुईवटा वर्गको जीवन बाँचिरहेको कामदारका रूपमा कसरी विश्लेषण गर्ने भन्ने प्रश्न अवश्य उठ्छ तर यसले श्रम र पूँजीका बीचको पूँजीवादी सम्बन्धमा कतै पनि फरकपन ल्याउँदैन। यही हेरेर ‘समयले वर्गको नयाँ परिभाषा खोज्यो’ भन्नु आलोकाँचो कुरा हो। यस्ता कुरा गरेर श्रमिकहरूलाई भ्रमित पार्ने, वर्गसङ्घर्षबाट विमुख बनाउने र प्रकारान्तरले बुर्जुवा वर्गलाई नै सहयोग गर्ने कामले न मार्क्सवादको नयाँ भाष्य बन्छ, न कम्युनिस्ट पार्टी नै बन्छ।

केही नेताहरू समाजमा आइरहेको वर्ग रूपान्तरणका कार्यकारण सम्बन्धहरूको ऐतिहासिकताको विश्लेषण नगरी कुनै खास व्यक्तिको वर्गोत्थानलाई आधार बनाएर ‘मार्क्सको वर्ग विश्लेषणसम्बन्धी अवधारणाको समय सकिएको’ बताउँछन्। कोहीकोही त ‘अब जो पनि खासै पूँजी लगानी नगरिकनै गरिबबाट सुपर धनी बन्न सक्छ, पूँजीवादले त्यो अवसर दिएको छ’ भन्दै इलन मस्क र ज्याक मा या मार्क जुकरबर्गको नाम पनि लिन्छन्। नेपालमै चन्द्र ढकालको नाम पनि लिने गर्छन्, जो सामान्य परिवारबाट उठेर छिट्टै ठूलो व्यावसायिक घरानाका रूपमा फेरिएका छन्। तर उनीहरूले भन्न के छुटाउँछन् भने चीनको डेढ अर्ब जनसङ्ख्यामा ज्याक माहरू करोडमा एक मात्र किन हुन्छन् ? इलन मस्कहरू अर्बमा एक किन जन्मन्छन् ?

यो त शेख हसिना र बेगम खालिदालाई हेरेर बङ्गलादेशका महिला स्वतन्त्र छन् भन्ने दाबी गरेजस्तै हो।

पूँजीवाद असमानतामा आधारित हुन्छ; यसको असमानता सम्पत्तिशाली वर्ग र कामदार या मध्यम वर्गका बीच मात्र होइन; सहर र गाउँ, यो जाति र ऊ जाति, महिला र पुरुष, केन्द्र र पेरिफेरी, महानगर र श्रम आपूर्ति गर्ने हाम्रोजस्ता देशहरूका बीच पनि उत्तिकै हुन्छ। कास्की र रौतहटको, बागमती र सुदूरपश्चिमको, महिला र पुरुषको, गैरदलित र दलितको, कायस्थ र मुस्लिमको बीच किन गरिबीको दर समान छैन ? हेर्नुपर्दैन ? अवसरमा समानता र पूँजीवाद सँगै जान सक्ने जिनिस होइनन्। चित्त नबुझे एकपटक थोमस पिकेटी या जोसेफ स्टिग्लिजलाई पढी हेर्नुस्।

कस्तो पार्टी बनाउने ?

कुरा सामान्य छ। आजको नेपालको प्रगतिशील उत्पादक शक्ति व्यवस्थापक र श्रमिकहरूकै हो। पूँजीवादी विकासको प्रारम्भिक चरणबाट अगाडि बढिरहेको नेपालको अहिलेको आर्थिक समृद्धिको बाटो भनेको प्रगतिशील पूँजीवादको बाटो हो। पूँजीवादको विकासका लागि जे जे कुरा बाधक छन्, तिनलाई हटाउने र उत्पादक शक्तिलाई फुक्का बनाउने हो। त्यस्तो पूँजीवादको गन्तव्यचाहिँ समाजवादतिर जाने हुनुपर्छ। अरू दलहरू र कम्युनिस्ट पार्टीका बीचको भिन्नताको सार यत्ति हो।

समाजवादी सत्ता स्थापित गरेर पूँजीवाद कि वर्तमान संवैधानिक राजनीतिक फ्रेमभित्रै सुधार गर्दै पूँजीवादको विकास गर्ने ? त्यस्तो विकासका क्रममा कोही पनि सीमान्तीकरणमा नधकेलिऊन्, सबैले वैयक्तिक क्षमता विकास र कामका अवसर पाऊन् भन्ने उद्देश्य प्राप्तिका लागि राज्यको प्रभावकारी हस्तक्षेप र वितरण प्रणाली न्यायोचित बनाउन ‘कम्युनिस्ट पार्टीको सरकार चाहिने’ भनिएको हो। समाजवादतिरको गन्तव्य हासिल गर्नकै लागि पनि पूँजीवादको विकास, त्यसका लागि पूँजीपति वर्गको संरक्षण।

चीनको डेढ अर्ब जनसङ्ख्यामा ज्याक माहरू करोडमा एक मात्र किन हुन्छन् ? इलन मस्कहरू अर्बमा एक किन जन्मन्छन् ? शेख हसिना र बेगम खालिदालाई हेरेर बङ्गलादेशका महिला स्वतन्त्र छन् भन्ने दाबी गरेजस्तै नगरौं ।

सबैलाई थाहा छ- पूँजीपति वर्गबिना पूँजीवाद विकास हुँदैन। श्रमिकबिना पूँजीपति वर्गको अस्तित्व हुँदैन। अनि पूँजी र श्रमका बीच ‘एन्टागोनिस्टिक’ सम्बन्ध हुन्छ- विपरीत तत्त्वका बीच एकता र सङ्घर्षको द्वन्द्ववादी नियम। यही पूँजीवादको विकाससँगै हुने यो सङ्घर्षमा जहिले श्रमिक वर्गले जित हासिल गर्छ, त्यतिबेला मात्र पूँजीवाद ढल्छ र समाजवादका लागि बाटो खुल्छ।

कम्युनिस्टहरूले गर्न सक्ने भनेको यो समाज विकासको नियमलाई सक्रिय बनाउने हो, बिचैमा गोर्डियन नट छिनालेर हुन्न। चीन र भियतनामले अहिले गरिरहेको विकासको अवधारणा त्यही हो। हामीकहाँ पनि अहिले गर्न सकिने भनेको देङ स्याओ पिङको बाटो पच्छ्याउनु हो, माओको बाटो होइन। देङको बाटो हिँड्दै जाँदा विकास भएको असमानता हटाउन सी चिनफिङ जन्माउन सम्भव हुन्छ।

कम्युनिस्ट पार्टीले कामदार वर्गको हितलाई केन्द्रमा राखेर, समाजवादको लक्ष्यलाई केन्द्रमा राखेर आम प्रगतिशील वर्गको हितको रक्षा गर्ने हो। यस्तो प्रगतिशील वर्गमा पर्छ राष्ट्रिय तथा औद्योगिक पूँजीपति वर्ग। यसको विकास गरेर नै रोजगारी सिर्जना हुन्छ। पूँजी निर्माण हुन्छ। नवप्रवर्तन हुन्छ। निश्चित समयसम्म पूँजीको हात माथि त हुन्छ तर राजनीतिक सत्ता उसको दमनकारी चरित्रलाई नियन्त्रण गर्नेगरी बनेको हुन्छ (यदि कम्युनिस्टहरूले सरकार चलाएका छन् भने)।

यहाँनिर पूँजीको शोषणमा परेको श्रमजीवी वर्ग र अन्य पछि परेका समुदायको पक्षमा राज्यले काम गर्नुपर्छ र उनीहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै अवसरहरू प्रयोग गर्न सक्ने हैसियत बढाउन सघाउनुपर्छ। यो हो वर्ग पक्षधरता।

सामाजिक न्यायसहितको पूँजीवादको विकासका सन्दर्भमा मजदुर वर्गमा आधारित पार्टी नै कम्युनिस्ट पार्टीको मूल चरित्र हो। अवश्य पनि राजनीतिक रूपमा यसको मुख्य सञ्चालकहरू मध्यम वर्गबाट आउन सक्छन्। कामदार वर्ग, किसान र पूँजीपति वर्गको राजनीतिक प्रतिनिधित्व र वर्गहितको संरक्षण गर्ने काम पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्छ।

यसको विचारधारात्मक नेतृत्व कम्युनिस्ट पार्टीले गर्छ (यहाँ कतिपयले हिजो ओली, प्रचण्ड, नेपाल, खनाल या अधिकारीको नेतृत्वमा सरकार हुँदा या एमाले र माओवादीको समयमा किन भएन, किन गरिएन भन्ने प्रश्न गर्न सक्छन्। त्यसबारे अलग बहस गरौँला। उनीहरूले गरेनन् या गर्न सकेनन् भनेर अब गर्न चाहनेको बाटो छेक्न खोज्नु प्रकारान्तरले बुर्जुवा वर्गको सेवामा जानु हो; वर्गसङ्घर्ष र वर्गस्वार्थ अनुकूलको राजनीति व्यक्तिको पवित्र इच्छाले निर्धारण गर्ने कुरा होइन)।

यदि कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न र बुर्जुवा वर्चस्वमाथि धावा बोल्नका लागि राम्रो पार्टी बनाउने उद्देश्यले कमरेड पाण्डेले विषय उठाउनुभएको हो भने आफ्ना प्रस्तावनालाई पुष्टि गर्ने तथ्य, तर्क र ऐतिहासिकतासहित डकुमेन्ट लिएर बहसमा आउनुभए सहज हुने थियो। केही समय पीएचडीको थेसिस लेख्न थाती राखेर यता लाग्ने कि कमरेड ?

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?